गृहकार्यको मात्राः निर्धारण

गृहकार्यका लागि प्रतिकक्षा प्रतिदिन १० मिनेटको नियम व्यावहारिक र उपयोगी देखिएको छ । यस विधिमा एक कक्षामा पढ्ने विद्यार्थीलाई दिनमा १० मिनेटको गृहकार्य दिइन्छ । त्यसरी नै पाँच कक्षामा पढ्नेलाई ५० मिनेट र नौ कक्षामा पढ्नेलाई ९० मिनेटको गृहकार्य दिइन्छ ।

‘मेरो नानी घरमा पढ्दै पढ्दैन, खेल्या खेल्यै गर्छ । उसलाई टन्न होमवर्क दिनुहोला है !’ एकथरी अभिभावकको माग हो यो । ‘कति धेरै होमवर्क दिनुभएको, यति सानो बच्चालाई ? होमवर्क गर्न नसकेर स्कूल आउनै मान्दैन’ यो अर्काथरी अभिभावकको गुनासो हो । ‘बच्चाले सोधेर हैरान गर्छ । हामीलाई आउँदैन, उसले आफैं गर्न सक्दैन । बच्चाले आफैं गर्न नसक्ने होमवर्क त दिनुभएन नि ?’ यो तेस्रो किसिमको गुनासो हो । गुनासो यस्तो पनि हुन्छ ‘ होमवर्क त टन्न दिनुहुन्छ तर कहिल्यै चेक गर्नु हुन्न । यसरी त भएन नि !’

गृहकार्य सधैं नै एउटा विवादको विषय बनेको छ । गृहकार्य सिकाइको माध्यम बन्दैछ वा अनावश्यक बोझ् ? कस्तो र कति गृहकार्य दिने वा दिंदै नदिने भन्ने विषयमा शिक्षाशास्त्रका जानकार व्यक्ति, शिक्षक र अभिभावकबीच निकै चर्चा र बहस भइरहन्छ ।

गृहकार्यमा सामान्यतया शिक्षकले विद्यार्थीलाई घरमा कुनै कुनै निश्चित पाठ पढेर वा अभ्यास, परियोजना कार्य वा समस्या समाधान गरेर लेखेर ल्याउन भनेको हुन्छ ।

गृहकार्य दिनुको मुख्य उद्देश्य विद्यार्थीको खाली समयको सदुपयोग गर्नु, उसमा स्वाध्ययन गर्ने र एक्लै बसेर काम गर्ने बानी बढाउनु हो । गृहकार्यले विद्यार्थीमा आत्मानुशासन, जिम्मेवारी र समय व्यवस्थापन गर्न सक्ने गुणहरूको विकास गर्न मद्दत गर्छ । कामको योजना कसरी बनाउने, स्वतन्त्र रूपमा कसरी काम गर्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिक्न समेत उपयोगी हुन्छ ।

सिकिसकेका कुराहरूलाई अझ् गहिराइमा गएर बुझन, आउने पाठका लागि तयार गर्न एवं सिकेका कुराहरूलाई नयाँ परिस्थितिहरूमा उपयोग गर्न सक्षम बनाउनका लागि पनि गृहकार्य आवश्यक हुन्छ । आदर्श अवस्थामा यसले अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै घर र विद्यालयका बीच पुलको काम गर्छ ।

 उपयुक्त मात्रामा दिइएको गृहकार्यले विद्यार्थीलाई फाइदा गरेको देखिएको छ, तर अत्यधिक गृहकार्य भने प्रत्युत्पादक हुन सक्छ । गृहकार्यका लागि प्रतिकक्षा प्रति दिन १० मिनेटको नियम व्यावहारिक र उपयोगी देखिएको छ । यस विधिमा एक कक्षामा पढ्ने विद्यार्थीलाई दिनमा १० मिनेटको गृहकार्य दिइन्छ । त्यसरी नै पाँच कक्षामा पढ्नेलाई ५० मिनेट र नौ कक्षामा पढ्नेलाई ९० मिनेटको गृहकार्य दिइन्छ ।

सम्भव भएसम्म गृहकार्य गर्न निश्चित र सजिलो ठाउँ तथा प्रशस्त समय निर्धारण गर्नु राम्रो हो । तर अधिकांश नेपाली बालबालिका जे–जस्तो परिस्थितिमा छन्, त्यहाँ आवश्यकताको सूचीलाई लामो बनाउन मिल्दैन । कतिपय शिक्षकले झरा टार्न मात्र गृहकार्य दिएको बुझ्न्छि । कोही भने धेरै गृहकार्य दिए पनि परीक्षण भने नगर्ने हुन्छन् । आदर्श अवस्थामा त अभिभावकले पनि वेलावेलामा बच्चाले गृहकार्यमा पाएको ग्रेड र शिक्षकको प्रतिक्रिया नोट गर्नु जरूरी हुन्छ । तर कतिपय बालबालिकाका अभिभावक आफैं नै अशिक्षित हुन सक्छन् भन्ने कुरामा शिक्षक सचेत हुन आवश्यक छ । सामुदायिक विद्यालयका अभिभावकका तुलनामा निजी विद्यालयका अभिभावक गृहकार्यमा बढी सहभागी भएका देखिन्छन् ।

गृहकार्य गरिदिन सक्ने अभिभावकले पनि बालबालिकालाई गृहकार्य आफैं गर्न प्रोत्साहित गर्नुपर्छ र उनीहरूले गरेको प्रयासको प्रशंसा गर्नुपर्छ । अभिभावकले उनीहरूमा “म यो गर्न सक्छु” भन्ने धारणाको विकास गराउन सक्नुपर्छ । उनीहरूले गर्न सकेनन् भने सहयोग गर्न सकिन्छ । तर उत्तर लेखिदिने वा बताइदिने गर्नुहुँदैन । यसो गर्दा उनीहरूमा सोच्ने बानीको विकास हुँदैन । छोराछोरीसँगै आफूले पढ्ने लेख्ने काम ग¥यो भने यसले उनीहरूसामु एउटा राम्रो उदाहरणका साथै सिकाइप्रतिको सकारात्मक दृष्टिकोण प्रस्तुत गर्दछ । सम्भव भएसम्म वेलावेलामा अभिभावक र शिक्षकहरूका बीचमा गृहकार्य उमेर सुहाउँदो, ठीक मात्रामा भए÷नभएको बारे छलफल हुनु जरूरी हुन्छ । साथै बालबालिकाले गृहकार्य ल्याए÷नल्याएको, गरे÷नगरेको, गर्न रुचि राखे÷नराखेको, आफैं गर्न सके÷नसकेको बारेमा नियमित संवाद र छलफल हुनु पनि त्यत्तिकै जरूरी छ । प्रत्येक अभिभावकले शैक्षिक सत्रको शुरूमा शिक्षकहरूसँग परिचय गर्नुका साथै विद्यालयले वेलावेलामा आयोजना गर्ने अभिभावक शिक्षक भेलामा उपस्थित हुनुपर्छ ।

विद्यालयमा हुने अनपेक्षित विदाका कारण शिक्षकले कोर्स सिध्याउन बढी गृहकार्य दिइरहेका हुन्छन् । जुन कोर्स सिध्याउनका लागि त सहयोगी साबित हुन सक्छ । तर यसबाट अपेक्षित उपलब्धि भने हासिल हुन सक्दैन । गृहकार्य शिक्षकहरूले कम पढाएर धेरै सामग्री समेट्नका लागि होइन । यो त सिकेका कुराहरूलाई अझ् राम्रोसँग बुझन, स्पष्ट हुन र माझ्निका लागि हो ।
पाठ पढाएपछि मात्रै गृहकार्य दिने भन्ने छैन, पढाउनु भन्दा पहिले पनि दिन सकिन्छ । पहिले गृहकार्य दिंदा विद्यार्थीले पढ्नुपर्ने पाठलाई बुझनका लागि आवश्यक पूर्वज्ञान प्राप्त गर्दछन् ।

अत्यधिक गृहकार्यले बालबालिकामा हानिकारक असरहरू पनि देखापर्छन् । उनीहरू सुत्नबाट बन्चित हुन्छन् । उनीहरूमा मानसिक तनाव, दिकदारी जस्ता असरहरू देखिन्छन् । राति अबेरसम्म गृहकार्य गर्न जागृत रहनुपर्दा लागूऔषध सेवन गर्न सक्छन् । काममा ध्यान नदिने र एकाग्र नहुने जस्ता समस्या देखिन्छन् । साथै स्वास्थ्य सम्बन्धी समस्या जस्तै शारीरिक तौल घटबढ हुने समस्या समेत देखा पर्छ ।

गृहकार्य स्कूल पढाइ हुने दिनहरूमा मात्र दिंदा प्रभावकारी हुन्छ । कतिपय शिक्षक शनिबार विदा भएकाले बढी गृहकार्य दिन्छन् । अझ् दशैं, तिहारको विदामा त टन्न गृहकार्य दिने चलन छ । विदामा दिनभर गृहकार्य गर्ने भए, किन चाहियो विदा ? स्कूलै गए भइहाल्यो नि ! शनिबारको विदा त हप्ताभरिमा गर्न चाहेर पनि गर्न नसकेका कामहरूका लागि हो । विदाका दिनहरूमा अभिभावकले बालबालिकालाई नयाँ ठाउँहरूमा भ्रमणका लागि लैजानुपर्छ । उनीहरूलाई पुस्तकालय र पुस्तक प्रदर्शनीमा लैजानुपर्छ र पुस्तकहरू पढ्न प्रेरित गर्नुपर्छ ।

विश्वमा कतिपय यस्ता विद्यालयहरू पनि छन् जसले कुनै पनि कक्षामा गृहकार्य नदिने नीति अवलम्बन गरेका छन् । यस्तो नीति लागू गर्नाको मुख्य कारण विद्यार्थीका लागि सिकाइ आनन्ददायी होस् र उनीहरूलाई सिर्जनशील क्रियाकलाप र सामाजिकीकरणका लागि प्रशस्त समय मिलोस् भन्ने रहेको हुन्छ ।

अतः गृहकार्य सीमित, उमेर सुहाउँदो भए यसले अपेक्षित परिणाम दिन्छ र अत्यधिक, उमेर नसुहाउँदो भए यसले अपेक्षित परिणाम दिन सक्दैन । तसर्थ अहिलेको बदलिंदो परिवेशमा हाम्रा शिक्षण संस्थाहरूले अवलम्बन गरेको गृहकार्य नीति र यसको प्रभावकारिता सम्बन्धमा शैक्षिक नीति निर्माता, शिक्षक, अभिभावक र विद्यार्थीबीच नयाँ शिराबाट गम्भीर छलफल गरी निष्कर्षमा पुग्नु अत्यावश्यक देखिन्छ ।

लेखक नेल्टा, कञ्चनपुरका अध्यक्ष हुन् ।

commercial commercial commercial commercial