कतै अभाव कतै फालाफाल

सरकारले विशेष महŒव दिएर शुरू गरेको दरबन्दी मिलान प्रभावकारी नहुँदा बढी विद्यार्थी भएका स्कूलमा कम शिक्षक र कम विद्यार्थी भएका स्कूलमा बढी शिक्षक अनुपात कायम छ ।

साढे छ सय विद्यार्थी रहेको धनुषाको जनकपुरस्थित सकलभवन कन्या उमाविमा प्राविदेखि माविसम्म २६ जना शिक्षकको दरबन्दी छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी बढी भए पनि स्कूलले थप एक जना राहत शिक्षक पनि नियुक्त गरेको छ । प्रअ रामएकवाल साहले जिशिकासँग प्राविमा एक र निमाविमा एक पीसीएफ शिक्षक माग गरेका छन् । भएका शिक्षकलाई पर्याप्त काम दिन नसकेको यो विद्यालयमा जिशिकाले काजका शिक्षक पनि राखेको छ ।

धनुषाकै फूलगामा–२ को जनता राष्ट्रिय प्राविमा दरबन्दी र राहत कोटाका एउटै शिक्षक छैनन् । काजका प्रअ नित्यानन्द झको भरमा उक्त स्कूल चलेको छ । शिक्षक अभाव झ्ेलिरहेको यो विद्यालयमा २ सय छात्रछात्रा छन् । प्रअ झले पीसीएफ शिक्षक उपलब्ध गराउन जिशिकामा गरेको अनुरोध अहिलेसम्म पूरा भएको छैन । शिक्षक अभावका कारण विद्यालयले निजी स्रोतमा एक जना शिक्षक राखेको छ । निजी स्रोतका शिक्षक र प्रधानाध्यापक झले एकै पटकमा दुइटा कक्षा चलाउने गरेका छन् ।

त्यसो गर्दा पनि बाँकी एउटा कक्षा भने खाली हुने गरेको छ । खाली पिरियडमा विद्यार्थीलाई कक्षा बाहिर जान नदिने जिम्मेवारी मनिटरलाई दिइएको छ । धनुषाका सहायक जिशिअ दानीकान्त झ राजनीतिक दल र शिक्षक संघ–संगठनको दबाबका कारण जिल्लाभित्र दरबन्दी मिलान गर्न नसकिएको बताउँछन् । आफ्नो मान्छे राम्रो ठाउँमा होस् भन्ने शिक्षक संस्थाका नेताहरूको चाहनाका कारण आवश्यकता अनुसार शिक्षकलाई एउटा स्कूलबाट अर्कोमा सार्न नसकिएको झको भनाइ छ ।

यसै गरी ललितपुरको बालविद्याश्रम प्राविमा जम्मा २० जना विद्यार्थी छन् । शिशु कक्षामा ५ जना नानीहरू छन् । स्कूलका सबै विद्यार्थीको संख्या एउटा कक्षा बराबर पनि पुग्दैन । तर प्राविमा दरबन्दीमा ५ शिक्षक छन् भने शिशु कक्षाका लागि १ जना सहयोगी कार्यकर्ता राखिएको छ । शिक्षा नियमावलीको व्यवस्था अनुसार उपत्यकाका सामुदायिक विद्यालयमा प्रत्येक कक्षाको शिक्षक विद्यार्थी अनुपात ५० कायम छ । थोरै विद्यार्थी भएकाले बालविद्याश्रम प्रविलाई जिशिका ललितपुरले यशोधारा माविमा गाभेको जनाएको छ । तर, प्रअ प्रमिला जोशी यसबारे आफूले जिशिकाको पत्र नपाएको बताउँछिन् ।

