हामी पनि लाग्यौं स्कूल सुधारतिर !

हिजोसम्म, सिकाइ उपलब्धि नहुनुको मुख्य कारण विद्यार्थी स्वयम् र तिनको पारिवारिक वातावरण हो भन्ने हामी शिक्षकहरूमा अहिले बच्चाले आफ्नो आधा समय हामीसँगै बिताउने गर्छन्, त्यसैले हामीले प्रयास गरे उनीहरूको सिकाइमा ढिलोचाँडो परिवर्तन ल्याउन सक्छौं भन्ने विश्वास बढेको छ ।

गत साउन महीनाको शिक्षक मासिक र शिक्षा–संवाद कार्यक्रममा ‘ध्यान एसएलसीमा होइन, प्राविमा केन्द्रित गरौं’ शीर्षकमा राम्रा कुराहरू उठेका थिए । कुरा साँच्चै सही लाग्यो । ध्यान प्राविमा केन्द्रित गर्नै पर्छ । तर विडम्बना; हाम्रा सामुदायिक विद्यालयमा प्राविका विद्यार्थीको महŒव नै कम हुन्छ । राम्रो भवन ठूलो कक्षालाई; योग्य, तालीमप्राप्त र मनोविज्ञान बुझने शिक्षक ठूलै कक्षालाई, यतिसम्म कि लाइब्रेरीको व्यवस्था पनि ठूलै कक्षालाई । यस्तो अवस्थामा कसरी राम्रो शिक्षण हुन सक्छ ? कक्षामा एउटा पाठ पढाएर गर्ने काम शिक्षण हुनै सक्तैन । वास्तविक शिक्षण हुनलाई विद्यार्थीको रूचि अनि आवश्यकता बुझ्ेर त्यस अनुरुपको शैक्षिक क्रियाकलाप गरिनु आवश्यक हुन्छ ।

प्राविका बच्चाहरूमा जति जिज्ञासा र प्रश्न निमावि र माविका बच्चाहरूमा हुन सक्तैन । एउटा उदाहरण लिन चाहन्छु, केही महीनाअघि मैले अध्यापन गराउने विद्यालय नजिकै गाउँमा क्रिकेट मैदानको शिलान्यास हुँदैथियो । हाम्रो विद्यालयका विद्यार्थीलाई दोस्रो पिरियडपछि स्वयंसेवकको रूपमा त्यहाँ लैजाने कुरा हुँदैथियो ।

यसको लागि कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई लैजाने र सानो कक्षालाई पढाउने कुरा भयो । यही कुरा बिहानको सभामा सुनाइयो । म तेस्रो घण्टी पढाउन कक्षा ३ मा छिर्दै गर्दा एक छात्रले प्रश्न गरे, ‘किन मिस हामीले चाहिं गगन थापाको भाषण सुन्न नहुने ? हामी पनि जाने नि !’ “तिमीहरू त्यहाँ हल्ला गर्दै यताउति हिंडिबस्छौ ।...” मैले यति मात्रै के भनेकी थिएँ, फेरि प्रश्न ओइरियो– “तिमीहरू हल्ला नगरी बस भनेर सिकाए हामी चूप लागेर बसिहाल्छौं नि ! खै त हामीलाई सिकाउनुभएको ?” विद्यार्थीका कुरा सुनेर केही बोल्नै सकिनँ । म आफैं लज्जित भएँ । आफू तर्किने बाटो खोजी गरेर भनें, “म अफिसमा कुरा राख्छु ।” कक्षा २ का एक छात्र ढोकामा बसेर कुरा सुन्दै थिए । उनले भने, “यो कुरा म गएर हेडसरलाई भनू ?” मैले टाउको हल्लाएँ । उनी दौडिहाले ।

