लैंगिकता संवाद शिविर

स्कूले किशोर–किशोरीलाई लैंगिकताको शिक्षा दिनुहुन्छ कि हुँदैन र दिए कति हदसम्म, कसरी दिनुपर्छ भन्ने बहस आफ्नै ठाउँमा छ । अर्को प्रश्न अझ् टडकारो छ— यौन शिक्षा स्कूल जानेहरूलाई मात्र दिनुपर्ने हो कि नजानेहरूलाई पनि ? सबैलाई दिनुपर्ने भए कसरी दिने ?

स्वास्थ्य अनुसन्धाता मोहन भागवतले स्वास्थ्य र यौन शिक्षा सम्बन्धी आफ्नो दुई दशक लामो अनुभवका आधारमा लैंगिकता संवाद शिविरको खाका तयार पारेका छन् । यही खाकाको आधारमा भारतका विभिन्न स्थानमा लैंगिकता सम्बन्धी कार्यशाला सञ्चालन हुने गरेका छन् । किशोर–किशोरीको सहभागितामा हुने यस्ता कार्यशालामा लैंगिकता सम्बन्धी खुला संवादमा जोड दिइन्छ । उनको ‘आभा समूह’ ले लैंगिकता संवाद कार्यशाला कसरी संचालन गर्छ, त्यसको झ्लक यहाँ प्रस्तुत छः

नअतिथि हुन्छन्, न भाषण, न कुनै औपचारिक तामझम । शुरूमै सहभागीहरूलाई भनिएको हुन्छ— यहाँ हामीले आपसमा कुराकानी गर्ने हो । आफ्ना कुरा अरूलाई सुनाउने र अरूका कुरा सुन्ने हो । सहभागीमा किशोर र किशोरी झण्डै बराबरी हुन्छन् । शुरूदेखि अन्त्यसम्म, कार्यशालाका सबै सत्रमा उनीहरू सँगै बस्छन्, सँगै ‘संवाद’ गर्छन् ।

आभा (आरोग्य भान) ले आयोजना गर्ने लैंगिकताका संवाद कार्यशाला (वा शिविर) यस्तै हुन्छन् । सामान्यतः तीन दिन चल्ने यी कार्यशाला संस्थाका दुई–तीन जना कार्यकर्ताले संचालन गर्छन् । शुरूमा सहभागीको स्वागत गरिन्छ र लैंगिकता संवादबारे केही जानकारी दिइन्छ । त्यसपछि कार्यशालाको विधिवत् उद्घाटन पनि हुन्छ, तर नितान्त अनौपचारिक तवरमा ।

सहभागीलाई एक ठाउँमा भेला पारेर भनिन्छ— तपाईंहरूले आपसमा मिलेर, जिउँदा जाग्दा मानिसहरूको कुनै आकृति बनाउनुपर्छ जो हल्लिन्छ, हिंड्छ, बोल्छ र गीत गाउँछ । यो सुनेपछि एकछिन कक्ष चकमन्न हुन्छ, त्यसपछि दुई–चार जना केटाकेटी अघि बढ्छन् । बिस्तारै बिस्तारै विभिन्न आकृति देखा पर्न थाल्छन्— कहिले फूल, कहिले स्वस्तिक त कहिले अरू केही । आकृति बनाउन उनीहरूले आफ्नो शरीर मात्र होइन, हात र खुट्टाको पनि कल्पनाशील उपयोग गर्छन् । बिस्तारै यो समूह एउटा सिंगो आकृतिमा परिणत हुन्छ र क्रमशः गोलाकारमा लयबद्ध घुम्न थाल्छ । यसैबेला हाम्रो ढोलक पनि जोशिलो तालमा बज्न थाल्छ ।...

यसरी कार्यशालाको उद्घाटन हुन्छ । फलस्वरुप किशोर–किशोरीको सक्रिय सहभागिता शुरूदेखि नै सुनिश्चित हुन पुग्छ ।
यसपछि गीत गाइन्छ । यसका लागि स्वरलाई सघाउने केही क्रियाकलाप हुन्छन् । कतिपय केटालाई जोडले चिच्याउन मन लागेको हुन्छ । तिनका लागि चिच्याउने कार्यक्रम पनि राखिन्छ । धोद्रे अथवा ढ्यांग्रे आवाज कसरी सुरिलो हुन सक्छ भन्ने केही उदाहरण प्रस्तुत गरिन्छ । (कार्यशाला अवधिभरि हामी थुप्रै गीत गाउँछौं । यही मेसोमा, हरेक कार्यशालामा केही नयाँ गीत पनि रचिन पुग्छन् ।)

यसपछि परिचयको लहर शुरू हुन्छ । आफ्नो परिचय दिंदा सहभागीले आफ्नो नामसँगै आमाको नाम भन्नुपर्छ । हाम्रो आग्रह हुन्छ— आफ्नो थर र बुबाको नाम नभन्नोस् । यसबारे थोरै छलफल पनि चल्छ । कैयौं किशोर–किशोरीलाई यो नयाँ पारा असाध्यै राम्रो लाग्छ किनभने सामान्यतः उनीहरूलाई आफ्नी आमाको नाम बताउने मौका कमै मिल्ने गरेको हुन्छ । अनि, थरको सम्बन्ध जात, जातिसँग हुने भैगयो !

