अक्षर ग्रेडिङ पद्धति कसलाई राम्रो कसलाई नराम्रो ?

विद्यार्थीले सकारात्मक रूपमा ग्रहण गरे र आफ्नो सिकाइ स्तर सुधार एवं विकास गर्ने अवसरको रूपमा लिए भने अक्षर ग्रेडिङ पद्धति पक्कै पनि विद्यार्थी, समाज तथा राष्ट्रका लागि हितकारी बन्न सक्नेछ । तर यस विपरीत यसलाई विद्यार्थीले नपढी खाली प्रमाण पत्र मात्र माग्ने, अवसर मात्र खोज्ने, मेहनत नगरी पनि सफल भइने पद्धतिको रूपमा मात्र लिए भने यसले विद्यार्थीसँगै देशकै भविष्य चौपट पार्ने निश्चित छ ।

पाठ्यक्रमले राखेका उद्देश्यहरू पूरा भए वा भएनन् भनी मूल्याङ्कन गर्न अपनाइने विभिन्न साधनहरूमध्ये पूर्वनिर्धारित मानकका आधारमा विद्यार्थीको उपलब्धि स्तरलाई विभिन्न अक्षरहरूको प्रयोग गरी तह वा श्रेणी छुट्याउनु नै ‘अक्षर ग्रेडिङ पद्धति’ हो । निश्चित मापदण्डलाई क्षमतामूलक सूचकमा बदलेर प्रत्येक सूचकमा विद्यार्थीको परीक्षण गरी स्तरीकरण गर्ने अक्षर ग्रेडिङ पद्धति बढी वस्तुगत, भरपर्दो र विश्वसनीय मानिन्छ ।

अक्षर ग्रेडिङ प्रणालीलाई अहिले विश्वका धेरै मुलुकहरूले विभिन्न तरीकाले प्रयोग गर्ने गरेको पाइन्छ । मित्रराष्ट्र भारतका विद्यालयहरूमा ए+ (९०% भन्दा बढी, विशिष्ट), ए (८०–९०% उत्तम), बी+ (७०–७९% धेरै राम्रो), बी (६०–६९% राम्रो), सी+ (५०–६९% औसतभन्दा राम्रो), सी (४०–४९% औसत), डी+ (३०–३९% सीमान्त), डी (२०–२९% सुधारको खाँचो), ई (२०% सुधार गर्नैपर्ने) जस्ता ग्रेडिङ निर्धारण गरिएको छ । यसका अलावा दोस्रो पक्षका रूपमा सहकार्यकलाप स्वास्थ्य तथा शारीरिक शिक्षाको मूल्यांकन गरिन्छ भने तेस्रो पक्षको रूपमा व्यक्तित्व विकास, नेतृत्व विकास, सञ्चार सीप, नियमितता, समूहकार्य, विद्यालयमा सक्रियता आदिलाई पनि आधार मानेर मूल्यांकन गरिन्छ । त्यसै गरी डी र ई ग्रेडमा पर्ने विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना लिइँदैन ।

यसै गरी अमेरिकाको विद्यालय तहको परीक्षा प्रणाली हेर्ने हो भने विद्यार्थीहरूलाई व्यक्तित्व, मानसिक, रुचि र प्रवृत्ति, उपलब्धि आदिको परीक्षण इत्यादिका माध्यमबाट उनीहरूको सफलता प्राप्त गर्न सक्ने क्षेत्र छुट्याई त्यसै अनुसार उनीहरूको शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाइन्छ । त्यहाँ विद्यार्थीलाई ‘पास, फेल’ नभनी कति पाठ्यांश भार पूरा गरी कुन स्तरमा पुगेको हो भन्ने कुरालाई बढी महŒव दिइन्छ । अमेरिकामा विद्यार्थीहरूको मूल्यांकन मार्क र ग्रेड दुवैको आधारमा ए (९०% भन्दा बढी), बी (८०–९०%), सी (७०–८०%), डी (६०–७०%), ई (६०% भन्दा कम) अनुसार गरिन्छ  । ई ग्रेडमा पर्नेलाई फेल भएको मानिन्छ ।

यसै गरी चीनमा ६० प्रतिशत, सिंगापुरमा ४० प्रतिशत, अफगानिस्तानमा ५५ प्रतिशत, जापानमा ६० प्रतिशत, जर्मनीमा ५० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘फेल’ भएको मानिन्छ । फ्रान्समा पाँचौँ तह (ई) मा पर्ने; स्वीजरल्याण्डमा तल्लो दुई श्रेणी डी र ई, अष्ट्रेलियामा छैटौँ श्रेणी (एफ) मा पर्ने विद्यार्थीहरू अनुत्तीर्ण मानिन्छन् ।

