‘सा विद्या या विमुक्तये’ शिक्षाबारे ऋषि–दृष्टि

“शिक्षाका समस्या हाम्रो युगका गहनतम समस्याका प्रतिबिम्ब मात्र हुन् । तिनलाई संगठन, प्रशासन अथवा विपुल धन–व्ययद्वारा सुल्झाउन सकिंदैन, यद्यपि यिनको महत्व नभएको होइन । हामी, वास्तवमा, तत्व वमीमांसीय रोगबाट ग्रस्त छौं; त्यसैले यसको उपचार पनि तत्वमीमांसीय मात्र हुन सक्छ । जुन शिक्षाले हाम्रा केन्द्रीय विश्वासहरूलाई स्पष्ट पार्न सक्तैन, त्यो केवल प्रशिक्षण अथवा व्यसन मात्र हो । जबसम्म हाम्रा विश्वास अस्पष्ट र गोलमाल रहिरहन्छन् अनि तत्वमीमांसाविरोधी वर्तमान वातावरण कायम रहन्छ, अव्यवस्था झन् झन् गहन हुँदै जानेछ ।”

–ई.एफ्. शुमाकर (स्मल इज ब्युटीफुल)

यो युगमा, जब हाम्रा शिक्षा–नीति–निर्माताहरू शिक्षालाई आर्थिक संवृद्धिको साधन मात्र बनाइदिन न्वारनदेखिको बल लगाएर लागिपरेका छन्, एकजना महŒवपूर्ण एवम् ख्यातनामा अर्थशास्त्री (ई.एफ्. शुमाकर) अर्कै दिशातिर संकेत गरिरहेका छन् । के यो कुरा विचित्र विडम्बना जस्तो लाग्दैन ?

‘सा विद्या या विमुक्तये’ को सोझो र स्पष्ट तात्पर्य हो— विद्याले मुक्त गर्छ । म ‘शिक्षा’ भन्दा ‘विद्या’ पद बढी मन पराउँछु किनभने यसमा शिक्षकको सट्टा सिक्नेवाला केन्द्रमा हुन्छ । विष्णुपुराणको यस श्लोकमा विद्याको वास्तविक महत्वलाई केन्द्रमा राखिएको मात्र छैन, यसले जीवनका सबै पक्षलाई आफूमा समावेश पनि गरेको छ । यो श्लोकांश पढ्नासाथ प्रश्नहरू जर्‍याकजुरुक उठ्छन्— कसको मुक्ति ? कसबाट मुक्ति ? केका निम्ति मुक्ति ? र, विद्या मुक्तिको प्रक्रिया किन हो ? अनि यसले मुक्तिको प्रयोजन कसरी पूरा गर्छ ?

भारतवर्षीय परम्पराका सबै ज्ञान–धाराहरूमा ‘विद्या’ को अवधारणामाथि विस्तृत विचार भएको छ । वैदिक, बौद्ध, जैन, सिख लगायत सबै सम्प्रदाय, सबैजसो दार्शनिक धाराहरू मुक्ति, निर्वाण, कैवल्य आदिलाई जीवनको चरम लक्ष्य मान्दछन् । तर ‘त्यो’ बन्धन के हो जसबाट यी सबै मुक्त हुन चाहन्छन् ? ‘त्यो’ भनेको अविद्या हो । अविद्या नै वास्तविक बन्धन अथवा दुःखको कारण हो र त्यसैबाट मुक्तिको अभीप्सा गरिएको हो । अंग्रेजीमा अविद्याको अनुवाद ‘इग्नोरेन्स’ गरिन्छ । तर अविद्या अज्ञान होइन ।

