शिक्षणको ब्याङ्किङ–अवधारणा र हामी शिक्षक

विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि नेपालमा आधारभूत तहको शिक्षक हुनका लागि शिक्षा विषय लिएर कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्दछ । कक्षा-११ र १२ को शिक्षा विषयमा बालमनोविज्ञान, शिक्षण विधि, मानव वृद्धि/विकास, मूल्याङ्कन विधि, पाठ्यक्रम जस्ता विषयवस्तु समावेश गरिएको हुन्छ । यी विषयसँगै कक्षा १२ उत्तीर्ण गरेर मात्र पनि शिक्षक बन्न सकिंदैन । अध्यापन अनुमति पत्रको अलग्गै परीक्षा पनि उत्तीर्ण गर्नुपर्दछ । त्यसपछि बल्ल शिक्षक आयोगको परीक्षामा बस्न पाइन्छ । आयोगको लिखित र मौखिक परीक्षा उत्तीर्ण गरेर मात्रै पुग्दैन; शीर्षस्थानमै नाम निकाल्न सक्नुपर्दछ । यसरी शिक्षण पेशामा प्रवेश गरेको शिक्षकले पाँच वर्षभित्र शिक्षा मन्त्रालयले तयार पारेको प्याकेज अनुसार तीसदिने शिक्षकको पेशागत विकास (Teachers' Professional Development–TPD) तालीम पनि पूरा गर्नुपर्दछ ।

ठीक यसैगरी माध्यमिक तहका शिक्षकले अध्यापन विषयमा नै कम्तीमा शिक्षामा नै स्नातक र उच्च माध्यमिकका लागि स्नातकोत्तर सँगसँगै सम्बन्धित तहको अध्यापन अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ । २०५२ पछि स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोग नखुले पनि (यद्यपि यस वर्ष केही दरबन्दीका लागि आयोग खोलिएको छ ।) विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरणको नीति लागू भएपछि विद्यालयले नै विशेषज्ञहरूको टोली बनाई लिखित र मौखिक दुवै परीक्षा प्रक्रिया पूरा गरेर मात्र शिक्षकलाई नियुक्ति दिने गरिएको छ । त्यसपछि पनि टीपीडी, प्रधानाध्यापक तालीम जस्ता विभिन्न तालीमहरू पूरा गरेको हुनुपर्दछ । सामुदायिक विद्यालय तहका १७ किसिमका शिक्षकहरूमध्ये स्थायी, अस्थायी र अनुदान (राहत) शिक्षकहरूमध्ये ९८ प्रतिशतले यस्ता तालीम प्राप्त गरिसकेका छन् । सबै प्रक्रिया पूरा गरेर नियुक्ति पाएका यति ठूलो संख्याका शिक्षकहरू स्वाभाविक रुपमै योग्य, क्षमतावान, पोख्त हुनुपर्ने हो ।


‘ब्याङ्किङ अवधारणा’मा पैसा जम्मा गरे जस्तै शिक्षकहरू विद्यार्थीमा ज्ञान जम्मा गर्ने काम गर्दछन् । यहाँ शिक्षक जम्माकर्ता बन्दछ भने विद्यार्थी पैसा राख्ने सन्दूक । शिक्षकले संप्रेषण गर्नुभन्दा पनि विज्ञप्ति जारी गर्दछ । उसले जुन चीज जम्मा गर्दछ विद्यार्थीले धैर्यपूर्वक ग्रहण गर्दछ, घोक्छ, दोहोर्‍याउँछ ।


तर पनि यसरी सबै प्रक्रिया पूरा गरेर नियुक्ति लिएका नेपालका शिक्षकहरूमाथि सिकाइ उपलब्धिलाई लिएर औंला ठड्याइने गरेको छ । हुन त नेपालमा सिकाइ उपलब्धिको मुख्य आधार परीक्षाको परिणाम हुने गरेको छ । जबकि परीक्षा परिणाम मात्र नभएर विद्यार्थी शिक्षित भएपछि उसको समग्र जीवन पद्धतिमा आएको रूपान्तरणलाई उसको सिकाइ उपलब्धि मापनको आधार बनाइनुपर्ने हो । विश्वका धनी राष्ट्रहरूको क्लब अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी)का सदस्य देशले प्राविधिक र व्यावसायिक शिक्षा भन्दा प्राज्ञिक शिक्षालाई महŒव दिंदै शिक्षा प्राप्त गरेकाहरूको रोजगारी र आर्थिक विकासको सूचकांकलाई चाहिं सिकाइ उपलब्धिको आधार मान्ने गरेका छन् ।