नेपालमा पनि समय समयमा विद्यार्थीहरूको मूल्यांकन पद्धतिहरूबारे बहस एवं छलफलहरू भएको पाइन्छ । हाम्रो देशमा परम्परादेखि नै कागज–कलम परीक्षा हाबी हुँदै आएको छ । यसै सन्दर्भमा २०६४ सालमा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले ‘लेटर ग्रेडिङ’ प्रणालीबारे एउटा गोष्ठी आयोजना गरेको थियो । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले निरन्तर विद्यार्थी मूल्यांकनलाई जोड दिँदै विद्यार्थीको सिकाइ स्तरलाई ‘क’ श्रेणी (७० प्रतिशतभन्दा माथि), ‘ख’ श्रेणी (४०–७० प्रतिशत) र ‘ग’ श्रेणी (४० प्रतिशतभन्दा कम) गरी तीन श्रेणीमा विभाजन गरेको छ । प्राथमिक तहका विद्यार्थीलाई अनुत्तीर्ण गर्न नपाइने भनी ‘ग’ श्रेणी भए ‘ख’ श्रेणी र ‘ख’ श्रेणीको भए ‘क’ श्रेणीमा विद्यार्थीलाई लैजान सुधारात्मक वा व्यक्तिगत शिक्षण गरी उनीहरूको सिकाइ उपलब्धि निरन्तर बढाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै नेपालमा काठमाडौँ, पोखरा, पूर्वाञ्चल आदि विश्वविद्यालय र विदेशी परीक्षा बोर्डसँग आबद्ध केही निजी शिक्षण संस्थाहरूले ग्रेडिङ पद्धति अवलम्बन गरेको पाइन्छ । नेपालमा विगत ८१ वर्ष (१९९० साल) देखि चल्दै आएको एसएलसी परीक्षाको मूल्यांकन पद्धतिलाई पनि ग्रेडिङ पद्धतिमा लाने भनी शिक्षा मन्त्रालयले २४ मंसीर २०७१ मा निर्णय गरेको छ । सो निर्णय अनुसार २०७१ मा एसएलसी परीक्षामा सहभागी हुने देशभरिका ९९ प्राविधिक विद्यालयमा र २०७२ सालदेखि सबै विद्यालयमा ग्रेडिङ पद्धति लागू हुनेछ । हाललाई एसएलसीको उत्तरपुस्तिका परीक्षण अंकमा हुने र त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले ग्रेडमा रूपान्तरण गर्ने पद्धति अँगालिनेछ । त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक विषयमा अलग अलग उपलब्धि स्तर खुल्ने गरी ग्रेडका आधारमा मूल्यांकन गरिनेछ । नेपालमा लागू गर्न लागिएको ग्रेडलाई ए+ (९० प्रतिशतभन्दा बढी, विशिष्ट), ए (८०–८९ प्रतिशत उत्कृष्ट), बी (६०–७९ प्रतिशत धेरै राम्रो), सी (४०–५९ प्रतिशत राम्रो), डी (२५–३९ प्रतिशत, कमजोर) र ई (२५ प्रतिशतभन्दा कम, अति कमजोर) गरी जम्मा छ ग्रेडमा बाँडिएको छ । यस पद्धति अनुसार डी र ई ग्रेड प्राप्त गर्ने विद्यार्थीहरू पनि अनुत्तीर्ण हुने छैनन् । त्यस्ता विद्यार्थीले चाहेमा परीक्षाफल प्रकाशित भएको एक वर्षभित्र मूल वा पूरक परीक्षामा सहभागी हुन सक्नेछन् र माथिल्लो ग्रेड प्राप्त भएमा सोही व्यहोरा खोली थप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्ता विद्यार्थीलाई कलेजले भर्ना नलिन सक्छन् । तर, कसैले भर्ना लिएमा उनीहरूलाई कक्षा ११ मा भर्ना भई अध्ययन गर्न ऐन–कानुनले छेक्ने छैन ।

