मूल्यांकन पद्धतिमै सुधार जरूरी

मूल्यांकन पद्धतिमा केही आधारभूत सिद्धान्त हुन्छन् । मूल्यांकनका तीन स्वरूप हुन्ः सिकाइको मूल्यांकन, सिकाइका लागि मूल्यांकन र मूल्यांकनद्वारा सिकाइ । तेस्रो स्वरूपको आशय अनुसार मूल्यांकन नै सिकाइ हो । एसएलसी परीक्षा भनेको सिकाइको मूल्यांकन हो; जहाँ राष्ट्रियस्तरको एउटै फ्रेमवर्कबाट वर्षभरिको सिकाइको मूल्यांकन हुन्छ । घुमाउरो गरी त भन्न सकिएला; एसएलसी परीक्षाले पनि सिकाइको रूपमा लिन्छ र त्यसलाई विद्यार्थीले पछि प्रयोग गर्छ । तर यो विद्यालय तहको अन्तिम मूल्यांकन भएकोले यसले केही न केही नतीजा दिनुपर्छ, विद्यार्थीलाई केही न केही भनिदिनैपर्छ । एसएलसी सकेको विद्यार्थीले आफू कुन तहमा छु भनेर थाहा पाउनुपर्छ ।

अर्को, सामान्यतः तीन खालको मूल्यांकन पद्धति हुन्छ– ‘क्राइटेरियन रेफरेन्स’, ‘नर्मरेफरेन्स’ र ‘सेल्फरेफरेन्स’ । पहिलोले ‘एब्सुलुट क्राइटेरिया’ बनाएको हुन्छ । जस्तो १० कक्षा पढिसकेको विद्यार्थीले गणितमा १० वटा कुरा जानेकै हुनुपर्छ । १० वटा कुरा नजानेसम्म यति नम्बर वा यति ग्रेड नआउने भन्ने हुन्छ । अर्को तरीका, मानौं यो वर्ष नेपालभरिका विद्यार्थीले गणितमा ल्याएको ६० नम्बर नै सबैभन्दा धेरै हो भने ६० नम्बरलाई ‘ए प्लस’ मान्नुपर्ने हुन्छ, जसलाई ‘नर्मरेफरेन्स’ भनिन्छ । त्यो ग्रुपमा सबैभन्दा धेरै आउनेलाई ‘ए प्लस’ र यही अनुपातमा कम ल्याउनेको ग्रेड तोकिने भयो । यसरी हेर्दा यी दुवै मूल्यांकन पद्धति हाम्रोमा मेल खाँदैनन् । किनभने हामीलाई त्यस्तो स्वतन्त्रता छैन कि यस वर्ष गणितमा सबैको थोरै नम्बर आयो, त्यसैले धेरै आएको ६० लाई नै ‘ए प्लस’ मानौं । त्यस हिसाबले यो ‘क्राइटेरियन रेफरेन्स’ पनि होइन, किनभने ‘क्राइटेरिया’ बनाएको छैन ।

हामीले विद्यार्थीलाई दिएका प्रश्नका आधारमा नम्बर दिने गरेका छौं । अर्को ‘सेल्फरेफरेन्स’ (जसलाई विकासात्मक मूल्यांकन पद्धति पनि भनिन्छ) जसमा पढाइको उपलब्धिमा अघिल्लो महीना उसले यति गरेको थियो, यो पटक उसले यति सुधार ग¥यो भन्ने हुन्छ । त्यो पद्धति हाम्रो होइन ।

यो हिसाबले हेर्दा हामीले अपनाउन खोजेको मूल्यांकन पद्धतिमा दुई÷तीन वटा कुरा मिसाएकोले बुझन÷बुझउन कठिन भएको छ । विद्यार्थीको मूल्यांकन गर्दा पुरानो ढाँचामा नम्बर दिंदै जान्छौं र त्यसलाई ग्रेडमा परिवर्तन गर्छौं । अहिलेको समस्या यही हो । किन भने नम्बरले सधैं यकिन कुरा खोज्छ तर ग्रेडले संकेत खोज्छ । ग्रेडिङ पद्धतिमा जानु राम्रो हो किनभने यसले अलिक फराकिलो कुराको संकेत गर्छ र यो अलि समावेशी पनि हुन्छ । तर मूल्यांकनको एउटा संस्कारबाट अर्को संस्कारमा फड्को मार्न खोज्दा दुवै कुरा सुधार गर्नुपर्ने हुन्छ । एउटा मूल्यांकनको जुन पद्धति हो; जुन ढंगले हामीले मार्किङ गर्ने, नम्बरलाई ग्रेडिङमा लैजाने; परीक्षा बाहेक मूल्यांकनका अरू साधन (जस्तोः वास्तविक समयमा गरेका कामको आकलन, परियोजना कार्यको आकलन र आवधिक मूल्यांकनका आधारमा हुने आकलन) भएको भए मिलाएर ग्रेडिङमा गयौं भन्ने हुन्थ्यो ।