अविद्याको वास्तविक तात्पर्य हो— कुनै पनि परिघटनाको अन्तर्जात अथवा सारभूत स्वरूपलाई जान्न/चिन्न नसक्नु । अर्थात् कुनै पनि वस्तुको ‘धर्म’ लाई जान्न÷थाहा पाउन नसक्नु । धर्म कुनै पनि वस्तुको अन्तर्जात अथवा सारभूत स्वरूप र प्रक्रिया हो । सतहमा देखिने वास्तविकताहरू भ्रान्ति वा भ्रम हुँदैनन् । ती पनि वास्तविक हुन्छन्, तर सारभूत होइन । जैन दर्शनका अनुसार, वास्तविकताका अनेक रूप र पक्ष हुन सक्छन् जसको जानकारी ज्ञानका भिन्न प्रक्रियाहरूको माध्यमबाट हुन्छ । तिनलाई मति, श्रुति, अवधि, मनःपर्याय र केवल भनिएको छ । स्मरणीय कुरा के हो भने जैन दर्शनमा जीवलाई ‘ज्ञानस्वरुप’ अर्थात् शुद्ध चेतना मानिएको छ । वास्तविकता अथवा सत् का अनेकविध रूप र आयाम हुन सक्छन्, त्यसैले तिनको साररूपका साथ यी सबै आयाम र रूपहरूलाई जान्नु विद्या हो । वैदिक र बौद्ध दर्शनहरूमा पनि विद्या र अविद्यालाई मोटामोटी यसैगरी बुझिएको/बुझाइएको छ । जब मनुष्यको मनोवृत्ति, आचरण, अन्तःसम्बन्ध र क्रियाकलाप विद्याको यस बोधबाट प्रेरित एवं सञ्चालित हुन्छन्, तब मात्र ऊ अविद्याको बन्धनबाट मुक्त हुन सफल हुन्छ । किनभने, ऋषि–दृष्टि अनुसार विद्या सत्यको सूचनात्मक जानकारी होइन, सत्यको अनुभूति गर्नु हो । शंकराचार्य जस्ता महान तर्कशास्त्री पनि अन्ततः अनुभूतिलाई नै वास्तविक ज्ञान वा विद्या स्वीकार गर्छन् ।

तर, ज्ञानप्राप्तिको कुनै पनि प्रकार मूलतः जान्नेवाला अर्थात् ज्ञाताको स्थिति र मनोरचनामा निर्भर हुन्छ । त्यसैले वास्तविक ज्ञानका निम्ति स्वयंको वास्तविक स्वरूपलाई जान्नु एउटा पूर्वशर्त हुन जान्छ । त्यसैले, ऋषि–दृष्टि अनुसार, विद्या–प्रक्रियाको प्रथम र सर्वाधिक महत्वपूर्ण लक्ष्य आफ्ना सबै स्तर र आयामहरूका साथ ‘स्व’ को सारभूत प्रकृति अथवा धर्मलाई जान्नु हो ।

पथिक कवि लक्ष्मी आचार्यका शब्दमा; “पहिले आफूलाई चिन, फेरि अरूलाई चिनौला !”

को हो त यो जान्नेवाला अथवा ज्ञाता ? के यो जैविक अथवा जैविक–मनोवैज्ञानिक अस्तित्व मात्र हो ? अथवा सामाजिक–आर्थिक प्राणी वा आध्यात्मिक अस्तित्व हो ? इतर — मानवीय र मानवेतर — सँग उसको सम्बन्ध के हो ? मनुष्य हुनुको उसको अर्थ, उद्देश्य र प्रयोजन के हो ?

ऋषि–दृष्टि व्यक्ति–मनुष्य र उसको जीवनार्थलाई ऋण, ऋण–शोधन र पुरुषार्थका सिद्धान्तहरूको सहायताबाट परिभाषित गर्छ । प्रत्येक मनुष्य आफ्नो अस्तित्वका निम्ति अन्यको ऋणी छ । सामान्यतः हामी तीन प्रकारका ऋणहरूसँग परिचित छौंः पितृ–ऋण, ऋषि–ऋण तथा देव–ऋण । तर शास्त्रहरूमा अरू दुई प्रकारका ऋणहरूको पनि उल्लेख छः मनुष्य–ऋण र भूत–ऋण (शतपथ ब्राह्मण) । यसको तात्पर्य अन्य मनुष्य अर्थात् समाजको ऋण र मानवेतर अस्तित्व तथा प्रकृतिको ऋण हो— जसको अभावमा हाम्रो अस्तित्व सम्भव छैन ।


