‘अस्थायी’ भनेका ‘अयोग्य’ होइनन् ! यसरी गरिनुपर्छ अस्थायी शिक्षकको व्यवस्थापन

विभिन्न परीक्षामा खरो उत्रिएकाहरूले मात्र अस्थायी करार नियुक्ति पाएका थिए । त्यसैले, ‘अस्थायी’ भनेका ‘अयोग्य’ होइनन् । बरु, अस्थायी शिक्षक इमानदार र कर्तव्यपरायण छन्, उनीहरूले पढाएका छात्रछात्रा राष्ट्रिय—अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन सफल भइरहेका छन् ।

सामुदायिक विद्यालयमा बीसौं वर्षदेखि अस्थायी रूपमा कार्यरत शिक्षकहरूको व्यवस्थापन आज शिक्षा क्षेत्रको प्रमुख चुनौतीको रूपमा रहेको छ । जीवनको ऊर्जाशील समयमा शिक्षण सेवामा प्रवेश गरेका होनहार शिक्षकहरूले सेवारत रहेकै अवस्थामा सेवा प्रवेशको उमेर बिताइसकेका कारण अब हुने शिक्षक सेवा आयोगको विज्ञापनमा उम्मेदवार बन्ने हैसियत समेत राख्दैनन् । परिणामतः हीनताबोधले गर्दा उनीहरूको मनोबल न्यूनतम बिन्दुमा झ्र्न पुगेको छ ।

अस्थायी शिक्षकले पढाएका छात्रछात्राहरू विभिन्न तहका परीक्षामा सर्वोच्च स्थान हासिल गर्न सफल भएका छन्, निजामती सेवा, प्रहरी, प्रशासन, शिक्षक, सैनिकलगायतका सेवाहरूमा छनोट हुन सफल भएका छन् । उत्कृष्ट शिक्षण सेवा गरेबापत पुरस्कृत पनि भइरहेका छन् अस्थायी शिक्षकहरू । स्थायीको तुलनामा अस्थायी शिक्षक नै बढी क्रियाशील र प्रभावकारी देखिएका छन् । कतिपय अवस्थामा कक्षा कोठा र विद्यालयमा तोकिएको समयभन्दा बढी समय बिताउने, कर्तव्यपरायण, सृजनशील, इमानदार र परिश्रमी मुलुकभरिका अस्थायी शिक्षकहरू असुरक्षित र अपमानित अवस्थामा रहिरहनु भनेको सिंगो राज्यको लागि अत्यन्त लज्जाको विषय बन्न पुगेको छ ।

सरकारी गलत नीति र अस्थायी शिक्षकप्रतिका हेयका दृष्टि नै समस्याको प्रमुख कारण हो । सबै सेवामा नियमित विज्ञापन हुने, शिक्षक सेवामा मात्र एउटा र अर्को विज्ञापनको बीचको अवधि किन सत्र वर्षको हुने ? नियमित विज्ञापन गराएर प्रतियोगितामा सामेल नगराउने अनि अस्थायी भएकै भरमा अयोग्य भन्ने ? अस्थायी शिक्षक समस्या समाधानका सम्झैतामा हस्ताक्षर गर्ने, कार्यान्वयन भने सरकारले कहिल्यै नगर्ने ? अन्य सबै क्षेत्रका कर्मचारीले गरेका सेवा राष्ट्रको सेवा हुने, अस्थायी शिक्षकले गरेको निरन्तर शिक्षण कार्यलाई सेवा नमान्ने ? सबै राष्ट्रसेवकहरूको मनोबल बढाउन सरकारी कार्यक्रमहरू ल्याउने, अस्थायी शिक्षकको भने मनोबल सधंै गिराइरहने ? किन यस्तो विभेद ?

२०४७ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछिका दिनहरूमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकदेखि ढल, खानेपानी, बिजुली अड्डालगायतका निकायमा सेवा प्रवेश गरेकै आधारमा सबै अस्थायी कर्मचारीलाई स्वतः स्थायी गरियो । तर शिक्षकका हकमा भने २०४८ सालमा अन्तर्वार्ताको माध्यमबाट शुद्ध रिक्त दरबन्दीमा रहेकालाई मात्र स्थायी गरियो । नेपाल सरकारका विकासतर्फका महिला कर्मचारीलाई सामान्य प्रक्रिया पु¥याएरै स्थायी गरियो । यस्ता थुप्रै उदाहरण छन् मुलुकमा जहाँ शिक्षकबाहेक दबाब र बल प्रयोगकै आधारमा थुप्रै कर्मचारी स्थायी भएका छन् ।

आजका अस्थायी शिक्षक हुकुमप्रमाङ्गीको भरमा सेवा प्रवेश गरेका थिएनन् । विश्वविद्यालय तथा विद्यालयबाट तोकिएको योग्यता पूरा गरी अध्यापन अनुमतिपत्र समेत प्राप्त गरेका योग्य उम्मेदवारहरूमध्ये लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, कक्षा अवलोकनलगायतका विभिन्न परीक्षामा कडा प्रतिस्पर्धा गरी खरो उत्रिएकाहरूले मात्र अस्थायी करार नियुक्ति पाएका थिए ।

आज तिनै शिक्षकहरू अस्थायीका रूपमा कार्यरत छन् । यसरी निश्चित मापदण्ड पूरा गरेका, कानूनले तोकिएको प्रक्रिया पु¥याई योग्यता र प्रतिस्पर्धाका आधारमा छनोट भई अस्थायी या करारमा नियुक्ति प्राप्त गरी कार्यरत रहेका शिक्षकहरूलाई थप सामान्य प्रक्रिया पु¥याई स्थायी नियुक्ति दिलाउन कसैलाई, किन र केको आपत्ति ?

