शास्त्रार्थको शङ्खघोष !

ग्रन्थमा उल्लिखित ‘विमर्श’ शब्द नै शास्त्रार्थको सूचक हो । ग्रन्थकारको शिष्ट आमन्त्रणलाई शास्त्रयुद्धकै अर्थमा परिभाषित गर्ने हो भने ‘भाषाविज्ञानको सैद्धान्तिक विमर्श’ लाई शङ्खघोष भनेर बुझनुपर्छ ।

“कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि ।” भनी कविशिरोमणि लेखनाथ पौड्यालले निकालेको निष्कर्ष अझ् बढी सान्दर्भिक लाग्यो— भाषाविज्ञानको सैद्धान्तिक विमर्श पढेपछि । मकालु प्रकाशन गृहबाट यसै वर्ष प्रकाशित भाषाविज्ञानको सैद्धान्तिक विमर्श ले नेपाली भाषाको मात्र होइन, विश्वका समस्त भाषाको सर्वाङ्ग सिद्धान्त केलाएको छ । सन्दर्भसूचीसमेत ३२८ पृष्ठको एउटै ग्रन्थले तृष्णा र तृप्ति एकैचोटि प्रदान गर्छ । ग्रन्थले भाषाविज्ञान जस्तो जटिल विषयको अध्ययन गर्ने जिज्ञासा जगाउँछ र जिज्ञासुलाई सन्तुष्ट पनि बनाउँछ । ग्रन्थकारको कार्य असामान्य छ, अद्वितीय र अनुपम छ । प्रस्तुति मोहनीमय भएर पनि होला, एकै बसाइमा अविश्रान्त पढिसकिन्छ, बुझ्सिकिन्छ । यो ग्रन्थ मिठाई हो, रसबरी अथवा दूधबरी हो । औषधी भए सञ्जीवनी हो किनभने यसले परिभाषा दिँदै नदिई भाषाविज्ञानलाई परिभाषित गरेको छ । भाषाका ध्वनि, वर्ण, वर्णोच्चारण, लिपि, शब्दार्थ र वाक्यसमेतको सैद्धान्तिक ज्ञान सटीक र सर्वसुलभ दृष्टान्तकै माध्यमबाट पाठकको मनमस्तिष्कमा सजिलै प्रवेश गर्छ र स्थायी निवासी हुन्छ । प्रस्तुतिले ख्यालठट्टा गरे जस्तो गर्छ र विषयको गम्भीरता देखाइदिन्छ ।

संयुक्त राज्य अमेरिकाको विख्यात विश्वविद्यालयबाट सैद्धान्तिक भाषाविज्ञानमै विद्यावारिधि गरेका प्रा.डा. जयराज आचार्यको शोधग्रन्थ ‘जर्जटाउन युनिभर्सिटी प्रेस’ ले नै प्रकाशित गरेको छ । आधुनिक भाषाविज्ञान र पाश्चात्य भाषाविज्ञानलाई लगभग पर्यायवाची मान्ने गरिन्छ । आधुनिक र त्यसमाथि पनि पाश्चात्य भाषाशास्त्रको सैद्धान्तिक विषयमा विद्यावारिधि गर्ने आचार्यले आधुनिक भाषाशास्त्रको विश्लेषणात्मक निष्कर्षका तुलनामा पाणिनीय परम्पराको पुनव्र्याख्या गरेर संसारलाई आश्चर्यचकित पारिदिएको दृश्य यस ग्रन्थमा देखिन्छ ।

यो ग्रन्थ संस्कृत, नेपाली र अङ्ग्रेजीजन्य दत्तात्रयविद्वत्ताको प्रतिफल हो । यसले आफ्नै नेपाली भाषालाई केन्द्रबिन्दुमा राखेर सिङ्गो भाषिक भूगोल छर्लङ्ग देखाइदिएको छ । एकदुइटा अपवादबाहेक सन्दर्भसामग्री नेपाली लेखकहरूकै ग्रन्थलाई बनाइएको छ । विभिन्न २१ उपशीर्षकहरूमा विभक्त यो ग्रन्थ नेपालीभाषी पाठकका लागि नै लेखिएको हो । यस ग्रन्थमा नेपाली र संस्कृत भाषाका सटीक दृष्टान्तले पुगुन्जेल अर्को भाषाको दृष्टान्त दिइएकै छैन । नेपाली भाषाका सम्पूर्ण समसामयिक समस्या समेटेर समाधानका निमित्त सहज सूत्र सुझइएको छ । ‘भाषाविज्ञानको सैद्धान्तिक विमर्श’ विनापूर्वाग्रह गरिएको विशद अध्ययन तथा अनुसन्धानको सारभूत सँगालो हो ।

