सिन्धुपाल्चोक : बाँच्नेको बेहाल

१२ वैशाखको भूकम्पबाट सिन्धुपाल्चोकको सिपापोखरेमा मात्र आठवटा विद्यालयमा क्षति भएको छ र ३ हजारभन्दा बढी विद्यार्थीको पढाइ रोकिएको छ ।

सिन्धुपाल्चोकको सिपापोखरेको पञ्चकन्या निमाविका शिक्षक दयाराम तामाङ (हे. तस्वीर) भुइँचालोले भत्काएको ठूलो भूकम्पको धक्काले भग्नावशेषमा परिणत भएको विद्यालयको अवस्था हेर्न दिनमा एक पटक स्कूल पुग्छन् । विद्यालयका भवनहरू कसरी पहिलेकै अवस्थामा ल्याएर पठनपाठन सुचारु गर्ने भनेर उनी चिन्तित छन् ।

भूकम्प जानुअघि उनको विद्यालय त्यस क्षेत्रकै नमूना थियो । ११ वैशाखमा मात्र विद्यालयमा इ–पुस्तकालय स्थापना गरिएको थियो । सेन्चुरी बैंकको सहयोगमा स्थापित इ–लाइब्रेरीमा ११ वटा कम्प्युटर थिए । स्कुलमा वाइफाइ थियो । इ–लाइब्रेरीका कम्प्युटरलाई इन्टरनेटमा जोडिएको थियो । विद्यार्थीले त्यस्तो विकट स्थानमै बसेर बाहिरी संसारसँग सम्पर्क स्थापित गर्न शुरू गरेका थिए । उनीहरू आफूलाई आवश्यक सामग्री खोज्न गुगल गर्न’ सिक्दै थिए ।

भोलिपल्टै गएको भूकम्पले विद्यालयमा खोलिएको इ–लाइब्रेरीका सबै सामग्री पु¥यो । विद्यालयमा अहिले त्यसको साइनबोर्ड मात्र देखिन्छ । कम्प्युटरका पार्टपूर्जा विद्यालय भवनको भग्नावशेषमा छरिएका देखिन्छन् । अब विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता तामाङलाई छ ।

उनले स्कुललाई पहिलेकै अवस्थामा ल्याउने कुनै उपाय फेला पार्न सकेका छैनन् । सबैतिर हात पसारेर जुटाएको संरचना बालुवाको महल सरी भएको छ । सिपापोखरेका सबै वासिन्दाका घर ढलेका छन् । उनीहरू परिवारको हातमुख जोर्ने, मुन्टो लुकाउने ठाउँ कसरी व्यवस्था गर्ने’ भन्ने चिन्तामा छन् । क्षतिग्रस्त विद्यालयहरूलाई पुनर्निर्माण गर्न नसके गाविसका ३ हजारभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा पर्ने अभिभावकहरूलाई थाहा छ । उनीहरू समस्यामा भएकाले विद्यालयलाई पहिलेको अवस्थामा फर्काउन जुट्न सकेका छैनन् ।

गोरखा भूकम्पमा परेर सिन्धुपाल्चोकको सिपापोखरेमा मात्र आठवटा विद्यालयमा क्षति भएको छ र ३ हजारभन्दा बढी विद्यार्थीको पढाइ रोकिएको छ । त्यहाँको राजेश्वरी उच्च माविको भवनमा पाँचपोखरी बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएको थियो । क्याम्पसका सञ्चालक समिति सदस्य रामजी थापाका अनुसार यस उच्च माविका सातवटा भवन क्षतिग्रस्त भएका छन् ।

विद्यालय र क्याम्पसमा गरी ८ सय विद्यार्थीको पढाइ अन्योलमा छ । सिपापोखरे गाविसको वडा १ मा कालिका प्राथमिक विद्यालय, वडा २ मा पञ्चकन्या निमावि, सर्वसुधार प्रावि, ३ वडामा ओमराम प्रावि, ४ मा बालकल्याण प्रावि, ५ मा बालबालिका सुधार निमावि क्षतिग्रस्त भएका छन् । ती विद्यालयमा २०४५ को भूकम्पपछि जापान सरकारको सहयोगमा ट्रसबाट भूकम्पप्रतिरोधक भवन बनाइएका थिए । त्यस्ता भवनसमेत क्षतिग्रस्त भएका छन् ।

सिपापोखरेको छिमेकी भोट्सीपास्थित सिपातीनधारा जनता माविको अवस्था अझ् नाजुक छ । विद्यालयका सातवटा भवन थिए । तीमध्ये एउटै सद्दे छैनन् । भूकम्प निरोधक प्रविधि प्रयोग गरेर बनाइएको भनिएका भवन समेत भत्किएका छन् । कार्यालय रहेका भवनका सबै भित्ता ढलेका छन् । कार्यालयमा रहेका पुस्तक, पत्रिका, विद्यार्थी÷शिक्षकका हाजिरी रजिष्टर जताततै छरिएका छन् । दराज, कुर्सी, टेबल लडेका छन् । त्यसलाई समाल्न विद्यालयमा भूकम्प गएका यतिका दिन बितिसक्दा पनि कोही आएको छैन ।

यस विद्यालयको झ्ण्डै ७ दशकको इतिहास छ । विक्रम संवत् २००४ मा स्थापना भएको सिपातीनधारा प्राथमिक विद्यालयमा कमला प्रावि र बीपी प्राविलाई गाभेर द्वन्द्वकालमा प्रस्तावित मावि बनाइएको थियो । अहिले यसमा करीव ४ सय ५० विद्यार्थी अध्ययन गर्छन् । यही विद्यालयका सुरे तामाङले भर्खरै ६ कक्षा उत्तीर्ण गरे । उनमा माथिल्लो कक्षामा पढ्ने उत्साह थियो ।

विद्यालयबाट ७ कक्षाका किताब लगिसकेका सुरे आइतबार विद्यालय खुल्ने दिनको प्रतीक्षामा थिए । तर शनिवारै आएको भूकम्पले उनको स्कूललाई खण्डहरमा परिणत गरिदियो । उनलाई अहिले विद्यालयको यस्तो हाल देख्दा रुन मन लाग्छ ।

हेलम्बुको मेलम्चीघ्याङ माविको भवन रहेको जमीन समेत चिराचिरा भएको छ । विद्यालय जाने बाटो समेत भत्किएको छ ।

सदरमुकाममा राणाकालमै स्थापना भएको श्रीकृष्णरत्न गंगा उच्च मावि र यमुनाडाँडाको गणेश उच्च माविको हालत पनि उस्तै छ ।

भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको सिन्धुपाल्चोकका कुनै विद्यालय सद्दे अवस्थामा छैनन् । जिल्ला शिक्षा कार्यालयका प्राविधिक सन्तोष गुरागाईंका अनुसार हिमाली क्षेत्रमा रहेका विद्यालयहरू सबै पूर्ण रूपमा क्षतिग्रस्त छन् । ती विद्यालय खण्डहरमा परिणत भएपछि आफ्ना बालबच्चाको पढाइ के हुने हो भन्ने चिन्ता अभिभावकलाई भएको छ ।

लीलानाथ घिमिरे

commercial commercial commercial commercial