कृष्ण खत्रीले सक्ने काम तपाईंले पनि सक्नुहुन्छ...

आगन्तुकहरूबाट शैक्षिक ज्ञान र मनोरञ्जन लिने हो भने मुलुकभरका ३० हजार विद्यालयले ६ लाख मानिस परिचालन गर्नेछन् । कृष्णबहादुर खत्री पनि तपाईं हामीमाझ्कै एक पात्र हुन् । उनले गर्न सक्छन् भने अरूले किन नसक्ने ?

दोलखाको सेतीदेवी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्रीले पीपी प्रसाईं फाउण्डेशनको तर्फबाट वर्षेनी दिइने उत्कृष्ट शिक्षक पुरस्कार (२०७०) पाए । सो पुरस्कारका लागि छनोट भएकै दिन फोन गरेर खत्रीले सुनाए— “मैले प्रयोगमा ल्याउन थालेको वैकल्पिक शिक्षकको बारेमै फाउण्डेशनको तर्फबाट अन्तर्वार्ता लिने सरले बढी जानकारी लिन खोज्नुभयो । त्यो कुरा उहाँलाई मन प¥यो रे ।”

काठमाडौँका दरबार हाइस्कूल लगायत केही सुविधासम्पन्न ठाउँका विद्यालय बाहेक नेपालका प्रायः सबै विद्यालयमा शिक्षकको अभाव रहिरहन्छ । दरबन्दी भएका विद्यालयहरूमा पनि कडा नियम र उचित कारबाहीको व्यवस्था नभएको ठाउँमा शिक्षकहरू कुनै न कुनै वहानामा अनुपस्थित भइ नै रहन्छन् ।

जता पुगे पनि प्रधानाध्यापकहरूले शिक्षक नभएको सुनाएपछि, र शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरू निराश भएर उफ्रिरहेको देखेपछि केही वर्षअगिदेखि मेरो दिमागले वैकल्पिक शिक्षकको बारेमा सोच्न थालेको थियो । मैले सोचेका वैकल्पिक शिक्षकलाई तलब पनि दिनु नपर्ने, विद्यालय आसपासमै वा जिल्ला स्तरमा उपलब्ध हुने अनुभवी वा विज्ञ हुन्थे । कहिलेकाहीँ त ती आगन्तुक शिक्षकहरू विद्यालयका लागि अरू अवसरका जुटाउने सेतु पनि बन्न सक्थे ।

त्यस्ता वैकल्पिक शिक्षक अरू कोही नभएर गाउँघरमा सहजै उपलब्ध हुने गाउँ विकास समितिका सचिव, पूर्वअध्यक्ष र टीम, स्वास्थ्य÷उपस्वास्थ्य चौकीका इन्चार्ज वा सहायक, गाउँका बुद्धिजीवी, कथावाचक, धर्मलाई अनुशासनसँग जोडेर कथा भन्न सक्ने व्यक्ति, फरक फरक राजनीतिक दलका प्रतिनिधि, वडामा र कुनै उपभोक्ता समितिमा सक्रिय व्यक्ति, सहकारीका सञ्चालक, सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी, विदेश पुगेर फर्केका व्यक्ति, सफल कृषक, बजारका ज्ञाता, कुनै परियोजनाका प्रमुख वा अन्य विभिन्न कार्यालयका कर्मचारी आदि जो पनि हुन सक्थे ।  

विद्यार्थीहरूको नियमित रुटिन हुन्छ— पुस्तक घोक्ने, थोरै खेलकुद र न्यून मनोरञ्जन । विद्यालयमा उद्देश्यमूलक शिक्षा र बाह्य ज्ञान आर्जन गर्ने अवस्थाको त खडेरी नै छ । मैले विद्यालयहरूले कसरी सफल कृषक, स्थानीय स्वास्थ्यकर्मी, गाउँ विकास समितिका पदाधिकारीहरू, उद्यमीहरू, मध्यस्थकर्ताहरू, ठेकेदार, देशविदेश घुमेर गाउँ फर्केका व्यक्ति, आसपासमै उपलब्ध प्रशासक, राजनीतिज्ञ र विज्ञहरूलाई विद्यालयमा ल्याएर अनुभव सुनाउँदै व्यावहारिक ज्ञान आर्जनको अवस्था सिर्जना गर्न सक्छन् भनी आफू पुगेका विद्यालयहरूमा छलफल गर्ने गर्दथेँ ।

मैले कुरा गरेका प्रअहरूमध्ये कतिले मेरो यो विचारलाई माने होलान्, यसको जानकारी छैन । तर, कृष्णबहादुर खत्रीले चाहिँ वैशाख १२ गतेको भूकम्प अगाडि नै यसको अभ्यास थालेर विद्यार्थी र सम्बन्धित विज्ञ÷प्रशासकहरूबाट वाहवाही पाइसकेका थिए । खत्री सरले सहकारीका कुरा, सामुदायिक वनका कुरा, नेपाली सेना, गाउँ विकास समितिको परिचय र सेवाका कुरा, स्थानीय अभिभावकका अनुभवका कुरा प्रत्येक शुक्रवार वा अन्य उपयुक्त दिनमा विद्यालयका खास गरी पाँच कक्षाभन्दा माथिल्लो कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर सुन्ने र बुझने अवसर जुटाइदिँदा यसले बालमस्तिष्कमा राम्रो प्रभाव पारेको छ ।