पाँच महायज्ञः १. पितृयज्ञ अर्थात् वंशपरम्पराको निर्वाह, परिवार–पालन र पूर्वजहरूको कृतज्ञतापूर्ण स्मरण । २. देवयज्ञ अर्थात् दैवी शक्तिहरूको श्रद्धापूर्ण स्मरण । ३. ब्रह्मयज्ञ अर्थात् ज्ञान–परम्पराको विस्तार र विकास । ४. मनुष्यज्ञ अर्थात् अभावग्रस्त मानिसहरूको सहायता । ५. भूतयज्ञ अर्थात् प्रकृति र मानवेतर प्राणीहरूको हितसाधन ।

समग्रतः प्रत्येक व्यक्ति–मनुष्य आफ्नो अस्तित्वका निम्ति आफ्नो वंश–परम्परा, ज्ञान–परम्परा, दैवी शक्तिहरू र अन्य मनुष्य अर्थात् समाजको मात्र ऋणी छैन, किन्तु— यसका साथै— प्रकृति, अन्य जीवन–रूपहरू र पर्यावरणको पनि ऋणी छ । यी ऋणहरूबाट ऊ अऋण कसरी हुन सक्छ ? यसका निम्ति पञ्च–महायज्ञहरूको विधान गरिएको छ । यी महायज्ञ सामान्य यज्ञ जस्ता अनुष्ठान होइनन्, जसमा यज्ञ–वेदीमा प्रज्ज्वलित अग्निमा देवताहरूका नाममा हवि दिइन्छ । यी त कुनै अनुष्ठान वा कर्मकाण्ड विना नै प्रत्येक व्यक्ति–मनुष्यबाट अपेक्षित कर्तव्य हुन् जसको पालन गरेर उसले ऋण–शोधन गर्न र आफूलाई मुक्त पार्न सक्छ । यी पाँच महायज्ञ हुन्ः १. पितृयज्ञ अर्थात् वंशपरम्पराको निर्वाह, परिवार–पालन र पूर्वजहरूको कृतज्ञतापूर्ण स्मरण । २. देवयज्ञ अर्थात् दैवी शक्तिहरूको श्रद्धापूर्ण स्मरण । ३. ब्रह्मयज्ञ अर्थात् ज्ञान–परम्पराको विस्तार र विकास । ४. मनुष्यज्ञ अर्थात् अभावग्रस्त मानिसहरूको सहायता । ५. भूतयज्ञ अर्थात् प्रकृति र मानवेतर प्राणीहरूको हितसाधन । शास्त्रहरूमा यी यज्ञ सम्पन्न गर्ने अनेक तरीका सिकाइएका÷बताइएका छन् । आज पनि हाम्रो समाज र परिवारमा ‘सामान्य’ मानिसहरूले यी कर्तव्यहरूको पालन गरिरहेको देख्न सकिन्छ, यद्यपि यसका पछाडिको तŒवदर्शन शायद विस्मृतिको गह्वरमा पुगिसक्यो ।

ऋण–शोधन र पञ्च–महायज्ञका अवधारणाहरूबाट भलीभाँती के स्पष्ट हुन्छ भने, कुनै पनि व्यक्ति मनुष्यका रूपमा — यद्यपि व्यक्ति अन्यभन्दा पृथक् होइन — अस्तित्ववान छ भने ऊ समग्र अस्तित्वमा व्याप्त अन्तःसम्बन्धहरूको व्यवस्थाको एउटा अंश हो । समग्र अस्तित्व ऊसँग र ऊ समग्र अस्तित्वसँग प्रत्यक्षतः सम्बन्धित छन् । त्यसैले, कुनै पनि प्रकारको पृथकता — समग्र अस्तित्व वा अस्तित्वांशबाट — को बोध अविद्या हो । अनि, आफ्नो अस्तित्वको अनुभव सँगसँगै अन्यसँग अपृथकताको एकत्वको बोधलाई विद्या भन्न सकिन्छ । रामानुजाचार्यसँग शब्द सापटी लिएर भन्दा, यो ‘अपृथक्सिद्ध–भिन्नता’ हो ।