नेपालमा पनि शैक्षिक उपलब्धि मापनको आधार रोजगारी र आर्थिक विकासलाई मान्ने हो भने यहाँ शिक्षाले बेरोजगार उत्पादन बढी गरेको पाइन्छ । जहाँसम्म आर्थिक विकासको कुरा छ; देशको गार्हस्थ्य उत्पादन (जीडीपी) को ३७ प्रतिशत विप्रेषणले ओगटेको छ । देशको ठूलो जनशक्ति विदेश पलायन भएको छ । देश गरीब भएर होइन । सबैभन्दा महँगो, उपयोगी धातु युरेनियमको पहाडमाथि बनेको झुप्रोमा क्यान्सर पीडित आमाबाबुलाई मृत्युको पर्खाइमा छाडेर सन्तान ४८ डिग्री सेल्सियसको तातोमा १८ घण्टा काम गर्न अरेबियन देश पुग्नुको मुख्य दोषी पनि हाम्रो शिक्षा नै हो ।  शिक्षकलाई शैक्षिक सुधारको कुञ्जी मान्ने हो भने यी समस्याको मूल जरो शिक्षकमै आएर ठोकिन्छ । त्यसमा पनि शिक्षकको शिक्षण विधि समस्याको मुख्य जड हुन आउँछ ।

केही ‘बौद्धिक’हरूले योग्य व्यक्ति शिक्षण पेशामा आएनन् भन्ने आरोप लगाउने गरेका छन् । तर, शिक्षक बन्नका लागि जुन योग्यता, क्षमता, दक्षताको आवश्यकता पर्दछ ती सबै प्रक्रिया अधिकांश शिक्षकले पूरा गरेकै हुन्छन् । सँगै; कक्षाकोठामा शिक्षकहरूबाट उपयुक्त शिक्षणविधिको प्रयोग नभएको पनि उत्तिकै सत्य हो ।

सन् १९७० मा प्रकाशित किताब ‘पेडागोजी अफ अप्रेस्ड’ मा चर्चित शिक्षाविद् पाउलो फ्रेरेले शिक्षकहरूका बारेमा यस्तो टिप्पणी गरेका छन्ः
क–    शिक्षकले पढाउँछ, विद्यार्थी पढाइन्छ ।
ख–    शिक्षकले सबै जानेका हुन्छन् र विद्यार्थीले केही पनि जानेका हुँदैनन् ।
ग–    शिक्षकले चिन्तन गर्दछन् र विद्यार्थीका बारेमा चिन्तन गर्दछन् ।
घ–    शिक्षक बोल्दछन् र विद्यार्थीहरू शान्त भएर सुन्दछन् ।
ङ–    शिक्षकले अनुशासन लागू गर्दछन् र विद्यार्थीहरू अनुशासित हुन्छन् ।
च–    शिक्षक आफ्नो इच्छाको मालिक हो, उ आफ्नो इच्छामा चल्दछ । विद्यार्थीले शिक्षकको इच्छा अनुसार चल्नु पर्दछ ।
छ–    शिक्षकले कर्म गर्दछ र विद्यार्थी शिक्षकको कर्म अनुसार सक्रिय भएको भ्रममा पर्दछ ।
ज–    शिक्षकले पाठ्यक्रम बनाउँछ (पाठ्यक्रम बनाउँदा विद्यार्थीसँग कुनै सल्लाह लिइँदैन ।) त्यही पढ्नुपर्दछ ।
झ्–    शिक्षकले आफ्नो पेशागत अधिकारलाई ज्ञानको अधिकार सम्झिन्छ (स्वयंलाई आफ्नो विषयको आधिकारिक विद्वान सम्झिन्छ) र त्यस अधिकारलाई विद्यार्थीको स्वतन्त्रताको विरुद्ध प्रयोग गर्दछ ।
ञ–    शिक्षक सिकाइ प्रक्रियाको कर्ता हो र विद्यार्थीहरू नितान्त कर्म हुन् ।

