के-के सम्भव छ एउटा कक्षामा ?

सामान्यतः सरकारी विद्यालयका प्राथमिक कक्षामा कालो पाटीका अतिरिक्त कतै कतै पुराना, धुलाम्मे चार्टसम्म देख्न पाइन्छन् तर शिक्षकले अलिक खुल्ला दिमागले सोच्ने थोरै मात्र ‘कष्ट’ गर्ने हो भने पनि कक्षा–कोठामा अनेकौं रोचक शैक्षिक सामग्री जुटाउन त्यस अनुरुपका गतिविधि गर्न सम्भव हुन्छ

कुरो आफ्नै घरबाट शुरू गरौं । जसरी कुनै पनि घरमा खाना पकाउन भान्सा-कोठा, गफगाफ-भेटघाट गर्न बैठक-कोठा र सुत्न ‘बेडरूम’ को आ-आफ्नै महत्व हुन्छ, त्यसैगरी सिक्न-सिकाउन कक्षा-कोठा कस्तो हुनुपर्छ भन्ने कुराको पनि आफ्नै महत्व छ । तपाईंको भान्सा-कोठामा एउटा चूलो र केही भाँडाकुँडा मात्र छन् भने तपाईं जतिसुकै सिर्जनात्मक भान्से भए पनि केही पकाउन सक्नुहुन्न । त्यहाँ चामल पनि छ भने भात त पाक्ला तर त्यस बाहेक केही पाक्न सक्तैन । चामलसँगै दाल, नून र घिउ पनि छ भने दाल-भात अथवा चाम्रे वा खिचडीसम्म पकाउन सकिएला ।

कसैले त्यस्तो भान्सा-कोठा मन पराउला; जहाँ केवल चामल, दाल, नून र घिउ मात्र होस्– जसबाट एक-दुई वटा खानेकुरा मात्र पकाउन सकियोस् ? जसको पनि चाहना हुन्छ– भान्सा-कोठामा कम्तीमा विभिन्न तरकारी, जीरा-मेथी र अन्य मरमसला, चिनी, चियापत्ती र दूध त होस् नै । कुराको चुरो के भने, भान्सा-कोठामा जति धेरै सामग्री हुन्छ खानेकुराका उति नै धेरै परिकार बनाउन सकिन्छ ।

यही कुरा कक्षा-कोठामा पनि लागू हुन्छ । आफूलाई शिक्षकका ठाउँमा राखेर यसो सोचिहेर्नोस् त– ब्ल्याकबोर्ड, केही टुक्रा चक, एउटा डस्टर र केही धुलामे, थोत्रा चार्ट मात्र भएको कक्षा–कोठामा तपाईंले बच्चालाई कति सिकाउन सक्नुहोला र उनीहरूले के-कति सिक्न सक्लान् ?

कक्षाकोठा यस्तो हुनुपर्छ जहाँ सिक्ने गुन्जाइस होस् । विद्यार्थीले शिक्षकको व्याख्यानभन्दा आफ्नो अनुभवबाट बढी सिक्छ । आफ्ना वरिपरि जे भइराखेको छ त्यसलाई कथा, कहानी, पुतलीको खेल, चित्र बनाउने, लेख्ने, किताब पढ्ने र विविध खेलका माध्यमबाट संप्रेषित गर्दै उसले विभिन्न कुरा सिक्दै जान्छ । उसमा रचनात्मकताको विकास त्यसवेला मात्र हुन सक्छ, जब कक्षा-कोठामा शिक्षकले विविध गतिविधि गराउँछन् । म यहाँ प्राथमिक तहका कक्षा-कोठामा केन्द्रित भएर कुरा गर्दैछु । कोठा सानो छ भने यस्ता गतिविधिका लागि बार्दली/दलान; आँगनको प्रयोग पनि गर्न सकिन्छ । अथवा डेस्क-बेन्चलाई एउटा कुनामा राखेर ठाउँ निकाल्न सकिन्छ । गतिविधिका लागि चाहिने सामग्री जुत्ताका डिब्बा अथवा कुनै बाकसमा राख्न सकिन्छ । विद्यार्थीले आफूलाई जे चाहियो त्यो सामान आफ्नो डेस्कमा लैजान पाऊन् !

यस्तो पनि पढाइ हुन्छ ?
तपाईंलाई लाग्दो होला, बालुवा र माटो खेलेर अथवा लुडो/साँप-सिंढी खेलेर बच्चाले के सिक्छ ? किताब छोडेर अरू कुरामा बरालिन थालेपछि कसरी ज्ञान प्राप्त गर्छ, यस्तो पनि पढाइ हुन्छ ? हो, हुन्छ । यस्ता खेलबाटै उनीहरूको शारीरिक, मानसिक र सामाजिक रूपमा सक्रिय रहने आन्तरिक आवश्यकता पूर्ति हुने हो । यस्ता गतिविधिका निम्ति तपाईंले मौका नदिए पनि उनीहरू त्यस्तो मौका र समय निकालिहाल्छन्– तपाईंलाई मन परोस् अथवा नपरोस् । तपाईंले केटाकेटीलाई विना कारण आफ्नो स्कूल ब्याग अथवा पेन्सिल बक्स खोल्दै–बन्द गर्दै गरेको, पेन्सिल तिखारिरहेको, टिफिन बक्स खोल्दै–पुछ्तै गरेको, बाथरुम जाँदै-आउँदै गरेको त देख्नुभएकै होला । ती ‘गतिविधि’ गर्ने अवसर नदिइएका कारण तिनले गरिरहेका गतिविधि हुन् !