अध्ययन विधि :
यो अध्ययन परिमाणात्मक तथा गुणात्मक ढाँचामा आधारित रही हाम्रो देशमा एसएलसी परीक्षामा लागू गर्न लागिएको अक्षर ग्रेडिङ पद्धति राम्रो कि नराम्रो, यसले शिक्षण सिकाइ लगायत समग्र राष्ट्रको शिक्षा पद्धति तथा विकास प्रक्रियामा केकस्तो असर पर्ला भनी गरिएको हो । यस अध्ययनमा सहभागी गराइएका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूबाट प्राप्त विचारहरूको व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । अध्ययनमा सहभागीमध्ये कति जनाले यस पद्धतिलाई राम्रो माने र कति जनाले नराम्रो माने त्यसलाई परिमाणात्मक रूपमा तालिका तथा चित्रमा प्रस्तुत गरिएको छ भने उनीहरूले किन यो पद्धतिलाई ‘राम्रो’ वा ‘नराम्रो’ माने भन्ने प्रश्नको जवाफमा प्राप्त मूलभूत कुराहरूलाई ‘प्राप्त नतिजा’ शीर्षक अन्तर्गत राखिएको छ । अध्ययनमा सप्तरी जिल्लाको राजविराज नगरपालिका अन्तर्गत पर्ने एउटा सामुदायिक मावि, एउटा संस्थागत मावि र एउटा सरकारी कलेजका ३०–३० जना विद्यार्थी र ३–३ जना शिक्षकलाई सहभागी गराइएको थियो । विद्यालय तथा शिक्षकहरू आफ्नो सुविधा अनुसार छनोट गरिएको थियो भने सकभर स्तर (जान्ने, मध्यम, नजान्ने) मिलाएर विद्यार्थीहरू छनोट गरिएको थियो । भेट हुन सकेको आधारमा १६ जना अभिभावकलाई पनि अध्ययनमा सहभागी गराइएको थियो । विद्यार्थीहरूबाट प्रश्नावली (लेख्न लगाएर) को माध्यमबाट र शिक्षक तथा अभिभावकहरूबाट अन्तर्वार्ताको माध्यमबाट विचारहरू संकलन गरिएको थियो ।

 

अध्ययनमा सहभागी सामुदायिक विद्यालयका कुल ३० विद्यार्थी र जना शिक्षकमध्ये अत्यधिक (96.67%) विद्यार्थीले ग्रेडिङ पद्धति राम्रो भएको उल्लेख गरेको देखिन्छ भने न्यून मात्र (3.33%) विद्यार्थीले यो पद्धति नराम्रो भएको विचार व्यक्त गरेको देखिन्छ (तालिका १) । त्यस्तै उक्त विद्यालयका शतप्रतिशत शिक्षकले प्रस्तावित पद्धति राम्रो भएको विचार व्यक्त गरेको पाइन्छ । यस्तो विचार आउनुमा सामुदायिक विद्यालयको विगतको एसएलसी नतिजा, विद्यालयमा हुने राजनीतिकरण तथा अस्तव्यस्तता, विद्यार्थीहरूमा पलाएको आशा इत्यादि कारणहरूको प्रभाव हुन सक्छ ।

 

 

अध्ययनमा सहभागी संस्थागत विद्यालयका ३० जना विद्यार्थी तथा ३ जना शिक्षकहरूमध्ये धेरै (66.67%) विद्यार्थी र सबै शिक्षकले अक्षर ग्रेडिङ पद्धति राम्रो नभएको विचार व्यक्त गरेको देखिन्छ भने केही (33.33%) विद्यार्थीले उक्त पद्धति राम्रो भएको विचार व्यक्त गरेको प्रष्ट हुन्छ (तालिका २) । संस्थागत विद्यालयको विगतका एसएलसी नतिजा राम्रो हुनु, उपयुक्त तथा व्यवस्थित शैक्षिक माहोल, यस पद्धतिप्रतिको नकारात्मकता इत्यादि कारणले यहाँका अत्यधिक विद्यार्थीमा एसएलसी परीक्षा पद्धतिको परिवर्तनको विपक्षमा उभिएका हुन सक्छन् ।

 

 

अध्ययनमा सहभागी सरकारी कलेजका धेरै (66.67%) विद्यार्थी र केही ९घघ।घघ५० शिक्षकले अक्षर ग्रेडिङ पद्धति राम्रो भएको तथा केही (33.33%) विद्यार्थी र बढी (66.67%) शिक्षकले यो पद्धति नराम्रो भएको विचार व्यक्त गरेको देखिन्छ (तालिका ३) । एसएलसी उत्तीर्ण प्रतिशत कम हुनु, शैक्षिक वातावरण राम्रो नहुनु, कमजोर विद्यार्थीहरूले पनि अगाडि बढ्न मौका पाउने इत्यादि पक्षहरूका आधारमा विद्यार्थीहरू यस पद्धतिप्रति सकारात्मक भएका हुन सक्छन् भने विद्यार्थीहरू पढाइबाट भाग्ने, अगाडि पढ्न झ्न् कठिन हुने इत्यादि पक्षका आधारमा शिक्षकहरूले त्यस्तो विचार व्यक्त गरेका हुन सक्छन् ।