ज्ञान अथवा विद्या, ज्ञाता र ज्ञेयको संयोग एकत्व हो । त्यसैले, ऋषि–दृष्टिमा शिक्षाको उद्देश्य वैयक्तिक, व्यवसायगत तथा सामाजिक–सांस्कृतिक माध्यमबाट सामाजिक व्यवस्था र ऋत–व्यवस्थामा आफ्नो भूमिकाको पहिचान तथा त्यसको निर्वाहका निम्ति विद्यार्थीलाई समर्थ बनाउनु हो । यही त्यो स्वधर्म हो, जसले मुक्तितर्फ डो¥याएर लैजान्छ । ‘गीता’ मा प्रतिपादित स्वधर्मको अवधारणाको व्याख्या गर्दै श्री अरविन्द भन्छन्ः “बालकको शिक्षाको प्रयोजन उसमा जे–जति सर्वोत्तम, समर्थतम, अन्तरंगतम र जीवन्त छ त्यसलाई अभिव्यक्त गर्न समर्थ बनाउनु हो; कुनै पनि मनुष्यको जीवन र क्रियाशीलता उसमा अन्तर्निहित गुणहरू र सामथ्र्य अनुरूप हुनुपर्छ । उसले नवीनतमलाई प्राप्त गर्नुपर्छ, तर यो प्राप्ति त्यसवेला मात्र सर्वोत्तम रूपमा हुन सक्छ जब ऊ आफ्नो विकसित रूप र अन्तर्निहित सामथ्र्य अनुरूप कर्ममा प्रवृत्त हुन्छ । मानिसको क्रियाशीलता उसका स्वाभाविक गुण र योग्यताहरूबाट निर्धारित हुन्छ । जुन व्यक्तिले यसरी आफ्नो स्वतन्त्र विकास गर्छ, ऊ जीवन्त आत्मा र मनस् हुन सक्नेछ अनि मानवजातिको सेवाका लागि अधिक शक्ति–सञ्चय गर्न सक्नेछ ।” कुराको चुरो स्पष्ट पार्दै श्री अरविन्द अगाडि बताउँछन्, “बाह्य रूपहरू होइन, आन्तरिक सत्यमाथिको यस आग्रहले त्यो आध्यात्मिक महत्ता र सामथ्र्य प्राप्त हुन्छ जसलाई गीता स्वधर्मको पालनका लागि आवश्यक मान्छ ।”

ऋण–शोधनको यो दायित्व सँगसँगै हरेक मनुष्यका केही जैविक–मनोवैज्ञानिक, सामाजिक–आर्थिक र सांस्कृतिक–आध्यात्मिक आवश्यकता एवम् आकांक्षाहरू पनि हुन्छन् अनि सुखी, सम्पन्न, परिपूर्ण, मुक्त जीवनका निम्ति तिनको पूर्ति पनि आवश्यक हुन्छ । त्यसैले, कुनै पनि शिक्षा–व्यवस्थाले तिनको अवहेलना गर्न सक्तैन । यी आकांक्षा–आवश्यकताहरूलाई पुरुषार्थ–सिद्धान्तले चार कोटिमा राखेको छ— धर्म, अर्थ, काम, मोक्ष । यिनलाई अर्को शब्दमा जीवन–मूल्य पनि भन्न सकिन्छ । धर्म कुनै पनि सामाजिक सम्बन्धहरूको विधानको सारभूत र आधार–तत्व हो, किनभने न्याय र पारस्परिकताको अभावमा कुनै पनि समाज टिकिरहन सक्तैन । न्याय कुनै पनि सामाजिक व्यवस्थाको पहिलो गुण हो भन्ने जोन रोल्सको कथन पूर्णतया सत्य हो ।