ललितपुरकै मंगलबजारमा रहेको आदर्श कन्या उच्च माविमा १ देखि १० कक्षासम्म २ सय ६५ जना विद्यार्थी छन् । विद्यार्थीको अनुपातमा यो विद्यालयमा धेरै शिक्षक छन् । प्राविमा १२, निमाविमा ८ र माविमा ११ जनासहित यहाँ दरबन्दीका ३१ जना शिक्षक छन् । माविका ११ मध्ये आठ जना नेपाली विषयका हुन् भने बाँकी अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक छन् । तर, तुलनात्मक रूपमा कठिन मानिएको मावि गणितको दरबन्दीमा भने शिक्षक छैनन् । सहायक प्रअ आनन्दप्रसाद ढुंगाना भन्छन्— “हाम्रोमा विद्यार्थी संख्याको अनुपातमा दरबन्दी बढी छ तर माविमा भने दुई वर्षदेखि गणित शिक्षक छैनन् ।” तैपनि दरबन्दी मिलान हुन सकेको छैन । जिशिअ शिवकुमार सापकोटा भन्छन्— “आवश्यकताका आधारमा विद्यालय समायोजन र दरबन्दी मिलान प्रक्रिया अघि बढाउन सकियो भने दरबन्दीको अभाव झ्ेलेका विद्यालयको समस्या समाधान हुन्छ ।”

राजनीतिक र स्थानीय दबाब आए पनि जिशिका ललितपुरले शहरी स्कूलका २० वटा दरबन्दी ग्रामीण विद्यालयमा पठाएको छ भने जिल्लाका ३० वटा विद्यालय समायोजन गरेको छ ।

उता काठमाडौँको धापासीस्थित तिलिङ्गाटार उमाविमा भने आदर्श कन्याको कूल विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी मावि तहमै छन् । हरेक कक्षामा २ देखि ३ वटासम्म सेक्सन सञ्चालन हुँदै आएका छन् भने विद्यालयमा १३ सयभन्दा बढी विद्यार्थी छन् । तर यहाँ यो वर्ष थपिएको एकसहित माविमा ५ जना मात्र दरबन्दीका शिक्षक छन् । विज्ञान, लेखा, ऐच्छिक गणित र सामाजिक विषयका शिक्षक छैनन् । आवश्यकता अनुसार शिक्षक दरबन्दी नभएपछि निजी स्रोतमा शिक्षक राखिएका छन् । तिलिङ्गाटार उच्चमाविले दरबन्दीको अभावमा निजी स्रोतका शिक्षकका भरमा २३ औँ पटक एसएलसी दिइसकेको छ । उच्चमाविका प्राचार्य सरोजकुमार पाण्डे भन्छन्— “कुनै विद्यालयका शिक्षकले एक–दुई पिरियड पढाएर जागिर पकाउनु तर कुनै विद्यालयले दरबन्दीको चरम अभाव झ्ेल्नुमा शिक्षा मन्त्रालयको चरम लापरबाहीले काम गरेको छ ।”

धेरै विद्यार्थी भएका विद्यालयमा थोरै शिक्षक र थोरै विद्यार्थी भएकोमा बढी शिक्षक रहनु दरबन्दी मिलानको ठूलो चुनौती हो । शिक्षक दरबन्दी थप नभएको १५ वर्ष भइसकेको छ । शिक्षक अभाव कम गर्न राहत शिक्षकको व्यवस्था गरिएको छ । तर, राहत कोटा पनि असमान तरिकाकाले वितरण गरेका कारण त्यसले शिक्षक अभावलाई सम्बोधन गर्न सकेको छैन ।

हालको मापदण्ड अनुसार शिक्षक–विद्यार्थी अनुपात तराईमा ५०, हिमालमा ४० र पहाडमा ४५ छ । तर, यो अनुपात व्यवहारमा कायम हुन सकेको छैन । (हे. तालिका)

हिमाल, पहाड र तराईमध्ये सबैभन्दा बढी शिक्षकको अभाव तराईका स्कूलले झ्ेल्नुपरेको छ । निमावि र माविमा विषयगत शिक्षकको अभाव छ भने प्राविमा शिक्षक बढी भएको देखिएको छ । तथापि फ्ल्यासमा उल्लेख छात्रछात्राको संख्या कृत्रिम रूपमा बढाइएका कारण अहिलेको आवश्यकता अनुसार कति शिक्षक चाहिन्छ भनेर यकिन गर्न कठिन छ । शिक्षाविद् डा. विष्णु कार्की भन्छन्— “अहिलेको शैक्षिक तथ्याङ्कले देखाउने करीव २५–३० प्रतिशत विद्यार्थी फर्जी हुन् । त्यसैले अहिले भएकै शिक्षकबाट शिक्षक अभाव झ्ेलिरहेका विद्यालयको समस्या समाधान हुन सक्छ ।