आजभन्दा ४३ वर्ष अगाडि शिक्षकका बारेमा गरिएका माथिका बुँदा नेपालका मात्र होइनन् विश्वभरिका शिक्षकमा लागू हुन्छन् । यहाँ प्रश्न उठ्छ, शिक्षकहरूमा यस्ता समस्या किन देखा परे त ? यसको मुख्य कारण हो— शिक्षकले विद्यालय, विश्वविद्यालयको शिक्षा र तालीम प्राप्त गर्दै गर्दा उसले जे सिक्यो त्यही सिकाइले उसलाई यस्तो बनाएको हो । पाउलो फ्रेरेले शिक्षकहरूमाथि जुन आरोप लगाएका छन्; ती सही छन् । सँगै; उनले शिक्षण विधिमा पनि त्यत्तिकै गहिरो समस्या देखाएका छन् । उनले अहिलेको शिक्षण विधिको अवधारणालाई ‘ब्याङ्किङ पद्धतिको शिक्षण विधि’ भनेका छन् ।

ब्याङ्किङ पद्धतिका बारेमा केही कुरा गरौं । विद्यालयहरूमा अहिले शिक्षक र विद्यार्थीहरूबीचको सम्बन्धको चरित्र वर्णनात्मक हुने गर्दछ । वर्णनकर्ता शिक्षक हो भने विद्यार्थीहरू निर्जीव वस्तुतुल्य श्रवणकारी, धैर्यवान, असल श्रोताको भूमिकामा हुन्छन् । अहिलेको शिक्षा यस्तै वर्णनको रोगबाट पीडित छ । शिक्षक यसरी बोलिरहन्छ, मानौं उसले बोलेका सबै विषयहरू यथार्थ मात्रै हुन् । शिक्षकले यस्तो विषयको प्रतिपादन गर्दछ, जसले विद्यार्थीको अस्तित्वगत अनुभवमा कुनै सम्बन्ध राख्दैन । शिक्षकको काम हो आफ्नो वर्णनको अन्तरवस्तुले विद्यार्थीलाई ‘भरिदिने’ ।

यस्तो वर्णनात्मक शिक्षाको प्रमुख विशेषता भनेको शब्दको मीठो धुन निकाल्नु हो । त्यसले व्यक्तिको रूपान्तरणमा कुनै योगदान पुर्‍याउँदैन । जस्तो; गणितमा “चार चौको सोह्र, रासायनिक विज्ञानमा पोटासियमको फर्मुला प्, सामाजिकमा पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा हो ।” विद्यार्थीले शिक्षकबाट सुनेका यस्ता कुराहरू जबसम्म कण्ठ हुँदैन तबसम्म दोहोर्‍याउँदछ । वास्तवमा विद्यार्थीलाई पश्चिमाञ्चल विकास क्षेत्र भनेको के हो, पोटासियमलाई किन प् लेखियो, सदरमुकामको अर्थ के हो र नेपालको सन्दर्भमा पोखराको स्थान कहाँ छ ? जस्ता प्रश्नले छुनै सकेका हुँदैनन् । नबुझिकनै उसको दिमाग भरिरहेको हुन्छ ।

वर्णन (जहाँ शिक्षक वर्णनकर्ता हुन्छ)ले विद्यार्थीलाई वर्णित वस्तुलाई यान्त्रिक ढंगले रटान लगाइरहन लगाउँछन् । त्यो भन्दा पनि नराम्रो कुरा के हो भने वर्णन विधिले विद्यार्थीलाई भाँडोमा परिणत गर्दछ, जसलाई भर्ने काम शिक्षकले गर्छन् । जसले जति धेरै त्यस्ता भाँडो भर्न सक्छ ऊ त्यत्ति नै राम्रो शिक्षक कहलिन्छ । जो जति दब्बूपनका साथ स्वयंलाई भर्न दिन्छ ऊ त्यत्ति नै राम्रो विद्यार्थी ठहरिन्छ ।