 

 

यस अध्ययनमा सहभागी गराइएका कुल १६ जना अभिभावकमध्ये धेरैजसो (68.75%) ले अक्षर ग्रेडिङ पद्धति राम्रो र केही (31.25%) ले यो पद्धति नराम्रो भएको प्रतिक्रिया दिएको देखिन्छ (तालिका ४) । अहिलेको खस्कँदो शैक्षिक गुणस्तरले आफ्ना बालबालिकाको भविष्यमा अझ्ै समस्या उत्पन्न हुन सक्ने, शैक्षिक वातावरण अझ् बिग्रन सक्ने चिन्ता धेरैजसो अभिभावकहरूमा देखिन्छ ।

 

अध्ययनको परिणाम :
अध्ययनमा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले व्यक्त गरेको रायका आधारमा एसएलसी परीक्षाको नयाँ मूल्यांकन अक्षर ग्रेडिङ पद्धतिका मुख्य मुख्य राम्रा (सकारात्मक) पक्ष र नराम्रा पक्षहरूलाई निम्न अनुसार प्रस्तुत गरिएको छ :

राम्रा (साकारात्मक) पक्षहरू ;
१.    एसएलसीमा अनुत्तीर्ण हुने झ्ञ्झ्ट हटी उच्च शिक्षामा महिला लगायत सबैको पहुँच पुग्ने ।
२.    विद्यार्थीहरूमा आत्मबल तथा मनोवल बढी माथिल्लो ग्रेडमा जाने उत्सुकता बढ्ने ।
३.    विद्यार्थीहरूमा म कमजोर छु, म केही पनि गर्न सक्तिनँ भन्ने भावना हटी पढाइ छाड्ने प्रवृत्तिमा कमी आउने ।
४.    विद्यार्थीले आफ्ना कमी कमजोरीमा सुधार गर्दै अगाडि बढ्ने मौका पाउने ।
५.    एक–दुई विषय लागे पनि सोही कक्षामै बस्नुपर्ने बाध्यता हटी अगाडि बढ्न मौका पाउने हुँदा समय बर्बाद नहुने तथा अन्य विषयहरूमा राम्रो गर्ने विद्यार्थीका लागि एकदमै राम्रो हुने ।
६.    पास फेल को डर–त्रास तथा भयबाट मुक्त भई असल वातावरणमा विद्यार्थीहरू राम्रो गर्नका लागि परीक्षा दिने ।
७.    ‘एसएलसी फलामे ढोका हो, यसलाई पार गर्न कठिन छ’ भन्ने मनोवैज्ञानिक दबाब हट्ने ।
८.    एसएलसी अनुत्तीर्ण हुँदा हुने हीनताबोध, मानसिक तनाव इत्यादिले हुने आत्महत्या तथा कुलतमा लाग्ने इत्यादि समस्या समाधान हुने ।
९.    विद्यार्थीहरूको उचित मूल्यांकन हुने ।
—    जागिरका लागि मात्र नभई ज्ञान आर्जनका लागि पनि शिक्षा हासिल गरिन्छ भन्ने भावनाको विकासमा सहयोग पुग्ने ।
—    एसएलसी परीक्षामा हुने ठेकेदारी प्रथा तथा शिक्षण संस्थाहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुने ।
—    वास्तविक एवं समय सापेक्ष मूल्यांकन पद्धति हुने ।
—    ड्राइभिङ लाइसेन्स लिन पाउने तथा विदेश जान पाउने अवसर हुने ।
—    विवाहका लागि सजिलो हुने (कमसेकम एसएलसी पास गरेको छ भन्न मिल्छ, खास गरी छोरीको सन्दर्भमा) ।