धेरै वर्षदेखि शुरू गरेर पनि शिक्षा मन्त्रालयले गर्न नसकेको काम दरबन्दी मिलान हो । एउटा विद्यालयमा बढी भएको दरबन्दी कम भएको विद्यालयमा सार्ने काम कठिन भए पनि शिक्षा मन्त्रालयले दरबन्दी मिलानको काम धिमा गति अघि बढाएको छ ।

शिक्षा विभागका निर्देशक खगेन्द्रप्रसाद नेपाल भन्छन्— “जहाँ विद्यार्थी संख्या बढी छ, त्यहाँ शिक्षक पठाउनुपर्ने आवश्यकता छ । हामीले दुई सय विद्यालय समायोजन गरिसकेका छौँ । केही जिल्लामा दरबन्दी मिलानको काम पनि भएको छ । तर एउटा जिल्लाबाट अर्को जिल्लामा दरबन्दी सार्न राजनीतिक प्रतिबद्धता र शिक्षक संघ–संगठनको सहयोग चाहिन्छ ।”

व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा केही समयअघि शिक्षा सचिव विश्वप्रकाश पण्डितले भनेका थिए— “हामी दरबन्दी मिलान गर्न सक्ने अवस्थामा छैनौँ । काठमाडौँ उपत्यकामा १ हजार २ सय प्रावि शिक्षक बढी छन् । यिनलाई उपत्यका बाहिरका विद्यालयमा पठाउनुपर्ने अवस्था छ । तर हामी उल्टै बाहिरका प्रावि शिक्षक उपत्यकामा ल्याइदेऊ भन्ने दबाब झ्ेलिरहेका छौँ । त्यसैले राजनीतिक सहमति भयो भने मात्र दरबन्दी मिलानको काम गर्न सकिन्छ ।”

नेपाल शिक्षक महासंघका महासचिव तिलक कँुवर शिक्षक संघ–संगठनलाई देखाएर सरकारी कर्मचारी दरबन्दी मिलानको समस्याबाट भाग्न खोजेको बताउँछन् । उनको कथन छ— “हामीले दरबन्दी मिलानमा असहयोग गरेका छैनौँ । समस्या समाधान गर्न सरकारी अधिकारी, विज्ञ अनि हामी बसौँ र छुट्टै शक्तिशाली आयोग बनाउनेबारे बहस गरौँ भनेर हामीले पटक पटक भनेका छौँ ।” शिक्षक दरबन्दी मिलान हुन नसक्ता र खाँचो भएको स्कूलमा शिक्षक आपूर्ति नहुँदा बालबालिकाको पठनपाठनमा ठूलो क्षति पुगिरहेको छ ।

--------------------------------------------------------------------------------------------------------------------------------------------------------

विद्यार्थी र विषय छन् पढाउने शिक्षक छैनन्

कंकालिनी माविका शिक्षक तथा प्रअको शिक्षा मन्त्रालयसम्म पहुँच नभएकाले उक्त स्कूलले शिक्षक दरबन्दीको अभाव झ्ेल्नुपरेको स्थानीयको धारणा छ ।