जबसम्म शिक्षकले विद्यार्थीको मनोभावना बुझन सक्तैन, उसको रुचि, आवश्यकताको कदर गर्दैन, तबसम्म विद्यालय व्यवस्थापनमा जति कडाइ गरे पनि शिक्षण प्रभावकारी हुन सक्तैन । शिक्षक आफैं बच्चाहरूसँग घुलमिल हुन सक्नुपर्छ । कुनै बच्चा कक्षामा सुत्यो भने हामी त्यसलाई उठाउँछौं । उसलाई पढ्न अल्छी लागेर सुतेछ भनेर कहिल्यै सोच्दैनौं । वास्तवमा कुनै पनि बच्चा विना कारण सुत्न सक्तैन, उसलाई त यताउति हिंडडुल गर्न मन हुन्छ । हुन सक्छ, ऊ थकित छ, हुन सक्छ उसले त्यस दिन खाना खाएको छैन । तर हामी शिक्षक यस्ता कुरामा कमै चासो राख्छौं । शिक्षण प्रभावकारी हुनलाई विद्यालय व्यवस्थापनले पनि केही जिम्मेवारी उठाउनुपर्छ । विद्यालय खुल्ने र बन्द हुने समय, विद्यार्थीको नियमितता र उनीहरूका शैक्षिक आवश्यकता पूरा गर्ने कुरामा विद्यालय, व्यवस्थापन या प्रशासनले कडाइ गर्नै पर्छ । त्यस्तै विद्यार्थीका हरेक पक्षलाई मान्यता दिनुपर्छ । व्यवस्थापनबाट राम्रो शिक्षण गर्नु भनेर तालीम दिंदैमा राम्रो शिक्षण कहाँ हुन्छ र ? तालीम पनि सान्दर्भिक हुनुपर्छ ।

अहिले सरकारले दिइरहेको ‘क्यास’ को तालीम, विद्यार्थीको निरन्तर मूल्यांकन गर्न अर्थात् विद्यार्थीलाई बुझन पनि आवश्यक छ । दुईदेखि तीन घण्टा परीक्षामा लेख्दैमा सही मूल्यांकन हुन सक्तैन भन्ने उद्देश्यले ‘क्यास’ प्रणाली लागू गरिएको हो । तर क्यास आफैंमा अन्योलमा परेको छ । कति शिक्षकहरूलाई ‘क्यास’ कसरी गर्ने भन्ने बारेमा थाहा नै छैन । अलिअलि थाहा भएकाहरूले पनि कार्यान्वयन गरिरहेका छैनन् ।

केही वर्ष अघिसम्म हाम्रो विद्यालयको अवस्था र शैक्षिक वातावरण निकै नाजुक थियो । सिकाइ उपलब्धि हासिल नहुनुमा हामी शिक्षक विद्यार्थी र उनीहरूको पारिवारिक वातावरणलाई दोष देखाउने गर्दथ्यौं; आफ्नो कमजोरी स्वीकार्न तयार थिएनौं । मावि शिक्षकका सामु प्राविको बच्चा लड्दा उसलाई उठाउन पनि प्राविकै शिक्षक गुहार्नुपर्ने स्थिति थियो । मानौं, प्राविका बच्चा प्रावि शिक्षकका मात्र हुन् । मावि शिक्षकहरूलाई कुर्सीमा घाम तापी बसेर फुर्सद नहुने अनि प्रावि शिक्षकहरूलाई जहिले पनि घरै जान हतार हुने । एउटा शिक्षकको अनुपस्थितिमा अर्को शिक्षकले कक्षा लियो, आफ्नो कक्षा अगाडि तान्यो अनि आफ्नो कक्षा सकियो भन्दै हाजिर गरी बाटो लाग्यो । यस्तै थियो प्रवृत्ति । यसमा कोही अचम्मित हँुदैनथ्यो । हुन त मलाई कताकता अचम्म नलागेको हैन, तर मैले पनि सहजै त्यो वातावरण अँगालिसकेकी थिएँ । सोचें सरकारी स्कूल यस्तै हुँदोरहेछ ।

निरन्तर विद्यार्थी मूल्यांकन (क्यास) को तालीम पश्चात् हाम्रो विद्यालयमा त्यो लागू गर्ने म एक्ली भएँ । कोही कोहीले अलि अलि भर्नुभयो भने कोहीलाई वास्तै भएन । आफू त नयाँ; गर्नुपर्ने होला भनेर गरें । क्यासको आधारमा रिजल्ट प्रकाशनको लागि तयारी गरियो । मेरो विषयमा केही विद्यार्थी फेल थिए, त्यसैले फेल भएको नम्बर नै राखें तर प्रशासनलाई स्वीकार्य भएन ।