विद्यार्थीको तीन घण्टाको परीक्षाका आधारमा ग्रेडिङ गर्दा नबुझ्एिको हो । तीन घण्टाको परीक्षाका आधारमा अंक दिंदा विद्यार्थीले ० पनि र १०० पनि ल्याउन सक्छ । विद्यार्थीले नबुझनु स्वाभाविक पनि हो किन भने पहिला ३० नम्बर आउँदा ‘एफ’ अर्थात् फेल भनेर आउँथ्यो अब त ग्रेड आउँछ । ग्रेडले संकेत गर्ला; यो सन्तोषजनक भएन त भन्ला । तर त्यस्तो कुरा विद्यार्थीले बुझन केही वर्ष लाग्छ ।

‘अब फेल भइँदैन, किन पढ्ने ?’ भन्ने विद्यार्थीको जुन बुझइ छ, त्यो नै अहिलेको चिन्ताको विषय हो । तर सँगै राष्ट्रियस्तरको एउटा परीक्षाको माध्यमबाट मात्र मूल्यांकन गरेर ग्रेडिङ गर्न सक्छौं कि सक्दैनौं भन्ने पनि अहिलेको मूल प्रश्न हो । हाम्रा प्रश्नपत्र अंकका लागि तयार गरिएका हुन्छन् । तिनको डिजाइन नै ग्रेडिङका लागि गरिएको छैन । तसर्थ अब ग्रेडिङका लागि कसरी प्रश्नपत्र बनाउने भन्ने पनि सोच्नुपर्छ । त्यति मात्रै नभई परीक्षा पनि विभिन्न चरणमा लिनुपर्ने हुन सक्छ । जस्तो, क्षेत्रीय तहमा एक पटक र राष्ट्रिय तहमा एक पटक परीक्षा लिनुपर्ने हुन सक्छ । विद्यार्थीका निश्चित कामको विद्यालयमै नमूना मूल्यांकन गर्नुपर्ने हुन सक्छ । यसो गर्दा परीक्षा र मूल्यांकनको काम पक्कै बढ्न जान्छ । तर ग्रेडिङमा जानका लागि यस्ता काम नगरी हुँदैन । यो वर्ष नसके अर्को वर्षबाट भए पनि यस्ता कार्य नगरी सुखै छैन ।  

यसको अर्थ हामी ग्रेडिङका लागि जानुहँुदैन भन्ने चाहिं होइन । तर त्यसका लागि एउटा होइन ‘मल्टिपल फ्रेमवर्क’ चाहिन्छ । एउटा मात्र माध्यम होइन धेरै माध्यम चाहिन्छ । अहिलेको पद्धतिबाट त विद्यार्थीको एउटा मात्र पाटोको परीक्षण भएको छ । ग्रेडिङले संकेत गर्ने बहुआयामिकताको लागि हामीले मूल्यांकनलाई पनि बहुआयामिक बनाउनुपर्छ ।

ग्रेड प्वाइन्ट एभरेज (जीपीए) सबैले बुझने गरी आइसकेको छैन । सबैले बुझने गरी आएमा यसमा देखिएको अन्योल केही मात्रामा भए पनि हल हुन्छ । जीपीए यस्तो हुन्छ, यो ढाँचाको हुन्छ भनेर बताइदिनुपर्छ । ऐतिहासिक हिसाबले एसएलसी परीक्षा प्रणालीका आफ्नै सीमितता छन् । यसले उच्चस्तरको संज्ञानको मापन गर्न सक्दैन । अहिलेका अन्योललाई परीक्षा नियन्त्रण कार्यालय र पाठ्यक्रम विकास केन्द्रले सहकार्य गरेर हटाउनुपर्छ । अहिलेको मूल्यांकन प्रणालीबाट सफ्ट स्कीलको मूल्यांकन गर्ने ठाउँ अत्यन्त कम छ । यसका लागि मूल्यांकनको दायरा फराकिलो बनाउनुपर्छ । लेटर ग्रेडिङको उद्देश्य पनि त्यही हो ।

त्यसैले ग्रेडिङ सम्बन्धमा अहिले देखिएका केही अन्योल सकारात्मक पनि हुन्छन् । तीन घण्टाको परीक्षाले प्रोसेस मूल्यांकन÷आकलन गर्दै गर्दैन । सफ्ट स्कील्सले प्रोसेसमा बढी मूल्यांकन हुन्छ । त्यसको फ्रेमवर्क बनाउनुपर्छ ।

ग्रेडिङमा विद्यार्थीलाई अभ्यस्त बनाउन परीक्षा र पाठ्यक्रम विकास केन्द्रले विशेष ध्यान दिनैपर्छ । परीक्षा हेरेर पाठ्यक्रम बनाउने भन्ने अक्षरांकन पद्धतिको कार्यविधिमा उल्लेख गरिएको भाषा ठीक छैन । पाठ्यक्रमले मूल्यांकनलाई गाइड गर्ने हो । नीतिनिर्माण तहमा बसेकाहरूले यी कुरा चाहिं स्वीकार्नै पर्छ ।

commercial commercial commercial commercial