शिक्षक ले ‘शिक्षक’ बनायो
मलाई शिक्षक बन्नका लागि होस्टेमा हैंसे गर्ने शिक्षक मासिक हो । शिक्षक को नियमितको अध्ययनले शिक्षण उत्कृष्ट पेशा हो भन्ने धारणा बनाइदियो ।
“केटा हो, तिमीहरू भविष्यमा के बन्छौ ?” गाउँका एक काकाले प्रश्न तेस्र्याएका थिए । हामी दुवै जनाले एकैस्वरमा ‘इन्जिनियर !’ भनेर जवाफ दिएका थियौं । हाम्रो जवाफ सुनेर उनले फेरि भने, “नेपालमा कति रोगीहरू छन्, तिनीहरूको उपचार चाहिं कसले गर्ने नि, यदि सबै इन्जिनियर बन्ने हो भने ?” उनको यो जवाफ सुनेर हामी अवाक् भएका थियौं । अनि हामी सरासर विद्यालयतिर लाग्यौं । तर उनका ती शब्दहरूले भने मनमा घोची नै रह्यो, भविष्यमा के चाहिं बन्ने त, इन्जिनियर या डाक्टर ! म अन्योलमा परें ।
भविष्यको लक्ष्य समयको पोल्टामा पो हालिएछ । एसएलसी पास गर्दासम्म के विषय लिएर पढ्ने के बन्ने भन्ने लक्ष्य निर्धारण गर्नै सकिएन ।
२०६५ देखि २०६९ सम्म सरकारी विद्यालयमा शिक्षण गरें । त्यहाँ रहँदा धेरै कुरा सिकियो अनि देखियो पनि । शिक्षक मासिकसँग पनि त्यही विद्यालयमा साक्षात्कार भयो । त्यसपछि त ‘शिक्षक पढ्दै, शिक्षक बन्दै’ भन्ने मेरो एउटा अघोषित अभियान नै शुरू भयो । त्यहाँ जति समयसम्म पढाएँ पूरा इमानदारी साथ पढाएँ । विद्यालयको शैक्षिक स्तर उकास्नतिर लागें । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि लाग्न अभिप्रेरित गरें । सफलता मिल्दै गयो, विद्यार्थी अनि अभिभावकमाझ् चर्चा पनि कमाएँ । विद्यार्थीमाझ् विताएका ती दिनहरू आजसम्म पनि ताजै छन् ।
उक्त विद्यालयमा शिक्षण गर्न थालेपछि मेरो मन अनि दिमागले लगातार भन्न थाल्यो, अब तेरो लक्ष्य केवल ‘शिक्षक’ बन्नु नै हो ।
त्यसैले त्यसबीच आएका अवसरहरूलाई पन्छाउँदै शिक्षण पेशामा नै रमाउन थालें । मलाई शिक्षक बन्नका लागि होस्टेमा हैंसे गर्ने शिक्षक मासिक हो भनेर आज म सजिलै भन्न सक्छु । शिक्षक मासिकको नियमितको अध्ययनले मेरो दिमागमा शिक्षक भनेको इन्जिनियर, डाक्टर अनि अरू कैयौं पेशाभन्दा पनि राम्रो र उत्कृष्ट पेशा हो भन्ने धारणा बनाइदियो ।
मेचीनगर १०, काँकडभिट्टा, झपा