आमाको शरीरसँगको नाता
गाउँखाने कथाको पारामा सहभागीलाई हामी सोध्छौं— तपाईंको शरीरमा आफ्नी आमासँगको नाताको एउटा स्थायी निशानी आजसम्म पनि मौजूद छ, त्यो के हो ? केही जवाफ आउन थाल्छन् । अन्ततः सबैले थाहा पाउँछन्— त्यो निशानी नाइटो हो ।

त्यसो त किशोर–किशोरीहरूलाई मानिसको शरीरका बारेमा थुप्रै कुरा थाहै हुन्छ, तर पनि हामी चित्र र गीतहरू मार्फत शरीरका विभिन्न अंग र तिनको संयन्त्रका बारेमा कुरा गर्छौं । उनीहरूलाई विभिन्न समूहमा बाँडेर कागजका ठूला–ठूला ताउ दिन्छौं र त्यसमा मान्छेको शरीर र त्यसका विभिन्न अंगको रंगीन रेखाचित्र बनाउन भन्छौं । कैयौं समूहले विविध अंगका साथ गर्भाशयको पनि चित्र बनाउँछन् । गर्भाशयबारे केहीबेर संवाद हुन्छ । जस्तै— ‘यो हामी सबैको पहिलो घर हो । यसमा हामी सबै नौ महीनासम्म बसिसकेका छौं । त्यसपछि मात्र जन्मेका हौं ।’ यस क्रममा हामी केही गीत पनि गाउँछौं ।

हाम्रो जन्म
यसपछि सबैलाई कागज दिएर भनिन्छ— तपाईंहरू आ–आफ्नो जन्मको बेलाको चित्र बनाउनुहोस् । यसमा आफ्नो जन्मसित सम्बन्धित कैयौं कुरा देखाउन सक्नुहुन्छ । जस्तै— तपाईं कहाँ जन्मनुभएको थियो— घरमा कि अस्पतालमा ? त्यसबेला वरपर के थियो ? को–को थिए ? आमा कहाँ हुनुहुन्थ्यो ? बुबा कहाँ हुनुहुन्थ्यो ? तपाईं कहाँ हुनुहुन्थ्यो ? कुन बेला जन्मनुभएको थियो ? आदि । हाम्रो जोड केमा हुन्छ भने जे–जे बताउने हो त्यो चित्रबाटै बताउनुपर्छ, अक्षरमा लेखेर होइन । यस्तो खालको चित्र उनीहरूले पहिले कहिल्यै बनाएका हुँदैनन्, त्यसैले शुरूमा केहीबेर अप्ठ्यारो पर्छ । तर अलिकपछि विविधतापूर्ण चित्र बन्न थाल्छन् । हरेक चित्र अर्कोभन्दा एकदमै फरक हुन्छ । आमा, बच्चा, बच्चाको नाल, हजूरआमा, सुँडेनी, डाक्टर, नर्स, कोक्रो, सूर्य, चन्द्र, तारा, घर/अस्पताल बाहिरका रूख, बिरुवा, फूल, जनावर, टाउकामा हात राखेर बसेका दुःखी बाबु, खुशीले मिठाई बाँडिरहेका बाबु, बिंडी खाइरहेका बाबु, आँगनमा नाचिरहेकी बहिनी— चित्रमा जे पनि भेट्न सकिन्छ । जन्मिएको ठाउँमा पनि विविधता हुन्छ— कोही कुलाको डीलमा जन्मिएको हुन्छ, कोही खेतमा, कोही बयलगाडामा, कोही रूखमुनि, कोही जीपमा । केटाकेटी जन्मिने ठाउँमा यत्रो विविधता हुन्छ भन्ने कुरा पहिलोपल्ट यिनीहरूका चित्र हेरेर नै मैले थाहा पाएको थिएँ ।

चित्र हेर्ने क्रममा तिनका बारेमा केही चर्चा पनि गरिन्छ । म सोध्छु— जन्मिंदा हामी सामान्यतः कत्रा थियौं ? यस प्रश्नको जवाफ प्रायः सबैलाई थाहा हुन्छ । त्यसपछि म अर्को प्रश्न गर्छु— ‘आमाको पेटमा आउँदा पहिलो दिन तिमीहरू कत्रा थियौ ?’ यो प्रश्नमा किशोर–किशोरी अलमलिन्छन् । त्यसपछि उनलाई भनिन्छ— अन्दाज लगाएर जवाफ देऊ । बयरको गेडो जत्रा थियौ, बदामको गेडो जत्रा, अमला जत्रा, अण्डा जत्रा अथवा...? केहीले आ–आफ्नो पाराले जवाफ दिएपछि भनिन्छ— आमाको पेटमा आउँदा पहिलो दिन तिमीहरू एउटा तिलभन्दा पनि धेरै साना, बालुवाको मसिनो कण जत्रा थियौ । अनि उनीहरूलाई आमाको पेटमा उनीहरूको नौ महीनाको यात्राका बारेमा थुप्रै चित्र देखाइन्छ र वर्णन गरिन्छ । केटाकेटी विस्मयका साथ चित्र हेर्छन् र कुरा बुझछन् ।

