सामुदायिक विद्यालयको विकल्प छैन

हालका वर्षहरूमा सरकारी बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमै विनियोजन हुँदै आएको छ । यस्तैगरी अन्तर्राष्ट्रिय दाता तथा स्वदेशी गैरसरकारी संस्थाहरूले देखाउनैका लागि भए पनि शिक्षा क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेको आँकडाहरूले देखाउँछन् । तर पनि नेपालको शैक्षिक स्थिति आशातीत रूपमा अगाडि बढ्न सकेको छैन ।  देशका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू चरम राजनीतिक खिचातानीले गर्दा बेहोस अवस्थामा छन् । उच्च शिक्षाको त कुनै योजना तथा नीतिनियमसम्म छैन भने आधारभूत तहका शिक्षालयहरू पनि राजनीतिक दाउपेचबाट ग्रसित छन् । कमाउनका लागि भनी खोलिएका निजी विद्यालयहरूले त झ्न् दिनमै लुटिरहेको अवस्था छ । यसो हुनुमा शिक्षामा काम गर्ने मानिसहरूको दीर्घकालीन सोचको कमी नै प्रमुख कारकतत्व हो । यसो हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा प्रसस्त संभावना भने नभएका होइनन् । यी संभावनाहरूलाई प्रस्फुटन गर्ने काम सामुदायिक विद्यालयका शिक्षक स्वयंको हो । यसका लागि सामुदायिक विद्यालयप्रतिको धारणामा परिवर्तन पहिलो पक्ष हो । सामुदायिक विद्यालयमा स्थानीय व्यक्तिहरूले आफ्नो संलग्नतामा सम्पूर्ण पक्षमा चासो देखाउने गरेको पाइँदैन । सरकारले लगानी गरिहाल्छ नि भन्ने मानसिकताका कारण सरकारी विद्यालयका भौतिक सम्पत्तिहरू नोक्सान बढी हुने र चासो नदिइँदा विद्यालयका जग्गा तथा अन्य भौतिक सामग्री क्षति भएका छन् ।

 सरकारी विद्यालयका अभिभावक आर्थिक रूपमा कमजोर, समय पनि त्यति दिन नसक्ने, धेरै समय काममा नै व्यस्त रहनुपर्ने खालका छन् । विशेषतः शहरी क्षेत्रमा मजदूर, ड्राइभर, ज्यामी काम गर्ने, मकै पोल्ने, अर्काको घरमा काम गर्ने अभिभावकका बच्चाहरूको बाहुल्य हुने गर्दछ । त्यस्ता अभिभावक विद्यालयप्रति चासो नराख्ने, कुनै कामको लागि पनि विद्यालय उपस्थित नहुने, हुनु परे पनि छोटो समयका लागि आउने समस्या छ । उनीहरू आफ्ना नानीहरूले पढे/नपढेको ख्याल समेत गर्ने अवस्थामा छैनन् । तर निजी विद्यालयका अभिभावक धेरै चासो राख्दछन् । होमवर्क दिए/नदिएको कुन शिक्षकले के पढाएको, गलत कापी परीक्षण भए ‘कमेन्ट’ समेत गरिहाल्छन् । यसले गर्दा पनि निजी विद्यालयका विद्यार्थीहरू अगाडि हुनु स्वाभाविक नै हो । त्यति चासो सरकारी विद्यालयका अभिभावकले गर्ने हो भने सरकारीका विद्यार्थीहरू पनि सृजनशीलता र विषयवस्तुमा कम भने हुने थिएनन् । महीना मर्नुभन्दा पहिले विद्यार्थीबाट जाने बिल र बिल नतिरेमा गरिने सजाय र अभिभावकले मासिक रूपमा बुझाएको शुल्कमा बढी चासो हुनु स्वाभाभिक हो । तर निःशुल्क पढ्न पाउने त्यसमाथि विभिन्न संघसंस्था, छात्रवृत्ति, महिला आदि कोटाबाट पैसा नै नपर्ने विद्यार्थीका अभिभावक तीन वटा परीक्षाको प्रगति विवरण समेत लिन नआउने कुरा यथार्थ हो ।

सरकारी विद्यालयका विद्यार्थीमा विशेष गरी अंग्रेजीमा कमजोर छौ भन्ने मनोवैज्ञानिक असर परेको देखिन्छ । त्यसलाई हटाउन दक्ष र सक्षम शिक्षकको छनोट गरी अंग्रेजी वातावरणतर्फ अग्रसर तुल्याइनुपर्छ । यो प्रयास नीतिगत तहबाटै थालिनुपर्छ । सरकारी विद्यालय (विशेषगरी शहरी इलाकाका) ठूलाबडा र पहँुचवालाका आफन्तको सरुवा केन्द्र र हाजिरे अखडा बन्नु जस्ता कारणले गर्दा पनि पछाडि छ । यता निजी विद्यालयमा प्रभावकारी शिक्षण नभई विद्यार्थीले मन नपराएमा, आशातीत प्रतिफल नआएमा निष्कासन गरिने डर र बेरोजगारीको चरम अभावले गर्दा शिक्षकरू न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य छन् । सरकारी विद्यालयमा कामचोर शिक्षकलाई बढी प्रश्रय दिइनु र राजनीतिक आडले गर्दा जागिर जाला भन्ने डर नहुनु, मापदण्ड अनुरुप शिक्षकहरूको नियुक्ति नहुनु, राजनीतिक झेला बोक्ने झेले र आसेपासेले अन्तिम विकल्पको रूपमा शिक्षण पेशालाई अवलम्वन गर्नु र राजनीतिक परीक्षण पनि शिक्षक माथि नै गरिनुले सामुदायिक विद्यालय राजनीतिक प्रशिक्षण केन्द्र बन्ने जस्ता समस्या देखिन्छन् ।

