न्याउरी मारी पछुतो !

मोरङ जिल्लाको एक माध्यमिक विद्यालयमा हेडमास्टर थिएँ । बीस÷बाइस वर्षको, आलोकाँचो नै थिएँ । हेडमास्टर हुँदाका कतिपय घटनाले मलाई सधैं बेचैन बनाउँछन् । आफ्नै अल्पबुद्धि र अरू शिक्षकको उलामालामा लागेर मबाट केही गल्ती भए । तीमध्ये एउटा गल्ती यहाँ स्मरण गर्न चाहन्छु ।

कक्षा ८ मा एकजना अति नै प्रतिभाशाली विद्यार्थी थियो— उमेश । ऊ शिक्षकले पढाएको कुरा अत्यन्त राम्रोसित सम्झ्न्थ्यो ।

सानो गाँठीको उमेश बोलीवचनमा पनि औधी नै मिजासिलो लाग्थ्यो मलाई । तर त्यति हुँदाहुँदै पनि ऊ कतिपय शिक्षकलाई मान्छे नै गन्दैनथ्यो । त्यस्ता शिक्षक भन्ने पनि गर्थे, “यो उमेश जान्ने हुँ भनेर धेरै घमण्ड गर्छ, यसलाई धेरै प्रश्रय दिनुहुँदैन ।”
 म शिक्षकहरूलाई सम्झउथें र भन्थें, “राम्रो पढ्छ, मिहिनेती छ । कुशाग्र मस्तिष्कको हुनाले अरूभन्दा फरक त हुने भैगो नि !” कक्षामा सधैं प्रश्न सोध्ने हुनाले पनि उमेशसित कतिपय शिक्षक आगो हुन्थे । त्यस्ता शिक्षकलाई म सल्लाह दिने गर्दथें, “सामान्य विद्यार्थीभन्दा जेहेनदार विद्यार्थीको स्वभाव अलग खालको हुन्छ । शिक्षकले त्यस्ता विद्यार्थीको प्रतिभा खारिदिने काममा विशेष योगदान दिन सक्नुपर्दछ ।”

शिक्षकहरू मेरा कुरा त सुन्थे तर म बुझथें, उनीहरूलाई मेरा कुरा पचिरहेका छैनन् । तैपनि प्रतिवाद भने गर्न चाहँदैनथें ।
उमेश उमेरभन्दा धेरै ठूला कुरा गर्दथ्यो । उसका काकाको भर्खरै त्यसै गाविसमा हत्या भएको कुरालाई लिएर ऊ भन्ने गथ्र्यो, “हत्याराहरू सडकमा छन् । निर्दोष मानिसहरू जेलमा छन् । मुलुकमा कहिलेदेखि कानूनको शासन होला हेडसर ?”
एकदिन उमेशले मसित एक सिलसिलामा भन्यो, “पढाउन सक्ने, क्षमतावान व्यक्तिहरू अवसरको अभावमा अन्तै डल्लिएर बसेका छन् । अयोग्यहरू चाहिं शिक्षक भएर कक्षा कोठामा ठसठस कनिरहेका छन् । यस स्कूलका कतिपय शिक्षकहरू त हली हुन चाहिने योग्यता पनि राख्दैनन् ।” शिक्षकहरूलाई त्यसो भन्नुहुँदैन भनेर म उसलाई सम्झउँथें ।

यस्तै कुराले गर्दा उमेश मलाई विशेष मन पर्दथ्यो । ऊ मसित बसेर कहिले त लामो समयसम्म कुरा गर्दथ्यो । त्यो देख्दा शिक्षकहरू भित्रभित्रै जल्थे । उसलाई म विद्यार्थी होइन आफ्नो साथी जस्तो मान्थें ।

मंसीर महीना थियो । कक्षा शिक्षकहरूबाट तयार भएको रिजल्टसिटमा मैले सही गरेर टाँस्ने काम हुँदैथियो । कक्षा ८ को रिजल्टमा उमेश दोस्रो भएको देखेर म छक्क परें । अन्तिम रिजल्ट तयार भइसकेको भए पनि मैले ८ कक्षामा पढाउने शिक्षकहरूलाई सोधें, “उमेशलाई जित्न सक्ने अरू को रहेछ त्यो कक्षामा ?”