यदि हामी यतिका महीनासम्म आमाको पेट अथवा गर्भाशयमा बस्नेवाला थियौं, खाने–पिउने र सुत्नेवाला थियौं भने पक्कै पनि हाम्री आमाले त्यसका लागि पहिलेदेखि नै केही तयारी गर्नु भएको थियो । यस्तै खाले कुराबाट शुरू गरेर हामी आमाको महीनाबारी अनि महीनाबारी कसरी शुरू हुन्छ भन्नेबारे चर्चा गर्न थाल्छौं । यो कुराकानीमा किशोर–किशोरीले लाज मान्नुपर्ने अथवा आँखा झुकाउनुपर्ने हुँदैन; किनभने यो चर्चा उनीहरूका बारेमा होइन, त्यहाँ अनुपस्थित/अदृश्य ‘आमा’ को गर्भाशय र गर्भधारणको तयारीका बारेमा भइरहेको हुन्छ ! महीनाबारीका बेला आमाले छुट्टै बस्नुपथ्र्यो होला, अनेक नियम पालन गर्नुपथ्र्यो होला, त्यसबेला उहाँलाई कस्तो लाग्थ्यो होला— यसबारे पर्याप्त चर्चा हुन्छ । यस्तै चर्चाका सिलसिलामा, खास गरी कतिपय किशोरीहरूले भन्छन्— हामीकहाँ यस्तो चलन अहिले पनि छ ! यस्तो चलन उचित हो कि होइन भन्नेबारे पनि छलफल हुन्छ र इतिहास वा पुराणका घटना पनि सुनाइन्छ ।

बच्चा जन्माउनका लागि आमाको शरीरको तयारीका कुरापछि बाबुको शरीरको तयारीबारे कुरा गरिन्छ । यो चर्चा पनि सहभागीहरूको होइन, कुनै ‘बाबु’ को बारेमा हुने भएकाले यसमा पनि उनीहरूले असजिलो महसूस गर्दैनन् । यसपछि महिलाको अण्डाणु र पुरुषको शुक्राणुको मिलन कसरी हुन्छ र गर्भ रहन्छ भन्ने बताइन्छ । यसै क्रममा म के पनि भन्ने गर्छु भने मेरा आमा–बुबाले मलाई जन्माउन त्यस्तो काम गरेका थिए भन्ने थाहा पाउँदा मलाई कस्तो–कस्तो, अनौठो जस्तो लागेको थियो । तर, तुरुन्तै म के पनि भनिहाल्छु भने, यसमा अनौठो मान्नुपर्ने कुरा केही छैन । यो कुनै पनि दृष्टिले फोहोरी, घृणित, अपवित्र अथवा नराम्रो कुरा होइन । हामी सबैको जन्म यसैगरी भएको हो ।

आमाको शरीरका बारेमा महिला कार्यकर्ताले अनि बाबुको शरीरका बारेमा पुरष कार्यकर्ताले बताउनुपर्छ भन्ने खालको विभाजन हाम्रो कार्यशालामा हुँदैन । साँच्चै भन्ने हो भने कसको कुरा कसले प्रस्तुत गरिरहेको छ भन्ने कुराले किशोर–किशोरीलाई कुनै फरक पर्दैन ।

हाम्रो हुर्काइ
यस चरणमा, आफू हुर्किंदै जाँदा म ठूलो हुँदैछु भन्ने हामीलाई कहिले थाहा हुन्छ अनि कसले यसतर्फ हाम्रो ध्यान आकर्षित गराउँछ भन्नेबारे छलफल गर्छौं । कसरी हामीलाई मन पर्ने–नपर्ने कुराहरू बदलिन्छन्, साथी बदलिन्छन्, दोस्ती शुरू हुन्छ, ठूला मानिसले अनौठो दृष्टिले हेर्न थाल्छन् । छिमेकी दाइ/काकाले हेर्ने तरीका फेरिए जस्तो लाग्छ । टेलिभिजनका केही कार्यक्रम मन पर्न थाल्छन् । ठूलाबडाहरू हामीमाथि टिप्पणी गर्न थाल्छन्, हाम्रो गल्ती खोज्न थाल्छन्ः ‘यत्रो लाठे भइसक्यो/यति ठूली भइसकी, अब पनि कुरो बुझदैन/बुझिदन !’ ‘अझै केटाकेटी नै छस्/ठूलो भइसक्या छैनस्, जम्मै कुरा बुझने बेला भइसकेको छैन !’  मेलापर्वमा नाच्न मन लाग्छ । साइकल चलाउन, पौडी खेल्न, पहाड चढ्न, प्रकृतिमा रमाउन, टन्न खान, सिनेमा हेर्न, फेशन गर्न, चिटिक्क पर्न मन पर्न थाल्छ । घरको जिम्मेदारी सम्हाल्न सक्छु भन्ने देखाउन मन लाग्छ... अर्थात् हाम्रो रुचि र सोचाइ बदलिन थाल्छ । यस्ता धेरै प्रसंगहरू हामी उठाउँछौं, पढेर सुनाउँछौं, आ–आफ्ना अनुभव बयान गर्छौं र त्यसबारे चर्चा गर्छौं ।

अलि बेग्लै कुरा
एउटा सत्रमा हामी कुनै भूमिका विना केही दृश्य प्रस्तुत गर्छौं । यसमा कार्यकर्ताहरूले केही किशोर–किशोरीलाई पनि सामेल गर्छन् । यी दृश्य एकपछि अर्को लगातार प्रस्तुत गरिन्छन् । जस्तैः

