यसरी हल गर्न सकिन्छ किताबको समस्या

नयाँ शैक्षिक सत्रको मुखमा विद्यार्थीहरू तल्लो कक्षाबाट उत्तीर्ण भएर उत्साहका साथ नयाँ कक्षामा आएका हुन्छन् ।

शिक्षकहरू पनि नयाँ शैक्षिक सत्रमा ऊर्जाका साथ अध्यापन गर्न आउनुभएको हुन्छ । तर विगत धेरै वर्षदेखि विद्यार्थीको उत्साह र शिक्षकको ऊर्जा बीचमा नै सेलाउने गरेको छ । कारण हो शैक्षिक सत्र शुरू भएको दुई÷तीन महीनासम्म पनि विद्यार्थीको हातमा किताब (पाठ्यपुस्तक) नपुग्नु । हुन त आधुनिक शिक्षण पद्धतिमा पाठ्यपुस्तक भन्दा पाठ्यक्रमलाई आधार मानेर पठनपाठन गर्नुपर्ने हो । तर पनि पाठ्यपुस्तक विना विद्यार्थीलाई गृहकार्य गर्न, विषयवस्तुको गहिराइ पत्ता लगाउन गाह्रो पर्छ । वर्षौंदेखि भोग्दै आएको पाठ्यपुस्तकको समस्यालाई शिवपुरी उमाविले समाधानका लागि विभिन्न विकल्प बारे छलफल चलायो । अन्ततः एउटा समाधानको उपाय निस्कियो– ‘किताबका लागि साथी’ अभियान !

यसका लागि शैक्षिक सत्रको अन्त्यमा कक्षा शिक्षकहरूको माध्यमबाट प्रत्येक विद्यार्थीका लागि दुई जना साथी चयन गरिएको छ । तीमध्ये एउटा साथी एक तह तल्लो कक्षाको र अर्को साथी एक तह माथिल्लो कक्षाको हुनेछ । यस अभियान अन्तर्गत वार्षिक परीक्षाको नतीजा प्रकाशन पश्चात् प्रत्येक विद्यार्थीले आफ्नो माथिल्लो कक्षाको साथीबाट पुस्तक लिनुपर्नेछ भने आफूसँग रहेको पुस्तक तल्लो कक्षाको साथीलाई दिनुपर्नेछ । नयाँ पाठ्यपुस्तक उपलब्ध भइसकेपछि सोही बमोजिम एकआपसमा किताबहरू फिर्ता गरिनेछ । यो अभियानलाई विद्यालयले प्रभावकारी रूपमा सञ्चालन गर्ने निश्चय गरेको छ । परिणामस्वरुप; शैक्षिक सत्रको शुरूमा नै करीब ८० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने र विद्यालयको पठनपाठन कार्य शैक्षिक सत्रको शुरूदेखि नै निर्वाध रूपमा सञ्चालन गर्न सकिने अपेक्षा विद्यालयले राखेको छ ।

विद्यालयमा पाठ्यपुस्तकहरू समयमै उपलब्ध गराउने व्यवस्था मिलाउनु शिक्षा मन्त्रालयको दायित्व हो । तर मन्त्रालयको दायित्व भनेर प्रअ तथा शिक्षकहरू जिम्मेवारीबाट पन्छिएर ‘पुस्तक पुगेन’ भन्दै कोकोहोलो मच्चाउनु सुहाउने कुरा होइन । बरु पठनपाठनको लागि आफू पनि जिम्मेवार भएर सो समस्यालाई कसरी हल गर्न सकिन्छ वा समस्याको असरलाई कतिसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा चिन्तनमनन गरी समाधानका उपाय पत्ता लगाउनु बढी बुद्धिमानी हुन्छ । विद्यालयमै किताबहरू उपलब्ध हुनसक्ने सम्भावना रहेको र विद्यालयमै किताबको टड्कारो अभाव पनि भोगिरहिएको अवस्थाबाट छुटकारा पाउन शुरू गरिएको यो सकारात्मक पहल (किताबका लागि साथी) लाई फलदायी तुल्याउन हामीले चाहिं कम्मर कसिसकेका छौं ।

प्राचार्य, शिवपुरी उमावि, महाराजगञ्ज, काठमाडौं

 

commercial commercial commercial commercial