शैक्षिक यात्राको मार्गनिर्देशक

शिक्षक मासिकको सम्यक पठनले मेरो शिक्षण कार्य सहज भएको म स्वयंलाई अनुभूति भएको छ । स्रोत व्यक्ति भएपछि शिक्षकहरूलाई विभिन्न किसिमका तालीम सञ्चालन गर्न यो पत्रिकाले मलाई सहजीकरण गरिरहेछ । विभिन्न विषयका सन्दर्भ सामग्रीको रूपमा मैले यसैलाई प्रयोग गर्ने गरेको छु ।

रामविक्रम थापा

पुस्तक र पत्रपत्रिका ज्ञानका अजस्र भण्डार हुन्, मनोरञ्जनका साधन हुन् र मानसिक खुराक हुन् । तर लहडमा कुनै पुस्तक वा पत्रिका किन्ने पाठकको लगानी मात्र डुब्दैन; समय पनि नष्ट हुन्छ । नकारात्मक सोचका पाठ्यसामग्रीले कतिपय पाठकको मनस्थिति गिराएर अवन्नतिको मार्गतिर धकेलिदिएका उदाहरण पनि छन् । अतः आजका पाठकले कुनै सामग्री आफ्ना लागि कति उपयोगी छ ? त्यो पढेर आपूmलाई के फाइदा हुन्छ ? आदि कुराहरूको ख्याल गरेर मात्र पुस्तक अथवा पत्रिका खरिद गर्नुपर्छ ।

म, २०६४ माघ (पहिलो अङ्क) देखि शिक्षक मासिकको नियमित पाठक बन्न पुगेँ । गरिमा र मधुपर्क ले साहित्यिक प्यास मेटाउँथे भने शिक्षक मासिकले शैक्षिक भोक मेटाइरहेछ । आपूm पनि शिक्षक हुनुका नाताले शिक्षक लाई मैले व्यावसायिक पत्रिका ठानेको छु । शिक्षा क्षेत्रका नीति निर्मातादेखि शैक्षिक प्रशासक, शिक्षक, अभिभावक र विद्यार्थी जस्ता सबै सरोकारवालाहरूलाई केही न केही खुराक दिने शिक्षक मासिक शिक्षकहरूका लागि त मार्गनिर्देशक वा गुरु नै ठान्छु म । शिक्षकको पेशागत उन्नयनका लागि शिक्षक मासिकलाई कोसेढुङ्गो नै मान्नुपर्छ ।

पहिले त म शिक्षक मासिकको वार्षिक ग्राहक नै थिएँ । अहिले महिनैपिच्छे पत्रिका पसलबाट खरीद गरेर ल्याउँछु । पत्रिका किन्नासाथ पसलमै उभिएर सर्वप्रथम ‘समाचार’ पढ्छु । शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षक सेवा आयोग र पेशागत सङ्गठन लगायतका शैक्षिक समाचारहरू ताजा र जानकारीमूलक हुने गर्छन् । जिशिकालाई भन्दा पहिला आपूmलाई थाहा भएका शैक्षिक समाचारहरू स्रोतव्यक्तिका हैसियतले आफ्नो स्रोतकेन्द्र अन्तर्गतका प्र.अ. र शिक्षकहरूलाई सम्प्रेषण गर्ने गर्छु ।

शैक्षिक क्षेत्रका ताजा र भित्री समाचार सहित यो स्तम्भलाई निरन्तरता दिनुका अतिरिक्त पृष्ठ समेत बढाउने सुझव दिन मन लाग्छ । मैले पढ्ने दोस्रो स्तम्भ हो— ‘जिज्ञासा र जवाफ’ । यो स्तम्भबाट आफ्नो पेशागत समस्याका धेरै समाधान पाएर कार्यान्वयन समेत गरेको छु । ऐन, कानूनका विभिन्न अज्ञात कुराहरू ज्ञात भएका छन् भने कतिपय विस्मृत कुराहरूको पुनर्ताजगी समेत भएर व्यवहारमा उतारेको छु । सम्बन्धित निकायबाट प्राप्त आधिकारिक जवाफ बहुजनलाई उपयोगी हुन्छन् । अतः यो स्तम्भको महŒव र उपयोगिता स्वतः सिद्घ छ ।