१. किशोर–किशोरीहरू पिकनिकको आनन्द लिइरहेका छन् । एउटा किशोर रंग र ब्रशले प्रकृतिको चित्र बनाइरहेको छ । ऊसँग पढ्ने एउटी किशोरी नजिकै आएर त्यो किशोर र उसले बनाइरहेको चित्रलाई पालैपालो हेर्छे । उसका आँखामा प्रशंसाको भाव देखिन्छ । किशोरीतिर नहेरे पनि किशोरलाई उसले नजिकै आएर हेरेको एकदमै मन परेको छु, जुन कुरा उसको अनुहारबाट व्यक्त हुन्छ । तस्वीर हेर्दै किशोरी भन्छे— आहा, कस्तो राम्रो ! यो पहाड, यो नदी, यी रूख, चराहरू... । यसो भन्दै किशोरी फर्किन्छे र किशोर ऊ गएको हेरिरहन्छ ।
२. एउटी किशोरी डराउँदै–डराउँदै स्कूलबाट घर फर्किरहेकी छ । बाटोको छेउमा उभिएका केटाहरू सुसेल्छन्, नजिकै गएर उसलाई जिस्क्याउँछन्, केही भन्छन् । किशोरी जसैतसै उनीहरूलाई छलेर हतारहतार अघि बढ्छे । केटाहरू ठूल्ठूलो स्वरमा हाँस्न थाल्छन् ।
३. दुई किशोरी टेलिभिजनमा सिनेमा हेर्दैछन् । एउटी भन्छे— क्या छ भाइ, शाहरूख खान त ! अर्की हतारहतार भन्छे— छ्याः !
४. एउटा किशोर आफ्नी साथी (किशोरी) लाई मोबाइलबाट एसएमएस पठाउँछ । पठाउनासाथ ऊ अत्तालिन्छ । टाउकामा हात लगाएर आफैंलाई भन्छ— एसएमएसलाई बीचैबाट फिर्ता ल्याउन सकिंदैन ?
५. नाटकको रिहर्सल गर्दागर्दै रात पर्छ । केटीहरू आत्तिन थाल्छन् । निर्देशन गर्ने केटा केटीका घरमा फोन गरेर तिनका आमालाई नआत्तिन भन्छ र केटीहरूलाई घर पुर्‍याइदिने जिम्मा लिन्छ । त्यसबेला केटीका आँखामा विश्वास, आस्था, प्रशंसा जस्ता भाव देखिन्छन् ।
६. कक्षामा एउटा केटो एउटी केटीलाई लगातार हेरिरहेको छ । पढाइमा उसको ध्यान छैन । ‘मिस’ ले कुनै प्रश्न सोध्दा जवाफ दिन सक्तैन ।
७. शिक्षक कक्षामा वनस्पतिहरूको प्रजननका बारेमा बताउँदैछिन् । एउटा उमेर ढल्किसकेको केटो डेस्कमुनि टाउको लुकाएर बाँदरको जस्तो आवाज निकाल्छ ।
८. स्कूलमा अचानक महीनाबारी भएपछि एउटी किशोरी आत्तिएर आलसतालस परे जस्तो भएकी छ । केटी साथीहरू उसलाई घेरेर, सहज हुन मद्दत गरिरहेका छन् । केटाहरू एक शब्द नबोली चूपचाप हेर्दैछन् ।
९. स्कूलमा ‘टिफिन’ को छुट्टी भएको बेला केटीका ब्याग केटाहरूको डेस्कमा राख्तै गरेको केटो । पछि केटीहरू हड्बडाउँदै आफ्नो ब्याग खोजिरहेका... केटाहरू रमाइलो मानेर चिच्याइरहेका ।
१०. एउटा किशोरले कक्षामा आफ्नो किताबमा लुकाएर ल्याएको तस्वीर निकाल्छ । पछाडिको बेन्चमा बसेका केटाहरू त्यो तस्वीर हेरिरहेका छन्... उनीहरू उत्तेजित भएर कराइरहेका छन् ।
हरेक दृश्य देखाइसकेपछि हामी त्यसमाथि अनेक प्रकारले चर्चा पनि गर्दछौं । यस क्रममा सहभागीको अनुभवसँगै जोडिएका कैयौं कुरा सबैका सामुन्ने आउँछन् ।

कुनै सत्रमा हामीहरू तीस–चालीस वटा तस्वीर भुईंमा राख्छौं । सबै तस्वीर लैंगिकतासँग सम्बन्धित हुन्छन् । किशोर–किशोरी तस्वीर वरिपरि दुई–चारचोटि घुमेर, आफूलाई घत लागेको एउटा तस्वीर हातमा लिन्छन् । अब उनीहरूले एक–दुई मिनेटभित्र बताउनुपर्ने हुन्छ— त्यही तस्वीर किन छानेको, त्यो तस्वीरले के बताउँछ आदि । (यहाँनेर स्पष्ट पार्नु उचित होला— ती तस्वीर नांगा वा अश्लील प्रकृतिका भने हुँदैनन् ।)


आजभोलि सचिन नाउँको एउटा केटो ज्यादै मन पर्छ । ऊ मलाई रिबन किनेर ल्याइदिन्छ, मिठाई दिन्छ, लिपिस्टिक र पाउडर पनि दिन्छ । एकदिन उसले मलाई भन्यो— तिमी कति राम्री छ्यौ ! म तिमीलाई प्रेम गर्छु । उसको कुरा मलाई मीठो लाग्यो । ऊ कताकता शाहरूख खान जस्तो देखिन्छ । हिजो उसले भन्यो— हामी यहाँबाट भागौं, अर्को शहरमा गएर बिहे गरौं । ...मलाई कस्तो कस्तो लागेको छ ।