भोला पासवान

शिक्षा नियामावली अनुसार तराईमा शिक्षक–विद्यार्थी अनुपात ५० छ भने माविमा कम्तीमा ५ वटा विषयगत शिक्षकको व्यवस्था गर्नुपर्छ । तर मावि तहमा मात्रै १९८ जना विद्यार्थी रहेको कंकालिनी माविमा माविको एउटा मात्र दरबन्दी छ । उक्त दरबन्दीमा जिशिकाले गतवर्ष पठाएका शिक्षक रामगोविन्द मण्डललाई प्रअको पनि जिम्मेवारी दिइएको छ । जिशिकाले गणित र विज्ञान विषय पढाउन १ जना राहत शिक्षक दिएको छ । माविमा नेपाली पढाउनचाहिँ निजी स्रोत शिक्षक राखिएको छ । प्रावि र निमाविमा पनि शिक्षा नियमावलीको मापदण्ड अनुसार शिक्षक–विद्यार्थी अनुपात कायम गर्न सकिएको छैन । सबै तहमा छात्रछात्रा धेरै छन् तर शिक्षकको भने अभाव छ ।

नियमित पठनपाठन नभएकाले एसएलसीलाई ‘चिटिङ’ रहित तुल्याउन सकेको छैन । न्यूनतम शिक्षक दरबन्दी उपलब्ध गराउन नसक्ने जिशिकाले परीक्षा मात्रै कडा गरेर शैक्षिक सुधार नहुने अभिभावकहरूको बुझइ छ । कंकालिनी माविका शिक्षक तथा प्रअको शिक्षा मन्त्रालयसम्म पहुँच नभएकाले उक्त स्कूलले शिक्षक दरबन्दीको अभाव झ्ेल्नुपरेको कतिपयको धारणा छ । तर, सप्तरीका जिशिअ लक्ष्मीप्रसाद भट्टराई जिल्लाका करीव धेरै माविले कंकालिनीले जस्तै शिक्षक अभाव झ्ेल्नुपरेको बताउँछन् । उनले भने— “दरबन्दी मिलान जारी छ । तर, धेरै विद्यालयमा पर्याप्त शिक्षक पठाउन सकिएको छैन । सप्तरीमा एउटा पनि मावि दरबन्दी नभएका आठवटा मावि छन् ।”

शिक्षक अभावकै कारण कतिपय स्कूलले मावि तहको ऐच्छिक विषय पनि अनिवार्य गरेका छन् । यसबाट विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छनोट गरेर पढ्न पाएका छैनन् । कंकालिनी माविमा २१ वर्षदेखि ऐच्छिक गणितलाई अनिवार्य गरिएको छ । सबैलाई सकी नसकी गणित विषय पढ्न बाध्य पारिएका कारण २०७१ सालको एसएलसीमा ४५ जना विद्यार्थी सहभागी भएकोमा चार जना मात्र उत्तीर्ण भए । त्यस्तै २०७० सालमा ६४ जना सहभागी भएकामा पनि चार जना मात्र सफल भएका थिए । २०७० सालको एसएलसीको परीक्षामा सम्मिलित ६४ जनामध्ये ३७ जनाले ऐच्छिक गणितमा ५ भन्दा कम अंक ल्याएका छन् भने यस पटक पनि ४५ जनामा ३३ जनाले १० भन्दा कम अंक ल्याएका छन् । गणित र विज्ञान पढाउने शिक्षक ललितनारायण प्रणामीले भने— “कक्षा ९ र १० का विद्यार्थीहरू अंक र अक्षर छुट्याउन सक्तैनन्, तिनले जबरजस्ती दुइटा गणित पढ्नुपर्दा यस्तो स्थिति आएको हो ।”

पूर्वशिक्षक (प्रअ) शोभितलाल यादवले आफूले धेरै वर्षदेखि ऐच्छिक विषयलाई अनिवार्य नगर्न भने पनि त्यसको सुनुवाइ नभएको बताए । उनी भन्छन्— “सामुदायिक विद्यालयमा एउटै गणित पढ्न समस्या छ, त्यसमाथि ऐच्छिक गणितलाई पनि अनिवार्य गर्नु भनेको विद्यार्थीलाई फाँसी दिनुजतिकै हो ।” सप्तरीमा २५ वटा माविमा ऐच्छिक गणितलाई अनिवार्य गरिएको जिशिका सप्तरीले जनाएको छ । जिशिअ भट्टराईले भने— “ऐच्छिक विषयलाई अनिवार्य गर्नु हुँदैन । तर, शिक्षक अभावमा कतिपय विद्यालयले त्यसो गरेका छन् ।” जिशिअले यस्तो जवाफ दिनुभन्दा शिक्षक अभाव पूर्ति गर्न आवश्यक पहल गर्नु उचित हुने पूर्वशिक्षक यादवको कथन छ ।

