म यसरी अन्यायमा परें

हाल धादिङ जिल्लाको नलाङ गाविसस्थित नलाङ माध्यमिक विद्यालयमा कार्यरत म टंकनाथ शर्मा तिमिल्सिना २०३२ फाल्गुन १७ गतेदेखि स्थायी प्राथमिक शिक्षक र २०३५ पुस ११ देखि स्थायी निम्नमाध्यमिक शिक्षक हुँ ।

म नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला तदर्थ समिति धादिङको संस्थापक सदस्य हुँ । सोही समितिको निर्णय बमोजिम मैले पर्यवेक्षकको रूपमा २०३६ मंसीरमा हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा भएको संगठनको पहिलो राष्ट्रिय सम्मेलनमा भाग लिएको थिएँ । त्यतिवेला जिल्ला शिक्षा कार्यालय धादिङले सो सम्मेलनमा भाग लिन नजानको लागि मलाई चेतावनी पत्र पठाएको थियो । तर म सम्मेलनमा भाग लिन गएँ ।

सरकारी चेतावनीका बाबजूद शिक्षक आन्दोलनहरूमा निरन्तर सहभागी हुँदै गएँ । शिक्षक आन्दोलनमा लागेको भन्दै जिल्लाका ६ जना स्थायी शिक्षकहरूलाई अपायक जिल्ला सरुवा गरियो । त्यसमध्ये मलाई काभ्रेपलाञ्चोक जिल्ला शिक्षा कार्यालयमा जानू भनी मिति २०४२ कात्तिक ११ मा सरुवाको पत्र पठाइयो । मलाई सरुवा गरिएको जिल्लामा रमाना गरी पठाउन जिल्ला शिक्षा कार्यालय धादिङद्वारा म कार्यरत विद्यालयलाई पटकपटक ताकेतापत्र जारी गरियो । र; म सहितको संयुक्त दस्तखतबाट संचालन हुँदै आएको विद्यालयको बैंक खाता रोक्का गरियो । विद्यालय व्यवस्थापन समितिले रमाना नगर्दै जिल्ला शिक्षा कार्यालय धादिङद्वारा म कार्यरत रहेको दरबन्दी ‘रिक्त हुन आएको’ भनी अन्य शिक्षक (होमनाथ सिटौला)लाई अस्थायी नियुक्तिको लागि सिफारिश गरी विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाइयो ।


जुन आन्दोलनबाट सबै शिक्षकको हक, अधिकार स्थापित भयो, त्यही आन्दोलनमा लागेको कारण म चाहिं अन्यायमा परें । मैले अस्थायी शिक्षक भएर काम गर्न थालेको पनि आज २२ वर्ष भइसक्यो । यसअघि १० वर्ष स्थायी रूपमा काम गरेको त छँदैछ । ऊवेला मैले आन्दोलन नगरेको भए मेरो स्थायी जागीर जाँदैनथ्यो । अवकाश लिंदा पेन्सन, उपदान र अरू सेवा सुुविधा पाउँथें । तर अब म यी सबै सेवा, सुविधाबाट वञ्चित भएको छु ।

मिति २०४२ चैत २६ को पत्रानुसार मैले पाउनुपर्ने तलब भत्ता लगायत सम्पूर्ण सुविधाहरू ‘सरुवा गरिएको’ बहानामा रोक्का गरियो । विद्यालयमा मैले गरेको योगदानको कारण रमाना गरी नपठाउन स्थानीय अभिभावक र विद्यार्थीद्वारा विद्यालय सञ्चालक समितिलाई दबाब परेको कारण विद्यार्थी र अभिभावकलाई मैले ‘उक्साएको’ नाममा विद्यालयबाटै प्रहरीद्वारा मलाई गिरफ्तार गराई २०४२ फागुन १३ देखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । र; पूर्ववत् विद्यालयमा हाजिर हुन जान नपाउने शर्तमा सो हिरासतबाट रिहा गरियो । त्यसपश्चात म पुनः विद्यालयमा हाजिर हुन जाँदा विद्यालय समेतले मलाई काभ्रे जिल्ला सरुवा गरिसकिएको भनी हाजिर हुन दिइएन । काभ्रे जिल्लामा हाजिर हुन जाँदा पूर्व विद्यालय नलाङ निमावि धादिङबाट रमाना पत्र नै नआएको वहानामा मलाई अलन्तर पार्ने काम गरियो ।

बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात सरकारद्वारा गठित ‘विगत आन्दोलनहरूमा राजनीतिक कारणले अवकाशमा परेका शिक्षकहरूको बाँकी पुनर्वहाली र ... राहत’बारे अध्ययन गर्न २०५४ वैशाख २० मा वेदनिधि निरालाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको पृृष्ठ ८ को क्रमसंख्या ५२ मा ‘विना शर्त पुनर्वहाली हुनुपर्ने’ सूचीमा समेत मेरो नाम संलग्न छ । तैपनि मेरो समस्या यथावत् रहिरह्यो ।

यसरी २०४२ फागुन १३ पश्चात २०४८ सालसम्म म विद्यालयमा सेवा गर्ने अवसरबाट वञ्चित भई गैरहाजिर रहनुपर्ने अवस्था रह्यो । पूर्व विद्यालय नलाङ निमावि नलाङको निम्न माध्यमिक शिक्षक दरबन्दी रिक्त रहेकाले ‘पुनर्वहाली हुँदा सोही पद र सेवामा निरन्तरता हुने’ तत्कालीन जिल्ला शिक्षा अधिकारीको मौखिक आश्वासन अनुसार सो रिक्त दरबन्दीमा २०४८ भदौ ५ गतेदेखि जिशिका धादिङद्वारा अस्थायी नियुक्ति भई हालसम्म सोही विद्यालयमा कार्यरत रहँदै आएको छु ।

बहुदलीय प्रजातन्त्र र लोकतन्त्र बहालीपछिका हरेक सरकारका शिक्षा मन्त्रीलाई मेरो पीडा र समस्याबारे अवगत गराउँदै आएको छु । सबैबाट ‘अन्यायमा परेको हुँदा तपाईंको पुनर्वहाली हुन्छ’ भनेर आश्वासन पाइरहें । शिक्षा मन्त्रालयमा पटकपटक निवेदन पनि दिएँ । मिल्दैन, हुँदैन कसैले पनि भनेनन् । तर काम पनि भएन । सबै शिक्षकको हकहित र अधिकारको लागि ऊवेला अरू जागरुक शिक्षकहरूले जस्तै मैले पनि आन्दोलन गरेको हुँ । जुन आन्दोलनबाट सबै शिक्षकको हक, अधिकार स्थापित भयो, त्यही आन्दोलनमा लागेको कारण म चाहिं अन्यायमा परें । सरकार र जिम्मेवार राजनीतिक दलका नेताहरूसँग पटकपटक भएका सम्झौता  र आश्वासन पूरा हुने आशामा मैले अस्थायी शिक्षक भएर काम गर्न थालेको पनि आज २२ वर्ष भइसक्यो । यसअघि १० वर्ष स्थायी रूपमा काम गरेको त छँदैछ ।

अब मैले अवकाश लिने वेला भएको छ । ऊवेला मैले शिक्षकको पेशागत हकहितको लागि आन्दोलन नगरेको भए मेरो स्थायी जागीर जाँदैनथ्यो । अवकाश लिंदा पेन्सन, उपदान र अरू सेवा सुुविधा पाउँथें । तर अब म यी सबै सेवा, सुविधाबाट वञ्चित भएको छु । त्योवेला शिक्षक आन्दोलनमा सहभागी हुनु जरूरी थियो । किनकि प्रजातन्त्र र लोकतन्त्र बहालीमा अरू पेशागत संघ–संगठन जस्तै शिक्षक आन्दोलनको भूमिका पनि महत्ववपूर्ण छ । मुलुकमा परिवर्तन ल्याउने आन्दोलनमा सहभागी हुनु के मेरो दोष थियो र ? पुनर्वहाली हुने सूचीमा नाम हुँदा र सबैले आश्वासन दिंदा समेत मेरो समस्या समाधान भएन । ममाथि भएको अन्याय कसले बुझला ?

नलाङ मावि, धादिङ

commercial commercial commercial commercial