यसपछि लैंगिकता सम्बन्धी विषय र समस्या एकपछि अर्को गर्दै अगाडि आउन थाल्छन् । हरेक विषयको प्रारम्भ सहभागीले आफ्नो अनुभवसँग जोडेर गर्छन् । त्यसबारे कार्यकर्ताले थप जानकारी पनि दिन्छन् । यो सबका लागि खुला छलफल, स–साना समूहमा छलफल, आफ्नो अनुभवबारे लेख्ने र त्यसलाई समूहका सामु पढेर सुनाउने, चित्रकथाका माध्यमबाट कुरा स्पष्ट पार्ने लगायतका कैयौं उपायहरू अपनाइन्छन् ।
अर्को सत्रमा हामी पहिलेदेखि नै निश्चित गरिएका कतिपय मुद्दा उठाउँछौं । जस्तैः

–    किशोर अवस्थामा मानसिक तनाव (खासगरी लैंगिकता सम्बन्धी) ।
–    मूल्य–मान्यताहरूको संघर्ष (लैंगिक भेदभावबारे) ।
–    सौन्दर्य, आत्ममुग्धता र अरूसँग आफ्नो तुलना ।
–    प्रेम, दोस्ती र आकर्षण ।

किशोर अवस्थाका तनाव र तिनलाई कसरी झेल्ने/तिनबाट कसरी मुक्ति पाउने भन्ने सत्र औधी रमाइलो हुन्छ । जेजस्ता कारणहरूले तनाव हुन्छ, तिनको चित्र बनाइन्छ । जस्तैः अनुहारमा डण्डीफोर, कालो वर्ण, महीनाबारी र त्यहीबेला चाडपर्व अथवा परीक्षा परेको, अश्लील एसएमएस/टेलिफोन, स्कूलको भित्तामा कुनै केटा/केटीसँग जोडेर आफ्नो नाम लेखिनु, एकतर्फी प्रेम... । सहभागीले यस्ता अनेकौं विषयमा स–साना लेख/टिप्पणी पनि लेख्छन् ।

तनाव कति भारी ?
कुनै किशोरीलाई अगाडि बोलाइन्छ र सोधिन्छ, उसलाई कस्ता–कस्ता मानसिक तनाव छन् ? तनावका बारेमा उसले बताउँदै जाँदा— सबैको सहमतिले– प्रत्येक तनावका लागि एउटा वस्तु उसको शिरमा, काँधमा, हातमा राखिंदै जान्छ । किताब, कापी, पानीको बोतल, ब्याग, ज्योमेट्री बक्स, डस्टर, ससाना पोकापोकी आदि उसमाथि लादिंदै जान्छन् । एउटा वस्तु अर्थात् एउटा तनाव । कहिलेकाहीं त किशोरीको शिरमा प्लास्टिकको कुर्सी समेत राखिन्छ !

यस सत्रमा सहभागीले आफ्ना अनेक समस्याबारे पर्याप्त खुलेर कुराकानी गर्छन् । जस्तैः आफ्नो रंग, अनुहारका दाग, डण्डीफोर, पुड्कोपन, अरूको तुलनामा आफ्नो शारीरिक विकास छिटो वा ढिलो/बढी वा कम भएको कुरा, आफ्ना शारीरिक कमीहरूका कारण उत्पन्न तनाव आदि ।

यस क्रममा हामी भन्छौं— कसैलाई कुनै प्रश्न सबैका सामु सोध्न मन छैन भने आफ्नो प्रश्न कागजमा लेखेर टेबुलमाथि राखिएको डिब्बामा हाल्न सक्छ । यसरी प्रश्न गर्नेको नाम खुलाइँदैन । हामी प्रश्न मात्र सबैका सामु प्रस्तुत गर्छौं । हाम्रो कोशिश हुन्छ, सबै प्रश्नहरूको जवाफ दिन सकियोस् ।

आफूबारेका धारणा, सौन्दर्य, अरूसँगको तुलना जस्ता विषयले सत्रमा नयाँ ज्ञान आउँछ । यी मुद्दाहरू निकै महत्वपूर्ण हुन्छन् किनभने मान–अपमान, हीन भावना, अतिरिक्त आत्मविश्वास, तुच्छता, आक्रमकता, दादागिरी, लाज, कलात्मकता, संकोच, क्षमता देखाउने मौका मिल्नु वा नमिल्नु जस्ता अनेक कुरा यीसँग जोडिएका हुन्छन् ।

मित्रता, निकटता, प्रेम, आकर्षण, लगाएको नाता र यिनमा निहित अन्तरबारे पनि कुरा खुल्नु आवश्यक हुन्छ । नाता–सम्बन्धहरूमा अन्तर्निहित खुशी, सन्तोष र मूल्यहरूका बारेमा समेत हामी चर्चा गर्छौं । नाता–सम्बन्धमा जिम्मेदारीको स्थान पनि महत्वपूर्ण हुन्छ भन्ने यसै सन्दर्भमा स्पष्ट हुन्छ । प्रेममा विश्वास, चासो, चिन्ता, आकर्षण, जवाफदेही, दीर्घकालीन सम्बन्धको विकास जस्ता अनेक उद्देश्य हुन्छन् । यसका लागि पर्याप्त तयारी गर्नु जरूरी हुन्छ । जसरी शरीरको विकास हुन्छ त्यसैगरी मन पनि विकसित हुँदै जान्छ— उसलाई पनि समय र आराम दिनुपर्छ । यो सब हतारमा हुन सक्तैन । तपाईंको सम्बन्ध मानिससित कायम हुँदैछ, कुनै निर्जीव वस्तुसँग होइन । यसबारे हामी उनीहरूलाई स्पष्ट पार्छौं ।

