बुद्धि बंगाराः कसैलाई घाँडो, कसैलाई कमाउने भाँडो

‘तपाईंका दाँत कतिवटा छन् ?’ भनेर सोध्दा प्रायः मानिस अल्मलिन्छन् । मुख आफूभन्दा टाढा नभए पनि त्यहाँ कतिवटा दाँत छन् भन्ने लेखाजोखा धेरैले राख्ने गरेको पाइँदैन । तर; सयौं टन खाना चपाउने तथा व्यक्तित्व, रूप र बोलीमा प्रभाव पार्ने दाँतको संख्या र प्रकार बारे धेरैलाई ज्ञान नभए पनि बुद्धि बंगाराले दुःख दिन्छ भन्ने चाहिं प्रायः मानिसलाई थाहा हुन्छ ।    

प्रकृतिले मानिसलाई दूधे र स्थायी गरी दुई सेट दाँत दिने गरेको छ । यी दाँत जन्मेको ५–६ महीनादेखि आउन थाल्छन् र १७–२५ वर्षको उमेरमा पूरा हुन्छन् । दूधे दाँत २० वटा हुन्छन् र ती १२–१३ वर्षको उमेरसम्ममा साटिइसक्छन् । स्थायी दाँत ५–६ वर्षको उमेरमा आउन थाल्छन्, त्यसैले ६–१२ वर्ष उमेर समूहका केटाकेटीका मुखमा दुवैथरी दाँत हुने गर्दछन् । दाँत बस्ने हड्डीको राम्ररी विकास भइसकेपछि बुद्धि बंगाराको पालो आउँछ । यो १७ देखि २५ वर्षको उमेरसम्ममा पलाउँछ ।
तर, विडम्बना के छ भने, हाम्रा आदिम पुर्खाहरूको जस्तो तल–माथि राम्ररी आपसमा जोडिएर चपाउने गरी चारवटै बुद्धि बंगारा भएका मानिस भेट्न अहिले मुश्किल पर्छ ।

वैज्ञानिक अनुसन्धान र तर्कलाई मान्ने हो भने यसमा ‘प्रयोग र अप्रयोग’ को सिद्धान्त लागू हुन्छ । हाम्रा पुर्खाको तुलनामा हामीले खाने खानेकुराकोे कडा, खस्रो र चाम्रोपनमा निकै कमी आएको छ । हाल व्यापक रूपमा प्रयोग हुने तयारी खानाहरू त झ्नै नरम हुन्छन् । नरम चिज थोरै चपाएर नै निल्न सकिन्छ । यस्ता कम चपाएर निल्न सकिने खानाको व्यापक प्रयोगले गर्दा प्रकृतिले मानिसलाई दिएका १२ वटा बंगाराले पाउनुपर्ने यथेष्ट काम पाउन छाडे ।

खाना चपाउन प्रयोग हुने मांसपेशीले आवश्यक काम गर्न नपाएपछि बंगाराका हाडको थप विकास हुन छोड्यो । १२–१३ वर्षको उमेरमा आइसक्ने २८ वटा स्थायी दाँतले नै सबै चपाउने काम भ्याउन थाले । परिणामतः १७ वर्षको उमेरपछि पलाएर खाना चपाउने कार्यमा सहयोग गर्न आउने बुद्धि बंगाराले कामै पाउन छाड्यो । खाना चपाउने खेलमा सामेल नगरी अरू दाँतले उसलाई मैदान बाहिरै रहन बाध्य पार्न थाले । खेलमैदानमा जान नपाएको ‘एक्स्ट्रा’ खेलाडी जस्तै भएपछि बुद्धि बंगाराले पनि, कहिले हड्डी भित्रै बसिदिने, कहिले बाङ्गो आउने, कहिले टुप्पो मात्र देखाएर मुखमा चियाएर हेर्ने त कहिले आउँदै नआउने गर्न थाल्यो । त्यति मात्रै नभई मुखमा ठडिन सफल बुद्धि बंगाराहरू पनि दैनिक स्याहारसुसार र सफाई नपाए वरिपरिको गिजासँग झ्गडा गर्न थाल्छन् र भन्छन्, “मलाई सफा राख्छौ कि, म तिमीहरूलाई दुःख दिऊँ ?”

मूलतः मुखको फोहोर र दुर्गन्धका कारण रिसाएका जस्ता लाग्ने बुद्धि बंगाराले गर्दा अन्यत्र आर्थिक मन्दी भए पनि नेपालका दन्तचिकित्सकहरूलाई भने केही राहत मिलिरहेको छ । विदेशमा काम गर्न र पढ्न जाने नेपालीहरूको बढ्दो लहर अनि दन्त उपचारको निम्ति विदेशमा तिर्नुपर्ने अत्यधिक शुल्कले यहाँ दन्तचिकित्सकहरूलाई व्यस्त पार्ने गरेको छ । आफू जाने देशको भिसा लाग्नासाथ विदेशिन तम्तयार नेपालीहरू ‘डेन्टल चेयर’ मा उत्तानो पर्न पुग्छन् । दन्तचिकित्सकसँग त्यस्ता प्रायः सबै ‘भिजिटर’ एउटै व्यहोराको आग्रह गर्छन्, “डा.’साप; राम्ररी हेरिदिनु है । बुद्धि बंगाराले विदेशमा दुःख दिन नपाओस् !”

हो; तपाईंको बुद्धि बंगाराले अवश्य दुःख दिन सक्छ; यदि तपाईं दिनको दुईपटक मन लगाएर दाँत माझनु हुन्न अनि दाँत माझ्े पनि बुद्धि बंगाराको चारैतिर ब्रश लगाएर कुल्ला गरेर सफा गर्नु हुन्न भने । विदेशमा रहँदा नेपालीहरूले आफूलाई बढी नै बेफुर्सदिलो बनाई आफ्नो मुखको स्याहारसुसार पनि राम्रोसँग नगर्ने गरेका कारण थुप्रैले दाँत÷बुद्धि बंगाराको समस्या झ्ेल्नु परेको पाइन्छ । यही कारण नेपालमा रहँदा कहिल्यै बुद्धि बंगारो नदुखेकाहरूको पनि विदेश जानासाथ दुख्ने गरेको पाइन्छ ।
हड्डीभित्र लुकेको वा मुखमा नदेखिएको बुद्धि बंगाराले भन्दा अर्ध रूपमा मुखमा देखिएको र खाएको खाना सफा गर्न गाह्रो हुने गरी रहेको बुद्धि बंगाराले बढी दुःख दिन्छ ।

बुद्धि बंगारा विस्तारै दुख्छ । एकैचोटि ‘पेन किलर’ खानुपर्ने गरी दुख्दैन । त्यसैले बुद्धि बंगारालाई रिसाउन नदिन, अलि माया गरेर त्यसको सरसफाईमा ध्यान दिने र अलि अलि दुखाइ शुरू हुनासाथ विशेष ध्यान दिएर बंगाराको वरिपरि राम्ररी ब्रश गर्ने, मनतातो चर्काे–नुनपानीले दिनको दुई–चार चोटि कुल्ला गर्ने गर्नुपर्छ । त्यति गर्दा पनि दुखाइ गएन, मुख खोल्नै गाह्रो हुन लाग्यो र गाला सुन्निन थाले भने दन्तचिकित्सकको सल्लाहमा औषधि–उपचार शुरू गर्नुपर्छ । त्यति गर्दा पनि पटक पटक दुःख दिने बुद्धि बंगारालाई भने सदाका लागि विदा दिनु नै बुद्धिमानी हुन्छ !

commercial commercial commercial commercial