नराम्रा (नकारात्मक) पक्षहरू :
१.    परीक्षाको परिणाम पहिले नै थाहा हुने हुँदा विद्यार्थीहरू उद्देश्यहीन ९ब्ष्mभिकक० भई पढाइमा मेहनत नगर्ने, छाडापन अझ्ै बढ्ने तथा अन्य नकारात्मक गतिविधिमा संलग्न हुन सक्ने ।
२.    नपढी पनि पास हुने हुँदा कमजोर विद्यार्थीहरू अझ्ै कमजोर भई उनीहरूको गुणस्तरीयतामा अझ् ह्रास आउने र उच्च शिक्षा प्राप्तिमा कठिनाइ हुने ।
३.    शिक्षामा दण्ड (फेल गर्ने) को व्यवस्था नहुँदा विद्यार्थीहरू पढाइबाट अझ् टाढा भाग्ने ।
४.    भविष्यमा देशको शैक्षिक उत्पादन गुणस्तरहीन हुने तथा असक्षम जनशक्तिको उत्पादन बढी देशको समग्र विकासमा नराम्रो असर पर्ने ।
५.    एसएलसीको गुणस्तर घट्न गई अन्तर्राष्ट्रिय बजारमा यसको अवमूल्यन हुने ।
६.    पढाइको वातावरण बिग्रने ।
—    पढाइलाई औपचारिकताको रूपमा मात्र लिई विद्यार्थीहरूमा पढ्ने प्रवृत्ति अझ्ै घट्न सक्ने ।
—    शिक्षकहरूमा पनि कोर्स पूरा नगर्ने तथा आफ्नो उत्तरदायित्वबाट पन्छिने प्रवृत्ति बढ्ने ।
—    कलेज मात्र भरिभराउ हुने र काम नगरी ज्याला मागे जस्तै नपढी नै प्रमाण पत्र माग्ने प्रवृत्ति बढ्न सक्ने ।

निष्कर्ष :
अध्ययनका धेरै सहभागीहरूले यो पद्धति ‘राम्रो’ हो भनेका छन् भने ‘नराम्रो’ भन्ने पनि कम छैनन् । समुदायिक विद्यालयका छात्रछात्रा तथा शिक्षकहरूले यस पद्धतिलाई एकदमै ‘राम्रो’ मानेका छन् भने संस्थागत विद्यालयका दुईतिहाइ विद्यार्थी तथा सबैजसो शिक्षकले यस पद्धतिलाई ‘नराम्रो’ मानेका छन् । त्यस्तै कलेजका दुईतिहाइ विद्यार्थी तथा एकतिहाइ शिक्षकले यस पद्धतिलाई ‘राम्रो’ मानेका छन् ।

सहभागीहरूको विचारलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने यस पद्धतिको सफलता तथा असफता विद्यार्थीहरूको मनोवैज्ञानिक पक्षसँग बढी जोडिएको देखिन्छ । विद्यार्थीले सकारात्मक रूपमा ग्रहण गरे र आफ्नो सिकाइ स्तर सुधार एवं विकास गर्ने अवसरको रूपमा लिए भने पक्कै पनि यो पद्धति विद्यार्थीहरूका लागि मात्र नभई समाज तथा राष्ट्रका लागि हितकारी–गुणकारी बन्न सक्नेछ । तर यस विपरीत यसलाई विद्यार्थीले नपढी खाली प्रमाण पत्र मात्र माग्ने, अवसर मात्र खोज्ने, मेहनत नगरी पनि सफल भइने, पढाइलाई औपचारिकताको रूपमा मात्र लिने प्रक्रियामा सहयोग पु¥याउने पद्धतिको रूपमा मात्र लिए भने यसले विद्यार्थीसँगै देशकै भविष्य चौपट पार्ने निश्चित छ । त्यसैले विद्यार्थीहरूमा यो मूल्यांकन पद्धतिप्रति सकारात्मक भावनाको विकास गर्नु शिक्षकका लागि ठूलो चुनौतीको विषय बन्नेछ । त्यसनिम्ति अक्षर ग्रेडिङ पद्धतिको मूल मर्म— निरन्तर मूल्यांकन, व्यक्तिगत तथा उपचारात्मक शिक्षण पद्धति इत्यादि अवलम्बन गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याई यस पद्धतिलाई सफल पार्न कर्तव्यपरायण शिक्षकहरूकै महŒवपूर्ण भूमिका भएको यथार्थ सबैले आत्मसात् गर्नुपर्छ । नेपालका सबै शिक्षकहरूका लागि यो अवसर र चुनौती दुवै हो ।

अन्त्यमा, यस अध्ययनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरूप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालय परिवारलाई धन्यवाद दिन्छु । अध्ययन कार्यको सुपरिवेक्षण गरी अमूल्य सल्लाह र सुझव दिनुहुने श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका उपप्राध्यापक डा. सुशीलचन्द्र कर्णप्रति विशेष आभार व्यक्त गर्दछु ।

(मावि शिक्षक, स्वास्थ्य तथा शारीरिक शिक्षा के.अ.मा.वि. राजविराज, सप्तरी)

commercial commercial commercial commercial