समाजमा केही प्रतिस्पर्धा र विवाद त हुन्छन् नै, तर कुनै पनि स्थितिमा कतिपय मर्यादा र आचरण–संहितालाई उल्लंघन गर्ने अनुमति दिन सकिंदैन । काम र अर्थ पुरुषार्थको उपलब्धिमा क्रियाशील प्रत्येक मनुष्यबाट के अपेक्षा गरिन्छ भने उसले अन्यका त्यस्तै आकांक्षा र आवश्यकताहरूको सम्मान गर्नेछ अनि तिनको उपलब्धिमा उनीहरूलाई हरसम्भव सहायता पनि गर्नेछ । शिक्षा त्यो प्रक्रिया हो, जसको माध्यमबाट पारस्परिकता र न्यायका प्रति सम्मानको बोध विकसित गर्न सकिन्छ — कुनै आरोपित मूल्य जसरी होइन, बरु मनुष्यको अन्तर्बीजको प्रस्फुटन— पल्लवन जसरी । यसैले त, जब भीम महाभारत–युद्धमा आफ्नो प्रतिज्ञा पूरा गर्न कौरवहरूको रक्तपान गर्छन् त्यसवेला उनका शत्रु मात्र होइन मित्र र बन्धु–बान्धवले समेत उनको यस कृत्यको घोर निन्दा गर्छन् किन भने यो कुनै पनि किसिमको मर्यादाका विरुद्ध हो ।

संस्कृति भनेकै परिष्कृत–संस्कारित गर्ने प्रक्रिया हो र शिक्षा यस परिष्करणको सर्वोत्तम माध्यम । संस्कारित भावनाहरूले, जसलाई एरिक फार्म ‘द्वितीयक प्रवृत्ति’ भन्छन्, इतिहासमा बढी महŒवपूर्ण र निर्धारक भूमिका खेल्छन् । डार्विन पनि के मान्छन् भने जीवन मनुष्यका रूपमा अभिव्यक्त हुँदा त्यस सँगसँगै नैतिकता र सामाजिकताका भाव पनि पैदा हुन्छन् । प्रेम, न्याय, बन्धुत्व, उत्तरदायित्व आदि ती भाव हुन् जो ऐतिहासिक विकास प्रक्रियासँगै विकसित हुँदै आएका छन् । यी भावहरूको परिष्करण मार्फत शिक्षाले इतिहासको विकास–प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्नु अपेक्षित छ । त्यसैले, मनुष्यद्वारा आफ्नो स्वधर्म अथवा अन्तर्जात प्रवृत्तिको पहिचान र सबै किसिमका सम्बन्ध तथा क्रियाशीलताहरूमा तदनुरुप आचरणको विकासको माध्यम बन्नु ऋषि–दृष्टिमा शिक्षाको केन्द्रीय प्रयोजन हो ।

शिक्षाको यो प्रयोजन अवधारणा मात्रै होइन । इभान इलिचको स्थापना छ— प्रत्येक शिक्षा–व्यवस्थाको एउटा गुप्त एजेन्डा पनि हुन्छ जो उसको घोषित एजेन्डाभन्दा बिल्कुल विपरीत पनि हुन सक्छ । उनको स्थापना एकदमै सही छ । यो गुप्त एजेन्डा शिक्षाका प्रक्रियाहरू र उसको संस्थानीकरणमा लुकेको हुन्छ । त्यसैले के पनि हेर्नु जरूरी हुन पुग्छ भने, हाम्रो पारम्परिक शिक्षाको प्रक्रिया र संस्थानीकरणको स्वरूप के थियो र त्यसबाट कुनै गुप्त एजेन्डा त पूरा भइरहेको थिएन ?