यसप्रकारले ‘ब्याङ्किङ अवधारणा’मा पैसा जम्मा गरे जस्तै शिक्षकहरू विद्यार्थीमा ज्ञान जम्मा गर्ने काम गर्दछन् । यहाँ शिक्षक जम्माकर्ता बन्दछ भने विद्यार्थी पैसा राख्ने सन्दूक । यसमा शिक्षकले संप्रेषण गर्नुभन्दा पनि विज्ञप्ति जारी गर्दछ । उसले जुन चीज जम्मा गर्दछ विद्यार्थीले धैर्यपूर्वक ग्रहण गर्दछ, घोक्छ, दोहो¥याउँछ । शिक्षाको ब्याङ्किङ अवधारणामा विद्यार्थीको सक्रियताको गुञ्जाइस त्यति मात्र हुन्छ जति सक्रियता बचत गरिएका चीजहरू ग्रहण गर्न, फाइलिङ गर्न र सम्हालेर राख्न आवश्यक हुन्छ । किनभने जम्मा गरिएको सूचना उसले चाहेको बेला निकालेर खर्च पनि त गर्नुपर्छ ।

यो अवधारणामा आफूलाई बुद्धिमान भएको सम्झ्निेहरूले नितान्त बुद्धि नभएकाहरूलाई दिएको ज्ञानलाई उनीहरूले दिएको एउटा उपहार ठान्दछन् । अरूलाई कत्ति पनि बुद्धि नभएको भन्ने ठान्नु उत्पीडनकारी विचारधारा हो । यसले शिक्षा र ज्ञानलाई जिज्ञासाको प्रक्रियाका रूपमा स्वीकार्दैन । शिक्षकले आफूलाई विद्यार्थीका सामु विपरीत रूपमा प्रस्तुत गर्दछ । विद्यार्थीलाई हदै दर्जाको अज्ञानी सम्झेर आफ्नो अस्तित्वको औचित्यलाई सिद्ध गर्दछ ।

स्वतन्त्रतावादी शिक्षाको उद्देश्य शिक्षक र विद्यार्थी बीचमा सामञ्जस्य उत्पन्न गर्ने हो । शिक्षाको सुरुआत शिक्षक र विद्यार्थीहरूबीचको अन्तर्विरोधको समाधानबाट हुनुपर्दछ । यस विधिमा अन्तर्विरोधका दुई ध्रुवहरू मिल्छन्, र शिक्षक–विद्यार्थी दुवै एकै साथ शिक्षक र विद्यार्थी बन्न पुग्दछन् । यस्तो समाधान शिक्षाको ब्याङ्किङ अवधारणामा पाउन सकिंदैन ।

ब्याङ्किङ शिक्षाले विद्यार्थीको सिर्जनात्मक शक्ति कमजोर बनाइदिन्छ वा समाप्त नै गरिदिन्छ । त्यसले गर्दा विद्यार्थीहरू जे कुरालाई पनि छिट्टै विश्वास गर्ने बन्छन् । यस्तै विश्वासका कारण उनीहरूलाई समाज–विश्वप्रति कुनै पर्वाह हुँदैन । विश्वप्रति कुनै पर्वाह नहुनु भनेको वास्तविकता थाहा नपाउनु हो । विश्व रूपान्तरणमा सरोकार नराख्ने भएकाले उनीहरू उत्पीडकहरूको हित अनुकूलको साधन बन्न पुग्दछन् । उत्पीडकले लाभ उठाइराख्नका लागि ‘मानवतावाद’को प्रयोग गर्दछन् । जबकि नैसर्गिक रूपमा नै विद्यार्थीको आलोचनात्मक क्षमता वृद्धि गर्ने अधिकार हुँदाहुँदै एउटा कुरासँग अर्को कुरालाई र एउटा समस्यासँग अर्को समस्यालाई जोड्ने शिक्षाको खोजी र प्रयोग गर्ने विधिको विरोध गरिन्छ ।