दीपिकाको चित्रकथा
यो चित्रकथा प्रस्तुत गर्नुअघि कुनै किसिमको भूमिका बाँधिंदैन । भित्तामा टाँगिएको एउटा सफा पर्दा अथवा कसैको सलमा एकपछि अर्को गर्दै विभिन्न चित्र आउँछन् । सँगसँगै हाम्रा कार्यकर्ताले एउटा कथा भन्दै जान्छन् । कथा यस्तो छः

दीपिका नामकी एउटी केटी छ । उमेर १०–१२ वर्ष होला । दीपिकाको आफ्नै काकाले उसको यौन शोषण गर्छ । यस कथामा यौन शोषणका बारेमा खुलासा गरिएको छैन तर दीपिकाको डर, धम्कीबाट तर्सिनु, उसको मौनता, तीव्र तनाव, पढाइ र खेलकुद बन्द हुनु... र अन्त्यमा हिम्मत जुटाएर आमालाई सबै कुरा भन्नुले उसको मानसिक स्थितिलाई राम्ररी दर्शाउँछ ।... आमाका सामु पनि थुप्रै प्रश्न खडा हुन्छन् ।

चित्र–कथा सकिएपछि यसमाथि विस्तारपूर्वक चर्चा हुन्छ । विभिन्न विचार, उपायहरू अगाडि आउँछन् । केही केटाहरू कुनै बेला उत्तेजित भएर, तातेर पनि कुरा गर्छन्, फेरि अलिक पछि शान्त भएर समझदारीका साथ आफ्ना कुरा राख्छन् । सबै केटाहरू दीपिकाका पक्षमा उभिएका देखिन्छन् । समग्रमा यस कथा मार्फत किशोर–किशोरीमा यौन शोषणबारे संवेदनशीलताको निर्माण हुन्छ । सबै प्रश्नको जवाफ यहाँ प्राप्त हुन्छ नै भन्ने होइन । तर सोच्ने प्रक्रिया त शुरू भई नै हाल्छ । यसै क्रममा हामी के पनि भन्न छुटाउँदैनौं भने केटीहरूको मात्र होइन, केटाहरूको पनि यौन शोषण हुन सक्छ ।

यौन शोषणबारे केही नाटक
कार्यशालाका बीचमा हामी यौन शोषणबारे केही नाटक प्रस्तुत गर्छौं । एउटा कार्यशालाको घटना म आज पनि सम्झ्रिहेको छु । त्यसमा देखाइएको नाटकमा एउटी किशोरीले (जसको वास्तवमै यौन शोषण भएको थियो) शोषणकर्ता पुरुषलाई (यो भूमिका उसकी एकजना साथीले गरेकी थिई) साँच्चै नै यति जोडसँग थप्पड हानी, पुरुषको भूमिका गरिरहेकी किशोरी अलल्लिएर रुन थाली । यौन शोषणका विरुद्ध पीडितका भावनाहरू कति तीव्र हुन्छन् भन्ने कुरा त्यसबेला हामी सबैले राम्ररी महसूस गरेका थियौं ।

अर्को एउटा कार्यशालामा सहभागीले बसको दृश्य प्रस्तुत गरेका थिए । बसमा चढेको एकजना अधबैंसे स्कूल जाने केटीसँग नारिएर बस्छ । अनि उसको तारीफ गर्दै केटीको हात आफ्नो हातमा लिन्छ र सुम्सुम्याउँदै भन्छ, ‘म तिम्रो काका हुँ, केही सहयोग चाहियो भने मलाई भन्नु...’ आदि । त्यो केटी तुरुन्तै सीटबाट उभिन्छे र ठूलो स्वरमा भन्छे, ‘काका, प्लीज तपाईं अलिक पर सरेर ठीकसँग बस्नोस् ।’ बसमा चढेका अरू यात्री र कन्डक्टर उनीहरूतिर हेर्न थाल्छन् । केहीले ‘के भयो ?’ भनेर सोध्न थाल्छन् र कुरा बुझेपछि ‘काका’ लाई जबर्जस्ती बीच बाटोमै बसबाट उतारिदिन्छन् । यस नाटकको नाम राखिएको थियो— ‘फटाहा काका’ ।

यस्ता नाटकका लागि किशोर–किशोरीहरू मिलेर तयारी गर्छन्, मिलेर रिहर्सल गर्छन् । नाटकको मंचन भइसकेपछि सबैजना दुई मिनेटसम्म आँखा चिम्लेर चूपचाप बस्छन् । सबैलाई आ–आफ्नो भूमिकाबाट बाहिर आउन भनिन्छ । नाटकपछि कसैले कसैलाई जिस्क्याउने, उल्याउने छैन भनेर पहिले नै तय गरिएको हुन्छ । यति भइसकेपछि नाटकमाथि खुलेर संवाद हुन्छ । यौन शोषणका समस्या प्रायः केटीसँग सम्बन्धित हुन्छन् । बारम्बार मलाई लागिरहन्छ— यो कुरा केटाहरूलाई पनि त कसैले राम्ररी बुझाइदेओस् ।