मेरो प्रश्नले एकछिन सन्नाटा छायो । एकछिन पछि मौनता तोड्दै अंग्रेजी शिक्षकले भने “सर ! वास्तवमा उमेश जान्ने छ । यो सत्य कुरा हो । अनि यो पनि सत्य कुरा हो, ऊ अति घमण्डी छ । हेडसरलाई बाहेक हामीलाई ऊ अति नै हेप्ने काम गर्दछ । उसलाई त्यसको सजाय मात्र दिएका हौं । ऊ त्यसै त भुईं न भाँडामा भएको छ कक्षामा प्रथम पनि पारियो भने त उसले सबैलाई कुट्दै हिंड्छ भनेर सरको विषयमा बाहेक अरू सबैमा हामीले उसको नम्बर उही राखेर सेकेन्ड भएकालाई नम्बर थपेर प्रथम बनाएका हौं ।” विज्ञान र गणित पढाउने शिक्षकले पनि अंग्रेजी शिक्षकका कुरामा सही थापे ।

मैले भनें “सरहरू तपाईंहरूले जे गर्नुभयो त्यो सोह्रैआना गलत भयो । शिक्षकको कर्तव्यबाट तपाईंहरू विमुख हुनुभयो । हेडमास्टरका हैसियतले म पनि अछुतो रहिनँ । यसको प्रायश्चित पो कसरी गर्ने हो ?” म किंकर्तव्यविमूढ भएँ । केहीबेरको मौनतालाई चिर्दै मैले फेरि भनें “यसपालि नहुनु भैगो; अब आइन्दा त्यस्तो नहोस् ।”
त्यसदिनदेखि मेरा मनमा उमेशप्रति अझ्ै टिठ लागेर आउन थाल्यो ।

रिजल्ट निस्केको केही दिनपछि कक्षा ९ मा पढ्ने दुर्गाप्रसाद भन्ने विद्यार्थीले उमेशलाई मुक्का हानेछ । विद्यालय हाताभित्र झ्गडा भएको हुनाले त्यो घटना हेडटिचरसम्म नआउने कुरै भएन । मैले झ्गडा गर्ने दुवै विद्यार्थीलाई सम्झई–बुझई उनीहरूलाई मिलाइदिन खोजें । तर उमेशले मान्दै मानेन । उमेशलाई पिट्ने दुर्गालाई कान पक्रेर उमेशसित माफी माग्न लगाएँ तर पनि उमेशले उसलाई माफ दिएन ।

“म निर्दोषलाई अनाहकमा हात हालेर नीलडाम हुने गरी पिटेको हुनाले उसलाई विद्यालयबाट ‘रेस्टिकेट’ गर्नुपर्दछ । उसलाई ‘रेस्टिकेट’ नगरी म मान्दै मान्दिनँ ।” उमेशले अड्डी कस्यो । मैले उमेशको बुबालाई पनि बोलाएर सम्झउने सक्दो प्रयत्न गरें । तर बुबाले पनि छोराकै भनाइ दोहो¥याउँदै दुर्गालाई ‘रेस्टिकेट’ गर्नैपर्ने अडान राख्नुभयो । अनेक प्रयत्न गर्दा पनि केही सीप लागेन ।

मेरो आग्रह बाबुछोराले नै अस्वीकार गरेको देख्दा शिक्षकहरूले काखी बजाए । उनीहरू भन्न थाले, “उमेशलाई टाउकामा नटेकाऊँ भन्दाभन्दै हेडसरले मान्नुभएन । अब त उसले हेडसरकै टाउकामा पनि टेक्यो । हामीले त पहिले नै भनेका थियौं !”
एक जना शिक्षकले थपे, “सर भोलि ९ कक्षाका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लानुछ । भ्रमण गएको वेला पनि ती दुईले झ्गडा गरे भने को जवाफदेही हुन्छ ? म त यी झ्गडा गर्ने दुवैलाई लिएर भ्रमणमा जान सक्दिनँ ।”

मेलमिलाप नभएको हुँदा झ्गडा गर्ने उमेश र दुर्गा दुवै जनालाई शैक्षिक भ्रमणमा जान नपाउने भनी मैले लिखित आदेश दिएँ । त्यसवेला उमेशले मलाई भन्यो, “हेडसर ! के तपाईं मलाई त्यो नाथे दार्जीलिङ जान रोक्दै हुनुहुन्छ हो ?”

