शिक्षक सेवा प्रतिस्पर्धा १७ वर्षपछि खोलो फर्किंदा...

पुरानो सम्झना
२०५२ सालमा स्नातक तह अध्ययन गर्न काठमाडौं आएको समयमा प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण भइहालेमा शिक्षकको ‘जागिर खान’ यहींबाट आवेदन फारम भरेको थिएँ । काठमाडौं जिल्लामा निम्नमाध्यमिक तहको गणित विषयको लागि माग गरिएका २० ओटा पदको लागि कति आवेदन परेका थिए भन्ने मैले त्यसबखत चासो गरिनँ । मेरो परीक्षा केन्द्र बौद्धको महेन्द्र बौद्ध मा.वि.मा परेको थियो । २०५३ वैशाख १८ गते लिखित परीक्षा भयो । लिखित परीक्षाको नतिजा निकाल्ने बेलामा शिक्षा नियमावलीमा ३५ प्रतिशत अंक प्राप्त गर्ने सबै प्रतिस्पर्धी उत्तीर्ण हुने गरी गरिएको संशोधन त्यस समयमा मात्र होइन हालसम्म पनि आलोच्य हुने गरेको छ । नियमावलीमा गरिएको सो संशोधनलाई लिएर तत्कालीन शिक्षामन्त्रीको जुन किसिमले आलोचना गरिएको थियो र आजसम्म पनि गर्ने गरिएको छ, सोअनुसार हुने हो भने म अन्तर्वार्तामा उत्तीर्ण हुन सक्छु भन्ने मैले कल्पना नै गरेको थिइनँ । तर केही महीनापछि प्रकाशित नतिजा सूचीमा मेरो पनि नाम थियो । खुशी लाग्यो ।

२०५३ सालको फागुन महीनामा अन्तर्वार्ताको कार्यतालिका प्रकाशित भयो । मेरो पालो पहिलो एक–दुई दिनभित्रै पर्ने थियो । तर त्यही बेला भएको सरकार परिवर्तनले अन्तर्वार्ताको प्रक्रिया स्थगित गरिदियो । उक्त प्रक्रियाले निकास पाउन २०६० सालसम्म नै कुर्नुपरेको कुरा जगजाहेर छ । स्नातक तहको अध्ययन पूरा भइसक्दा पनि शिक्षक छनोट प्रक्रियाले कुनै निकास पाउन नसकेको अवस्थामा आफूले आशै नगरेको नतिजा कुरेर बस्नुको कुनै अर्थ थिएन, माध्यमिक तहको ‘जागिर खान’ गाउँतिर हान्निएँ ।

२०६० सालमा नसोचेको कुरा भयो । सबैले जस्तै मैले पनि आठ वर्षसम्म गरेको परीक्षाको नतिजाको निष्पक्षतामाथिको आशंका फिर्ता लिन म बाध्य भएँ । अन्तर्वार्ता दिन १५४ जनामध्ये छानिएका २० जनाको नाम गोरखापत्र मा छापिएको थियो र त्यहाँ मेरो नाम सूचीको दोस्रो नम्बरमा थियो । नि.मा.वि. तहको भए पनि काठमाडौंको स्थायी जागिर छोडेर गाउँको अस्थायीमा बसिरहन सान्दर्भिक लागेन, पछि प्राप्त भएको शिक्षकको नतिजाले पुनः काठमाडौंमा तानेर ल्यायो । गाउँमै बसेर अर्को प्रतिस्पर्धाको प्रतीक्षा गरेको भए पनि त फेरि अर्को ९ वर्ष कुर्नै पर्ने रहेछ ।

ताजा अनुभव
१७ वर्षको पर्खाइपछि २०७० साल जेठ ९ गते शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा सहभागिता जनाउने सुअवसर प्राप्त भयो । माध्यमिक तहको गणित विषयको लागि खुलातर्फ १२ र समावेशी ९ गरी कुल २१ सीटको लागि गरिएको यस पटकको विज्ञापनमा जम्मा ६६७ जना अर्थात् झण्डै ३२ गुणा बढी प्रतिस्पर्धी रहेका छन् ।

