आधुनिक शिक्षक

प्रख्यात साहित्यकार इन्द्रबहादुर राईले ६३ वर्ष पहिले लेख्नु भएको यो निबन्धले त्यसबेलाको दार्जीलिङको सामाजिक परिवेश, शिक्षक र शिक्षण पेशाप्रतिको दृष्टिकोण तथा नेपाली भाषाको स्वरूप र शैलीको झ्ल्को दिन्छ । त्यतिबेला राम्रो ख्याति कमाएको नेपाली मासिक भारती (वर्ष २, संख्या १, जुलाई, १९५०) मा पहिलो पटक प्रकाशित ‘आधुनिक शिक्षक’ निबन्ध हामीले विजयकुमार राईद्वारा सम्पादित तथा निर्माण प्रकाशन, नामची, सिक्किमबाट प्रकाशित इन्द्र सम्पूर्ण (ग्रन्थ—४) बाट लिएका हौं । यस निम्ति अध्येता महेश्वर आचार्यलाई विशेष धन्यवाद दिन्छौं । —सं.

“केटौले छ, कालेज भर्खर सकेर आएको । गोजीमा हात हालेर बेसरी सुसेल्छ, जोश त्यस्तो छ ! सबैले अवश्यै उसलाई देखेको हुनैपर्छ— कोही बेला ऊ आफ्नो जातीय पोशाकमा जम्केको हुन्छ । जिद्दीवाल र मुश्किलको मान्छे छ । मिलनसार र हँसमुख पनि उत्तिकै छः उसको मीत्यारी पाउनु तल्लो कलम पनि १७५ रु. को लक्कू हात पार्नु हो । खूबै खुशदिल पनि छ, क्लासै हँसाइरहन्छ । केटाहरूको साह्रै प्यारो । हेडमास्टरलाई तर ऊ आपद् खेलाउँछ, हजार बहाना पार्छ । पत्यार नपरे उसलाई पर्वाह छैन । सबैले पत्याइदिन्छन् ! एकछिन गुण साह्रै मान्छ । तिनलाई यसो हेर्दा सुर्ता रत्ति छैन जस्तो, सधैं तर ऊ आफूसँग असन्तुष्ट छ । आज हुन्छ हाम्रो समाजको अत्याधुनिक उत्पत्ति, सन्तान उसको वर्षेनि बढ्दो छ ।

शिक्षक ऊ जो हो— न्याय तोड्दैन, ऊ सेखी गर्छ— अरूलाई सर्काइ—फर्काइ गर्न उसलाई आउँदैन, ‘छु’ ताउ दिनेलाई ऊ छोड्दैन, कम ऊ आफूलाई कसैभन्दा मान्दैन । पछि ऊ के हुन सक्दैन ? — धनी, ठूला, प्रसिद्ध सब ऊ सहजै हुन सक्छ । अहिलेलाई पो उसको हालत शरणार्थीको भन्दा खराब छ । फकीर जस्तै तर ऊ खुशी छ ।

मृत्युपछि नै यदि धन्य भनिने भए पो के भयो र ? बाँचुञ्जेलमै केही होस् त्यो हो पाइएको मरेपछि क्रास दिइए, थमान गुरुङ र थापाज्यूलाई घमण्ड के भयो ? मरी सकिएपछि प्रसिद्धि चल्यो, बाइरन र कीट्सलाई गर्व के भयो ? तिम्रो सुन्दर टाउको गिंडिएपछि स्वराज भए मजा तिमी के पाउँथ्यौ ? गरेका कामको तत्कालै आनन्द आओस्, पाइने त्यत्ति हो । तिनले यसैले आफ्नो अत्यन्त भौतिकतामा गुरुगिरी गर्न रोजेको छ । यत्रो संसारमा शिक्षक नै यस्तो एउटा पेशा छ जसमा परिश्रमको साफल्य काम गर्दै तिमी अनुभव गर्छौ । बुझाउन सक्यौ, चाख जगाइदिन सक्यौ, क्लासका हरेकको उज्यालो भएको अनुहारमा र चम्केका आँखामा तिमी आफ्नो सफलता पौरिरहेको देख्छौ, आफूलाई सफल प्रत्यक्ष प्रमाणित पाउँछौ । — यसो भनेर पनि आफ्नो स्थिति उसले विवेचित पार्छ !