अस्थायी र करारमा नियुक्त शिक्षकलाई हेरिने दृष्टिकोणमा पूर्ण परिवर्तन जरूरी छ । ‘अस्थायी’ भनेका ‘अयोग्य’ होइनन् ।

अस्थायी शिक्षक इमानदार र कर्तव्यपरायण छन् र अस्थायी शिक्षकले पढाएका छात्रछात्राहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन निरन्तर सफल भइरहेका छन् भन्ने बुझनुपर्छ । साथै अस्थायी शिक्षकको सम्मान र सुरक्षाका लागि राज्यतर्फबाट तत्काल पहलकदमी गरिनुपर्दछ । अन्यथा उनीहरूमा हुनसक्ने हीनताबोधको कारण कक्षा शिक्षण, मुलुकको शिक्षा र सामाजिक अवस्थामा समेत दूरगामी, गम्भीर र नकारात्मक असर पर्न सक्छ ।

शिक्षक समस्याको समाधानको लागि शिक्षकका वर्गीय सङ्गठनको भूमिका पनि प्रभावकारी हुनपर्छ । शिक्षक महासंघको ध्यान यो समस्या समाधानतर्फ केन्द्रित गर्नु आवश्यक छ । केही दिनका लागि देशभरका विद्यालय बन्दै गर्नु परे पनि हिम्मतका साथ निर्णायक आन्दोलन गर्नु आजको आवश्यकता भएको छ । यस्तो आन्दोलनको नेतृत्व शिक्षक महासंघले गर्नुपर्छ ।

यस वर्षको बजेट वक्तव्यमा घोषणा गरिए अनुसार सरकारले सामुदायिक विद्यालयको स्थायी दरबन्दीमा कार्यरत अस्थायी शिक्षकलाई अवकाश दिने विशेष योजना ल्याएको छ । यो योजना कार्यान्वयन भएमा सामुदायिक विद्यालयमा कार्यरत झ्ण्डै आठ हजार अस्थायी शिक्षकहरू सेवाबाट विस्थापित हुनेछन् ।

सरकारले अघिसारेको योजना अनुसार पाँच वर्षसम्म दरबन्दीमा रही अस्थायी सेवारत शिक्षकलाई प्रत्येक वर्ष सेवा गरेबापतको आधा महीनाको तलब बराबरको रकम लिने या स्थायी हुने प्रक्रियाको प्रतिस्पर्धामा सामेल हुने ? यी दुईमध्येको एउटा सुविधा छनोट गर्न दिइनेछ । तर यी दुवै विकल्पबाट अस्थायी शिक्षकहरूको उपचार हुन सक्दैन । किनभने जीवनको ऊर्जाशील र प्रतिस्पर्धी समय आयोग सामना गर्ने अवसरै नपाई अस्थायी सेवामा बिताएका, उमेरले परिपक्व शिक्षकहरू अनुभवमा अगाडि भए पनि प्रतिस्पर्धामा अगाडि नहुन सक्छन् जसले गर्दा उनीहरू प्रतिस्पर्धामा सफल हुने सम्भावना कम हुन सक्छ भने अर्कातिर सुनौलो अवसरको नाममा उपलब्ध गराउने भनिएको रकम अत्यन्त न्यून छ ।

अस्थायी शिक्षकका पीडामा मल्हम लगाउने खालका प्रभावकारी योजना हालसम्म कुनै पक्षबाट पनि सार्वजनिक भएका छैनन् ।

अस्थायी शिक्षकका पक्षमा लिखित सम्झैता गर्न र सम्झैतामा हस्ताक्षर गर्न पटक–पटक तयार भए पनि कार्यान्वयन गर्ने पक्षमा भने सरकार सधैं अनुदार रहेको पाइन्छ । शिक्षकका पेशागत संघ–संगठनले भने अस्थायी शिक्षकहरूलाई भोट ब्यांकको रूपमा प्रयोग गर्ने र फाल्ने नीति लिंदै आएको पाइन्छ । समयले कसैलाई छाड्दैन ।

आजका दोषी भोलिका अभियोगी प्रमाणित हुने तथ्य निर्विवाद छ । तसर्थ अस्थायी शिक्षकलाई सधैं अन्याय, अपमान र असुरक्षाको पीडामा जिउन बाध्य नबनाई तत्काल समस्याको दिगो समाधान खोज्नु बुद्धिमानी हुनेछ । अस्थायी शिक्षकहरू मात्र सामेल हुने गरी स्थायीको प्रक्रियामा लगिनुपर्छ । यस्तो प्रक्रियामा असफल भएकालाई सुनौलो अवसर सहित विदा दिने नीति बनाई तत्काल कार्यान्वयन गरिनुपर्छ । अब
उप्रान्तको हकमा भने नियमित विज्ञापन र स्वस्थ प्रतिस्पर्धाबाट मात्र स्थायी शिक्षक सिफारिस र नियुक्ति गरिनुपर्छ ।

केन्द्रीय अध्यक्ष, उच्च माध्यमिक शिक्षक समाज, नेपाल

commercial commercial commercial commercial