सिमोन द बुबाले भनेका छन्, “उत्पीडितहरूको चेतना बदल्ने हो न कि उनीहरूको उत्पीडन गर्ने स्थिति बदल्ने ।” किनभने जति अनुकूल वातावरण बनिराख्दछ उति नै प्रभुत्व जमाइराख्न सकिन्छ । उत्पीडकले शिक्षाको ‘ब्याङ्किङ अवधारणा’लाई कर्मकाण्डमा पाठ गर्ने मन्त्रको रूपमा प्रयोग गर्दछन् ।

अहिले शिक्षक बनेको व्यक्ति पनि त्यही ‘ब्याङ्किङ अवधारणा’ ग्रहण गरेर आएको हो । विद्यायल, विश्वविद्यालयमा प्रयोग गरिने शिक्षण विधि त्यही ब्याङ्किङ पद्धति नै हो । उदाहरणका लागि शिक्षा शास्त्रमा पढ्नुपर्ने सिकाइ सिद्धान्तलाई लिन सकिन्छ । सिकाइको शास्त्रीय सम्बन्ध प्रत्यावर्तनमा पाभ्लोभको कुकुरमाथिको प्रयोग, क्रियापरक सम्बन्ध प्रत्यावर्तनमा स्कीनरको मुसामाथिको प्रयोग र अन्तरदृष्टिको सिकाइमा कोहलरको चिम्पाञ्जीमाथिको प्रयोग जनावरलाई शिक्षित बनाउन थिएन । ती त केवल तालीम दिन मात्र थिए । यी तीन वटा जनावरबीच केही समानता छन् । यी स्तनधारी त पक्कै हुन् । तर उनीहरूको विकासक्रममा ठूलो भिन्नता छ । जस्तै जीव–विज्ञानको वर्गीकरण अनुसार मुसाको अर्डर रोडेम्पिया, जेनस् र्‍याटस् र स्पेसिस् नोभिडिकस् हो । क्रमशः कुकुरको कार्निभोरा, क्यानिफ, लुपुस र चिम्पाञ्जीको रिम्याटेस्, प्यान र ट्रोग्लोडाइटस् हो । यी तीन वटा जनावरको दिमागको विकासको प्रकृतिमा ठूलो भिन्नता रहेको छ । त्यसैले तालीमप्राप्त गर्न सरलबाट जटिलतातिर गएको छ । तर पनि यिनीहरू जनावर नै हुन् । त्यसैले यिनीहरूलाई सिकाउनका लागि तालीम दिनु नै पर्दछ । मान्छेलाई सिकाउनको लागि पनि यही प्रक्रिया अपनाइयो अर्थात् तालीम दिने काम गरियो भने जति सिकाइयो त्यत्ति मात्र सिक्दछ । शिक्षकले जति बचत गर्‍यो त्यत्ति नै विद्यार्थीको दिमागमा जम्मा हुन पुग्दछ । आजका नेपाली शिक्षकले तालीम त पाएका छन् तर शिक्षा पाउन सकेनन् । वास्तवमा, मान्छेलाई तालीम होइन, शिक्षा दिने हो । शिक्षकले विद्यार्थीलाई सिकाउने होइन कि सिक्ने वातावरण बनाइदिने हो ।