परम्परागत शिक्षा व्यवस्थामा, प्रथमतः विद्यार्थीको केन्द्रीयताले ध्यान आकर्षित गर्छ । शिक्षक अथवा गुरुको दायित्व के मानिएको छ भने, उसले प्रत्येक विद्यार्थीलाई आफ्नो अन्तर्जात प्रतिभा तथा सामथ्र्यको पहिचान गर्न र तिनलाई सम्भव सीमासम्म विकसित गर्न सम्पूर्णतः सहयोग पुर्‍याउने आफ्नो भूमिका समुचित रूपमा निर्वाह गर्नुपर्छ । त्यसैले एउटा उमेर पार गरेपछि विद्यार्थीले गुरुकुल, आश्रम अथवा गुरुको घरमा बस्नुपथ्र्यो, जहाँ उसको परिवारको कुनै हस्तक्षेप हुँदैनथ्यो । शिक्षा–संस्थान अथवा गुरुकुल राज्य अथवा बजारको नियन्त्रणबाट पूर्णतया मुक्त थिए । सामान्यतः प्रत्येक शिक्षा–संस्थानसँग आफ्ना वित्तीय संसाधन, जस्तै कृषि–भूमि, पशु–सम्पदा अथवा केही गाउँको कर–आय आदि हुन्थे अनि प्रत्येक विद्यार्थीले — चाहे ऊ जुनसुकै जाति वा वर्गको होस् — समान रूपमा कतिपय कर्तव्यहरूको निर्वाह गर्नुपथ्र्यो । उनीहरू एकै किसिमले खान्थे–पिउँथे–बस्थे र कृषि वा पशुपालन आदिको कर्तव्य पूरा गर्थे । यी संस्थाहरूका विवरणहरूको व्यापक अध्ययन पश्चात् पी.प्रभु यस निष्कर्षमा पुगेका छन्ः “सबै विद्यार्थीको पारस्परिक सम्बन्ध समान थियो तथा प्रत्येकले अनुशासन र सादा जीवनका समान नियमहरूको पालना गर्नु आवश्यक थियो (हिन्दू सोशल अर्गनाइजेशन) । समानताको बोध, शारीरिक श्रमप्रति सम्मानभाव, सादा जीवन, प्रकृति तथा मानवेतर प्राणीहरूप्रति लगाव एवम् सम्मानको बोध विद्यार्थीमा जाग्रत र पोषित गरिन्थ्यो । जीवनको एकत्व, समानता र न्यायका सिद्धान्तहरूमा हिंड्न यी गुणहरूको विकास अनिवार्य पूर्वशर्त हो । वस्तुतः ऋषि–दृष्टिमा शिक्षाको प्रथम आग्रह बुद्धि तथा संवेदनाको विकासमा छ — जसले ‘धर्म’ पुरुषार्थतिर लैजान्छ; व्यवसाय–कौशल तथा सूचनात्मक ज्ञानको महत्व त द्वितीयक छ । यसका पछाडि, मानसिक–बौद्धिक प्रतिभाको विकास भएपछि अन्य प्रकारका ज्ञान र कौशल आदिको उपलब्धि सहजै हुन सक्छ भन्ने विश्वासले काम गरिरहेको देखिन्छ ।


रवीन्द्रनाथ टैगोर, महात्मा गान्धी, जिद्दू कृष्णमूर्ति आदिका शैक्षिक प्रयोगहरू पनि एक हदसम्म यसै कुरालाई पुष्टि गर्छन्ः कुनै पनि प्रकारको शिक्षाको परम–प्रयोजन बन्धनमुक्ति नै हो— सामाजिक–आर्थिक बन्धनहरूदेखि सांस्कृतिक–आध्यात्मिक बन्धनहरूसम्मबाट मुक्ति ।

शिक्षा–प्रक्रियालाई तीन चरणमा विभाजित गरिएको थियोः श्रवण, मनन र निदिध्यासन । पहिलो चरणमा विद्यार्थीले गुरुको प्रवचन सुन्नुपथ्र्यो (आज हामी यसमा पाठ्यपुस्तक वा पाठ्यसामग्रीलाई समावेश गर्न सक्छौंं) । दोस्रो चरणमा त्यसमाथि स्वयम् विचार गर्नुपथ्र्यो र समस्याहरूलाई स्वयम् अथवा गुरुको सहायताले सुल्झउनु÷समाधान गर्नुपथ्र्यो । तेस्रो चरणमा स्वयम् त्यसको व्यावहारिक अनुभव गर्नुपथ्र्यो । ध्यातव्य छ, उपनिषद्हरूमा अध्यापक समक्ष प्रश्नको प्रस्तुति र वाद–विवाद–संवादलाई अतीव महत्व दिइएको छ । यस्ता घटना पनि पाइन्छन् जहाँ आफूसँग कुनै समस्याको समाधान नहुँदा गुरु शिष्यलाई कुनै अर्कै विद्वान्कहाँ जान भन्छन् अथवा, कहिलेकाहीं, स्वयम् उसलाई लिएर जान्छन् । छान्दोग्य उपनिषद्मा उद्दालक आरुणि आफ्ना पुत्र श्वेतकेतुलाई पुनर्जन्मका बारेमा ज्ञान दिलाउन जावालिकहाँ लिएर जान्छन् । अर्को घटनामा उनी पाँचजना ब्राह्मणलाई सार्वभौम आत्माका बारेमा ज्ञान उपलब्ध गर्न राजा अश्वपतिकहाँ पठाउँछन् । तर, चाहे जुनसुकै विषयको अध्ययन होस्, विद्यार्थीले आफ्ना सम्पूर्ण अध्ययनेतर दायित्वहरूको निर्वहन त गर्नैपथ्र्यो । उसको शिक्षा त्यसवेला मात्र सन्तोषप्रद स्तरमा पूर्ण भएको मान्न सकिन्थ्यो र त्यसपछि मात्र ऊ आफ्ना काम र अर्थ पुरुषार्थहरूलाई उपलब्ध गर्दै मोक्षको साधनापथमा अग्रसर हुन सक्थ्यो ।

यहाँनेर मोक्ष अथवा मुक्तिको अवधारणामाथि अलिकति विचार अपेक्षित छ । निस्सन्देह, मोक्ष एउटा आध्यात्मिक अवधारणा हो । तर यसको परिधिमा सम्पूर्ण मानव–जीवन समाविष्ट छ । के लौकिक जीवन जिउँदै मोक्षमा उपलब्ध हुन सम्भव छ ? उत्तर सकारात्मक छ । मोक्ष अथवा मुक्तिको वास्तविक तात्पर्य आफ्नो संकीर्ण स्व को घेरालाई अतिक्रमण गर्दै जीवनको एकत्व किंवा समत्वको बोध गर्नु हो । ‘स्व’ र ‘पर’ को द्वैत यहाँ मेटिन पुग्छ । मुक्त व्यक्तिको लक्षण बताउँदै महाभारतमा भनिएको छः

सर्वभूतेषु चात्मानं सर्वभूतानि चात्मनि ।
यदा पश्यति भूतात्मा ब्रह्म सम्पद्यते तदा ।।
आत्मवत् सर्वभूतेषु यश्चरेन्नियतः शुचिः ।
अमानी निरभीमानः सर्वतो मुक्त एव सः ।।
सर्वमित्रः सर्वसहः शमे रक्तो जितेन्द्रियः ।
व्यपेतभयमन्युश्च आत्मवान् मुच्यते नरः ।।

“जो आफूलाई सबमा र सबलाई आफूमा अनुभव गर्छ, ऊ मुक्त हो । जो अन्यमा पनि त्यही आत्मा छ जो स्वयम् उसमा छ भन्ने ज्ञानका साथ जिउँछ, उसले त्यस्तो चेतना प्राप्त गर्छ — जो मृत्युभन्दा पर छ । अन्यका साथ आफ्नो एकत्वको अनुभव गर्दै जो सबको मित्र हो, जसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रित गरिसकेको छ, जो भय र क्रोधबाट मुक्त अनि प्रतिष्ठा र प्रशंसासँग निर्लिप्त छ — त्यस्तो व्यक्ति सदैव मुक्त छ ।”

मुक्ति अथवा मोक्षलाई सम्पूर्णतः आध्यात्मिक अवधारणा मान्ने हो भने पनि जीवनको एकत्व अथवा समत्वको बोधका निम्ति उपर्युक्त गुणहरूको विकास पूर्वशर्त हुन पुग्छ । तर, उपर्युक्त विवेचनाको आधारमा, ऋषि–दृष्टिमा शिक्षाको प्रयोजन केवल आध्यात्मिक आयाममा केन्द्रित छ भन्ने बुझनु ठूलो भ्रम हुनेछ । कुनै पनि अध्यात्मबोध, हाम्रो लौकिक जीवनमा त्यसको अवतरण हुन सक्तैन भने, सच्चा होइन । आश्चर्यजनक तथ्य के पनि हो भने सबै विद्या–शाखाहरूलाई आध्यात्मिक पृष्ठभूमि र आधार दिइएको छ तर जीवनसँग सम्बन्धित देश–काल–सापेक्ष यस्तो कुनै विषय शायदै होला, जसको शिक्षाको व्यवस्था गरिएको नहोस् । प्राज्ञिक विषय र व्यवसाय–कौशलहरूको सूचीमा गौैड गरेर हेर्ने हो भने लगभग सबै जरूरी ज्ञान–विज्ञान र कौशल त्यहाँ रहेको हामी पाउनेछौं । तथापि, हरेक स्थितिमा, चरित्र–निर्माण र बौद्धिक विकासलाई सहयात्री बनाइएको छ । विद्यार्थीको नैतिक संस्कृतिबाट उसको बौद्धिक संस्कृतिको पार्थक्य सम्भव छैन ।

रवीन्द्रनाथ टैगोर, महात्मा गान्धी जिद्दू कृष्णमूर्ति आदिका शैक्षिक प्रयोगहरू पनि एक हदसम्म यसै कुरालाई पुष्टि गर्छन्ः कुनै पनि प्रकारको शिक्षाको परम–प्रयोजन बन्धनमुक्ति नै हो— सामाजिक–आर्थिक बन्धनहरूदेखि सांस्कृतिक–आध्यात्मिक बन्धनहरूसम्मबाट मुक्ति । त्यसवेला मात्र त्यो वास्तविक ‘स्वराज’ प्राप्त गर्न सकिन्छ, जसमा लौकिक र आध्यात्मिकको अभेद प्रकाशित हुन सक्छ ।

अन्त्यमा, तैत्तिरीय उपनिषद्का यी मन्त्र स्मरण गर्छुः

ऋतं च स्वाध्यायप्रवचने च । सत्यं च स्वाध्यायप्रवचने च ।
तपश्च स्वाध्यायप्रवचने च । दमश्च स्वाध्यायप्रवचने च ।
शमश्च स्वाध्यायप्रवचने च । अग्नयश्च स्वाध्यायप्रवचने च ।
अग्निहोत्रं च स्वाध्यायप्रवचने च । अतिथयश्च स्वाध्यायप्रवचने च ।
मानुषं च स्वाध्यायप्रवचने च । प्रजा च स्वाध्यायप्रवचने च ।
प्रजनश्च स्वाध्यायप्रवचने च । प्रजातिश्च स्वाध्यायप्रवचने च ।
... तद्धि तपस्तद्धि तपः ।।

शास्त्रद्वारा निश्चित कुराको अनुष्ठान पनि गर्नुपर्छ; पढ्नु–पढाउनु (ब्रह्मयज्ञ गर्नु) पनि पर्छ । सत्यभाषण, तपस्या, इन्द्रियदमन, मनोनिग्रह, अतिथिसत्कार, लौकिक व्यवहार, सन्तानोत्पादन आदि पनि गर्नु पर्छ; साथै स्वाध्याय र प्रवचन अर्थात् पढ्नु–पढाउनु पनि गर्दै रहनुपर्छ । त्यो नै तप हो, त्यो नै तप हो । 
(साभारः शिक्षा विमर्श/जुलाई–अगस्ट २०१४)
भाषान्तरः शरच्चन्द्र वस्ती


commercial commercial commercial commercial