दृष्टिविहीनमैत्री प्रश्नपत्र अझ्ै प्रतीक्षा गर्नुपर्ने

लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग दृष्टिविहीनमैत्री बनेका छन् । प्रश्नपत्रदेखि परीक्षा केन्द्र पनि दृष्टिविहीनका लागि सहज हुने गरी बनाइन थालेको छ । तर विद्यार्थीको अत्यन्त प्राथमिकतामा रहेको र केही समयअघिसम्म ‘आइरन गेट’ को रूपमा चिनिने एसएलसी बोर्डले भने अझ्ै पनि परीक्षाको परम्परागत शैलीलाई छोडेको छैन । त्यसैले त; दृष्टिविहीनले बुझनै नसक्ने र कहिल्यै प्राक्टिस नै नगरेका चित्रात्मक, ज्यामितीय र नक्शासम्बन्धी प्रश्नहरू सोधिन्छन् ।

२०७१ सालको एसएलसीमा ८३ प्रतिशत अंक ल्याएका निरबहादुर श्रेष्ठ म्याथ र साइन्सका केही प्रश्नहरू आफूले छुनै नसकेको बताउँछन् । चित्र हेरेर हिसाब गर्नुपर्ने प्रश्न दृष्टिविहीनले छुनै नसक्ने उनको कथन छ ।

दृष्टिविहीन विद्यार्थी भरत चौलागाई विज्ञान र गणितसँगै सामाजिकमा आउने प्रश्न पनि दृष्टिविहिनमैत्री नभएको बताउँछन् । उनी भन्छन्, “हामीलाई विद्यालयले आन्तरिक परीक्षामा गर्ने जस्तै व्यवहार बोर्ड परीक्षामा पनि गरिनुपर्छ ।”

विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको पढाइमा दृष्टिविहीन परीक्षार्थीका लागि सबैभन्दा गाह्रो कुरा चित्रात्मक विषय हुन् ।

विद्यालयस्तरमा यस्ता विद्यार्थीका लागि चित्रात्मक प्रश्नको सट्टा अन्य प्रश्न दिने गरिन्छ । अथवा चित्रसहितको प्रश्न बाहिर राखेर अन्य प्रश्नलाई १०० पूर्णांकको मानी नम्बर दिइन्छ । तर एसएलसी परीक्षामा दृष्टिविहीनमैत्री प्रश्नको व्यवस्था गरिएको छैन ।

नेत्रहीन युवा संघका अध्यक्ष समेत रहेका कलाधर भण्डारी भन्छन्, “चित्रात्मक, ज्यामितीय र नक्शासम्बन्धी प्रश्नहरूको सट्टामा वैकल्पिक प्रश्नहरूको व्यवस्था हुनुपर्छ ।” भण्डारी भन्छन्, “ज्यामितिमा रचना गर्ने, प्रयोगात्मक साध्य, सैद्धान्तिक साध्य, चित्र हेरी प्रमाणित गर्ने विषय र सामाजिक विषयमा नक्शा बनाउने, समय रेखा बनाउने, चित्र हेरेर बयान गर्ने प्रश्न दृष्टिविहीनमैत्री हुन सक्दैनन् ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपालले यसपालिको एसएलसीको लागि सम्पूर्ण तयारी भइसकेकोले प्रश्नपत्र परिवर्तन गर्न नसके पनि आगामी दिनमा भने दृष्टिविहीनमैत्री प्रश्नपत्र तयार गरिने प्रतिक्रिया दिएका छन् । उनले एसएलसीमा सोधिने प्रश्नपत्रको विषयमा आफूले भर्खरै ख्याल गरेको भन्दै आगामी दिनमा सुधार गर्दै लैजाने बताए ।

प्रवेशिका परीक्षा निर्देशिका–२०६८ मा आफैं परीक्षा लेख्न नसक्ने अपाङ्गता भएका परीक्षार्थीका लागि आवश्यकता अनुरूप एक घण्टादेखि डेढ घण्टासम्म अतिरिक्त समय थप गर्ने व्यवस्था छ । तर परीक्षा केन्द्र र त्यहाँका जिम्मेवार पक्षका कारण सबैले अतिरिक्त समयको उपभोग गर्न पनि नपाएको बताउँछन् अध्यक्ष भण्डारी ।

दृष्टिविहीनहरूले परीक्षामा लेखन सहयोगीको लागि पारिश्रमिकको व्यवस्था हुनुपर्ने र परीक्षा केन्द्रहरू दृष्टिविहीनमैत्री हुनुपर्ने माग पनि उठाएका छन् । अध्यक्ष भण्डारी भन्छन्, “लेखन सहयोगीले दृष्टिविहीन परीक्षार्थीले भनेका उत्तर सुनेर लेख्नुपर्ने हुँदा दृष्टिविहीन परीक्षार्थीलाई अन्य परीक्षार्थीसँगै राखिनु उचित हँुदैन । त्यस्तै धेरै दृष्टिविहीन परीक्षार्थीलाई एउटै कोठामा राख्दा एक अर्काले बोलेको सुनिने, हल्ला हुने, भनाइ, सुनाइ र लेखाइको तालमेल नमिल्ने भएकोले परीक्षामैत्री वातावरण भएको स्थानमा परीक्षार्थीलाई राख्नुपर्छ ।’

दृष्टिविहीनका लेखन सहयोगीको लागि पारिश्रमिकको विषयमा भर्खरै माग आएको र यसमा सहानुभूतिपूर्वक विचार गरी निर्णय लिइने जानकारी शिक्षा विभाग, समावेशी शिक्षा शाखाका प्रमुख गणेश पौडेलले दिएका छन् ।

परीक्षा नियन्त्रक नेपालले भने परीक्षा केन्द्रका सुविधा र कोठा व्यवस्थापनका कतिपय समस्या तत्काल समाधान गर्न सकिने प्रकृतिका भएकोले यो वर्षको परीक्षाबाट नै दृष्टिविहीनमैत्री परीक्षाकेन्द्र निर्माण गर्न थाल्ने जानकारी दिए । उनले दृष्टिविहीन परीक्षाक्र्षीका लागि सम्भव भएसम्म छुट्टै कक्षा कोठाको व्यवस्था गरिने पनि बताएका छन् ।

सलोजा दाहाल

commercial commercial commercial commercial