तपाईंले औपचारिक शिक्षाको समय घटाइदिनुभयो भने विद्यार्थीले तपाईंको कुरामा बढी ध्यान दिनेछन् किनभने उनीहरूले बुझेका हुन्छन्– अब छिट्टै ‘खेल्न’ (गतिविधि गर्न) पाइनेवाला छ । तिनले आफ्ना योजना र तिनको कार्यान्वयनबारे चर्चा गर्नु भनेको आत्मविश्वासी, आत्मनिर्भर र रचनात्मक बन्न सिक्तै जानु हो । त्यही क्रममा उनीहरू अरूसँग मिलेर कसरी काम गर्ने भन्ने पनि सिक्छन् । विभिन्न पदार्थका गुण–धर्मका बारेमा सिक्छन् । जिम्मेदार बन्न सिक्छन् । विभिन्न वस्तु ल्याएर प्रयोग गरिसकेपछि फेरि जहाँको तहीं लगेर दुरुस्त राख्न सिक्छन् । अरूको व्यवहार निरीक्षण गर्छन् । यति मात्र होइन, अरू बच्चाबाट पनि सिक्छन् । त्यसैले विद्यार्थीलाई पाठ्येतर गतिविधिका निम्ति पर्याप्त समय दिनु जरूरी छ– जसबाट तिनलाई यस्तो गतिविधि पटक-पटक गर्ने अवसर उपलब्ध होस् र तिनले आफ्नो बोध एवं रचनात्मकतालाई परिष्कृत गर्न सकून् ।

केटाकेटीलाई स्वस्थ र प्रसन्नचित्त रहन खेल्नु जरूरी हुन्छ । शिक्षकको नाताले तपाईं यसमा उनीहरूलाई मद्दत गर्न सक्नुहुन्छ । त्यसबाट तपाईंको शैक्षणिक उद्देश्य पनि सँगसँगै पूरा हुँदै जान्छ । उदाहरणका लागि कथा सुनाउने र किताब वाचन गर्ने कुरालाई नै खेल बनाउन सकिन्छ । केटाकेटीले किताब वाचन गरेर अरूलाई सुनाए भने उनीहरूको पढ्ने क्षमता विकसित हुँदै जान्छ । पाठ्यपुस्तकको एउटा पाठ वाचन गरेपछि आफूलाई मन पर्ने कथा अथवा कविताको किताब ल्याएर वाचन गरी सुनाउने छूट दिनुभयो भने उनीहरूलाई किताब पढ्न आनन्द लाग्न थाल्नेछ ।

सक्रिय कक्षाको व्यवस्थापन
सक्रिय कक्षा निर्माण गर्न पक्कै पनि निकै मिहिनेत पर्छ; त्यसको व्यवस्थापन त अझ् कठिन छ । परन्तु यो एकपल्ट दिनचर्याको अंग बनिसकेपछि तपाईं हँसिलो–उज्यालो शिक्षक बन्न पुग्नुहुन्छ अनि तपाईंका विद्यार्थी पनि प्रसन्न र सृजनशील बन्न थाल्छन् । यस्तो स्थितिसम्म पुग्न अलिकति मुश्किल र तनावबाट चाहिं गुज्रिनै पर्ने हुन सक्छ ।

तपाईंसँग थरी थरीका गतिविधि छन् र तिनलाई हरेक दिन गराउन थाल्नुभयो भने छिट्टै थाहा पाइहाल्नुहुन्छ– केटाकेटीलाई पढाउन कति सजिलो भनेर । उनीहरूलाई स–साना समूहमा बाँडेर अलग–अलग गतिविधि गराउनु र आफूले पनि उनीहरूसँगै काम गर्नु बढी उपयोगी र व्यावहारिक हुन्छ । प्रत्येक विद्यार्थीलाई तपाईंको समय र ध्यानको आवश्यकता हुन्छ । कसैलाई अंक अथवा हिसाबमा तपाईंको सहयोग चाहिएको हुन्छ त कसैलाई शब्द अथवा भाषाको कुरामा । उनीहरू सबैलाई तपाईं त्यसवेला मात्र मद्दत गर्न सक्नुहुन्छ जब कक्षाका अरू विद्यार्थी अलग–अलग काममा मग्न होऊन् ।


कहिलेकाहीं प्रश्न उठाइन्छ– पुतलीको बिहा, भात पकाइ अथवा डाक्टर–बिरामी जस्ता खेल कक्षामा खेलाइनु ठीक हो कि होइन ? बिल्कुल ठीक हो । यसमा केही अनुचित छैन । केटाकेटीलाई यस्ता खेल खेल्ने मौका दिनुपर्छ । यसबाट उनीहरूको गतिविधिमा एक प्रकारको जीवन्तता आउँछ ।

एउटा गतिविधि आज गराएर फेरि दुई हप्तापछि मात्र गराउन थाल्नुभयो भने विद्यार्थीलाई सिक्न कठिन हुन्छ । त्यसैगरी पूरै कक्षालाई एउटै गतिविधि गराउन खोज्नुभयो भने तपाईंलाई मुश्किल पर्छ । मानिलिऊँ, तपाईंले एकदिन कक्षाका सबै विद्यार्थीले ‘क्ले एरिया’ (मुछेको माटो) मा काम गर्ने भनेर तय गर्नुभयो भने ३०-४० जना विद्यार्थीबीच माटो खोसाखोस, तानातानी, ठेलाठेल र झगडा शुरू हुन्छ । अथवा, तपाईंले ‘आज सबै विद्यार्थीले कथा–कविताका पुस्तक पढ्ने’ भन्ने घोषणा गरिदिनुभयो तर उता पुस्तकालयमा चाहिं त्यस्ता १५ वटा मात्र पुस्तक रहेछन् भने के होला ? किताब तानातान र खोसाखोसको यस्तो उत्पात मच्चिन्छ, तपाईंलाई ‘लर्निङ क्लासरूम’ को विचारलाई नै बाई-बाई गरूँ जस्तो लाग्न सक्छ ।

त्यसैले, कक्षाका सबै विद्यार्थीलाई एउटै गतिविधिमा लगाउनुको सट्टा स–साना समूहमा बाँडेर वेग्लावेग्लै गतिविधि गराउनु उचित हुन्छ । यसो गर्दा सबै विद्यार्थी आ–आफ्नो काममा व्यस्त हुन्छन् र एउटै गतिविधिका निम्ति उनीहरूबीच घमासान पनि पर्दैन । जस्तै, चार जना विद्यार्थी बालुवाको खेलमा लाग्न सक्छन्, ‘मुछेको माटो’ मा पाँच–छ जना संलग्न हुन सक्छन्, दश जनासम्मलाई चित्रकलामा लगाउन सकिन्छ, चार जनाले घरपरिवार खेल्न सक्छन् अनि दुई विद्यार्थी डाक्टर-बिरामी खेलमा व्यस्त हुन सक्छन् । दुई विद्यार्थी कागज काट्ने-टाँस्ने खेलमा, पाँच जना पुस्तक वाचन गर्ने काममा, चार जना तित्रीका गेडा र आइसक्रीम खाने चम्चाबाट कुनै आकृति बनाउने खेलमा, दुई जना बिग्रेको टेबुल घडी अथवा बिजुलीको स्विच खोल्ने-जोड्ने खेलमा लाग्न सक्छन् अनि पाँच–छ विद्यार्थीलाई ‘पजल्स्’मा व्यस्त बनाउन सकिन्छ । यसप्रकार केटाकेटीलाई विभिन्न गतिविधिमा व्यस्त राख्ने हो भने कक्षामा अराजकताको वातावरण पैदा हुन पाउँदैन ।

तपाईंको कक्षामा तीस जना विद्यार्थी छन् भने दुई वा तीन समूह मात्रमा बाँडेर पनि पढाइ र खेल/गतिविधिहरूलाई दिनभरि जारी राख्न सकिन्छ । एउटा समूहलाई पढाउँदा अन्य समूहलाई खेल/गतिविधिमा व्यस्त राख्न सकिन्छ । तपाईं उनीहरूको कापी जाँच्ने काम गर्न थाल्नुहोस्, उनीहरू गतिविधिमा रम्न थाल्छन् । अथवा, एउटा समूहको कापी जाँच्ता त्यो समूहकालाई सँगै राखेर गल्ती देखाउँदै, बताउँदै, सिकाउँदै गर्ने र अन्य समूहलाई गतिविधिमा लाग्न दिने पनि गर्न सक्नुहुन्छ । भएजति सबै बच्चालाई एकैचोटि पढाउनु अथवा एउटै गतिविधिमा लगाउनुभन्दा यो विधि बढी व्यावहारिक र प्रभावकारी हुन्छ ।

यस्ता तमाम व्यवस्थासँग सामञ्जस्य कायम गर्न विद्यार्थीलाई दुईदेखि तीन हप्तासम्म लाग्न सक्छ । तर हरेक खेल सबैले खेल्न पाइन्छ भनेर उनीहरूले एकपल्ट बुझिसकेपछि गतिविधिका लागि हानथाप गर्न छोड्छन् । आज माटोको खेल खेल्न पाइएन त के भयो, भोलि अथवा पर्सि पालो आइहाल्छ भन्ने उनीहरूलाई थाहा हुन्छ । तपाईंले ख्याल राख्नुपर्ने कुरा चाहिं, बच्चाले खेलिसकेपछि सबै सामान आ-आफ्नो ठाउँमा ठीकसँग राखून् भन्ने हो । नत्र सम्हालिनसक्नु भद्रगोल हुन्छ । सामानहरू व्यवस्थित गर्न अलग–अलग डिब्बामा राखेर बाहिर तिनको नाम लेख्न अथवा चित्र टाँस्न सकिन्छ । त्यसपछि बच्चालाई सामान व्यवस्थित किसिमले राख्ने बानी पर्दै जान्छ । उनीहरू आ-आफ्ना गतिविधिमा व्यस्त हुन र त्यसमा ध्यान केन्द्रित गर्न थाल्छन् ।

आ-आफ्नै पाराले, कसैको हस्तक्षेप विना काम गर्न पाएको अनुभवले उनीहरू खुशी हुन्छन् । तपाईंले विशेष ध्यान दिनुपर्ने नियम एउटै छ र त्यो हो— ‘लर्निङ सेन्टर’ (सिकाइ केन्द्र) को उपयोग हरेक दिन गरिएकै हुनुपर्छ ।

यसपछि आउने प्रश्न हो– ‘गतिविधि’ अन्तर्गत के–के सामेल/समावेश गर्न सकिन्छ ? यसका निम्ति मैले तयार गरेको सूची यस्तो छ । (हे. बक्स)

कक्षा–कोठाको डिजाइन
यतिन्जेल मैले कक्षा–कोठाको व्यवस्थापनबारे चर्चा गरें; त्यसको डिजाइनबारे कुनै कुरा गरिनँ । किनभने, तपाईं सक्रिय कक्षाको व्यवस्थापनका सिलसिलामा सानातिना तनाव झेल बानी पर्नुभयो भने यस्तो कक्षा–कोठा बनाउन मिहिनेत त पर्छ तर तनाव उत्पन्न हुँदैन ।

ब्ल्याक बोर्ड छेउछाउको क्षेत्र
कक्षा–कोठामा एउटा ब्ल्याक बोर्ड त हुन्छ हुन्छ । त्यसको छेउछाउको ठाउँलाई प्रयोग गर्न सकिने सम्भावना कत्तिको हुन्छ ? त्यहाँ तपाईंले के कस्ता सामग्री व्यवस्थित गर्नु बेस हुन्छ– जो सदैव तपाईंको पहुँचमा होऊन् ? मेरो विचारमा, ब्ल्याक बोर्ड छेउछाउ यी सबै कुरा राख्नु राम्रो हुन्छः
–    क्यालेन्डर
–    मौसमको चार्ट
–    देवनागरी र अंग्रेजी वर्णमालाको चार्ट
–    १०, २०, ३० जस्ता संख्याहरूको चार्ट
–    सप्ताहका दिनहरूको चार्ट
–    वर्षका महीनाहरूको चार्ट
–    देशको नक्शा
–    विश्वको नक्शा
–    रंग लगाएर बनाइएको, उँचाइ नाप्ने चार्ट ।