विद्वान् शिक्षाविद् डा. विद्यानाथ कोइरालाका चिन्तनपरक शैक्षिक लेखहरू सान्दर्भिक र उपयोगी छन् । पेचिला शब्द र घतलाग्दा छोटा वाक्यहरूको लेखनशैली पनि मनाकर्षक र स्वादिलो छ । तर पछिल्ला दिनमा ‘धेरै खाए गुँड तीतो’ को आभास हुन थालेको छ । सधैं एउटै शैली र उस्तै विषयवस्तु जबरजस्ती पाठकलाई लादे जस्तो भान हुन्छ । आलेखहरूको भाव र उद्देश्य पनि पुनरावृत्ति भएको पाइन्छ । अन्य शिक्षाविद्का फरक स्वाद र शैलीका शैक्षिक लेख पनि पढ्न पाउनुपर्छ पाठकले ।

खाने मान्छेलाई सधैं एउटै भान्सा स्वादिलो र पाच्य हुन्न भन्ने कुरा सम्पादकले बुझ्दििनुपर्छ । विद्वान् अन्वेषक क.दी. को ‘बोलीको लोली’ ले पनि ओझ्ेलको साहित्यिक इतिहास उजागर गरी वर्तमान पुस्तालाई जानकारी गराउँदै आएको छ । तर यो स्तम्भ पनि कहिलेकाहीँ नूनबिनाको तरकारी जस्तै लाग्छ । यहाँ पनि लेखक परिवर्तन गर्दै आलोपालो स्थान दिएमा नौला कुरा र नवीन शैलीको खुराक पाइन सक्थ्यो । शिक्षक मासिकले साहित्यको पाटोलाई चटक्कै बिर्सेको छ । दशैंमा समेत साहित्यलाई सम्झ्ने काम भएन । यति लोकप्रिय पत्रिकाले साहित्यलाई बेवास्ता गर्नु दुःख लाग्दो कुरा हो । तर्क त गर्न सकिएला— साहित्य छाप्ने त अरू पनि धेरै पत्रिका छन् । तर त्यसो होइन । के शिक्षक का पाठकहरू साहित्यप्रेमी हुन सक्तैनन् । साहित्यिक खुराक (थोरै भए पनि) त पाउनुप¥यो नि पाठकले । शिक्षक मासिकलाई सन्तुलित, पोषिलो र रसिलो बनाउन २–३ पृष्ठ साहित्यलाई दिएर कथा, कविता, निबन्ध.... छाप्नुपर्छ । यसो गर्दा शिक्षक का पाठक घट्ने होइन, बढेरै जाने कुरामा सम्पादक ढुक्क भए हुन्छ ।

‘मनका कुरा’ खुला बहसको स्वतन्त्र स्तम्भ भएको छ । शिक्षक मासिकका धेरै पाठकका निम्ति लेखकीय कोठामा छिर्ने यो स्तम्भ प्रवेशद्वार नै हो । यसमा शैक्षिक क्षेत्रका विविध पाटा र पक्षका बहुउपयोगी कुराहरू आउनुपर्छ । शिक्षाका कर्मचारी, स्रोत व्यक्ति, विव्यस, प्रधानाध्यापक र शिक्षकहरूको प्रतिनिधित्व यो स्तम्भमा हुनुपर्छ । भूगोल र क्षेत्र अनुसार समानुपातिक सहभागिता भएमा सन्तुलित र न्यायोचित हुनेछ । आफ्नो जिल्लाका लेखकका लेखहरू पत्रिकामा पढ्न पाउँदा पाठकहरू गौरवान्तित हुने गर्छन् । डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल–अध्ययन’ स्तम्भले विज्ञान, वातावरण, इकोसिस्टम र पर्यावरण सम्बन्धी जानकारीमूलक सन्देश दिने भएकाले यो स्तम्भलाई निरन्तरता दिनु आवश्यक ठान्छु । सबै क्षेत्रको शैक्षिक लगानीको उद्देश्य भनेको कक्षाकोठाको सिकाइ सुधार नै हो । त्यस कारण सिकाइ सम्बन्धी ज्ञान, विज्ञान, सीप र प्रविधि प्रदायक लेखहरू उपयोगी हुने भएकाले यस्ता सामग्रीहरूलाई प्राथमिकतापूर्वक समावेश गर्नुपर्छ । शैक्षिक संस्था र व्यक्तिका राम्रा र अनुकरणीय अभ्यास एवम् सुकार्यहरूका सामग्रीहरू पनि शिक्षक मासिकमा आइदिए अरूले सिकेर व्यवहारमा उतार्ने अवसर पाउन सक्ने थिए । अगाडि र पछाडिका ‘विषय–सन्दर्भ’ र ‘आलोपालो’ विचारोत्तेजक र सान्दर्भिक लाग्छन् । फुर्सदका शब्दखेल, अन्ताक्षरी, सुडोकु र सामान्य ज्ञान एउटा खास स्तरका जिज्ञासु पाठकहरूका लागि त सहभागिता जनाउने सुअवसर नै होला ! तर प्रौढ पाठकहरूका लागि ‘फुर्सद’ स्तम्भ नै अनावश्यक हो कि ! मलाई लाग्छ— शिक्षक का ७५% पाठकले यो स्तम्भ हेर्दै हेर्दैनन् ।

