‘निमावि द्वितीय’ लाई ‘मावि तृतीय’ बनाउन मिल्ने आधार

नारायण महर्जन

शिक्षा आयोगको प्रतिवेदन– २०४९ ले कक्षा ७ सम्म संचालित निमाविहरूलाई संरचनात्मक परिवर्तन गरी कक्षा ८ सम्म कक्षा संचालन गर्न सिफारिश गरे अनुसार तत्पश्चात् बनेका नीतिनियममार्फत कक्षा ८ लाई निम्नमाध्यमिक कक्षा मानी सो समयभन्दा अगाडि कक्षा ७ मात्र भएका विद्यालयमा कक्षा ८ तह थप गरियो । पहिला कक्षा ८ मा माध्यमिक शिक्षकले शिक्षण गरिरहेको हुँदा त्यसपछि पनि माध्यमिक सरहकै स्नातक तह उत्तीर्ण शिक्षकले अध्यापन गराउनुपर्ने अनिवार्य व्यवस्था गरियो । त्यस अनुसार माध्यमिक शिक्षक सरहकै योग्यताको दरबन्दी ‘नि.मा. द्वितीय’ सिर्जना गरी अंग्रेजी, विज्ञान तथा गणित विषयमा अस्थायी रूपमा पदपूर्ति गरियो । उक्त दरबन्दीमा २०५२ सालमा शिक्षक छनोट समितिबाट लिइएको खुला प्रतिस्पर्धामा उत्तीर्ण भई शिक्षक सेवा आयोगका विभिन्न मितिका सिफारिश तथा जिल्ला शिक्षा कार्यालयको निर्णय अनुसार देशका विभिन्न जिल्लामा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकहरूलाई नि.मा. द्वितीय पदमा स्थायी नियुक्ति दिइएको थियो ।

माथि उल्लिखित पृष्ठभूमिका आधारमा ‘नि.मा. द्वितीय’ दरबन्दीमा नियुक्त शिक्षकहरूलाई माध्यमिक तृतीयमा परिवर्तन गर्न मिल्ने कुरा निम्न बुँदाहरूबाट थप प्रष्ट हुन्छ ः
१.    माथि भनिए अनुसारका नि.मा. द्वितीय पदमा उम्मेदवार हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिनु ।
२.    हाल प्रायःजसो यस्ता दरबन्दी रहेका निमाविहरू सबै मावि भइसकेकाले यसरी नियुक्त भएका शिक्षकहरूले मा.वि. तहमै अध्यापन गराइरहेको अवस्था हुनु ।
३.    नि.मा. द्वितीय पदको प्रतिस्पर्धा परीक्षामा मा.वि. तहकै प्रश्नहरू सोधिनु ।
४.    विगतमा माध्यमिक तृतीयको दरबन्दीमा रहेका शिक्षकलाई निमावि द्वितीय दरबन्दीमा सरुवा गराउनु र पुनः माध्यमिक तृतीयमा नै समायोजन गरिएको नजीर हुनु ।
५.    विगतमा नि.मा. द्वितीय दरबन्दीमा रहेका शिक्षक मा.वि. चतुर्थ (हाल मा.वि. तृतीय) पदमा सरुवा भएर गएको नजीर हुनु ।
६.    खुला प्रक्रियाबाट शिक्षक पदमा नियुक्त व्यक्ति जुनसुकै तहमा दुई पटकसम्म बढुवा हुने प्रावधान छ । तर नि.मा. द्वितीय श्रेणीको खुला पदबाट नियुक्त शिक्षकहरूको लागि यस्तो व्यवस्था नहुनु ।
७.    खुला प्रक्रियाबाट नि.मा. द्वितीय श्रेणीमा नियुक्त हुनेहरूको न्यूनतम शैक्षिक योग्यता स्नातक तह तोकिएकोले बीएड वा सो सरहको तालीमप्राप्तले तालीमको मान्यता पाउने व्यवस्था छ तर बढुवा भई सोही पद र श्रेणीमा नियुक्त हुने शिक्षकका लागि न्यूनतम योग्यता प्रमाणपत्र तह भएकोले आईएड वा सो सरहको तालीमले तालीमको मान्यता पाउने हुँदा विरोधाभास पर्न जानु ।
८.    खुला प्रक्रियाबाट उक्त पदमा नियुक्त भएकाहरूको माथिल्लो शैक्षिक योग्यता स्नातकोत्तर तह हुने तर बढुवाबाट नियुक्ति पाउनेको माथिल्लो योग्यता स्नातक तह तोकिनुले दोहोरो मापदण्ड हुनु ।
९.    साविकको खुला प्रक्रियाबाट नियुक्त उच्च प्राथमिक शिक्षक पदलाई यस्तै समस्या नपरोस् भनेर नि.मा. तृतीय श्रेणीमा परिवर्तन गरिनु ।
१०.    शिक्षक सेवा आयोगले नि.मा. द्वितीय श्रेणीको खुला रिक्त दरबन्दीमा कार्यरत अस्थायी शिक्षकलाई माध्यमिक तृतीय श्रेणी सरहको मान्यता दिई माध्यमिक तृतीयमा (५०% कोटामा) उम्मेदवार हुने व्यवस्था गर्नु ।
११.    त्यस्तैगरी मा.वि. तहका लाइसेन्स परीक्षामा सहभागी गराइनु ।
१२.    नि.मा. द्वितीय र माध्यमिक तृतीय श्रेणीको तलबमान र सुविधा बराबर हुनु ।
१३.    नि.मा. द्वितीय दरबन्दीलाई माध्यमिक तृतीय दरबन्दीमा परिवर्तन गर्दा नेपाल सरकारलाई थप आर्थिक भार नपर्नु ।
१४.    समान पदमा मात्र काज राख्न सकिने प्रावधान वा नियम हुँदाहुँदै पनि नि.मा.वि. द्वितीय अस्थायी शिक्षकहरूलाई मा.वि. तहमा परीक्षा दिन लगाई उत्तीर्ण भएका सम्पूर्ण शिक्षकहरूलाई नि.मा.वि. द्वितीय पदमा काजमा राख्नु ।

हरेक पेशामा रहेका पेशाकर्मीहरूलाई मनोबल उच्च र उत्साहित बनाएमा मात्र उक्त व्यक्तिमा रहेको क्षमता पूर्ण रूपले उपयोग र प्रस्फुटन हुन्छ । तर यो दरबन्दीलाई नि.मा. तृतीयबाट बढुवा शिक्षक सरह लैजाने भन्ने हल्लाले शिक्षकहरूको मनोबल गिराउने र हतोत्साहित मात्र पार्नेछ । तसर्थ यसैबाट सम्पूर्ण सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहन्छु ।

गोरखनाथ मावि, कीर्तिपुर, काठमाडौं

commercial commercial commercial commercial