त्यो काइदा...

मेरो पढाइ घरैमा चलिरहेको थियो । मामा पनि हामीकहाँ बस्न आउनुभएको थियो । कहिलेकाहीं मलाई बोर्डिङ स्कूल पठाउने कुरा हुन्थ्यो । त्यो कुरा मामाले नै शुरू गर्नुहुन्थ्यो । हुन्छ भन्नु बाहेक आमासँग कुनै उपाय थिएन । तैपनि पठाउने निर्णय चाहिं भइसकेको थिएन ।

त्यो पढाइ म कहिल्यै बिर्सन सकूँला त ?

हुन त मेरो पढाइ आमाकै रेखदेखमा हुन्थ्यो तर ‘छत्रछाया’ मामाको हुनेगथ्र्यो । आमा, स्वभावतः माया गरेर पढाउनुहुन्थ्यो तर मामा कडाइको पक्षधर हुनुहुन्थ्यो । पढाउँदा कठोर हुन किन जरूरी छ भन्ने पाठ आमालाई पढाउन उहाँ कहिल्यै पछि पर्नुहुन्नथ्यो । आमा मात्र भएका वेला मलाई पढ्न पटक्कै अप्ठ्यारो लाग्दैनथ्यो, बरु मजा लाग्थ्यो । सानो छँदा उहाँको काखमा बसेर अक्षर सिकेको आज पनि मलाई याद छ । आज पनि, मोटा–काला अक्षर देख्ता ‘ख’ र ‘छ’ का आकृति मलाई उसवेला झैं अनौठो किसिमले घुमेका, जटिल लाग्छन् । अनि ‘र’ र ‘त’ का आकृति सरल, सजिला, उज्याला लाग्छन् । आमासँग पढ्दा दिक्क लागेको, नरमाइलो भएको कुनै सम्झना मसँग छैन । अक्षर र वर्णमालाको मात्र कुरा होइन, पहिलो किताबको गोहीको कथाको पाठसम्म नै म मानौं फूलैफूलले भरिएको बाटो हिंड्दै पुगेको थिएँ । यो पूरै बाटाभरि आमाको मायालु आवाज र रमाइलो शैलीले मलाई प्रोत्साहित गरिरह्यो ।


अनि कण्ठ गरे जति कुरा ठूल्ठूलो स्वरमा फटाफट ओकल्न थाल्छु । बीचमा एउटा शब्दमा अड्किन्छु । मामा टाउको उठाएर मतिर हेर्नुहुन्छ । अर्को शब्दमा अड्किन्छु । मामाका ओठ अलिकति खुम्चिन्छन् । मेरा गाला राता, कान ताता हुन थाल्छन् । बाँकी पाठ दिमागबाट हराउँछ, बोली अवरुद्ध हुन्छ ।

तर, त्यसपछिका पाठ मलाई यमदूत जस्ता भयंकर लाग्न थाले । पढाइको अवधि ज्यादै लामो र कठोर लाग्न थाल्यो । कैयौं दिन त आफूले के पढें भन्ने भुट्टीभाङ मलाई थाहा हुँदैनथ्यो । टाउको दायाँ–बायाँ नहल्लाई पढेको पढ्यै गर्नुपथ्र्यो, तर दिमागमा केही घुसे त मरिजाऊँ ! त्यसवेला म ज्यादै त्रस्त हुन पुग्थें । मलाई लाग्छ, आमाको पनि त्यही हालत हुन्थ्यो । किनभने, अब मेरो पढाइमा मामाको ‘छत्रछाया’ शुरू भएको थियो ।

त्यो समय कस्तो हुन्थ्यो भन्ने सम्झ्न कोशिश गरिहेर्छु, र आज त्यसवेलाको एउटा ‘बिहान’ को शब्दचित्र उतार्न चाहन्छुः