संशोधित रिजल्ट तयार गर्न लगाइयो । यसबाट मैले अर्को कुरा बुझने अवसर पाएँ । कक्षामा सिकाइ जस्तो भए पनि रिजल्टमा चाहिं पास हुनै प¥यो; चाहे त्यो गलत नै किन नहोस् । जब शिक्षकमा यस्तो बुझइले डेरा जमाउँछ, तब सिकाइमा कसरी उपलब्धि हुन सक्छ ? सरकारको माग पूर्वतिर, प्रशासनको आदेश पश्चिमतिर, तालीम उत्तरतिर अनि शिक्षकको शिक्षण तरीका दक्षिणतिर भएपछि सिकाइ चाहिं कुन दिशामा हुन्छ ? विद्यार्थी कता हुन्छन् ? शिक्षक अनि विद्यार्थीको आपसी सम्बन्ध कस्तो हुन्छ ?

गत शैक्षिक सत्रदेखि हाम्रो विद्यालयले सर्वाेदय संस्थासँग सहकार्य गर्न थालेको छ । उक्त सहकार्यको परिणामस्वरूप विद्यालयमा केही महीनाभित्रै नै राम्रा–राम्रा काम शुरू भएका छन् । हरेक शिक्षकको बुझइमा परिवर्तन आएको छ; जसले गर्दा सिकाइ उपलब्धि बढ्न थालेको छ । अहिले हामी सबै शिक्षक ‘तीन वर्षभित्र स्थानीयको लागि पहिलो रोजाइको विद्यालय’ बनाउने एकमात्र साझ उद्देश्यका निम्ति प्रतिवद्ध भई काम गर्दैछौं । हामी बिहान ९ः४५ मा विद्यालय पुग्छौं अनि ४ बजे मात्र निस्कन्छौ । कक्षा तानेर छिट्टै घर जाने र कुर्सीमा बसेर गफ लगाउने प्रवृत्ति रोकिएको छ । प्रत्येक विद्यार्थीको उपस्थितिको रेकर्ड राखिन्छ । अनुपस्थित भएमा कारण खोज्न फोन समेत गर्छौं । अलिकति पनि समय खेर जान दिंदैनौं । बिहानको एसेम्बली पश्चात् विद्यार्थीलाई शिक्षक स्वयंले कक्षा कोठामा लिएर जान्छौं । कुनै शिक्षकको अनुपस्थितिमा प्रतिस्थापन पाठन गर्छाैं । सबैमा; शिक्षक विनाको कक्षाकोठा हुनुहँुदैन भन्ने भावना सिर्जना भएको छ ।

हिजो अल्छी अनुहार लिई खाली हात कक्षामा छिर्ने शिक्षक हिजोआज शैक्षिक सामग्रीका साथ भित्रिन्छौं र हाँसोका साथ बाहिरिन्छौं । शिक्षकहरू स्वयं पनि पढाउने नयाँ–नयाँ शैली सिक्न तत्पर छौं । खाली समयलाई योजनाको समय मानी अर्को कक्षाको लागि पाठयोजना र शैक्षिक सामग्रीहरू तयार गर्छौं । क्यास पनि लागू गर्दैछौं । खासै वास्ता नगर्ने शिक्षकबीच पनि अहिले ‘क्यास’ ले महŒव पाउन थालेको छ । अंग्रेजी र गणित विषयमा कमजोर विद्यार्थीलाई थप कक्षाको व्यवस्था गरिएको छ । विद्यार्थीमा प्रश्न सोधे जवाफ पाइन्छ भन्ने भावनाले डेरा जमाउन थालेको छ । विद्यार्थीप्रति शिक्षको बुझइमा पनि फरक आएको छ । सिकाइ उपलब्धि नहुनुको मुख्य कारण विद्यार्थी स्वयम् र पारिवारिक वातावरण हो भन्ने हामी शिक्षकहरूमा अहिले बच्चाले उसको आधा समय हामीसँगै बिताउने गर्छन् र हामीले प्रयास गरे विद्यार्थीको सिकाइमा ढिलोचाँडो परिवर्तन ल्याउन सक्छौं भन्ने विश्वास बढेको छ ।

श्री जनउद्धार मावि, चुनिखेल, काठमाडौं

commercial commercial commercial commercial