अस्थायी शिक्षकहरू अयोग्य नै हुन् त ?

शिक्षक को भदौ (२०७२) अंकमा प्रकाशित ‘शिक्षक व्यवस्थापन’ सम्बन्धी सामग्रीले यो टिप्पणी लेख्न घचघच्यायो ।

म दार्चुलाको एउटा माध्यमिक विद्यालयमा कार्यरत अस्थायी शिक्षक हुँ । उसो त मैले २०५५ सालदेखि काभ्रे जिल्लाको नयाँ गाउँको एउटा माध्यमिक विद्यालयबाट निजी स्रोत शिक्षकको रूपमा शिक्षण कार्य थालनी गरेको थिएँ । कहिले राजनीतिक पेलान, कहिले माओवादी युद्धको दुखाइ त कहिले राज्यका नीति जस्ता विविध समस्या झ्ेल्दै निजी, लियन र अस्थायी शिक्षक बन्दै यहाँसम्म आइपुगेको छु । शैक्षिक योग्यताको कुरा गर्दा मसँग बी.एस्सी., बी.एड. (गणित), एम.एड. (पाठ्यक्रम) का प्रमाणपत्र छन् । ४–५ विद्यालयहरूमा अध्यापन गर्दासम्म विद्यार्थीबाट राम्रै सम्मान र माया पाउँदै आएको छु । एउटा शिक्षाकर्मीका लागि उसले उत्पादन गरेका विद्यार्थीहरू भावी जीवनमा सफल हुनुभन्दा ठूलो उपलब्धि अरू केही हुन सक्तैन ।

यही कुराले म सन्तुष्ट भइरहें । यसै बीच गत वर्ष खुलेको शिक्षक सेवा आयोगको खुला विज्ञापनमा सहभागी बनें तर सफल हुन सकिनँ । यो वर्ष खुलेको विज्ञापनमा उमेरको हदका कारण सहभागी हुन पाइनँ ।

यस्ता वृत्तान्त म जस्ता हजारौं अस्थायी शिक्षकहरूका हुन सक्छन् । २०७२ असार ३० मा अर्थमन्त्री रामशरण महतले शिक्षक व्यवस्थापनको नाममा दुइटा कार्यक्रम बजेट मार्पmत घोषणा गरेका रहेछन्, जुन कुरा शिक्षक मासिकबाट थप प्रष्ट भयो ।

तीमध्ये एउटा कार्यक्रम दीर्घसेवी अस्थायी शिक्षकहरूका लागि सुनौलो बिदाइ कार्यक्रम रहेछ । यो कुराले म अलमलमा परें र सोच्न बाध्य भएँ, ‘यदि नेपालमा शिक्षा क्षेत्रको यो दूरावस्था अस्थायी शिक्षकहरूकै कारण सृजना भएको हो भने त किन सुनौलो बिदाइ कार्यक्रम ल्याउनुप¥यो राज्यले ? सबै अस्थायी शिक्षकहरू अयोग्य नै हुन् भने कठालो समातेर घर पठाउनुपर्ने होइन ?’ तर, यहाँ वास्तविकता बेग्लै छ । नीति, नियमको कार्यान्वयन कहिल्यै हुँदैन । यदि हुने भए २०५२ सालपछि नियमित रूपले शिक्षक सेवा आयोगले किन शिक्षकहरूको पदपूर्ति गरेन ? नियमित रूपमा राज्यले शिक्षकका लागि विज्ञापन खोलेको भए हामीलाई पनि अस्थायी शिक्षक भइरहन रहर थिएन । या त स्थायी भइसकेका हुन्थ्यौं या त अर्कै पेशामा हुन्थ्यौं ।