बिहानको चिया–पाउरोटी खाएपछि म बैठक कोठामा प्रवेश गर्छु— किताब, कापी र पाटी हातमा लिएर । आमा मलाई पढाउन एउटा कुर्सीमा बस्नुभएको छ, तर उहाँभन्दा बढी सतर्क हुनुहुन्छ मामा, जो झयाल नजिकै आरामकुर्सीमा बस्नुभएको छ । उहाँ चश्माभित्रबाट बडो ध्यानपूर्वक अखबार पढिरहे जस्तो देखिनुहुन्छ । यस्सो आँखा उठाएर गम्भीरतापूर्वक मतिर हेर्नुहुन्छ । त्यति मात्रले मेरो आत्मविश्वास धराशायी हुन्छ । मलाई लाग्छ, जुन पाठलाई मैले मिहिनेत साथ आफ्नो दिमागमा घुसाउन कोशिश गरेको थिएँ, त्यो सबै बगेर जाँदैछ । कता जाँदैछ, मलाई थाहा छैन । कण्ठ पारिएका शब्द दिमागबाट निस्केर कता जाँदा हुन् कुन्नि ?

म आफ्नो किताब आमाको हातमा राखिदिन्छु । त्यो शायद व्याकरणको किताब थियो । किताब दिंदा पाठको पन्नामा अन्तिम पटक आँखा गडाएको हुन्छु । अनि कण्ठ गरे जति कुरा ठूल्ठूलो स्वरमा फटाफट ओकल्न थाल्छु । बीचमा एउटा शब्दमा अड्किन्छु । मामा टाउको उठाएर मतिर हेर्नुहुन्छ । अर्को शब्दमा अड्किन्छु । मामाका ओठ अलिकति खुम्चिन्छन् । मेरा गाला राता, कान ताता हुन थाल्छन् । बाँकी पाठ दिमागबाट हराउँछ, बोली अवरुद्ध हुन्छ । मलाई लाग्छ, देखाउन पाइने भए आमाले त्यो पाठको पन्ना खुसुक्क देखाइदिनुहुन्थ्यो, तर उहाँलाई आँट आउँदैन । विस्तारै भन्नुहुन्छ— देबु, ए देबु !
‘पार्वती, छोरालाई बढी नपुल्पुल्याऊ । देबु, देबु नभन’, मामा भन्नुहुन्छ— ‘यो के नाटक हो ? उसलाई पाठ याद छ कि छैन ?’
‘कण्ठ गरेको थियो, बिर्सियो’, आमा भन्नुहुन्छ ।

‘त्यसो भए उसलाई किताब देऊ’, मामा तुरुन्तै भन्नुहुन्छ— ‘अनि याद गर्न भन ।’
‘हुन्छ दाइ, त्यसै गर्छु, आमा भन्नुहुन्छ— ‘ल किताब ली देबु, फेरि कोशिश गर् । फेरि पनि मूर्ख नहुनु नि !’

म आदेशको पहिलो खण्डको त पालन गर्छु— एकपल्ट फेरि कोशिश गरेर, तर दोस्रो खण्डको पालन गर्न त्यति सफल हुन्न— किनभने म वास्तवमै पटमूर्ख छु । झ्न् अब त पहिले कण्ठ भइसकेको पनि याद आउँदैन र बीचैमा अलमलिन थाल्छु । एकछिन रोकिएर याद गर्न खोज्छु तर पत्तोफाँट लाग्दैन । पाठ कता हराउँछ कता !

दिमाग अरूतिर बरालिन थाल्छ । मामाको चश्माको सुनौलो फ्रेमका बारेमा सोच्न थाल्छु, त्यस्तै फ्रेम भएको चश्मा अस्ति बजारमा एक जनाले लगाएको थियो भन्ने याद आउँछ । त्यसका दाँत बाहिर उछिट्टिएका थिए ! मामाले पढिरहेको अखबार देख्छु, त्यसको एउटा पन्नामा कति शब्द छापिएका होलान् ! यस्तै ताल न सुरका कुरामा दिमाग अल्झिन्छ। यसैबीच मामाको धैर्यको बाँध टुट्छ; जसको प्रतीक्षा म अघिदेखि गरिरहेको थिएँ । आमा पनि दिक्क भएर किताब बन्द गरिदिनुहुन्छ । मानौं यस्तो परिस्थितिको सामना गर्न उहाँको बुताले भ्याउँदैन ।