शिक्षकले आफूले पढ्दा र तालीम लिंदा सिक्न पाएन । घोक्ने, दोहोर्‍याउने, बहस गर्ने, प्रवचन दिने, क्रमबाटै उनीहरू आए । पछिल्लो क्रममा विकास गरिएको भनिएको परियोजना कार्य वा प्रविधिका रूपमा प्रयोग गरिएका मल्टिमिडियाहरूले तालीम नै दिन्छन् । सबै व्यक्तिहरू भिन्न हुन्छन् भनेर पढिन्छ । तर सबैलाई एउटै पढाइन्छ । जबकि मान्छेको सिकाइ फरक–फरक हुन्छ । सानैदेखि ‘डिस्लेक्सिया’ले ग्रसित आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्तको आविष्कार गरे । आइन्स्टाइनलाई उनका शिक्षकले पढ्न नसक्ने विद्यार्थीका रूपमा चित्रित गरेका थिए । ‘एमियोट्रोफिक ल्याटेरल सिरोसिस्’ अथवा ‘मोटोर न्यूरोन’ रोगले ग्रसित स्टेफन हकिङ एक्काइसौं शताब्दीमा भौतिकीको एकताको नयाँ सिद्धान्त प्रतिपादन गर्दैछन् । अहिलेसम्म पढाइएको सिकाइ मनोविज्ञानले मानसिक रोगीले केही पनि गर्न सक्दैन भन्दछ । तर यी दुईवटा उदाहरणले हामीले पढ्दै आएको मनोविज्ञान, मानव वृद्धि र विकासको अवधारणालाई ठाडो चुनौती दिएका छन् । शिक्षण सिकाइका यिनै प्रक्रिया पार गरेर आएको शिक्षकले कस्तो पढाउँदछ त ?

यी तथ्यले हामीले लिने तालीम/शिक्षण विधिहरूमा ठूलो परिवर्तन ल्याउनुपर्दछ भन्ने पुष्टि गर्दछन् । यतिका कुरा थाहा हुँदाहुँदै पनि; दुःखको कुरा हामीले नयाँ शिक्षण विधिको खोजी गरेनौं । शिक्षकले पेशागत मागहरू पूरा गरेन भनेर सरकारका विरुद्ध आन्दोलन गरिराखेका छन् । मर्यादित पेशाको सुनिश्चितता र शैक्षिक सुधारका मागहरू पूरा नभएका कारण सरकारको विरोध गर्दै आएका छन् । नोकरशाहीतन्त्रमा टिकेको सरकारले ‘शिक्षकले राम्रो पढाएन’ मात्र भन्दछ । शिक्षाविद्हरू पनि सरकारी गैरसरकारी संस्थाका कन्सल्ट्यान्ट वा कुनै निजी विद्यालयका ‘ब्राण्ड एम्ब्यास्डर’ बन्न पुगे । आफू पनि एउटा शिक्षक हो भन्ने भुलेर यिनीहरू शिक्षकहरूलाई गाली गर्नमा समय बिताउँछन् । यसरी शिक्षकले सरकारको विरोध गर्ने, सरकारले शिक्षकको विरोध गर्ने र स्वघोषित शिक्षाविद्हरूले शिक्षकको विरोध गर्ने गरेका छन् ।             

नेपालको शिक्षाप्रति थोरै पनि सरोकार राख्नेहरूले अब आलोचनामा समय खेर नफालौं । शिक्षकहरूले नै निधार खुम्च्याउँ कि ? मानवतावादी र क्रान्तिकारी शिक्षकले सम्भावनालाई यथार्थमा परिणत गर्न सधैंभरि पर्खिइरहन सक्दैन । शिक्षक र उसको विद्यार्थी आलोचनात्मक चिन्तन र पारस्परिक मान्छे बन्ने अन्वेषणमा संग्लन हुन सकोस् भन्नका लागि शुरूदेखि नै उसको प्रयास विद्यार्थीहरूको प्रयाससँग मेल खाने हुनुपर्दछ । यसका लागि आफ्ना विद्यार्थीहरूसँग यस्तो सम्बन्ध बन्नुपर्दछ कि उनीहरू साझ्ेदार हुन सकुन् । शिक्षण विधि साझ्ेदारी हुनुपर्दछ । बुझनुपर्ने कुरा के हो भने, ब्याङ्किङ अवधारणामा शिक्षक–विद्यार्थी साझेदारीका लागि कुनै स्थान हुँदैन ।

साझेदारी शिक्षा पद्धतिमा शिक्षामा सूचना हस्तान्तरण गरिंदैन, बरु संज्ञानको काम गरिन्छ । शिक्षकले विद्यार्थीलाई पढाउने मात्र होइन कि विद्यार्थी–शिक्षकसँग, शिक्षक–विद्यार्थीसँग संवाद गर्दा उनीहरूसँग पढ्छन् । विद्यार्थीहरू पनि शिक्षकसँग संवाद गर्दागर्दै पढ्छन् र सँगसँगै पढाउँछन् पनि ।