यति वेला अस्थायी शिक्षकहरूको उमेरले नेटो काटिसकेपछि राज्यले सुनौलो बिदाइ कार्यक्रम मार्फत कुन मुलुकमा पठाउन खोजेको हो ? बुझन गाह्रो भयो । साँढेहरूसँग बहर जुधाएर तमासा हेर्ने गोठालोको प्रवृत्ति राज्यले देखाउनु कति सान्दर्भिक छ ? शिक्षा क्षेत्रसँग सरोकार राख्ने यी प्रश्नको विश्लेषण गर्नु जरूरी छ । गुदी खाएर बोक्रा जथाभावी फाल्यो भने त्यसैमा चिप्लिएर ठूलो दुर्घटना हुन्छ । यो कुरा राज्यले समयमै मनन गर्नु राम्रो हो । सुनौलो बिदाइपछि अयोग्य मानिएका अस्थायी शिक्षकहरूले बचेको जीवनमा कहाँ गएर के गर्ने ? राज्यले नै बाटो देखाउन सक्नुपर्छ । अरू राष्ट्रले बेरोजगारका लागि रोजगारीका विभिन्न कार्यक्रम सृजना गरेका खबरहरू सुन्न र पढ्न पाइन्छ तर यहाँ सेवा गरिरहेका शिक्षकहरूलाई ‘अयोग्य’ को तक्मा भिराएर कुन समाजमा पठाउन खोजिएको हो ?

शिक्षा क्षेत्रका सम्पूर्ण समस्याको दोष अस्थायी शिक्षकमाथि लगाएर उनीहरूलाई पाखा लगाउनु कुनै हालतमा न्यायसंगत छैन । किनभने, राज्यद्वारा स्थायी गरिएका शिक्षकहरूका १–२ वटा मात्र उदाहरण यहाँ प्रस्तुत गर्दछु—
१)    एक जना शिक्षक मित्र मावि तहको विज्ञान विषयमा २०५२ सालको विज्ञापनमा स्थायी भएका हुन् । तर उनी ‘तोरीको जीवन चक्र’ बाहेक अरू केही पढाउन सक्तैनन् । प्रत्यक्ष मैले देखेको छु ।
२)    अर्का एक जना शिक्षक मावि तहको अंग्रेजी विषयमा एक नम्बरमा स्थायी भई जीवनभर सामाजिक अध्यापन गरेर बिदा भइसके ।

अर्को उदाहरण— राज्यले पढाइको स्तर निर्धारण गर्ने महŒवपूर्ण सूचकको रूपमा एसएलसीको नतिजालाई पनि एक मानेको छ । मेरै जिल्लाको एउटा माध्यमिक विद्यालयमा मावि तहमा ९० प्रतिशतभन्दा बढी स्थायी शिक्षक कार्यरत छन् । तर, विद्यालयले एसएलसीमा ४० प्रतिशतभन्दा माथि रिजल्ट विरलै ल्याएको छ । अर्को एउटा विद्यालय छ, जसमा राज्यको एक जना पनि स्थायी शिक्षक छैन, उसले पहिलोचोटि एसएलसी परीक्षामा सहभागी भएर ९० प्रतिशत रिजल्ट ल्याएको छ । यी र यस्तै उदाहरणहरूको विश्लेषण गर्ने हो भने शिक्षा क्षेत्रको यो दुःखद् अवस्थाका कारणहरू स्पष्ट रूपमा पत्ता लगाउन सकिन्छ ।

हिजोआज हाम्रो देशमा जसले आन्दोलन ग¥यो, जसले हतियार उठायो, उनीहरूका जेसुकै माग पनि तुरुन्त सम्बोधन गरिने प्रवृत्तिको विकास भएको छ । तर, अस्थायी शिक्षकहरू न त संकटकालका लडाकु बन्न चाहन्छन् न तराई मेधसका आन्दोलनकारी नै । तसर्थ, राज्यले यथाशीघ्र उनीहरूका समस्याप्रति गम्भीर भएर ‘बिदाइ कार्यक्रम’ होइन, उचित समाधानको कार्य थालनी गरी देशमा देखा परेको गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ । राज्य पक्ष, राजनीतिक दल, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ–संगठन र अन्य सरोकारवालाहरू मिलेर जसरी माओवादी लडाकुहरूको समस्या समाधान गरिएको थियो, त्यसै गरी अस्थायी शिक्षकहरूको समस्या समाधान गरियोस् । त्यसका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अस्थायी शिक्षकहरूका लागि आन्तरिक विज्ञापन गरिनुपर्छ । त्यसपछि जस्तोसुकै बिदाइ गरे पनि जाजय मानिनेछ । कुनै अस्थायी शिक्षक अयोग्य र पीडित हुने छैनन् ।

श्री केदारेश्वरी मावि
सुण्डमुण्ड खार, दार्चुला

commercial commercial commercial commercial