लिखित परीक्षाको व्यवस्थापन एकदमै राम्रो थियो । परीक्षा हल एकदमै मर्यादित र शान्त थियो । परीक्षा शुरू भएको करीब आधा घण्टापछि विद्यालयका सहायक प्रधानाध्यापकले परीक्षार्थीले क्याल्कुलेटर प्रयोग गर्न नपाइने आयोगको निर्देशन अनुरूप सबैका क्याल्कुलेटर संकलन गरेर अगाडिपट्टिको खाली स्थानमा राखिदिनुभयो । ‘उक्त समस्या कुन विधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउनुहुन्छ’ भन्ने किसिमका गणितको प्रश्नमा क्याल्कुलेटरको खासै जरूरत पनि थिएन ।


शिक्षक दरबन्दीमध्ये पनि आंशिक सीटमा मात्र प्रतिस्पर्धा भएको छ । त्यसैले यसपटकको प्रतिस्पर्धालाई ‘आयोग खुलेको’ भन्नुभन्दा पनि ‘बाटो खुलेको’ भन्नु बढी उपयुक्त होला ।


परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन लगायतका व्यवस्थापकीय पक्ष शिक्षक सेवा आयोगले भनेझ्ैं लोकसेवा आयोगकै जस्तो निष्पक्ष हुने कुरामा विश्वास गरौं । शिक्षक सेवा आयोगले कात्तिकभित्र परीक्षाको नतिजा प्रकाशित हुने भनेको छ, माघ–फागुनसम्ममा अन्तर्वार्ता पनि सम्पन्न हुने नै छ । कामना गरौं, यसको अन्तिम नतिजा प्राप्त गर्नको लागि फेरि अर्को ८ वर्ष कुर्नुपर्ने छैन । देशको अस्थिर राजनीतिले गर्दा शिक्षक छनोटको काम डेढ दशक भन्दा बढी समयदेखि प्रभावित हुँदै आएर हाल खाली रहेका शिक्षक दरबन्दीमध्ये पनि आंशिक सीटमा मात्र प्रतिस्पर्धा भएको छ । त्यसैले यसपटकको प्रतिस्पर्धालाई ‘आयोग खुलेको’ भन्नुभन्दा पनि ‘बाटो खुलेको’ भन्नु बढी उपयुक्त होला । खाली रहेका सबै सीटमा पदपूर्ति गर्नको लागि बाधक रहेको शिक्षा ऐनको संशोधन पनि चाँडै हुनेछ भन्ने आशा गरौं । कम्तीमा प्रत्येक वर्ष परीक्षा हुने हो भने युवा जोश, जाँगर सहितको योग्य र प्रतिस्पर्धी जनशक्ति विद्यालय शिक्षा सेवामा प्रवेश गर्नको लागि उत्साहित हुनेथियो । शिक्षक बन्नकै लागि भनेर शिक्षाशास्त्र संकायमा अध्ययन गर्न भर्ना भएका क्षमतावान जनशक्तिले वर्षौंसम्म निराश बन्नुपर्ने थिएन ।

मेरो व्यक्तिगत अनुभवमा शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा शिक्षण अनुभवले खासै कुनै सकारात्मक योगदान गर्न सक्दो रहेनछ । यसैपटक परीक्षामा सोधिएको प्रश्नपत्रको आधारमा भन्ने हो भने, माध्यमिक तहको पाठ्यक्रममा समेटिएका विषयवस्तुहरू जान्नको लागि शिक्षण अनुभव जरूरी पर्दैन । माध्यमिक तहमा गरेको अनिवार्य तथा ऐच्छिक गणितको अध्ययन यसको लागि पर्याप्त हुन्छ । उक्त विषयवस्तुको शिक्षण विधि शिक्षाशास्त्र संकायको प्रमाणपत्र तह वा उच्च माध्यमिक तह र स्नातक तहको गणित शिक्षणविधिको अध्ययनले रामै्र समेट्न सक्छ । त्यसैगरी वस्तुगत प्रश्नमा समेटिने ‘शिक्षा सम्बन्धी आधारभूत जानकारी’ र ‘संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरू’ तथा लामो उत्तर दिनुपर्ने प्रश्नको लागि आवश्यक पर्ने पाठ्यक्रम, शिक्षक निर्देशिका तथा अन्य सन्दर्भ सामग्रीको अध्ययन तथा ‘आधुनिक शैक्षिक प्रविधि र खोज’ को लागि समेत त्यति गहिरो अध्ययन र अनुभवको आवश्यकता पर्दैन । लेखन सीप भएका युवा जनशक्तिले आयोगको पाठ्यक्रमले समेटेका थप विषयवस्तुलाई थोरै समय मात्र दिएर अध्ययन गर्ने हो भने उनीहरूलाई प्रतिस्पर्धामा अगाडि आउन सहज हुन सक्छ ।