प्रत्येक गाउँमा हुने गाविस सचिवहरूले उपयुक्त समय मिलाई विद्यालयहरूमा गएर गाविसका सेवासुविधा र नियमहरूको जानकारी दिन सक्छन् । नयाँ सूचनाहरू पनि विद्यालय मार्फत दिन सक्छन् । स्वास्थ्य चौकीहरूले रोगको रोकथाम र उपचारको बारेमा जानकारी दिन सक्छन् । विद्यालयमै प्राथमिक स्वास्थ्य उपचारको वातावरणलाई सहज बनाउन मद्दत गर्न सक्छन् । उनीहरूले त्यसका लागि विद्यालयमै एउटा समूह तयार गरिदिन सक्छन् । सामुदायिक वन, वचत समूहहरू, सहकारी, गैरसरकारी संस्थाहरूका काम सम्बन्धी कुराहरूको जानकारी लिन सम्बन्धित व्यक्तिहरूलाई खोजेर उनीहरूको एक दिन लिन सकिन्छ ।

गाउँमै पनि एसएलसी पढेका जेहेनदार वा असफल भएका विद्यार्थीहरू हुन्छन् । उनीहरूका अनुभव पनि विद्यार्थीका लागि काम लाग्छ । सदरमुकाम आसपासका विद्यालयहरूले त जिल्लाका विभिन्न सरकारी र गैरसरकारी कार्यालयहरूका अनुभवी कर्मचारीहरूबाट प्रस्तुतीकरणको समय पाउन सक्छन् ।

यो अभ्यासले विद्यालय र विद्यार्थीलाई मात्रै होइन, प्रस्तुति दिने व्यक्तिलाई पनि फाइदा हुन्छ । उनीहरूले थोरै तयारीपछि आफ्नो संस्थाको सेवाका बारेमा विद्यार्थीलाई जानकारी दिन सक्छन् । यो जानकारी आमअभिभावकसम्म पुग्छ । विद्यार्थीहरूको कलिलो मस्तिष्कमा जीवनोपयोगी जानकारीहरू घुस्ने मौका मिल्छ । विद्यार्थीहरूबीच प्रस्तुति दिने व्यक्तिहरूको प्रस्तुतीकरण पनि तिखारिनेछ ।

विद्यालयका प्रधानाध्यापकले आफ्नो टीमसँग छलफल गरेर एउटा रुटिन बनाउन सक्छन् । कुन दिन कुन व्यक्तिलाई शिक्षणका लागि निमन्त्रणा दिने भन्ने सूची बनाउन सकिन्छ । महीनाको पहिलो शुक्रवार वा बुधबार पशुस्वास्थ्यसँग सम्बन्धित व्यक्तिलाई बोलाउन सकिन्छ । पशुस्वास्थ्यकर्मीले दैनिक रूपमा गर्दै आएका कार्यहरू नै विद्यार्थीलाई सुनाउन सक्छन् । उनले विद्यार्थीहरूलाई घर फर्केपछि अभ्यास गर्ने टिप्सहरू पनि दिन सक्छन् ।

त्यसै गरी स्वास्थ्यचौकीका इन्चार्ज वा अन्य सहायकसँग समन्वय गरेर प्राथमिक स्वास्थ्य लगायतका कुराहरू सिकाउन सकिन्छ । विद्यालयमै प्राथमिक स्वास्थ्य इकाइ बनाएर विद्यार्थीहरूलाई डाक्टर, नर्सको अभ्यास गर्न लगाउन सकिन्छ ।

गाउँ विकास समितिका सचिवले आफ्नो गाउँ र वडाको विकासको सम्बन्धमा बताउन सक्नेछन् । उनले गाउँ विकास समितिको सेवा क्षेत्र, सरकारले जनतालाई उपलब्ध गराउने सेवाहरू, गाउँ विकास समितिको विकास अवस्था, सांस्कृतिक र धार्मिक परिचय, को के हुन् लगायत गाउँ विकास समितिका इकाइहरू आदिका बारेमा बताउन सक्नेछन् । सचिवले नै इलाका, जिल्ला, क्षेत्रीय र केन्द्रीय संरचनाको परिचय पनि दिन सक्नेछन् । यसबाट विद्यार्थीहरूलाई लाभ हुन सक्छ ।

यसरी विद्यालयहरूले प्रत्येक साताको योजना बनाएर अनुभवले खारिएका र सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरूको ज्ञान विद्यार्थीलाई बाँड्न सक्नेछन् । यसबाट विद्यार्थीहरूले यी सामान्य कुराको जानकारी अभावमा हुर्कंदै जानुपर्ने छैन । उनीहरूले थप जानकारी बटुल्ने मौका पाउनेछन् ।

२२० दिनको वार्षिक क्यालेन्डरमा एउटा विद्यालयले वर्षमा २० दिन मात्रै आगन्तुकहरूबाट शैक्षिक ज्ञान र मनोरञ्जन लिने हो भने मुलुकभरका ३० हजार विद्यालयले ६ लाख मानिस परिचालन गर्नेछन् । कृष्णबहादुर खत्री पनि तपाईं हामीमाझ्कै एक पात्र हुन् । उनले गर्न सक्छन् भने अरूले किन नसक्ने ?

(थापा शिक्षकले चाहेमा गर्न सक्छन् अभियानसँग सम्बन्धित छन् ।)

commercial commercial commercial commercial