जग बिग्रिएको शिक्षा

अबोध बालबालिकालाई हिंड्न नसिकाएर पाखुरा समाई दशौं कक्षासम्म लतार्दै होतेर्दै एसएलसीको पर्खालको डिलबाट पछार्ने कामले न दक्ष जनशक्ति उत्पादन हुन्छ न त शिक्षामा स्तरीयता हासिल हुन्छ ।

नेपालको शिक्षा क्षेत्रमा हरेक वर्ष एसएलसीको हावा आउँछ, त्यो पनि नतीजा प्रकाशनपछि करीब एक सातासम्म । सबैतिर हो–हल्ला खैलाबैला हुन्छ उत्तीर्ण÷अनुत्तीर्णको कुराले । विद्यालयदेखि मन्त्रालयसम्म गफ गर्ने विषय बन्छ । आगामी वर्षको सुधारात्मक योजना बन्छ । बजेट विनियोजन गरिन्छ । यति प्रतिशत र उति प्रतिशत उत्तीर्ण गराउँछौं भनेर प्रतिबद्धता गरिन्छ । अर्को वर्षको लागि ‘आइरन गेट’ तयार गरिन्छ । अनि सबै आ–आफ्नै मेलोमेसोमा फर्कन्छन् । दिनहरू बित्दै जान्छन् । फेरि टुप्लुक्क ‘एसएलसी परीक्षा’ नामको हाउगुजी आउँछ र त्यसले विचरा विद्यार्थीलाई तीन घन्टामै विचेत हुने गरी तर्साएर जान्छ ।
एसएलसीमा हरेक वर्ष अनुत्तीर्ण हुनेहरूको संख्या हेर्दा हाम्रो शिक्षाको जग नै बिग्रेका कारणले यस्तो अवस्था आएको देखिन्छ ।

कसरी बिग्रियो त जग ?
पहिलो कुरा त विद्यालयहरूको वृद्धि संख्यात्मक रूपमा मात्र भयो । ती पूर्ण शैक्षिक मापदण्ड अनुसार चल्न सके प्रायः सबै न्यून पारिश्रमिक तथा दक्ष जनशक्तिको अभावमा छन् । यथार्थमा हाम्रा विद्यालयहरू सीमित व्यक्तिलाई रोजगार दिलाएर असीमित बेरोजगार र बेकम्मा जनशक्ति उत्पादन गर्ने भट्टीको रूपमा स्थापित भएका छन् ।

दोस्रो कुरा, औपचारिक शिक्षाको जग प्राथमिक तह हो । यस तहको शैक्षिक अवस्था सबभन्दा खराब देखिन्छ । यतिसम्म कि प्राथमिक तहका प्रायः विद्यालयहरू आजीवन प्रधानाध्यापक र विव्यस अध्यक्षका निजी गोठ जस्ता भएका छन् । ती विद्यालयका शिक्षकहरू उनीहरूका गोठाला जस्तै भएका छन् र त्यहाँका विद्यार्थी वर्षे गोठमा बाँधिएका भेडाबाख्रसरी छन् । त्यस्ता ठाउँको शैक्षिक वातावरण दयनीय, टिठलाग्दो र घिनलाग्दो त हुने नै भयो ।

तेस्रो कुरा, अभिभावकहरू निरीह छन् । स्थानीय राजनीतिक संगठनहरू रमिते छन्, गैरसरकारी संस्थाहरू अवसरको खेतीमा तल्लीन छन् भने स्थानीय निकाय, स्रोतकेन्द्रहरू, जिल्ला शिक्षा कार्यालय आदि सरोकारवाला निकायहरू कर्मकाण्डी झराटराइबाट अगाडि बढ्ने हिम्मत गर्न सकेका छैनन् ।

यसरी दुर्गतिका मुहानहरूको मेलबाट निम्तिएका खराब प्रवृत्तिहरूले गर्दा आज शिक्षाको जग सारै कमजोर भएको छ । अबोध बालबालिकालाई हिंड्न नसिकाएर पाखुरा समाई दशौं कक्षासम्म लतार्दै होतेर्दै लिएर ‘आइरन गेट’ पार गराउने नाममा एसएलसीको पर्खालको डिलबाट पछार्ने कामले न दक्ष जनशक्ति उत्पादन हुन्छ न त शिक्षामा स्तरीयता हासिल हुन्छ ।

आज देशमा लोग्ने–स्वास्नीको झ्गडाले चक्काजाम हुन्छ, सानातिना कुराले पनि आमहड्ताल, नेपाल बन्द जस्ता क्रियाकलापहरू भइरहेका छन् तर एसएलसीमा ५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको कारण खोज्न किन हड्ताल हुँदैन ? किन नारा जुलूसहरू लाग्दैनन् ? अझ् अनुत्तीर्ण हुनेहरू कतिले त आत्महत्या गरेको पनि देखियो । उनीहरूले आत्महत्या गर्नु नै थियो त सम्बन्धित विद्यालय वा जिल्ला शिक्षा कार्यालयमा गएर गरेको भए अलि धेरैको चेत खुल्थ्यो कि ? (तर, आत्महत्या गर्ने काम भने राम्रो हुँदै होइन ।)

श्री नमूना प्राथमिक विद्यालय, तमाकछरे, खारा, रुकुम

commercial commercial commercial commercial