नजानेको कुरा आजको हाम्रो शिक्षकले शायद केही छँदै छैन । एडगर एलन पोको कुन कथामा उसले केही भन्न सक्तैन ? कार्ल माक्र्सको कुन सिद्धान्त होला जसको खण्डन गर्न ऊ नसकोस् ? धर्मका कुनै पनि शास्त्रीलाई ऊ उल्टो देखाइदिन्छ । चर्चा—चक्रमा कसरी उसले प्रश्नका कस्तो कस्तो अत्तोहरू थाप्छ । नसुनेको कुरा पनि हाम्रो तरुण शिक्षकले आज केही हुँदै हुँदैन । आउँदो चुनाउमा को—को उठ्ने उसले रंग पाइसकेको छ, उसका प्रिय साथीको कोसँग छ— के गर्नु, उसले त्यो पनि सुनिहाल्यो ! आधुनिक शिक्षक डाँडामा उभ्याएको लामो भोटे धजा जस्तो छ जसलाई समाजमा बहेको हरहावाले हल्लाउनै पर्छ, खबर छाडिराख्नै पर्छ । के प्राणी हो, बुझ्एिन !

बासी सत्य नै दोहोर्‍याइरहने, उही नेपोलियनको त्यही कथन, त्यही राबर्ट ब्रुसको उही उदाहरण दिने छन् पुराना गुरु; हिजो मात्र घटेको ताजा खबर, भोलि होइजाला जस्ता सम्भावनाहरू ल्याइदिएर बुझउँछ आधुनिक शिक्षक । पाठको हरेक शब्द उधिनेर व्याख्या गर्नमा पुराना गुरु आफ्नो घमण्ड फुँक्छन्; जहाँ हुन्छ ग्रन्थकारदेखि आफ्नो मतभेद उखाउनैमा आधुनिक शिक्षक सान सम्झन्छ । भौं होच्याइको अधबेस्रोपन यसकारण यदि ती गुरुहरूमा ज्यादा भए टाउको हल्लाइको चुरीफुरी पनि यी शिक्षकहरूमा कम छैन । जहाँ पुराना गुरु शिष्यहरूदेखि सत्कार माग्छन्, अलग्ग बस्छन्, आफ्ना व्यक्तिगत कुराका शिरपुच्छर छोप्छन्, आधुनिक शिक्षक खुला छ, केवल केटाहरूको खुला मन र सच्चाइ खोज्छ, मिसिन्छ । ऊ भन्छ “म लुकाउँदिन । मेरो विषयमा जे जति साँचो छ जसले पनि जानोस् ।”

गुरुको ठूलो जहान देखेर पनि आधुनिक शिक्षक नाक कुच्याउँछ । शायद उसको अठोट अर्कै होला !
आधुनिक शिक्षकलाई समाजले फुर्सत लिन दिंदैन । बिदाको, शोकको कि स्वागतको सभामा वा जयन्तीतिर उसको उपस्थिति प्रार्थनीय छ । भएन, आफैं पनि रहरे र युवापनको रौसे छ— मेला, सिनेमा, क्लब र जमघट जहाँ पनि उसले भियाउनै पर्छ । आफ्नो सानो तलब उसले दुवै हातले छर्छ । छ भने दानी ऊ पनि हर्षवद्र्धन बराबर । के छ र ? — कारण घर सघाउनु अहिले उसको भारा होइन, उसमाथि ऊ दोग्लो निकै दिन बितेरै हुन्छ । अन्त पनि संसारमा सबभन्दा असफल खजाञ्ची उही रहेको होला । बबुरो “डबल टोट” लगाइहेर्छ, “आइरिस स्वीप” हेरिहेर्छ— भाग्य कहीं भरी बज्दैन । झण्डा—दिवसमा ऊ साना नानीहरू हेरिहिंड्छ । बिचरा, ठूला बहिनीहरू देखे जे पर्छ कुद्छ । यति हुँदै पनि उसलाई साहित्यको तिर्खा छ, “क्षितिजमा बादल”— को वर्णन गरिहाल्छ; उब्रेपाब्रेको अवकाश— सम्पादकहरूको ‘साग्रह निवेदन’ मुर्दावाद होस्— त्यसैमा जान्छ ।