पूरै कण्ठ गर्न नसक्ने पाठहरूको सूची दिन–प्रतिदिन लम्बिंदै जान्छ, सँगसँगै मेरो पटमूर्खता पनि । म ज्यादै हताश हुन्छु । यस्तो लाग्छ, मानौं म कुनै धापमा भासिंदै गइरहेको छु । तर त्यहाँबाट निस्कने विचार त्यागेर आफूलाई भाग्यको भरोसामा छोडिदिन्छु । कातर दृष्टिले म र आमा एक–अर्कालाई हेर्छौं । म एकपछि अर्को गल्ती गर्दै जान्छु । वातावरण झन् झन् निराशाजनक हुँदै जान्छ । यस्तो बखत, त्यसवेला स्थिति अरू बिग्रन्छ जब आमा मलाई ओठको संकेत र इशाराबाट शब्द याद दिलाउने प्रयास गर्नुहुन्छ । मामा मानौं यही क्षणको प्रतीक्षामा बस्नुभएको थियो । उहाँ चेतावनीपूर्ण कडा आवाजमा गर्जनुहुन्छ, ‘पार्वती !’

आमा झसंग हुनुहुन्छ, उहाँको अनुहार रातो हुन्छ, अनि हलुका मुस्कुराउनुहुन्छ । मामा आरामकुर्सीबाट उठेर मेरो किताब खोस्नुहुन्छ अनि त्यसैले मेरो मुखमा हिर्काउनुहुन्छ; मेरो कान निमोठ्नुहुन्छ र दुवै कानमा समातेर मलाई कोठा बाहिर धकेलिदिनुहुन्छ ।

कुनै दिन पूरै पाठ कण्ठ सुनाए पनि के ! असली कुरा त अझ् बाँकी नै हुन्छ— पहाड जस्तो भारी प्रश्न । त्यो मेरै लागि आविष्कार गरिएको हुन्छ । आरामकुर्सीबाट मामाको आवाज आउँछ, “मैले बिस्कुटको दोकानमा गएर पाँच हजार वटा किस्कुट किनें । एउटा बिस्कुटको दाम दुई रुपैयाँ चालीस पैसा पर्छ भने जम्मा कति पैसा भयो ?” त्यसवेला मामाको आँखामा आउने चमक म आज पनि झलझली देख्न सक्छु । म ती बिस्कुटमा अलमलिन्छु र दिनभरि पाटीमा हराउँछु । चकको धूलोले मेरा हात–खुट्टा र मुख सेताम्य हुन पुग्छन् । दिउँसो मलाई एउटा रोटी खान दिइन्छ र साँझसम्म त्यहाँबाट कतै हलचल गर्न दिइँदैन ।

आज, समयको यति लामो अन्तरालपछि ती दिनहरूतिर फर्केर हेर्दा मलाई लाग्छ, मेरो अभागी पढाइले त्यस्तो दुर्गति भोग्नु नपरेको भए, मामाको ‘छत्रछाया’ ममाथि नपरेको भए, म निकै राम्रो गर्न सक्थें । मैले कुण्ठित हुनु पर्दैनथ्यो ।

तर, मामाको असर ममाथि त्यस्तै पथ्र्यो जस्तो चराको बचरोमाथि सर्पको । उहाँलाई देख्नासाथ म सारा शक्ति गुमाउँथें र अवश हुन पुग्थें । कुनै दिन मेरो बिहानको पढाइ ‘काम चलाउन लायक’ भैहाले पनि मैले कुनै छूट पाउँदिनथें । वास्तवमा, मामा म खाली बसेको देख्नै सक्नुहुन्नथ्यो । म कुनै काम गरिरहेको छैन भन्ने सुइँको पाउनासाथ उहाँ मेरी आमालाई चर्को स्वरमा भनिहाल्नुहुन्थ्यो, ‘पार्वती, कुनै काम छैन ? केटालाई अल्झाइहाल् ।’ अनि मेरो टाउकामाथि कामको एउटा अर्को भारी बजारिन आइपुग्थ्यो । जहाँसम्म आफ्नो उमेरका अन्य केटाकेटीसँग खेल्ने–घुम्ने प्रश्न छ, म त्यस्तो कल्पना पनि गर्न सक्दैनथें । मामाका दृष्टिमा सबै केटाकेटी सर्पका झुण्ड जस्ता हुन्छन् जसले एक–अर्कालाई बिगार्छन् ।