सामुदायिक विद्यालयको सिकाइ उपलब्धि आशातीत लक्ष्यको तुलनामा कमजोर छ । यसो हुनुमा अधिकांश शिक्षकहरू पुराना तथा अनुभवी भएता पनि आधुनिक पद्धति र प्रविधिसँग घुलमिल हुन चासो नदिने र कार्यान्वयन पक्षमा फितलो हुनु नै मुख्य कारण हो । यसले गर्दा सामुदायिक शिक्षक योग्य भए पनि उनीहरूको व्यवहार र अपरिवर्तनशीलताले गर्दा अभिभावक र समुदायमा विश्वास र सम्मान एवं प्रतिष्ठा घट्दै गएको छ । निजी विद्यालय एक व्यक्ति वा समूहको लगानीमा सञ्चालन हुने हुँदा प्रत्येक कुरालाई नाफा या नोक्सानको दृष्टिकोणबाट आकलन गरिन्छ । सरकारी विद्यालयमा चाहिँ आफ्नो समूह वा पार्टी विशेषसँग सरोकार राख्नु राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी छ्यान–विचार नगर्नु जस्ता कुराले  कमजोर बन्दै गएका छन् । निजामती सेवामा जस्तो काज, भत्ता र अन्य सुविधा नहुने हुनाले शिक्षकहरू आफ्नो पेशाप्रति वफादार छैनन्; अन्य पेशा अँगाली शिक्षणलाई मात्र जागिरे साधनका रूपमा लिएका छन् । शिक्षण पेशा अँगालेका मानिसहरू शिक्षण पेशाप्रति आस्था, सम्मान गर्नुको सट्टा अन्य विकल्प खोजी गर्ने र त्यो नपाएपछि मात्रै शिक्षण पेशामा प्रवेश गर्ने प्रवृत्तिले गर्दा यो पेशाको उन्नयन हुन सकेको छैन । यसले शिक्षकको ज्ञानको क्षेत्रलाई सीमित तुल्याएको छ ।

यस्तै गरी समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा, शिक्षक पेशालाई आकर्षणको रूपमा नहेरिनु, नेपाल सरकारको अनुगमन पक्ष शून्यप्रायः हुनु, कागजी निरीक्षण प्रवृत्तिले वढावा पाउनु र तालीमको प्रभावकारिता र प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुनु अर्को समस्या हो । भत्ता पाइने तालीमको अवसर पाए शिक्षकहरूबीच तँछाडमछाडको स्थिति आउँछ । तालीम लिएर विद्यालयमा फर्किएपछि सो कार्यका लागि खासै मन नदिनु जस्ता कारणले गर्दा राज्यको लगानी खेर गइरहेको छ । अस्थिर राजनीतिक अवस्थाका कारण बन्द, आन्दोलन, धर्ना जस्ता क्रियाकलापबाट विद्यालय क्षेत्र मुक्त हुनसकेको छैन र त्यसको असरक स्वरुप वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने गरेको छ । विद्यार्थीहरूमा नैतिक शिक्षाको कमीले गर्दा उनीहरू थप अराजक र अव्यावहारिक हुँदै गएका छन् । परीक्षा प्रणाली, परीक्षा केन्द्र र उत्तरपुस्तिका परीक्षण फितलो हुनु जस्ता समस्याले विद्यार्थीको सही मूल्यांकन हुन छोडेको छ । मोबाइल, कम्प्युटर, इन्टरनेटप्रति बढी चासो राख्ने र पाठ्यपुस्तकप्रति कम रुचि हुने जस्ता कारणबाट आजका विद्यार्थी कम जिज्ञासु, अल्छी र कम मिहिनेती बन्दै गएका छन् ।

रोजगारीको अवसरको लागि धेरै मानिसहरू खाडी मुलुकमा गइरहेको अवस्था छ । हुनेखानेले निजी विद्यालयमा आफ्ना बच्चा भर्ना गरेको अवस्था भए पनि समग्रमा सबैको हितका निम्ति सरकारी विद्यालय बाहेक अन्य कुनै उपाय छैन । त्यसैले नेपालीहरूको आर्थिक अवस्थालाई मध्यनजर गरी सामुदायिक विद्यालयलाई अगाडि बढाउन तपाईं हामी सबैले आ–आफ्नो ठाउँबाट जे–जति सकिन्छ सहयोग गर्नुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन राजनीतिक भागबण्डा भन्दा पनि शिक्षा क्षेत्रमा अध्ययन, अनुभव भएका व्यक्तिहरूलाई दिइनुपर्दछ । यसको लागि ऐन तथा नियममा सुधार गरी नियमित निरीक्षणका आधारमा एक निकायलाई जिम्मा दिइनुपर्दछ । शिक्षकले आफ्नो पेशाप्रति सम्मान र प्रेम भावना जगाउनुपर्दछ । राजनीतिक आस्थाका आधारमा कुनै पनि दल या संस्थाको कार्यकर्ता बन्न मिल्दैन । शिक्षक समयसापेक्ष भएर आफ्नो समाजको आवश्यकता अनुरुप चल्नुपर्दछ । शिक्षकको पनि महँगी धान्ने खालको जागिरको व्यवस्था हुनुपर्दछ ।

जनकल्याण उच्च माध्यमिक विद्यालय, बौद्ध महाँकाल, काठमाडौं

commercial commercial commercial commercial