शिक्षक अभावले पठनपाठन नहुँदा त्यसको असर नतिजामा परेको छ । सप्तरीमा यसपालिको एसएलसीमा हजारभन्दा बढी विद्यार्थीलाई परीक्षामा अनियमितता गरेको आरोपमा निष्कासन गरियो । निष्कासित हुनेमा कंकालिनी माविका पनि ५ जना छात्रछात्रा परे । प्रअ रामगोविन्द मण्डल भन्छन्— “परीक्षामा जिल्लाका सबै कार्यालयका कर्मचारीहरू ‘वनमा शिकार गर्न हिँडेजस्तो गरी’ हुल बाँधेर परीक्षा केन्द्रमा आउँछन् । अभिभावकचाहिँ ज्यान जोखिममा पारेर चिट चोराउन लाग्छन् । यसले विद्यार्थीहरूलाई मानसिक तनाव हुन्छ । अनि कसरी सफल हुन्छन् ?’ जाँचमा चिट चोराउन मरिहत्ते गर्ने अभिभावकहरू सितिमिति स्कूल पुग्दैनन् । मण्डल कंकालिनी माविको प्रअ भएको एक वर्ष भयो । तर स्कूलमा अहिलेसम्म स्रोतव्यक्ति बाहेक कोही पनि पुगेको छैन ।

कंकालिनी माविले भौतिक अभाव पनि उत्तिकै झ्ेल्नुपरेको छ । कक्षा ९ का १०४ र १० का ९४ विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ । ९० प्रतिशत विद्यार्थी विद्यालय आए भने डेक्स, बेन्चको अभावमा कि उभिनुपर्छ कि चिसो भुइँमा बस्नुपर्छ । प्रअ मण्डल भन्छन्— “भर्नाको समयमा कतिपय अभिभावकसँग झ्गडै गर्नुप¥यो । कक्षामा उभिन समेत ठाउँ छैन, भर्ना नगरौँ भन्दा अभिभावकले हामीलाई नै हप्काउँछन् ।”

कंकालिनी माविका कुल ६४७ विद्यार्थीमध्ये २५२ जना दलित समुदायका छन् । त्यसै गरी झ्ण्डै चार सय छात्रा छन् । जातीय रूपमा दलित र लैङ्गिक दृष्टिले छात्राको उपस्थिति बढी भएकाले पनि विद्यालयमा अभिभावकको सक्रियता कम भएको हो ।

दलित र गरीबलाई दैनिक रोजीरोटीको जोहो गर्न नै भ्याइनभ्याइ हुन्छ, त्यसैले उनीहरू छोराछोरीको पढाइ लेखाइबारे चासो राख्न पाउँदैनन् । त्यति मात्र होइन, गरीब तथा दलित अभिभावकमा ‘आपूm केही पनि जान्दिनँ’ भन्ने मनोविज्ञान छ । यिनै कारणले उनीहरू विद्यालयको शैक्षिक गतिविधिबारे चासो राख्न सकिरहेका छैनन् ।

विद्यालयमा राजनीति हाबी भएका कारण कंकालिनी माविमा झ्ण्डै २ वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन भएको छैन ।

गतवर्ष विद्यालय व्यवस्थापन समिति गठन गर्न बोलाइएको अभिभावक भेलामा १७ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि स्थगित भेला दोहो¥याएर बोलाउने आँट गरिएको छैन । राजनीतिक रूपमा सक्रिय र गाउँका हुनेखानेहरू आफ्नो निहित स्वार्थपूर्तिका लागि पैसा खर्च गरेर चुनावबाट विद्यालय व्यवस्थापन समिति हत्याउने दाउमा छन् । यसको असर स्कूलको शैक्षिक तथा भौतिक उन्नतिमा परेको छ ।

commercial commercial commercial commercial