विद्यालय तहको विषयवस्तुको कुरा परै छोडौं, क्याम्पस तहको अध्ययनलाई समेत एक दशक भन्दा लामो समयदेखि नै बिट मारिसकेका हामी जस्ता पुरानो पुस्तालाई यो प्रतिस्पर्धा बहर गोरु र बूढो गोरुलाई एउटै जुवामा नारेर हलो तान्न लगाए जस्तै हो । त्यसमाथि पनि शैक्षिक संस्थाको औपचारिक अध्ययनलाई धेरै समय अगाडि नै विश्राम दिइसकेको र हरेक हिसाबले व्यावहारिक समस्याको जालोभित्र जेलिइसकेको व्यक्तिलाई अरू सबै समस्या तथा व्यावहारिकतालाई कम प्राथमिकतामा राखेर परीक्षाको लागि निर्धारित विषयवस्तुमा मात्र केन्द्रित रहेर परीक्षाको तयारी गर्न समेत धेरै कठिनाइ पर्दो रहेछ । लामो समयदेखि लेख्ने अभ्यास छुटिसकेको हुँदा मनमा आएको कुरा समेत तीन घण्टाभित्र लेखिसक्न साह्रै सकस पर्नेरहेछ ।

प्रत्येक वर्ष प्रतिस्पर्धा हुने हो भने शिक्षण पेशामा नै आवद्ध हुने मनस्थिति लिएको व्यक्तिको लागि सफलता हासिल गर्न सहज हुने तथा सफल हुन नसकेमा पनि एक पटकको असफलता अर्को पटकको परीक्षाको तयारीको लागि समेत सहयोगी बन्ने र दोस्रो वा तेस्रो पटकको प्रतिस्पर्धामा सफल हुने प्रबल सम्भावना रहन्छ ।

हुन त राजनीतिक तहमा पर्याप्त इच्छाशक्ति हुने हो भने शिक्षक सेवा आयोगलाई लोकसेवा आयोग जस्तै संवैधानिक निकायको रूपमा विकास गरी वर्षैपिच्छे हरेक तहमा रिक्त हुने शिक्षकको पदपूर्ति गर्न र बढुवा गर्न सरकारी निर्णयको मुख ताक्नु नपर्ने गरी आयोगलाई स्वतन्त्र बनाउन नसकिने होइन । तर देशको राजनीतिले नै ठोस आकार लिन नसकेको अवस्थामा राज्यका हरेक निकायहरू स्वतन्त्र र सक्षम होऊन् भन्ने कुरा हामीले कल्पना गर्ने कुरा मात्र हुनसक्छ ।

पाठ्यक्रमको तुलना
प्रश्नपत्रहरू पाठ्यक्रमअनुसार नै शिक्षणविधिसँग सम्बन्धित रहेका थिए । तर शिक्षक सेवा आयोगको पाठ्यक्रम लोक सेवा आयोगको जस्तो स्तरीय भने हुन सकेको छैन । माध्यमिक तहको शिक्षक बन्नको लागि राजपत्रांकित तृतीय श्रेणीको अधिकृत सरहको शैक्षिक योग्यता आवश्यक पर्छ र सोहीअनुसार राज्यबाट सुविधा समेत प्राप्त हुन्छ । नियुक्ति भइसकेपछि दैनिक प्रशासन संचालन गर्न अधिकृतको लागि विषयवस्तुको सैद्धान्तिक ज्ञानको त्यति धेरै जरूरी नपर्ला तर विद्यालयमा अध्यापन गर्ने शिक्षकको लागि सम्बन्धित विषयको सैद्धान्तिक ज्ञान आवश्यक पर्ने मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका विभिन्न खोज तथा शिक्षणविधिहरूसँग समेत दैनिक रूपमा अद्यावधिक भइरहनु जरूरी छ । यसको लागि शिक्षकमा हुने सैद्धान्तिक ज्ञानको परीक्षण गर्न हाल शिक्षक सेवा आयोगले व्यवस्था गरेको ‘शिक्षा सम्बन्धी आधारभूत जानकारी’ र ‘संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरू’ गरी जम्मा २० पूर्णाङ्कको वस्तुगत प्रश्न तथा ‘सम्बन्धित तहको विषय सम्बन्धी ज्ञान र सीप’ तथा ‘आधुनिक शैक्षिक प्रविधि र खोज’ गरी जम्मा ८० पूर्णाङ्कको विषयगत प्रश्न सोध्ने गरी सैद्धान्तिक परीक्षाको व्यवस्था गरिएको छ ।

त्यसका साथै ‘विषयको प्रकृति हेरी आवश्यक परेमा’ २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा र २५ पूर्णाङ्कको अन्तर्वार्ताको व्यवस्था गरिएको छ, जसमा अनुभवको लागि १२ अंक, शैक्षिक योग्यताको लागि ३ अंक छुट्याइएको छ । वास्तविक अन्तर्वार्ताको लागि जम्मा १० अंक मात्र निर्धारण गरिएको छ । अनुभवको लागि प्रदान गरिने ‘बढीमा’ १२ अंकको व्यवस्थाले १२ वर्ष भन्दा पनि बढी अवधिसम्म शिक्षकहरू सम्बन्धित तहमा अस्थायी रूपमा नै कार्यरत रहन सक्छन् भन्ने कुरालाई कानूनी रूपमा नै संरक्षण प्रदान गरेको छ । जुन कुराले शिक्षक छनोटको लागि प्रत्येक वर्ष खुला प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता र कानूनी व्यवस्थाको धज्जी उडाउने काम समेत गरेको छ ।

शिक्षक सेवा आयोगको पाठ्यक्रम लोकसेवा आयोगको समान तहको परीक्षाको लागि गरिएको पाठ्यक्रमको व्यवस्थाको तुलनामा अत्यन्तै न्यून छ । जबकि, राजपत्रांकित तृतीय श्रेणीको अधिकृतको परीक्षाको लागि हालै संशोधित पाठ्यक्रम अनुसार प्रथम चरणको प्रथम पत्र ‘प्रशासनिक अभिरूचि परीक्षण’ अन्तर्गत २०० पूर्णाङ्कको वस्तुगत प्रश्न, द्वितीय चरण अन्तर्गत दोस्रो पत्रमा ‘शासन प्रणाली’ अन्तर्गत १०० पूर्णाङ्कको विषयगत प्रश्न, तृतीय पत्रमा ‘समकालीन विषय’ अन्तर्गत १०० पूर्णाङ्कको विषयगत प्रश्न र चतुर्थ पत्रमा ‘ऐच्छिक विषय’ अन्तर्गत १०० पूर्णाङ्कको वस्तुगत प्रश्न गरी जम्मा ५०० पूर्णाङ्कको सैद्धान्तिक प्रश्न सोध्ने व्यवस्था गरिएको छ । त्यसैगरी अन्तिम परीक्षा अन्तर्गत ६५ पूर्णाङ्कको ‘सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता’ को समेत व्यवस्था गरिएको छ । शिक्षक सेवा आयोगको पाठ्यक्रमलाई समेत कम्तीमा पनि १०० पूर्णाङ्कको वस्तुगत र १०० पूर्णाङ्कको विषयगत प्रश्न समेट्ने गरी विकास गरिनु जरूरी छ ।

तसर्थ, शिक्षक सेवा आयोगलाई अधिकारसम्पन्न बनाउनुको साथै यसको पाठ्यक्रमलाई समेत सुधार र परिमार्जन गरी यसको माध्यमबाट प्रत्येक वर्ष योग्य, क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई शिक्षण पेशामा प्रवेश गराउन सके विद्यालय तहको शैक्षिक गुणस्तर अभिवृद्धिमा यसको सकारात्मक प्रभाव पर्ने थियो ।



 

commercial commercial commercial commercial