यसकारण पढ्नै पर्‍यो !

शिक्षण पेशा भन्दा पनि सेवापरक कार्य र समर्पण हो । तर समाज व्यवस्थापनको लागि यो निरन्तर प्राप्त हुने बनाउनको लागि समाजले यसलाई व्यवस्थित गरी पेशाको रूप दिएको छ । जुनसुकै संयोग वा कारण मार्फत प्राप्त भएको भए पनि यस पेशाप्रतिको गौरव अनि सन्तुष्टि लिनै पर्छ । शिक्षण गर्न पहिला आफू शिक्षित हुनुपर्छ । आफू शिक्षित हुन समय अनुसारको सन्दर्भ र सम्बन्धित तथ्य र सूचनाहरूको अध्ययन गरी सदा जानकार हुनुपर्छ । शिक्षक मासिक पनि शिक्षणका लागि त्यस्तै तथ्य र सूचनाहरूको एउटा भरपर्दो स्रोत हो ।

शिक्षा विना विकास हुन्न । त्यसैले गाउँ गाउँ र वस्ती वस्तीमा विद्यालयहरू खोलिएका छन् । हरेक वर्षको बजेट भाषणमा शिक्षामा सबैभन्दा बढी बजेट छुट्याइन्छ । तर एसएलसीको परिणाममा भने सरकारी विद्यालयका विद्यार्थीको उत्तीर्ण प्रतिशत अति नै नगन्य हुन्छ । शिक्षा र शिक्षण, परीक्षा आदि भित्रका विकृति र सम्भावनाहरूको विश्लेषण र तथ्य सामग्रीहरूको अध्ययनबाट वास्तविक जानकार भएमा सबै पक्ष आ–आफ्नो ठाउँबाट सुध्रिन करै लाग्छ । शिक्षक मासिकले त्यस्ता सामग्रीहरूमध्ये उच्चकोटिको रूप लिएकै छ ।

द्रोणाचार्य, विश्वामित्र, वशिष्ट, शुक्राचार्य, सुकरात, प्लेटो, अरस्तु आदि व्यक्तित्वहरूले आ–आफ्ना समयमा कोरेको नक्शा र आदर्श अनुरुप आजको संसार निर्मित छ । अबको संसार कस्तो बनाउने भन्ने कुरा आजका शिक्षकहरूका हातमा छ ।


कुनै व्यक्ति शिक्षक हो भने पेशाको मर्यादाका लागि भए पनि शिक्षक पढ्नु पर्‍यो ! विद्यार्थी भए सन्दर्भ सामग्रीका निम्ति पढ्नु पर्‍यो ! शिक्षक पनि होइन, विद्यार्थी पनि होइन भने अभिभावक त पक्कै हो, उसले आफ्ना सन्तानसँग सरोकार राख्ने सामग्रीका लागि शिक्षक मासिक पढ्नै पर्‍यो !

शिक्षकहरू समयसापेक्ष र समाजको आवश्यकता सम्बोधन गर्न सक्ने दूरदर्शी हुनुपर्छ । त्यसका लागि पढिरहने बानी बसाल्नु पर्छ । पढिरहने बानी बसेमा त्यसले कुनै समयमा अकस्मात् ठूलो परिवर्तन पनि ल्याउन सक्छ । लामो तपस्याको क्रममा गौतम बुद्धले अकस्मात् बुद्धत्व प्राप्त गरेका थिए । न्युटनले अकस्मात् गुरुत्वाकर्षणको रहस्य पत्ता लगाए । संसार अपरम्पार छ ।

‘गाईवस्तु खेद्न पछि लाग्नु, मान्छे खेद्न अघि लाग्नु’ भन्ने उक्तिको आत्मसात गर्दै शिक्षकले आफूले पढेर देखाउनु पर्छ, पछिबाट विद्यार्थीहरूले त्यसको सिको गर्दै पछ्याउँछन् भन्ने भावका रिपोर्ट शिक्षक मासिकमा प्रकाशित हुने गर्दछन् ।

म आफू शिक्षक को नियमित ग्राहक नभए पनि केही वर्ष अघिदेखि नै पढ्ने बानी बसिसकेको छ । मेरो भाइ संचार क्षेत्रसँग सम्बन्धित हुनाले र उसको बसाइ सँगै हुनाले नियमित रूपमा प्रत्येक अंक उसैबाट प्राप्त गर्ने गर्छु । आफू कार्यरत विद्यालयमा पनि केही सहकर्मीहरू यसको नियमित ग्राहक हुनुहुन्छ । पछिल्लो अंक प्रायः झेलामा बोकी राखिएको हुन्छ । टिफिन अन्य फुर्सदको क्षणमा यसको रोचक, व्यङ्ग्यात्मक प्रसंगहरूबाट कहिले ठट्टा, चर्चा र छलफल गरिन्छ । विद्यार्थीहरूसँग सम्बन्धित कुराहरू भए उनीहरूलाई पनि जानकारी गराउने, पत्रिका देखाउने आदि कार्यहरू गर्ने बानी परिएको छ ।

परिश्रमीहरू प्रशंसाको लागि लालायित हुन्छन् । उनीहरूलाई समाजको सामूहिक प्रशंसा शिक्षक मासिक मार्फत भएको छ । खराब आचरणका व्यक्तित्वहरूलाई त्यस मार्फत निरन्तर चेतावनी भइरहन्छ । समस्यामा परेकाहरूलाई समाधानका उपायहरू छन् । समय, परिस्थिति र आवश्यकता अनुसार यसका स्तम्भहरू परिमार्जन हुन्छन् । कुनै व्यक्तिविशेष वा पक्षलाई, विन्ती बिसाउन नपाएको दुखेसो ‘मनका कुरा’ स्तम्भबाट राहत लिन पाइने अवसर प्रदान भएको छ । शिक्षण क्षेत्रका सोच, नीति, गतिविधि, विज्ञप्ति, विज्ञापन, स्थलगत रिपोर्ट, पुराना शिक्षकको अनुभव, टिप्पणी, विशिष्ट व्यक्तिहरूको विचार, अन्य लेख, रचना, पाठकका जिज्ञासा र तिनका उत्तरहरू शिक्षक मासिकमा पाइन्छन् ।

यसका अतिरिक्त फुर्सद स्तम्भमा पाठकको मस्तिष्क अभ्यासको लागि सामान्य ज्ञान, शब्दखेल, अन्ताक्षरीहरू पनि प्रतियोगिताको रूपमा पस्किइन्छ । छपाइ, कागज, सामग्रीस्तर पनि यसको नामस्तरकै छ भन्नु अत्युक्ति हुँदैन । नामले शिक्षक भए पनि यसले सम्पूर्ण समाजको आवश्यकताको सम्बोधन गर्दछ । कुनै पनि व्यक्ति शिक्षक हो भने कम्तीमा पेशाको मर्यादाका लागि भए पनि शिक्षक मासिक पढ्नु प¥यो । विद्यार्थी भए ऊसँग प्रत्यक्ष सम्बन्धित सन्दर्भ र समाचारका रूपमा शिक्षक मासिक पढ्नु प¥यो । शिक्षक पनि होइन, विद्यार्थी पनि होइन भने अभिभावक त पक्कै हो, अभिभावकले आफ्ना सन्तानसँग प्रत्यक्ष सरोकार राख्ने सामग्रीका लागि शिक्षक मासिक पढ्नै प¥यो ।

श्री मावि मरुवा, कटारी–७, उदयपुर


सच्याइएको

यस स्तम्भअन्तर्गत गतांक (शिक्षक, कात्तिक २०७०)मा प्रकाशित ‘झोलेहरूलाई चाहिँ काम नहोला’ को तेस्रो परिच्छेदको दशौं हरफ ‘आफ्नो पेशालाई मर्यादित बनाउन चाहने शिक्षकहरूका लागि भने शिक्षक  मासिक पत्रिकाले एक सिँढी माथि चढ्न मद्दत नै पुर्‍याउँछ’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सं.)

commercial commercial commercial commercial