मैले स्वीकार सूचक टाउको मात्र हल्लाएको थिएँ । उमेशले कड्केर फेरि भन्यो, “लेखेर राख्नुहोस् कुनै दिन उमेश अमेरिकाको राजधानी वासिंटन जान्छ, त्यसवेला त तपार्इं रोक्न सक्नुहुन्न होला नि !”

उमेशको जोसिलो भनाइ मेरो अन्तस्करणमा गहिरो गरी बिझयो । तैपनि मैले यति भनें, “त्यसवेलाका लागि तिमीलाई अग्रिम शुभकामना छ । तर मेलमिलाप नगरेसम्म तिमीहरू दुवैलाई शैक्षिक भ्रमणमा जान मात्र नदिने मेरो निर्णय हो ।”

त्यसै दिन केही स्थानीय बदमासहरू लिएर शिक्षकहरूमाथि आक्रमण गराउन उमेश विद्यालयमा आयो । उनीहरूलाई बल्लबल्ल सम्झइ–बुझइ गरेर पठाउन म सफल भएँ ।

त्यसपछि त शिक्षकहरू ठाडै भन्न थाले, “उमेशलाई स्कूलबाट ‘रेस्टिकेट’ नगर्ने हो भने हामी पढाउँदैनौं, पढाउन सक्दैनौं ।”
मैले उमेशलाई एक्लै पारेर धेरै सम्झएँ, “उमेश, तिमीले आफ्ना कुरामा अडान राख्न छाडेनौ भने मैले दुर्गालाई होइन तिमीलाई स्कूलबाट निकाल्ने अवस्था आउन सक्छ । त्यसैले तिमी सोच । तिमीप्रति शिक्षकहरूको सोचाइ पनि सकारात्मक छैन ।”
“के तपाईं मलाई ‘रेस्टिकेट’ गर्नुहुन्छ ? ल गर्नुहोस् । तपाईंको शक्ति पनि हेरौंला ।” उमेशले मलाई ठाडै चुनौती दियो । ठूलो स्वरमा “पिटाइ खाने म, उल्टै ‘रेस्टिकेट’ पनि मलाई गर्ने रे !” कराउँदै विद्यालयबाट बाहिर गयो ।

उमेशको उद्दण्डता र धम्कीबाट चिढिएका शिक्षकहरूले उसलाई तत्काल निष्काशन गर्न दबाब दिन थाले । उनीहरू भन्न थाले, “अब पनि ढिलो गर्नुभयो भने यो स्कूल स्कूल रहँदैन । बाख्रा थुन्ने खोर हुन्छ ।” धेरै सम्झई–बुझई गर्दा पनि शिक्षकहरू मानेनन् । अन्ततः उमेश विद्यालयबाट ‘रेस्टिकेट’ भएको सूचना टाँस्न लगाई म काठमाडौंतिर हिंडें ।

काठमाडौं आएको केही दिनपछि हुलाकबाट स्कूलमा राजीनामा पठाइदिएँ र गोरखापत्र दैनिकमा उप–सम्पादकको जिम्मेवारी निर्वाह गर्न थालें । झ्न्डै अढाइ दशक त्यही सरकारी सञ्चारमाध्यममा नै बिते । तर अझ् पनि मलाई उमेश प्रकरणले ‘न्याउरी मारी पछुतो’ हुनछाडेको छैन । मैले ‘रेस्टिकेट’ गरेपछि उमेश कहाँ गयो होला ? उसले के ग¥यो होला ? त्यस्तो अद्वितीय क्षमताको धनी, कुशाग्र मस्तिष्कको उमेश आज के गरिरहेको होला ? पछिसम्मै ऊ त्यस्तै प्रतिभाशाली नै रह्यो होला कि ?

‘रेस्टिकेट’ को पीडाले उसको प्रतिभामा प्रतिकूल असर पो प¥यो होला कि ? उसले मलाई कसरी सम्झ्ेको होला भन्ने लागेर व्यथित भइरहन्छु ।

सजाय पाउने विद्यार्थीले बरु पीडा बिर्सिन्छ होला तर सजाय दिने शिक्षकलाई त्यसले अझ् बढी आहत पारिरहँदोरहेछ भन्ने मेरो तीतो अनुभव, मनै खि¥याउने अनुभूति हो ।

पूर्व सम्पादक— मुना÷मधुपर्क

commercial commercial commercial commercial