यसो पढेर मन बहलाउने मनोरञ्जनको साधनका रूपमा मात्र लिएको छैन मैले शिक्षक मासिकलाई । यसका पाठ्यसामग्रीले मलाई ऊर्जाशील खुराक प्रदान गरेर आफ्नो पेशागत र शैक्षिक मार्गमा सफलताका केही सिँढी उक्लिएकै हुँ भन्ने मेरो ठम्याइ छ । माध्यमिक शिक्षक हुँदा नयाँ विधि र प्रक्रियाहरूलाई म आफ्नो कक्षाकोठाको सिकाइमा उपयोग गर्ने प्रयास गर्थें । शिक्षक मासिकको सम्यक पठनले मेरो शिक्षण कार्य सहज र सुधार भएको स्वयं मलाई नै अनुभूति भएको छ । स्रोत व्यक्ति भएपछि २०६६ पुसदेखि शिक्षकहरूलाई विभिन्न किसिमका तालीम सञ्चालन गर्न यो पत्रिकाले मलाई सहजीकरण गरिरहेछ । विभिन्न विषयका सन्दर्भ सामग्रीको रूपमा मैले यसैलाई प्रयोग गर्ने गरेको छु । निरन्तर मूल्याङ्कनका पाँचवटा मापदण्ड र कार्यमूलक अनुसन्धानका थप कुरा प्रष्ट पारेर मज्जाले सिकाएको मलाई शिक्षक मासिकले नै हो । आफ्नो बुढेसकालको एम.एड. (इपिएम) पढाइको प्राक्टिकम र शोधपत्रको प्रतिवेदन लेखनमा ‘पूर्वसाहित्यको अध्ययन’ गर्दा शिक्षक मासिकका धेरै अङ्कहरूको सदुपयोग गरेको छु । मा.वि. द्वितीय श्रेणीको आन्तरिक प्रतिस्पर्धात्मक बढुवाको लिखित र मौखिक परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न पनि शिक्षक मासिकले धेरै सहयोग पु¥याएको प्रत्यक्ष अनुभूति भएको छ । अतः सेवा प्रवेश मात्र होइन, शैक्षिक क्षेत्रको सेवा सुधार र बढुवामा पनि शिक्षक मासिक सार्थक मार्गदर्शक भएको मेरो ठम्याइ छ ।

शैक्षिक क्षेत्रका सूचना, प्रविधि, विधि, ज्ञान, धारणा र सीपका लागि शिक्षक मासिक अब्बल दर्जाको पत्रिका हो भन्दा कुनै अत्युक्ति हुने छैन । पाठकको रुचि र अपेक्षाको आधारमा वार्षिक रूपमा पाठकीय सर्वेक्षण गरेर समयानुकूल सुधार गर्दै जाने हो भने शिक्षक मासिकको आकर्षण र लोकप्रियतामा अझ् अभिवृद्घि हुने कुरामा शङ्कै छैन ।

स्रोतव्यक्ति, विश्वज्योति उमावि
लामीडाँडा स्रोतकेन्द्र, खोटाङ

commercial commercial commercial commercial