यो शिक्षक अघि जब छात्र थियो, लहसो लागेर सरको प्यारो हुन खोज्ने उसको साथीको ऊ शत्रु थियो । आज त्यसैले टासिन आउने उसको विद्यार्थीलाई ऊ फेरि—फेरिको प्रोत्साहन दिंदैन । कारण जुन अन्याय खपेको थियो हातमा मौका आएको बेला त्यसदेखि अरूलाई जोगाइराख्ने उसले मनभित्र पक्का गरेको छ । शिक्षकसँग होइन साथीहरूसँग नै एक भई मिल्ने शिक्षार्थी उसलाई साह्रै राम्रो लाग्छ । उसले मुखबाट निकालेको हर कुरामा ‘ऐ’ थप्ने छात्र पनि उसको आदर्शको होइन । उसको कालेज जीवन एउटा विद्रोही विद्यार्थीको इतिहास हो ।

आज्ञाकारित्व शर्तहीन गुण हो— यो ऊ मान्दैन; बरु आज्ञाकारित्व, उसको परिभाषामा, मानिसका प्राथमिक गुणहरू मध्येको हो । केवल आज्ञाकारीले उन्नति गर्छ— वास्तविक जीवनमा यसको य.प्र.आ. उसले भेटेन ।

ईश्वरले आफ्ना अनुरुपमा मानिसलाई बनाए, धर्मको एक पृष्ठले कहन्छ, होइन, रशेलले भन्छन्— मान्छेले बरु आफ्नो अनुरुपमा ईश्वरको कल्पना ग¥यो; एउटा राष्ट्रले सानो अर्को राष्ट्रलाई आफ्नै अनुरुपमा बसाल्न खोज्छ— लुइ फिसरको कथन छः शिक्षककै अनुरुपमा जम्मै क्लास अनुप्राणित हुनु उसो भए के असम्भव होला ? आफ्ना–आफ्ना घरले विद्यार्थीहरूलाई भिन्दाभिन्दै विशेषता दिने चेष्टा गर्छन्, भेद भएका तिनीहरूलाई एक रूपमा ल्याउने कोशिश स्कूलको हुन्छ । बेग्लै हुन तिनीहरू घर जान्छन्, स्कूल आउँछन् तिनीहरू एकै हुन— शिक्षकको अधिनायकत्वमा । आधुनिक शिक्षकले यही बुझछ र सधैं ऊ प्रफुल्ल, उत्साही र सफलीभूत रहन्छ । उसले जान्दछ कि उसका भाइहरूलाई आखिर आफ्नो उद्योग खाएरै, पृथ्वीका मान्छे बनेरै ज्यूनुपर्छ अनि पक्का पृथ्वीको मान्छे उही भएको छ जसलाई वरदानको जरुरत परेन ।

आधुनिक शिक्षक समाजमा यसरी एउटा नयाँ जोश भएर आएको छ, वर्तमानको नवीनतम उत्पत्ति । उसलाई जीवनदेखि असन्तोषको छूत परेको छ, फेरि जिन्दगीको मोहको भूत पनि लागेको छ । उसका अतीत उसलाई बिरानो भइसक्यो, पर्खेको संसार जन्मनै असमर्थ छः अधीरता बढ्दो छ । आफ्नो हालतमाथि यद्यपि हाँसिदिने बल उसमा छ । ऊ हार कबुल गरेर संशयवादी बन्दैन । अझ् केटौले छ, साथमा हुरीबतास लिएर हिंड्छ । परिपक्व अनुभवले थन्को दिएका सेता कपालहरूलाई बिझे पार्ने थुप्रै चुच्चाछेउहरू उसका अंगभरि छन् । हुरी गइसकोस्, मत्थर भएपछि हामी पाउनेछौं—अहो, कसरी गोला चुच्चा ढुंगाहरू, कसले जित्यो को हार्‍यो, सबै सम्मिइसकेछन् !

commercial commercial commercial commercial