सबै थरी पाठकलाई आफ्नो पक्षमा पारेर छोड्ने अपत्यारिलो उद्देश्यपूर्वक सर्वसुलभ सामग्री प्रस्तुत गर्न सफल हुनु ग्रन्थकारको अद्वितीय विशेषता हो । सामान्य पाठकले भाषाविज्ञानको सिद्धान्त जस्तो जटिल विषयमा यति सरल शास्त्र लेखिन्छ भन्ने कल्पनासम्म गरेको हुँदैन । उसले फुरुङ्ङ पर्दै निस्सङ्कोच भन्नेछ— “नेपाली भाषामा लेखिएको यति सजिलो, रसिलो र भरिलो पुस्तक अन्त कहाँ पाइन्छ ? सीमान्त सरल भएर पनि गहनताले भरिपूर्ण अर्को पुस्तक कुन छ ? भाषाविज्ञान व्याकरण, वर्णविन्यास, चिकित्साविज्ञान आदि विज्ञान र दर्शनलाई पकाएर तयार पारिएको पञ्चामृत पुस्तक कसले लेखेको छ ?”

सामान्य पाठकका लागि भाषाविज्ञानको साङ्गोपाङ्ग सिद्धान्त पस्किएर ग्रन्थकारबाट सिद्ध भाषाशास्त्रीहरूलाई शास्त्रार्थका निम्ति औपचारिक आमन्त्रण गरिएको छ । ग्रन्थमा उल्लिखित ‘विमर्श’ शब्द नै शास्त्रार्थको सूचक हो । ग्रन्थकारको शिष्ट आमन्त्रणलाई शास्त्रयुद्धकै अर्थमा परिभाषित गर्ने हो भने ‘भाषाविज्ञानको सैद्धान्तिक विमर्श’ लाई शङ्खघोष भनेर बुझनुपर्छ । शास्त्रार्थ गरेर हामीले हाम्रै मतलाई स्थापित गर्ने अथवा जयराज आचार्यको एकल विद्वत्तासमक्ष सामूहिक आत्मसमर्पण गर्ने ? यिनै दुई विकल्पबाहेक हामीसमक्ष अर्को उत्तम उपाय नै रहने छैन । वर्णविन्यासका सम्बन्धमा उहाँको विकल्पवादी मतप्रति असहमत हुनुपर्ने कारणै छैन । उहाँ र उहाँका पूर्ववर्ती एवं समकालीन आधुनिक भाषाशास्त्री सबैलाई नितान्त रहस्यमय कुरा सुनाउने रहर मलाई छ, कतैबाट कुनै सुअवसर जुरेछ भने म उहाँले पढ्न बाँकी रहेको लेख्य वर्ण वा वाणीको ज्येष्ठता र कथ्यको कनिष्ठताका सम्बन्धमा केही शास्त्रीय तर्क प्रस्तुत गर्न प्रतीक्षारत छु । बाँकी चुनौतीको प्रतिरक्षा गर्ने दायित्व त्रिभुवन विश्वविद्यालयको नेपाली शिक्षण समिति, भाषाविज्ञान शिक्षण समिति तथा नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा समितिले नै वहन गर्नुपर्ने देखेको छु । उक्त ग्रन्थ पढ्ने पाठकले नै नेपाली भाषाका भाषाशास्त्रीहरूसँग दर्जनौँ प्रश्न गर्नेछन्, तीमध्ये एउटा प्रश्न हो ‘आधुनिक बन्नका लागि आफ्ना पूर्वजहरूको अपार ज्ञानभण्डारलाई तिरस्कार गरेर तपाईंहरूले अपरिपक्व आधुनिक भाषाशास्त्रको शरण लिनुभएको हो ?’

commercial commercial commercial commercial