समलिंगी सम्बन्ध यस्तो विषय हो, जसबारे हामीले आजसम्म कुनै सार्थक छलफल चलाउन सकेका छैनौं । यस्तै, वेश्यावृत्तिबारे पनि ।  सुस्त मनस्थितिकाहरू, अपांगताबाट ग्रस्तहरू अनि फूटपाथमा बढ्ने–हुर्किने बच्चाहरू पनि हाम्रो लैंगिकता संवादको परिधिभन्दा बाहिरै छन् ।

केही अधबैंसे पुरुषहरू इन्टरनेटमा किशोरीहरूको भावनासँग खेल्छन्, तिनलाई फसाउँछन्, ब्ल्याकमेल गर्छन् । आजभोलि यस्तै एउटी केटीको कहानी सुनाउँछौं । चर्चा चल्दा कैयौंले केटीलाई नै दोषी ठहर्‍याउँछन् । यस्ता चर्चाहरूमा, अधबैंसे पुरुषहरू यस प्रकारका घटनामा विना कुनै कारबाही मुक्त भइरहेका छन् भन्न छुटाउनु हुँदैन ।

सानै उमेरमा कसैसँग मायाप्रीति बसेपछि कुनै केटी घर छाडेर भाग्छे । त्यसपछि के हुन्छ, के–के हुन सक्छ भन्ने कुरालाई आधार बनाएर एउटा कहानी सुनाइन्छ र त्यसपछि चर्चा गरिन्छ । हाम्रो अनुभव छ, किशोर–किशोरीहरू यस्तो चर्चामा पर्याप्त संवेदनशीलताका साथ भाग लिन्छन् र ठोस निष्कर्षमा पुग्न कोशिश गर्छन् ।

फूटपाथमा हुर्कने बालबालिकाका साथ गरिएको एउटा कार्यशालामा हामीले दुइटा प्रसंग सुनाएर तीमाथि चर्चा गरेका थिथौं । र, समस्याको समाधानका लागि के उपाय अपनाउनुपर्छ भनेर छलफल गरेका थियौं ।

प्रसंग एकः “मेरो नाम गीता हो । हामी स–साना केटाकेटीको एउटा समूह छ । सबैभन्दा ठूली मै हुँ । हामी सडकमा खेल्छौं, स–साना सामान बेच्छौं, पैसा कमाउँछौं र झगडा पनि गर्छौं । हाम्रो एउटा संस्था पनि छ । फुर्सत निकालेर त्यहाँ पढ्न पनि जान्छौं । त्यहाँकी सुनीता मिस एकदमै असल हुनुहुन्छ । कहिल्यै कसैलाई पिट्नु हुन्न । मलाई आफूभन्दा ठूला केटा मन पर्दैनन् । तर आजभोलि सचिन नाउँको एउटा केटो ज्यादै मन पर्छ । ऊ मलाई रिबन किनेर ल्याइदिन्छ, मिठाई दिन्छ, लिपिस्टिक र पाउडर पनि दिन्छ । एकदिन उसले मलाई भन्यो— तिमी कति राम्री छ्यौ ! म तिमीलाई प्रेम गर्छु । उसको कुरा मलाई मीठो लाग्यो । ऊ कताकता शाहरूख खान जस्तो देखिन्छ । हिजो उसले भन्यो— हामी यहाँबाट भागौं, अर्को शहरमा गएर बिहे गरौं । ...मलाई कस्तो कस्तो लागेको छ । सुनीता मिसको सम्झ्ना आइरहेको छ ।”
प्रश्नः सचिनको प्रेम साँचो हो त ?
गीताले के गर्नुपर्छ ?

प्रसंग दुईः “रमेश सुत्ने एउटा बेग्लै ठाउँ छ । बसपार्कको सबैभन्दा छेउको कुनामा । ऊ दिउँसो जता गए पनि राति त्यहीं आएर सुत्छ । बसपार्कमा मधु दिदीको चियापसलमा काम गर्ने राजु महाको हरामी छ । एक दिन राति ऊ रमेशको छेउमा गएर सुत्यो । अर्को दिन टाँस्सिएर सुत्यो । तेस्रो दिनदेखि उसले रमेशसँग फोहोरी काम गर्न थाल्यो ।”
प्रश्नः अब रमेशले के गर्नुपर्छ ?

सामूहिक चर्चा
नाता–सम्बन्धहरूबारे, यौनिकतासँग जोडिएका धारणा र व्यवहारहरूबारे गहिराईमा पुगेर कुरा बुझन सामूहिक चर्चा एउटा राम्रो माध्यम हो । केही प्रश्न, केही समस्या र केही प्रसंग सबैका सामुन्ने राखिन्छन् । सहभागीहरूलाई भनिन्छ, यसमा के उचित हो र के होइन भन्ने तपाईंहरू आफैं तय गर्नुहोस् । यसका लागि आपसमा कुराकानी गर्न सक्नुहुन्छ, आफ्नो विचार अरूलाई सुनाउन सक्नुहुन्छ, छलफल गर्न सक्नुहुन्छ । के कुराकानी भयो अथवा कस्तो निष्कर्ष आयो, त्यसलाई पछि प्रस्तुत गर्नुपर्नेछ । यति भनेर हामी उनीहरूलाई सामूहिक चर्चा गर्न छोडिदिन्छौं ।
सामूहिक चर्चाका लागि विभिन्न विषय दिन सकिन्छ । उदाहरणका लागिः
–    केटा मान्छेले फोहोर र अश्लील गाली गर्न जानेकै हुनुपर्छ ।
–    म केटीहरूलाई उपभोग्य वस्तुका रूपमा हेर्छु । यो मेरो गल्ती हो ।
–    मिनीस्कर्ट लगाउने केटी छाडा हुन्छन् । तिनलाई जसले पनि पट्याउन सक्छ ।
–    केटाले भनेको कुरा केटी/स्वास्नीले मान्नैपर्छ ।
–    हाम्रा आमाबा, मान्यजनले ‘यसो नगर’ भनिसकेपछि हामीले त्यसबारे विचार गर्नुपर्छ ।
–    दुइटा केटा एउटै केटीसँग प्रेम गर्छन् । तीमध्ये एउटा केटाले त्याग गरेर त्यो केटी अर्कालाई छोडिदिन्छ । यसबारे तपाईंको विचार के छ ?
–    तिम्री दिदी अथवा बहिनीको बिहे १५ वर्षको उमेरमा तय गरिन्छ । भाइको नाताले तिमी के गर्छौ ? दाजुको नाताले तिमी के भन्छौ ?
–    जिन्दगीमा प्रेमको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ त ?
–    कन्डोम प्रयोग गरेर जोसँग पनि, जतिपल्ट पनि शारीरिक सम्बन्ध कायम गर्न सकिन्छ ।
–    हामी आफ्नो शरीरलाई यति माया गर्छौं तैपनि गुटखा, पान पराग, खैनी, चुरोट, जाँड–रक्सी किन खान्छौं ?
–    हाम्रा असल आनीबानीलाई साथीभाइले भताभुंग पारिदिन्छन् । केही उदाहरण दिनुहोस् ।
–    हाम्रा असल आनीबानीलाई साथीभाइले झन् मजबूत बनाइदिन्छन् । केही उदाहरण दिनुहोस् ।
–    म कालो छु । यसमा मेरो के गल्ती छ ?
–    मेरी गर्लफ्रेन्ड/मेरो ब्वाइफ्रेन्ड छैन । म खूब पढ्छु... तर त्यति आकर्षक छैन ।
–    म हस्तमैथुन गर्छु । एकदमै पछुतो लाग्छ । म के गरुँ ?
–    मलाई फोहोरी गाली गर्न आउँदैन । मन पर्दैन । साथीहरू मलाई नामर्द भन्छन् । म के गरुँ ?

यस्ता विभिन्न कार्यक्रमपछि आभा (आरोग्य भान) कार्यशालाको समापन फेरि उस्तै अनौपचारिक तवरमा, गीत–संगीतका साथै हुन्छ । सबै सहभागीले यसमा खूब उत्साहका साथ भाग लिन्छन् ।

कार्यशालाः केही अन्य पक्ष
लेख टुंग्याउनुअघि लैंगिकताका विषयमा केही भन्न बाँकी छ । हामी कार्यशालामा जे–जस्तो गर्छौं, शिक्षकहरूले आ–आफ्नो कक्षामा त्यस्तै गर्न सकून् भन्ने हाम्रो अपेक्षा हुन्छ । सामान्यतः शिक्षकहरूको भनाइ के हुने गर्छ भने, तपाईं जे भन्नुहुन्छ, त्यसमा हामी सहमत छौं । तर यी सबै कुरा कक्षामा विद्यार्थीसम्म कसरी पुर्‍याउने र ? यो काम त्यति सहज छैन, हामीलाई ज्यादै तनाव हुन्छ, अभिभावकले के भन्लान् भन्ने डर हुन्छ, विद्यार्थीहरूका बीच हाम्रो छवि के होला भन्ने डर लाग्छ, आदि...आदि ।

हामीले एकपल्ट शिक्षकहरूकै सहभागितामा एउटा कार्यशाला गर्‍यौं जसमा केही विद्यार्थी पनि थिए । सबै चर्चाहरूमा शिक्षक र विद्यार्थीले समान रूपमा, विना संकोच, सहजतापूर्वक भाग लिए । यस कार्यशालापछि विद्यार्थीको मनोविज्ञान र व्यवहारलाई शिक्षकले पनि नजीकबाट जान्न पाए ।

समलिंगी सम्बन्ध यस्तो विषय हो, जसबारे हामीले आजसम्म कुनै सार्थक छलफल चलाउन सकेका छैनौं । बल्ल त लैंगिकताबारे किशोर–किशोरीसँग खुला संवाद शुरू भएको छ, यही पनि नटुटोस् भन्ने एकखाले मानसिक दबाबका कारण यस्तो भएको हुन सक्छ । हामी यसको सामान्य उल्लेख मात्र गरेर स्वाट्ट अघि बढिहाल्छौं । यस्तै, वेश्यावृत्तिको व्यवसायबारे पनि कार्यशालामा विस्तारपूर्वक चर्चा हुनुपर्छ । सुस्त मनस्थितिकाहरू, अपांगताबाट ग्रस्तहरू अनि फूटपाथमा बढ्ने–हुर्किने बच्चाहरू पनि हाम्रो लैंगिकता संवादको परिधिभन्दा बाहिरै छन् ।

शायद, सबैभन्दा जरूरी काम हो— लैंगिकता संवादको आवश्यकताका पक्षमा जनमत तयार गर्नु । यसका लागि आमाबाबु र अभिभावकहरूसँग यस्तै कार्यशाला गर्नुपर्छ । यो सारा काम, जो अझै बाँकी छ, तपाईं–हामीले मिलेरै गर्नुपर्ने त हो !

(‘शैक्षणिक सन्दर्भ’ अंक ७५ बाट साभार)
भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial