मेरो चित्त सबै मिलेर दुखाउनुभो !

बाबा, आज म स्कूल जान्न ल ?
आज मलाई सञ्चो छैन, भन्दा
कन्सिरीमा समातेर घिस्याउँदै
विद्यालय पुर्‍याउनुभो
गुरुले निर्दयी बनी
अरिमठ्ठे हातले
विना मसीको छाप
गालामा लगाउनुभो
त्यसैले बाबा, तपाईले मेरो चित्त दुखाउनुभो !

मेरो रोजाइको हैन तपाईंले नै भनेको स्कूलमा
नाम लेखाइदिनुभो,
गुरुले भनेजत्ति नै पुस्तक बोकाइदिनुभो
धेरै पढे भरिया हुनुपर्दैन भन्दै
तीन वर्षे उमेरमै भरिया बनाउनुभो
त्यसैले बाबा तपाईंले मेरो चित्त दुखाउनुभो !

बाबा, मलाई स्कूलमा चित्र कोर्न मन थियो
गुरुले ज्द्दइ कण्ठ गराउनुभो
गुरु मादल बजाएर छमछमी नाचौं न भन्दा

(a+b)2=a2+2ab+b2 मात्र भन्न लगाउनुभो
त्यसैले बाबा गुरुले पनि मेरो चित्त दुखाउनुभो !

बाबा, गुरुमाले त माया गर्नुहोला भनेको थिएँ
तर कहिल्यै कथा सुनाउनु भएन
भानुभक्तले जस्तै कविता लेख्ने इच्छा थियो
रामको धनुष कसले भाँच्यो मात्र सिकाउनुभो
त्यसैले बाबा गुरुआमाले पनि मेरो चित्त दुखाउनुभो !

बाबा, पैसा दिएर स्कूलमै खाजा खानु भन्नुभो
खाजाघरको अंकलले बासी खाजा दिनुभो
अंकल खाजा त गन्हायो भन्दा
सानो मान्छे ठूला कुरा गर्छस् ? भन्नुभो
त्यसैले बाबा खाजाघरको अंकलले पनि मेरो चित्त दुखाउनुभो !

बाबा, स्कूलमा छुट्टीको घण्टी लाग्यो
ठस्ठसी कन्दै झाेला बोकेर म हिंडे
प्रार्थना नगरी हिंडेको भनेर
पालेदाइले भित्रै घोक्य्राइदिनुभो
लडेर पाइन्ट च्यातियो, घाउ पनि लाग्यो
त्यसैले बाबा पालेदाइले पनि मेरो चित्त दुखाउनुभो !

बाबा, मैले तपाईंलाई धेरै चोटि भनेथें
भानुभक्तको जस्तो विर्खे टोपी लगाउँछु भनेर
हजुरबाको जस्तो दौरा र सुरुवाल किनिदिनु भनेर
मेरा भावनालाई बेवास्ता गर्दै
‘टाइ’ लगाएर विदेशी जस्तै हुनुपर्छ भन्नुभो
अचाक्ली भो बाबा, अचाक्ली भो
नेपाली हुने मेरो चित्त सबै मिलेर दुखाउनुभो !

श्रीप्रसाद पोखरेल, इटहरी, सुनसरी

commercial commercial commercial commercial