असल शिक्षकले ‘समस्या–उठाऊँ’ शिक्षा पद्धति अनुसरण गर्नुपर्दछ । ‘समस्या–उठाऊँ’ शिक्षा पद्धतिमा शिक्षक र विद्यार्थीलाई दुई फ्याक बनाइँदैन । किनभने शिक्षक एक ठाउँमा संज्ञानात्मक र अर्को ठाउँमा विवरणात्मक हुँदैन । शिक्षक जहिले पनि, चाहे परियोजना तयारीमा होस् चाहे विद्यार्थीसँग सम्वाद गरिराखेको होस्— संज्ञानात्मक हुन्छ । शिक्षकले संज्ञेय वस्तुहरूलाई निजी सम्पत्ति मान्दैन । बरु ऊ विद्यार्थीले विचार गर्ने बस्तु सम्झ्न्छि । विद्यार्थी दब्बु श्रोता भएर बस्दैन, शिक्षकले संवाद गर्दा आलोचनात्मक र सह–अनुसन्धानकर्ता भएर बस्दछ । शिक्षकले विद्यार्थीहरूलाई विचारार्थ सामग्री प्रस्तुत गर्दछ । यसरी शिक्षकले प्रस्तुत गरेको सामग्री माथि विद्यार्थीले आफ्नो पुरानो धारणालाई पुनः परीक्षा गर्दछ । ‘समस्या–उठाऊँ’मा शिक्षकको भूमिका विद्यार्थीसँग मिलेर यस्तो परिस्थिति उत्पन्न गर्ने हो जहाँ विद्यार्थी जमेर रहेको कट्टर विचारको स्तरबाट माथि उठेर ज्ञान तर्कको स्तरमा उक्लिन सकून् ।

विद्यार्थी जब जब स्वयंलाई विश्वमा र विश्वको साथमा नै रहेर उपन्न समस्याहरूको सामना गर्न थाल्दछ, ऊमाथि अधिक चुनौती थपिंदै जान्छन् । उसले यी चुनौतीहरूलाई सामना गर्नु आफ्नो कर्तव्य सम्झ्नि पुग्दछ । यहाँसम्म पुग्दा विद्यार्थीले समस्या/चुनौतीको सामना केवल सैद्धान्तिक रूपमा मात्र गर्दैन बरु समग्र सन्दर्भमा अन्य समस्याहरूलाई सम्बन्धित चुनौतीको रूपमा गर्दछ । यस्ता परिणामहरूले विद्यार्थीको सोचाइलाई अधिकतम आलोचनात्मक बनाउँदछ । यसले परम्परागत शिक्षण विधिका कारण उत्पन्न शिक्षक–विद्यार्थी बीचका अन्तर्विरोधहरू घट्दै जान्छन् । शिक्षक र विद्यार्थीलाई एकअर्काबाट अलगथलग गर्ने प्रक्रियामा न्यूनीकरण आउँछ । जब विद्यार्थीले विद्यमान चुनौतीको समाधान खोज्दछन् पुराना चुनौतीहरू घट्दै जान्छन् र उनीहरूसामु नयाँ नयाँ चुनौती थपिंदै जान्छन् । विकास भनेको पुराना समस्याहरूको समाधान र नयाँ समस्याहरूको उजागर हुनु हो । यसबाट नै नयाँ नयाँ सुझबुझ उत्पन्न हुन्छन् र विद्यार्थीले आफूलाई विस्तारै प्रतिबद्ध बनाउँदै जान्छन् । यो शिक्षण विधि अपनाएमा विद्यार्थी मेकालेले बनाउन खोजेको केवल क्लर्क वा कारिन्दा बन्दैन । ऊ रूपान्तरण कर्ता, जीवन्त जीवनको खोजकर्ता हुन पुग्दछ । यहाँ आफ्ना पेशागत समस्याहरूसँग जुध्दै नयाँ नयाँ शिक्षणविधिको विकास गर्ने दायित्व पनि शिक्षकहरूको हो भन्ने बुझनु जरूरी हुन्छ ।

commercial commercial commercial commercial