६ महीना भन्दा बढी समय चलेको यस्तो व्यवहारको परिणामस्वरुप म उदास, अन्यमनस्क र जिद्दी हुन पुगें । हरेक दिन आमाबाट टाढा राख्ने र उहाँको स्नेहपूर्ण व्यवहारबाट वञ्चित गर्ने क्रियाकलापले ममाथि राम्रो प्रभाव पारेन ।

म नहिचकिचाई भन्न सक्छु, एउटै कुरा— एउटै परिस्थितिले मात्र मलाई पूरै निराश र असन्तुलित हुनबाट जोगायो । त्यो थियोः मेरा बुबाले मेरा लागि छाडेर जानुभएको किताबहरूको एउटा संग्रह, जो मेरो कोठासँगै जोडिएको सानो कोठामा थियो । त्यो कोठामा जान र त्यहाँ राखिएका किताब चलाउन कुनै रोकटोक थिएन । त्यो प्यारो, सानो कोठाबाट रबिन्सन क्रूसो, अलादीन, अलीबाबा र हामिद जस्ता शानदार साथी निस्केर आउँथे— मलाई साथ दिन । तिनले मेरो कल्पनालाई जीवित राख्थे । उदासी र निराशाले भरिएको त्यो समयपछि पनि मेरो जिन्दगीमा केही छ भन्ने आशा जगाउँथे । सम्झेर ल्याउँदा मलाई अचम्म लाग्छ, त्यो पट्यारलाग्दो घोटाइ, भारीभरकम विषयको पढाइ अनि निरन्तर भइरहने गल्तीहरूको निसास्सिने घनचक्करका बीचमा पनि म ती किताब पढ्ने समय निकाली छोड्थें । आफूमाथि अन्याय र अत्याचार हुँदा म आफूलाई ती कहानीका असल पात्रको ठाउँमा राखेर अनि मामालाई सबै खराब पात्रको ठाउँमा राखेर सान्त्वना लिने गर्थें ।

म कुनै हप्ता रबिन्सन क्रूसो हुन्थें, कुनै हप्ता हामिद । पूरा एक महीनाभर अलीबाबा भएको थिएँ । दराजमा राखिएका समुद्री यात्राहरूमा म बडो सतर्कतासाथ यसरी घुम्थें, मानौं लुटेराहरूले धाबा बोल्नै लागेका छन् र मैले आफ्नो ज्यान र जहाज दुवै बचाउनु छ । यस्तो कप्तान व्याकरणको सानो गल्तीमा मामाले कान निमोठ्दा आफ्नो मन किन सानो पाथ्र्यो ? कप्तान त हीरो थियो नि— संसारभरिका भाषाको व्याकरणभन्दा धेरै माथि !

यही एउटा आँखीझयाल थियो, जसले त्यो निस्सासिंदो परिस्थितिमा स्वच्छ हावा दिएर मलाई बचाउँथ्यो । गर्मीका ती साँझ्हरूमा अरू केटाकेटी घर बाहिर, मन्दिरको रूखमुनि खेलिराखेका हुन्थे । म चाहिं घरभित्र आफ्नो कोठामा खाटमाथि बसेर यसरी पढिरहेको हुन्थें, मानौं मेरो प्राण त्यसैमा अड्किएको होस् । छरछिमेकको हरेक दोकान, हरेक घर, हरेक मन्दिर, हरेक चौतारो अर्थात् प्रत्येक ठाउँ मेरो मनमा ती किताबहरूसँग जोडिएको हुन्थ्यो र कुनै न कुनै कहानीको कुनै न कुनै घटना त्यहाँ भइरहेको हुन्थ्यो । मन्दिरको गजूरमा चढेर टाढा समुद्रको निरीक्षण गरिरहेको हुन्थ्यो, हामिद अलिपरको पसलबाट चिम्टा किन्दै हुन्थ्यो ।

अनि मरजीना रातको अँध्यारोमा आएर हाम्रा घरका ढोकाहरूमा चिनो लगाउने गर्थी । सारा संसार, सारा रोमाञ्च मसँग हुन्थ्यो । जे होस्, त्यो आनन्दको संसार छोडेर म आफ्नो इतिहासको त्यही समयमा फर्कन्छु, जहाँ हामी पुगेका थियौं ।

एक दिन बिहान, सधैं झैं, किताब–कापी लिएर म बैठकमा पुग्दा आमा चिन्तित देखिनुहुन्थ्यो र मामा कठोर मुद्रामा एउटा डण्डा खेलाइरहनुभएको थियो । पुलिसको जस्तो, चिल्लो, छोटो डण्डा । मलाई देख्दासाथ उहाँले एकपल्ट डण्डाले टेबुलमा हिर्काउनुभयो । त्यो आवाजले म थर्कमान भएँ ।
‘भनिहालें नि, म आफैंले कतिचोटि पिटाइ खाएको छु’, मामाले भन्नुभयो ।

‘तर दाइ, त्यसले तपाईंलाई के फाइदा भयो जस्तो लाग्छ ?’, रोकिंदै–रोकिंदै, दबेको आवाजमा, टाउको निहुर्‍याएर आमाले भन्नुभयो ।
‘त्यसबाट मलाई कुनै नोक्सान भयो त ?’, उस्तै गम्भीर स्वरमा मामाले सोध्नुभयो ।
‘दाइ...’, आमाले त्यसको जवाफमा यति मात्र भन्न सक्नुभयो ।

म झसंग भएँ । मलाई लाग्यो, यो कुराकानीको सम्बन्ध मसँगै छ । मैले टाउको उठाएर मामाको मुखमा हेर्ने प्रयास गरें ।
‘देबु, आज तिमीले अरू दिनभन्दा बढी राम्रो गर्नुछ...’ मामाले डण्डा फेरि एकपल्ट टेबुलमा ठोक्नुभयो र त्यहीं राख्नुभयो । अनि तीखो नजरले मलाई पुलुक्क हेरेर अखबार खोल्नुभयो । मलाई थाहा थियो, उहाँका कान पूरै सतर्क थिए ।

मेरो मुटु काम्यो । मैले कण्ठ गरेका पाठका शब्दहरू मेरो दिमागबाट चिप्लेर फेरि एकाएक हराउन थाले । एउटा शब्द या एउटा हरफ मात्र होइन, पूराका पूरा पाना नै चिप्लेर कता गए कता । मैले तिनलाई रोक्ने पूरापूर प्रयास गरें तर सकिनँ । मानौं तिनका खुट्टामा चक्का लागिसकेको थियो । हेर्दाहेर्दै ती कता विलाए कता !

शुरूमै कुरा बिग्र्यो । पछि झन् झन् बिग्रँदै गयो । म आज त पक्कै राम्रो गर्छु भन्ने सोचेर आएको थिएँ । मैले निकै राम्रो तयारी गरेको छु भन्ने लागेको थियो । तर त्यो गलत साबित भयो । कुनै पाठ, कुनै किताब— कसैले पनि मलाई साथ दिएनन् । सबैले मलाई निराश पारे । शुरूदेखि अन्त्यसम्म मेरो बिजोक मामाले देखिरहनुभएको थियो । अन्त्यमा जब पाँच हजार बिस्कुटको मूल्य भन्ने पालो आयो (आज मामाले बिस्कुटको सट्टा डण्डाको हिसाब सोध्नुभएको थियो), आमा घुँक्क–घुँक्क गरेर रुन थाल्नुभयो ।
‘पार्वती... !’ मामाले चेतावनी भरिएको आवाजमा भन्नुभयो ।
‘होइन, ठीक छ...’, आमाको मुखबाट निस्क्यो ।

आफ्नो तल्लो ओठ हलुका टोक्तै मामा जुरुक्क उठ्नुभयो । हातमा त्यही डण्डा थियो । भन्नुभयो, ‘पार्वती, यसलाई वेलैमा तह लगाइएन भने तिमीले दुःख पाउनेछ्यौ । तर यो तिमीले गर्न सक्ने काम होइन । अब म यसको ओखती गर्छु । ... देबु, ल हिंड् मसँग, माथि ।’

यति भनेर मलाई तान्दै उहाँले कोठा बाहिर के निकाल्नुभएको थियो, आमा दगुर्दै आउनुभयो । मामाले हकार्नुभयो, ‘पार्वती, तँ के भएकी ? तेरो बुद्धि कीराले खाइसक्यो कि क्या हो ?’ आमाले दुवै हात आफ्नो कानमा राख्नुभयो र उहाँ रोएको आवाज सुनियो ।

मामाले हतार नगरी, विस्तारै–विस्तारै भर्‍याङ चढाएर मलाई एक तला माथि उहाँको कोठातिर लैजानुभयो । मलाई विश्वास छ, अपराधीलाई दण्ड दिने अवसर पाएकोमा उहाँ दंग हुनुहुन्थ्यो । र, भ¥याङ सकिनासाथ उहाँले एक्कासी मेरो टाउको तानेर आफ्नो काखीमुनि च्याप्नुभयो ।

‘मामा, मामा’, म चिच्याएँ, ‘मलाई नपिट्नोस् । मैले पाठ कण्ठ गरेको छु, तर तपाईं अगाडि आएपछि सबै बिर्सन्छु । साँच्चै बिर्सन्छु ।’
‘ए, बिर्सन्छस् ? आइज न त, हेरौं !’ उहाँले भन्नुभयो ।

उहाँले काखीमुनि जोडले च्यापेको टाउको जसैतसै खुस्काएर मैले यसो भनेको थिएँ । तर लगत्तै उहाँले झ्न् नराम्रोसँग मेरो टाउको च्याप्नुभयो । र, त्यही वेला मैले टाउको च्यापिरहेको उहाँको हातमा एकदमै जोडले टोकिदिएँ । आज पनि, त्यो घटना सम्झ्ँदा थाहै नपाई मेरो दाह्रा किटिन्छ ।

त्यसपछि मामाले मलाई पिट्नुभयो । कोठाको ढोका लगाएर यति निर्दयतासाथ पिट्नुभयो, मानौं पिट्ता पिट्तै ज्यान नै लिन चाहनुहुन्छ । म घरै उचालिने गरी रोइरहेको थिएँ । मामा त्योभन्दा चर्को शब्दमा फोहोरी गाली गर्दै पिटिरहनुभएको थियो । तर हामी दुवैको भन्दा चर्को आवाज तलबाट आइरहेको थियो । आमा प्राणै जाला जस्तो गरेर चिच्याइरहनुभएको थियो र हाम्रो घरमा काम गर्ने वसन्ती दिदी पनि । मैले उहाँहरू दौड्दै भर्‍याङ चढेको आवाज सुनें ।

एकछिन पछि मामा निस्कनुभयो र कोठामा ताल्चा लगाएर बाहिर जानुभयो । आमाहरू उसैगरी रोइरहनुभएको थियो । कोठाभित्र म एक्लै, रुँदारुँदा घाँटी बसेको अवस्थामा, अर्धबेहोश हालतमा, क्रोध र बदलाको भावनाले चूर, कुटाइले पूरै जीउ सुन्निएको स्थितिमा, छटपटिंदै भुईंमा लडेको थिएँ ।

प्रसिद्ध उपन्यासकार तथा पत्रकार चाल्र्स डिकन्सको उपन्यास ‘डेभिड कपरफील्ड’ को एउटा अंश । सन् १८५० मा प्रकाशित यो कृतिलाई उनको आत्मकथात्मक उपन्यास मानिन्छ ।

(साभारः शैक्षिक सन्दर्भ नोभेम्बर १९९५– फेब्रुअरी ९६)
रूपान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७१ वैशाख अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial