सदावहार राजेन्द्र सर !

राजेन्द्रप्रसाद सिंह (चौधरी) पढाउन थालेको भदौबाट ३३ वर्ष पुगेको छ । तैपनि उनी थाकेका छैनन् । २ भदौ २०३७ मा उनी बाराको डुमरवानास्थित नेपाल राष्ट्रिय निमाविमा अंग्रेजी शिक्षकका रूपमा प्रवेश गरेका थिए । अहिले स्नातकसम्म विस्तार भएको सोही स्कूलमा उनी प्रावि इन्जार्च भएर ‘ब्याच नम्बर ३३’ लाई पढाउँदै छन् ।  

२५ वर्षे उमेरमा शिक्षक भएका राजेन्द्रले शिक्षणबाट अवकाश पाउन अब तीन वर्ष बाँकी छ । र, पनि उनको जाँगर घटेको छैन । घन्टी लाग्नुअघि स्कूल पुग्ने र छुट्टी भएपछि स्कूलबाट बाहिरिने राजेन्द्रको बानी बदलिएको छैन । उनले भने, “मैले यी ३३ वर्षमा इन्टरमिडियटको जाँच दिंदा बाहेक अहिलेसम्म लामो विदा लिएको छैन ।”

उनी विद्यालयका सबैभन्दा नियमित शिक्षक हुन् । राम्रो शिक्षकको छवि बनाएका उनको आलोचना गर्ने छात्रछात्रा र अभिभावक भेटिंदैन । छात्रछात्रा सिकाइ र स्कूलको उन्नतिका निम्ति उनले गरेको योगदानका कारण नै उनले राम्रो शिक्षकको छवि बनाएका हुन् ।  

बाराकै दक्षिण–पूर्वी भेगमा पर्ने पिपरा–बसतपुरमा जन्मिएका उनले जयनगरस्थित च्युटाहा माविबाट २०३२ सालमा एसएलसी गरे, १८ वर्षको उमेरमा । एसएलसीपछि उनी वीरगञ्जको ठाकुरराम क्याम्पस भर्ना भए । एक वर्ष क्याम्पस गए पनि घरायसी कारणले उनको पढाइ अघि बढ्न पाएन । त्यसपछि गाउँ फर्केर कृषि कर्ममा लागे । त्यही क्रममा उनलाई बाराको डुमरवाना निमाविका प्रअ रामेश्वरप्रसाद फौजदारले प्राथमिक शिक्षक बनाए ।

राजेन्द्र सर शिक्षणमा प्रवेश गरेको समयमा छात्रछात्रालाई सजाय दिनु सामान्य मानिन्थ्यो । तर उनले कसैलाई सजाय र गाली गर्नु परेन; भने, “मैले भनेको विद्यार्थीले मान्थे, अनि किन कुट्नु ?” उनले पढाउन थालेको १५ वर्षपछि मात्र शिक्षक तालीम पाए । त्यही तालीमबाट उनले सिकाउन सजाय जरूरी नभएको थाहा पाए । शुरूमा प्राविको अस्थायी दरबन्दीमा राखिएका उनी २०४८ सालमा स्वतः स्थायी भएका हुन् ।

अति राजनीति हुने विद्यालयमा उनको विद्यालय पनि पर्छ । थुप्रै शिक्षकहरूले राजनीतिमा लागेर शिक्षण पेशालाई ‘पार्टटाइम’ बनाएका छन् । राजेन्द्र सर यो प्रवृत्ति विरुद्धमा छन् । उनी शुद्ध शिक्षणमा कटिबद्ध छन् । राजनीतिले स्कूलको पवित्रतामा हस्तक्षेप गरेको उनको अनुभव छ ।

पञ्चायतकाल, बहुदल र लोकतान्त्रिक गणतन्त्र तीनै व्यवस्थामा शिक्षण अनुभव बटुलेका उनी छात्रछात्राको सिकाइ प्रवृत्तिमा ठूलो बदलाब आएको ठान्छन् । अहिलेका विद्यार्थी शिक्षकलाई आदर गर्दैनन्, पढाइप्रति ध्यान दिंदैनन् । पढ्ने ‘टेन्डेन्सी’ एकदमै घटेको छ । पहिलाका विद्यार्थी ध्यान दिएर पढ्थे, अनुशासित पनि थिए– राजेन्द्रको कथन छ ।

पहिलेको तुलनामा गाउँमा आर्थिक उन्नति भए पनि त्यसको नकारात्मक असरको शिकार सरकारी विद्यालयहरू भएको राजेन्द्र गुरुको अनुभव छ । उनी भन्छन्, “पैसा हुनेले निजी स्कूलमा छोराछोरी पढाउँछन् भने गरीबको रोजाइमा सरकारी स्कूल परेका छन् ।”

रु.१५०० देखि रु.५००० तलब खाने निजी विद्यालयका शिक्षकले पढाएका विद्यार्थीले विशिष्ट श्रेणीमा एसएलसी पास गर्छन् भने मासिक रु.१२ हजारदेखि रु.२० हजार तलब खाने सरकारी विद्यालयका शिक्षकले पढाएका छात्रछात्रा दोस्रो र तेस्रो श्रेणीमा उत्तीर्ण हुन्छन् । यसको दोषी शिक्षक त हुन् नै, विद्यार्थी र अभिभावक पनि कारक भएको उनले बताए । “छोराछोरीको पढाइ कस्तो छ भनेर अभिभावक कहिल्यै विद्यालय आउँदैनन्, पहिला–पहिला आउँथे । विद्यार्थीको पढ्ने शैली खत्तम भइसकेको छ”, उनी भन्छन् ।

राजेन्द्र सरको भोगाइमा विद्यालयले अभिभावकसँग अन्तरक्रिया गर्ने काम पनि बन्द भइसकेको छ । ‘विद्यालय सुधार्न स्कूल अभिभावक अन्तरक्रिया आवश्यक छ । तर पनि अभिभावकलाई स्कूलले तान्न सकेको छैन ।

सबै बालबालिकाका प्रिय राजेन्द्र सरलाई भने दैवले अन्याय गर्‍यो । चार कक्षामा पढ्ने एक्ला छोरालाई दैवले हर्‍यो– २०५६ सालमा । छोराको स्मृतिमा उनले आफ्नो गाउँ पोतामा एउटा प्रवेशद्वार बनाएका छन् ।

 

commercial commercial commercial commercial