ब्ल्याक बोर्ड छेउछाउ यी सामग्री व्यवस्थित गरेपछि आफूलाई चाहिएको वेला तत्काल उपयोग गर्न सकिन्छ । सामान्यतः कक्षा–कोठामा धेरै ठाउँ हुँदैन । त्यसैले ब्ल्याक बोर्ड छेउ बलिया किला ठोकेर यस्ता वस्तु झुन्ड्याउन सकिन्छ । यसो गरिएन र कक्षा–कोठामा जताततै झुन्ड्याइयो भने चाहिएको वेला तिनको प्रयोग गर्न अप्ठ्यारो हुन्छ । डेस्कहरूको बीचबाट बांगोटिंगो हुँदै गएर चार्ट लिएर आउने, प्रयोग गर्ने र फेरि त्यसैगरी फिर्ता लगेर झुन्ड्याउने प्रक्रियामा प्रशस्त समय बर्बाद हुन्छ । वर्णमाला, अंक, महीना, बार, कुनै देश/प्रदेशमा कुनै ठाउँको अवस्थिति आदिबारे सिकाउन- बुझाउन शिक्षकले चार्टको उपयोग गर्न थालेपछि विद्यार्थीले पनि सन्दर्भका निम्ति तिनको प्रयोग गर्न सक्छन् ।

कक्षाकोठामा ठूलो ब्ल्याक बोर्ड छ भने त्यसमा मसीना तेर्सा लाइन पेन्ट गराउन सकिन्छ । अंग्रेजी अक्षर लेख्नका निम्ति– अंग्रेजी लेख्ने कापीमा भएजस्तै– रातो र नीलो रंगका लाइन तान्न लगाउन सकिन्छ । यसैगरी देवनागरी अक्षर र अंकहरू लेख्न चारकुने ‘वर्ग’ बनाउन लगाउन सकिन्छ । यसबाट कुन अक्षर अथवा अंक कहाँ, कसरी लेख्ने भनेर विद्यार्थीलाई बुझाउन असाध्यै सजिलो हुन्छ ।

ब्ल्याक बोर्ड भन्दा माथि तीन वटा किला ठोक्नुपर्छ जहाँ आवश्यक परेको वेला चार्ट झुन्ड्याउन सकियोस् । हिजोआज कतिपय स्कूलमा ब्ल्याक बोर्ड मास्तिर एउटा डोरी अथवा तार टाँगिएको हुन्छ । त्यसको फाइदा के हो भने विद्यार्थीसामु कुनै विषयबारे चर्चा गर्दा, कपडा सुकाउन प्रयोग गरिने क्लिपको सहायताले उक्त डोरी/तारमा कागज झुन्ड्याएर त्यसमा लेख्न सकिन्छ । यसरी लेखिएको कागज पछि अन्यत्र झुन्ड्याइदिन सकिन्छ जसलाई बच्चाहरूले फुर्सतका वेला पढ्न सकून् । ब्ल्याक बोर्ड मुनि यस्तो ठाउँ बनाउनुपर्छ जहाँ डस्टर र चकका साथै बेरिएका चार्ट, स्केल, कथा–कहानीका पुस्तक आदि पनि राख्न सकियोस् । कक्षा–कोठालाई यसरी व्यवस्थित गर्नुपर्छ, शिक्षकले आवश्यक सामग्री लिन कक्षा बाहिर जानु नपरोस् ।

विद्यार्थीका लागि कक्षामा एउटा बेग्लै बोर्ड पनि राख्न सकिन्छ । बोर्ड नभए कक्षा अथवा दलानकै एउटा भित्तामा गेरू अथवा पहेंलो रंग लगाएर ‘बोर्ड’ तयार पार्न सकिन्छ । यो बच्चाहरूले प्रयोग गर्ने बोर्ड भएकोले धेरै अग्लो हुनुहुँदैन ।

पुस्तकालयको विस्तार
स्कूलमा पुस्तकालयको प्रयोग त्यसको उद्देश्य अनुरूप गर्ने चलन छैन । हप्तामा एक दिन पुस्तकालयको ‘कक्षा’ हुन्छ । त्यसमा विद्यार्थीहरू पुस्तकालय अवश्य जान्छन् तर त्यहाँ कि चूपचाप बस्छन् अथवा मन नलागी नलागी कुनै पुस्तक वा पत्रिकाको पाना पल्टाएर समय बिताउँछन् । कति चाहिं साथीहरूसँग खासखुस गर्न व्यस्त हुन्छन् । घण्टी लाग्नासाथ उठेर हिंड्छन् । पुस्तकालयमा रमाउने त कुनै संभावना नै हुँदैन । त्यसमाथि, यस्ता पुस्तकालयहरूमा स–साना विद्यार्थीका लागि उपयुक्त कथा–कहानीका किताब पनि प्रायः हुँदैनन् ।

तपाईंको स्कूलको पुस्तकालयमा ‘लाइब्रेरियन’ छन् भने उनलाई कतिपय कथा–कहानी वाचन गरेर विद्यार्थीलाई सुनाउन आग्रह गर्न सकिन्छ । अथवा, विद्यार्थीलाई पुस्तकालय लगेर तपाईं आफैं कथा पढेर सुनाउन सक्नुहुन्छ । यस्तो अवश्य गर्नुहोस् । यसरी तपाईंले विद्यार्थीलाई किताबको दुनियाँ र त्यसबाट प्राप्त हुने आनन्दसँग परिचित गराउन सक्नुहुन्छ ।

यसनिम्ति तपाईं आफ्नो कक्षामा वेग्लै, स-सानो पुस्तकालय पनि बनाउन सक्नुहुन्छ । यसो गर्नुभयो भने विद्यार्थीले समय पाउँदा रमाइला पुस्तक निकालेर कक्षामै पढ्न सक्छन् । कक्षा–कोठामा ठाउँ छ भने ‘लाइब्रेरी–एरिया’ मा भुईंमै बसेर पनि उनीहरूले किताबको आनन्द लिन सक्छन् । तिनलाई हरेक दिन किताब पढ्ने र त्यसमाथि चर्चा गर्ने मौका दिनुभयो भने उनीहरू तपाईंसँग किताबको विषयवस्तुबारे विस्तारपूर्वक कुरा गर्न थाल्नेछन् । तिनको कुराकानीलाई रेकर्ड गर्न पनि सकिन्छ । सामान्यतः हाम्रा स्कूलमा किताबबारे विस्तृत चर्चा गर्ने समय छुट्याइएको हुँदैन । त्यस कमीलाई यस्ता गतिविधिले धेरै हदसम्म पूरा गर्छन् ।

यो क्रम अघि बढ्दै जाँदा विद्यार्थीले चुट्किला, हँस्यौली, गाउँखाने कथा, कविता वा छोटा कहानीहरूका स–साना पुस्तिका समेत स्वयम् तयार पार्न सक्छन् । यस्तो सक्रियतालाई प्रोत्साहित गर्नोस् । तपाईं स्वयम् पनि उनीहरूका लागि यस्ता पुस्तिका तयार पार्न सक्नुहुन्छ । हस्तलिखित यस्ता पुस्तिकाहरूलाई : र्‍याकमा छुट्टै राख्न सकिन्छ अथवा कक्षागत पुस्तकालयमा समावेश गर्न सकिन्छ ।

माटो बालुवा
लेस्याइलो माटो सामान्यतः जहाँ पनि पाइन्छ । यसलाई बाल्टीमा भरेर, चीसो कपडाले छोपेर राख्नुपर्छ । माटोका गतिविधि गर्ने ठाउँ (क्ले एरिया) मा केटाकेटीलाई बस्न प्लास्टिक/पोलिथिन अथवा पुराना अखबार राख्न सकिन्छ । हरेक दिन माटो भिजाएर डल्ला बनाई राखिदिनुहोस् जसबाट विद्यार्थीलाई गतिविधि गर्न सहज होस् । डल्लासँगै, भिजाएका कपडाका टुक्रा पनि राखिदिनु राम्रो हुन्छ ।

केटाकेटीलाई खेल्न मन पर्छ । बालुवा भिजाउन एउटा सानो बाल्टीमा पानी राखिदिए हुन्छ । सुक्खा बालुवालाई छान्न सकिन्छ, एउटा सिसीबाट अर्को सिसीमा हाल्न सकिन्छ, भिजेको बालुवाबाट अनेक वस्तुको आकृति बनाउन सकिन्छ । केटाकेटीको रचनात्मकतालाई भरपूर मौका दिन त्यहाँ अनेकथरिका स–साना भाँडाकुँडा, बालुवा खोस्रिने वस्तु, काठका टुक्रा, सिन्का, प्लास्टिक-पाइपका टुक्रा आदि राखिदिन सकिन्छ ।

कला
कला–शिक्षण सबै विषयको अन्तरंग हिस्सा हुनुपर्छ । तर यतातिर मानिसको ध्यान जाने गरेको छैन । प्रायः के हुन्छ भने, कुनै शिक्षकलाई पढाउन अल्छी लाग्यो भने उसले विद्यार्थीलाई भन्छ– ‘चित्रकलाको कापी निकाल र आफूलाई जे मन लाग्छ त्यसको चित्र बनाऊ ।’ अनि आफूचाहिं आराम गर्न थाल्छ । तर यसमा शिक्षकको—थोरै भए पनि– सक्रियता अवश्य चाहिन्छ । केटाकेटीलाई चित्रकलामा त्यसवेला मात्रै आनन्द आउँछ जब आवश्यक सबै सामग्री उपलब्ध हुन्छन् । उनीहरूलाई प्रयोग गर्न पर्याप्त समय पनि दिनुपर्छ । कलामा उनीहरूको मस्तिष्क र कल्पनाशीलताको विकास गर्ने गज्जबको क्षमता हुन्छ । यसको अभ्यासमा लागेपछि केटाकेटीहरू प्रकृति र अन्य कुराहरूलाई ध्यानले हेर्न थाल्छन् र आफ्ना वरिपरिको ‘प्याटर्न’ प्रति संवेदनशील बन्दै जान्छन् । खुशी, निराशा वा क्रोध व्यक्त गर्न पनि कला निकै राम्रो माध्यम हो ।


तपाईंसँग थरी थरीका गतिविधि छन् र तिनलाई हरेक दिन गराउन थाल्नुभयो भने छिट्टै थाहा पाइहाल्नुहुन्छ– केटाकेटीलाई पढाउन कति सजिलो भनेर । उनीहरूलाई स–साना समूहमा बाँडेर अलग–अलग गतिविधि गराउनु र आफूले पनि उनीहरूसँगै काम गर्नु बढी उपयोगी र व्यावहारिक हुन्छ । प्रत्येक विद्यार्थीलाई तपाईंको समय र ध्यानको आवश्यकता हुन्छ ।

हामीकहाँ कथा केवल बोलेर सुनाउने चलन छ । शिक्षकले यसरी कथा सुनाउँदा केटाकेटीको दिमागमा त्यसका पात्र, विषयवस्तु, ठाउँ र घटनाका अलग–अलग छवि बनेका हुन्छन् । त्यसो हुँदा, एउटा कथा सुनाएर केटाकेटीलाई त्यसको कुनै घटना वा पात्रको चित्र बनाउन लगाउने हो भने त्यहाँ पर्याप्त विविधता देख्न सकिन्छ । उनीहरूको कल्पनाशीलता त्यहाँ प्रकट हुन्छ ।

दुर्भाग्य चाहिं के हो भने प्रायः शिक्षकहरू कलाको नाउँमा ब्ल्याक बोर्डमा सरसर्ती कुनै कुराको चित्र बनाइदिन्छन् र विद्यार्थीलाई त्यसको नक्कल गर्न लगाउँछन् । अझ् कतिले त यति दुःख पनि गर्दैनन्, सीधै पाठ्यपुस्तक हेरेर कुनै चित्र ‘सार्न’ आदेश दिन्छन् । यसले केटाकेटीको सृजनशीलता त कुण्ठित हुन्छ नै, आफ्नो सृजना स्वीकार्य छैन भन्ने पनि उनीहरूलाई महसूस हुन थाल्छ ।

रंगका नाममा अभिभावकले छोराछोरीलाई प्रायः ‘क्रेयोन’ ल्याइदिने गर्छन् तर उनीहरूलाई अरू पनि धेरै खाले रंगको आवश्यकता हुन्छ । वाटर–कलर र पेस्टल पनि पाउने हो भने चित्रकलामा तिनलाई झ्न् मजा आउँछ । उनीहरूलाई आफैं रंग बनाउन पनि सिकाउन सकिन्छ । यस्ता रंग मेंहदी, सिन्दूर, गेरू, विभिन्न फूल, पात अथवा ईंटका टुक्रा मात्र होइन खरानी र माटोबाट पनि बनाउन सकिन्छ । सिमेन्टमा मिसाउने रंग पनि सावधानीपूर्वक उपयोग गर्न सकिन्छ । यस्तो रंगको धूलोमा अलिकति गुँद अथवा सरेस मिसाएर पानीमा राम्ररी घोलेपछि रंग तयार हुन्छ । कतिपय स्कूलहरूमा चित्रकलाका सामग्री किन्ने बजेट हुँदैन । यस्तो अवस्थामा के गर्ने– तपाईं स्वयम्ले उपाय निकाल्नुपर्ने हुन्छ ।

कलाकृति बनाउने सामग्री जहाँ पनि पाइन्छन् । जस्तैः रूखका हाँगाबिंगा, ऊनी धागो, फलफूलका बियाँ, पुराना पत्रपत्रिका, कपडाका टुक्रा, ढुंगा, चराचुरुंगीका प्वाँख, गत्ता आदि । सबै कुरा गत्तामा टाँस्नुपर्छ भन्ने पनि छैन । चराका प्वाँख र कपडाका टुक्रा सियो–धागोको सहायताले कसरी गत्तामा सिएर अड्याउन/सजाउन/मिलाउन सकिन्छ भनेर विद्यार्थीलाई सिकाउन सकिन्छ, जो आफैंमा रमाइलो गतिविधि हुन सक्छ । उनीहरूलाई टाँक सिउन अथवा फाटेको कपडा सिएर ठीक पार्न पनि सिकाउन सकिन्छ ।

भान्साघर कहाँ राख्ने ?
खाना पकाउने गतिविधिका लागि कक्षामा अलग्गै कुनै ठाउँ तोक्नु जरूरी छैन । डेस्क-बेन्च एकातिर सारेर यो गतिविधि महीनामा तीन-चार पटक गर्न सकिन्छ । बजारबाट आलु ल्याएर चूलोमा उमाल्न वा अरू कुनै कुरा पकाउन सकिन्छ । यसको योजना बनाउनेदेखि कार्यान्वयनसम्मका प्रत्येक चरणमा, प्रत्येक प्रक्रियामा विद्यार्थीको पूर्ण र सक्रिय सहभागिता हुनुपर्छ ।

स्वैरकल्पना (फ्यान्टासी) को सम्भावना
कहिलेकाहीं प्रश्न उठाइन्छ– पुतलीको बिहा, भात पकाइ अथवा डाक्टर–बिरामी जस्ता खेल कक्षामा खेलाइनु ठीक हो कि होइन ? बिल्कुल ठीक हो । यसमा केही अनुचित छैन । यस्ता खेलका लागि केटाकेटीलाई घरबाट पुरानो सल, कुर्ता, सारी, प्लेटहरू, थोत्रो फोन, पर्स जस्ता थोत्रा/पुराना वस्तु लिएर आऊ भन्न सकिन्छ । पुराना सूती कपडा पुछ्न र सरसफाइ गर्न, सिन्थेटिक कपडा पुतली, कठपुतली र अन्य शैक्षणिक सामान बनाउन उपयोगी हुन्छन् ।

केटाकेटीलाई यस्ता खेल खेल्ने मौका दिनुपर्छ । यसबाट उनीहरूको गतिविधिमा एक प्रकारको जीवन्तता आउँछ । स्वैरकल्पनाको खेल एक प्रकारको नाटक नै हो जसमा केटाकेटीहरू आफ्नो भाषा, अनुभव र रुचिहरूको उपयोग गर्छन् । शिक्षकको नाताले तपाईंको कर्तव्य हुन्छ– यस्ता ‘नाटक’ मा संवाद, घटनाक्रम र प्रस्तुतिका निम्ति केटाकेटीलाई प्रेरित गर्नु । ‘नाटक’ कति राम्रो बन्न जान्छ भन्ने भन्दा पनि त्यसमा उनीहरूको सहभागिता कति सक्रिय र उत्साहपूर्ण छ भन्ने कुरा बढी महत्वको हुन्छ । प्रयोगहरूलाई सधैं प्रोत्साहित गर्नुपर्छ । वास्तविक परिस्थितिहरूमा नै उनीहरूको भाषा, कल्पनाशीलता र रचनात्मकतामा वृद्धि हुन्छ । तपाईंको प्रमुख भूमिका चाहिं आवश्यक सामग्रीको आपूर्तिमा ध्यान दिनु र यस्ता खेललाई प्रोत्साहित गर्नु नै हो ।

झयालहरूको उपयोग
कक्षा–कोठाका झयालमा फलामका डण्डी वा ग्रिल लगाइएको छ भने त्यसको उपयोग केटाकेटीका पेन्टिङ/चित्रकला झुन्ड्याउनका निम्ति गर्न सकिन्छ । दुई झयालका बीचमा डोरी टाँगेर त्यहाँ पनि पेन्टिङ/ड्रइङ झुन्ड्याउन सकिन्छ । यस्तो डोरी त्यति मात्र उँचाइमा हुनुपर्छ, जहाँ विद्यार्थीले आफ्ना पेन्टिङ वा चित्र सहजै हेरफेर गर्न सकून् । उनीहरूले भेट्न नसक्ने उँचाइमा चित्र झुन्ड्याइदिनु ठीक होइन ।

कतिपय कक्षा–कोठामा झयालमुनि खुला तखता हुन्छन् । तिनमा बच्चाले भेला पारेका सामग्री मिलाएर राख्न सकिन्छ; खासगरी त्यस्ता वस्तु– जसलाई छोएर हेर्न उनीहरू रहर गर्छन् । यसको प्रारम्भ तपाईंले गर्नुपर्छ तर केही दिन पछि उनीहरू स्वयम् यसमा योगदान दिन थाल्छन् । तपाईं उनीहरूले ल्याएका सामानमा रुचि राख्नुहुन्छ र ती सामान कसरी ल्याएको भनेर जान्न चाहनुहुन्छ भन्ने लाग्नासाथ उनीहरू झ्न् उत्साहित भएर सयौं वस्तु ल्याउन थाल्छन् । एउटाले ल्याएको सामान अरूले विना कुनै डर– त्रास अथवा संकोच छुन, हेर्न, चलाउन मात्र होइन खोल्न, बनाउन र भत्काउन समेत थाल्नेछन् । यसरी ल्याइएका अनेकथरिका ढुंगा, फलफूल र तरकारीका बियाँ/गेडा, नट, बोल्ट, मोटरका पार्टपुर्जा, किला–काँटा, काठका टुक्रा, पत्रपत्रिकाका चित्र इत्यादिको विशेष प्रदर्शनी पनि गर्न सकिन्छ । निश्चित काममा प्रयोग हुने विभिन्न सामग्री सजाउने विशेष प्रोजेक्ट पनि केटाकेटीलाई दिन सकिन्छ । जस्तै– कपालमा प्रयोग गरिने नानाथरीका हेयर ब्यान्ड, रिबन, क्लिप अथवा विभिन्न खाले तेलका खाली बोतल । यसप्रकारका प्रोजेक्टमा विद्यार्थीले बडो उत्साहका साथ भाग लिन्छन् ।

संग्रहकर्ताको भूमिका
यतिन्जेलमा तपाईंले बुझ्सिक्नुभयो नै होला– शिक्षक स्वयम् राम्रो संग्रहकर्ता पनि हुनुपर्छ । आफ्नै मात्र प्रयासले तपाईं सारा कुरा भेला गर्न सक्नुहुन्न; त्यसका लागि विद्यार्थी र अभिभावकको पनि सहयोग लिनुपर्छ । विभिन्न वस्तु संग्रह गर्न केटाकेटीलाई पटक-पटक सम्झइराख्नुपर्छ । भेला गरिएका वस्तुको ठीकसँग प्रयोग र उपयोग पनि गर्नुपर्छ, अन्यथा उनीहरूले सामान भेला गर्न रुचि लिने छैनन् । थुप्रै शिक्षक, विद्यार्थी र अभिभावकमा ‘यो स्कूल मेरो हो’ भन्ने भावनाको अभाव देखिन्छ । सरकारले जिल्ला शिक्षा अधिकारी मार्फत कुनै आदेश दिन्छ, त्यसको ‘कार्यान्वयन’ शिक्षकद्वारा गराइन्छ, कुरो सकिन्छ ! माथि उल्लिखित गतिविधिहरूबाट भने सबैमा स्कूलप्रति अपनत्वको भावना सिर्जना हुने मात्र होइन, सिकाइको उद्देश्य थाहा पाउन र सिकाइको प्रक्रियामा लोकतान्त्रिक सहभागितालाई बुझन समेत मद्दत पुग्छ ।

कतिपय शिक्षकहरू यस्ता गतिविधिमा अभिभावकलाई सामेल गर्नु टाउकोदुखाइ हो भन्ने ठान्छन् । त्यसो हो भने उनीहरू अर्को पेशामा लाग्नु उचित हुनेछ । किनभने यस्ता काममा मैले सधैं नै अभिभावकहरूलाई अत्यन्त सहयोगी र मद्दत गर्न चाहने पाएकी छु । केटाकेटीलाई स्कूल पु¥याउन अथवा स्कूलबाट घर लैजान अभिभावकहरू आएको वेला तपाईं उनीहरूलाई कक्षा–कोठामा लैजानोस् र भेला गरिएका वस्तुहरूको संग्रह देखाएर ती वस्तुबाट केटाकेटीलाई कसरी सिकाउने गरिएको छ भन्ने बताउनोस् । तपाईंले देख्नुहुनेछ– त्यसपछि तपाईंले भनेका कुरामा अभिभावकहरूको रुचि ह्वात्तै बढ्नेछ र सामग्रीको आपूर्ति पनि । यसरी संग्रह गरिएका वस्तुको उपयोग सकिएपछि शैक्षिक सत्रको अन्त्यमा रद्दीवालालाई बेच्न र त्यसरी आएको पैसाले नयाँ सामग्री किन्न पनि सकिन्छ ।

संग्रहका निम्ति आवश्यक सामान
के–के संग्रह गर्नुपर्छ भनेर कुनै सूची उपलब्ध गराउन सम्भव छैन । तपाईंले जस्ता पनि सामग्री संग्रह गर्दै जानुपर्छ; कुन दिन, कतिखेर के चाहिन्छ– के थाहा ? तैपनि, अधिकांश/स-साना वस्तुहरू राख्न साना–ठूला डिब्बा चाहिन्छन् । टाँक र प्लास्टिकका मोती राख्न भेसलिनका खाली सिसी र पेन्टिङका सामग्री राख्न मिठाइका डिब्बा उपयोगी हुन्छन् । पुराना टिफिन बक्स, थोत्रा प्लेट–बटुका–बाटा पनि विभिन्न सामग्री– जस्तै; सियो–धागो, क्रेयोन, नट–बोल्ट, किला–काँटा आदि—राख्नका निम्ति प्रयोग गर्न सकिन्छ ।

केटाकेटीले अनेक किसिमका डोरी, धागा, सुतलीहरू भेला गर्न सक्छन्– जसको उपयोग सामानहरू झुन्ड्याउने, नाप्ने, कठपुतली बनाउने, सजाउने आदि काममा गर्न सकिन्छ । अभिभावकहरूले ऊन पनि पठाइदिए भने त्यसबाट पुतली/कठपुतलीको कपाल बनाउन अथवा कोलाज निर्माण गर्न सकिन्छ ।

फुटकर सामग्रीः यस्तो सामग्री जे पनि हुन सक्छ र हाम्रै वरिपरि सजिलै पाइन सक्छ । जस्तैः माटो र बालुवा त जहाँ पनि पाइहालिन्छ; कोइला, डोरी, कार्डबोर्ड, पुराना अखबार, गोलीधागोका खाली रील, सूचीकार कहाँबाट रंगबिरंगी कपडाका टुक्रा, सलाइका रित्ता डिब्बा, कपडा सुकाउने क्लिप, फलफूलका बीउ र गेडा, चुराचुरी, पात, चुराचुरुंगीका प्वाँख, काम नलाग्ने भइसकेका कलम, विभिन्न वस्तुका पार्टपुर्जा आदि पाउन पनि कुनै आइतबार पर्दैन । अरूका लागि काम नलाग्ने सामान नै तपाईंका लागि अति उपयोगी हुन्छन् । प्लास्टिकका डिब्बा बीचबाट काट्नोस्– बसी बसी बालुवा खन्ने फुच्चे ‘कोदालो’ तयार !

जुत्ताका डिब्बाः भेला गरिएका वस्तु राख्न जुत्ताका डिब्बा औधी उपयोगी हुन्छन् । कम्तीमा २० वटा डिब्बा कक्षा–कोठाको एउटा भित्तामा टँसाएर लहरै राख्न सकिन्छ । अखबारका पन्ना काटेर टाँसी डिब्बाहरूलाई दरिलो पार्न सकिन्छ । घाम लागेका वेला यो काम केटाकेटीबाट गराउन सकिन्छ–  खेल पनि, गतिविधि पनि, काम पनि र सुक्ने पनि चाँडै ! यस्ता डिब्बामा सूचीकार कहाँबाट ल्याइएका कपडाका टुक्रा र गोलीधागोका खाली रीलदेखि थरीथरीका डोरी र सलाईका खाली डिब्बासम्म जे पनि राख्न सकिन्छ । एउटा डिब्बामा आइसक्रीम खाने चम्चा राख्न सकिन्छ त अर्कामा रबरका टुक्राहरू । एउटामा सियो–धागो राखे हुन्छ, अर्कामा थोत्रा कलम त अर्कामा बिहा–बर्तमनका निमन्त्रणापत्र र नव वर्षका शुभकामना–पत्रहरू ।

औजारः गतिविधिमा संलग्न रहने कक्षाका निम्ति कतिपय औजार सधैं आवश्यक हुन्छन् । यस्ता उपकरण हुन्– पन्चिङ मशीन, स्टेपलर, कैंची, स्केल, पेपर क्लिप, हतौडी, स्क्रू ड्राइभर आदि । यिनलाई एउटा छुट्टै तखतामा सबैले भेट्ने गरी राख्नुपर्छ ।

गणित र विज्ञान सम्बन्धी गतिविधिका लागि स्केल, टेप, लेन्स आदि चाहिन्छन् । गन्ती गर्न र विभिन्न ‘प्याटर्न’ बनाउन स–साना ढुंगा, गिट्टी, पात, सिपी आदि पनि जरूरी हुन्छन् । खाना पकाउने गतिविधिमा सिलौटो–लोहोरो उपयोगी हुन्छ– यसको पनि जोगाड गर्नुभए राम्रो !

गुँद अथवा अन्य कुनै टाँस्ने पदार्थ कक्षामा पर्याप्त उपलब्ध हुनुपर्छ । जुनसुकै गतिविधिमा पनि टाँस्ने काम आइपर्न सक्छ । अधिकांश स्कूलमा टाँस्ने पदार्थ पनि पाउन कठिन हुन्छ । यस्तो अवस्थामा मैदा अथवा पीठो पकाएर गुँद बनाउन सकिन्छ । एकपल्ट पकाएको गुँद जाडोमा दुई–तीन दिनसम्म राख्न सकिन्छ । विविधता ल्याउन यसमा दुई–चार थोपा रंग मिसाइदिए हुन्छ । केटाकेटीलाई घरबाट गुँद बनाएर ल्याउने प्रोजेक्ट दिन सकिन्छ, जसमा उनीहरू रमाउनेछन् । साँच्चिकै गुँदका डल्ला चाहिं बजारमा किन्न पाइन्छन् । दुई दिनसम्म पानीमा भिजाएर राखेपछि राम्ररी फिटेर गुँद तयार पार्न सकिन्छ । यस्तो गुँद ठूलो डिब्बामा ‘स्टक’ राखेर केटाकेटीलाई स–साना डिब्बामा दिनु राम्रो हुन्छ । उनीहरूलाई १००-१०० ग्राम ‘गुँद’ किनेर ल्याउने प्रोजेक्ट दिने हो र अभिभावकलाई सहमत गराउने हो भने महीनौंका लागि गुँदको समस्या हल हुन्छ ।

संक्षेपमा भन्दा अलिकति प्रयास र अलिकति कल्पनाशीलताको प्रयोग गरेर तपाईं कक्षा–कोठालाई सिक्ने–सिकाउने जीवन्त स्थलका रूपमा रूपान्तरित गर्न सक्नुहुन्छ । केटाकेटीले तपाईंको कक्षामा धेरै कुरा सिकिरहेका छन् र तिनको सक्रियता तथा आत्मविश्वास बढ्दै गएको छ भन्ने महसूस गर्न थालेपछि अभिभावकले पनि तपाईंलाई पूरापूर सहयोग गर्नेछन् । स्वयम् बच्चामा पनि ‘यो मेरो आफ्नै कक्षा हो’ भन्ने भावना पैदा हुनेछ । उनीहरू जिम्मेदार हुनेछन् र कक्षा–कोठालाई सफा र अनुशासित राख्नेछन् । उनीहरूको व्यक्तित्वको विकास त हुने नै छ !

(कक्षा–कोठा व्यवस्थापन प्राथमिक कक्षामा पढाउने तरीकामा विशेषज्ञता हासिल गरेकी रूथ रस्तोगी भारतको ‘स्कूल ट्रान्सफर्मेशन कार्यक्रम’ सँग सम्बद्ध छिन् ।)
साभारः शैक्षणिक सन्दर्भ, मूल अंक–५८ मा प्रकाशित सामग्रीमा आधारित ।

भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।

 

 

commercial commercial commercial commercial