खुवाएर खान सिकाए जस्तै पढिदिएर पढ्न सिकाऊँ !
साना नानीलाई खाना खुवाए जस्तै हो पढ्न सिकाउने काम पनि। ‘कोखाई कोखाई हाम्म’ भनेर खुवाए जस्तै व्यवहार पढाइमा पनि देखाउनुपर्छ । शुरू–शुरूमा वाक्यका शब्द–शब्द देखाएर आफैं पढिदिनुपर्छ ।
“मिस मेरो नानीलाई गृहकार्य थोरै भयो । धेरै गृहकार्य दिनुप¥यो । तपाईंहरूले दिएको गृहकार्य त १०–१५ मिनेटमै सिध्याइहाल्छे । त्यसपछि टीभी र मोबाइलमा झुम्मिन्छे !”
विद्यालयमा आउने प्रायः अभिभावकका कुरा यस्तै हुन्छन् । ‘मोबाइलबाट कसरी छोराछोरीलाई टाढा राख्ने होला ?’ भन्दै सामाजिक सञ्जालमा पनि धेरै अभिभावकको बाक्लै गुनासो भेटिन्छन् ।
अभिभावकका यस्ता प्रश्नले मलाई घोचिरहन्छ । मोबाइल भनेपछि छोराछोरी हुरुक्कै किन भइरहेका छन् त ? एकैछिन आफैं छोराछोरीको उमेरमा पुगेर सोचौं त ? त्यही प्रश्नको उत्तर खोज्ने क्रममै यो लेख लेख्दैछु ।
शहरमा हुर्किरहेका आजका बालबालिकाका समस्या धेरै छन् । हाम्रा शहरमा न खेल्ने ठाउँ छन्, न दौडिने । यहाँनेर प्रसिद्ध भारतीय शिक्षक तथा बाल शिक्षाशास्त्री गिजुभाईको भनाइ सम्झ्रिहेछु । गिजुभाई बालबालिका बनेर यस्तो प्रश्न गर्छन्ः
म खेलुँ कहाँ ?
म उफ्रुँ कहाँ ?
म गाउँ कहाँ ?
म बोलुँ कहाँ
कुरा गर्छु आमालाई झ्र्को लाग्छ
खेल्न थाल्छु, बुबालाई झोंक चल्छ
उफ्रन्छु त बस् भन्छन्
गाउँछु त चुप् लाग् भन्छन्
अब तपाईं नै भन्नोस्
म कहाँ जाउँ ? के गरूँ ? (दिवास्वप्न पुस्तकबाट)
यहाँ मननीय कुरा छ, आजका बालबालिका कसरी हुर्किरहेका छन् त ? केटाकेटीका मनमा के छ ? बुझने कसरी ? मलाई लाग्छ, उनीहरू उकुसमुकुस भएर नै मोबाइल र टीभीमा पुगेका हुन् । उनीहरूलाई खेल्ने वा अन्य रमाउने पर्याप्त विकल्प र बन्दोबस्ती गर्न सके मोबाइलको लतमै लाग्दैनन्, लागे पनि छुटाउन सकिन्छ । शहरमा त उनीहरूलाई गफ गर्ने साथी र भेला हुने ठाउँ पनि छैन । पार्कको नाउँ पनि छैन । कतै छ भने ताल्चा लगाएर राखेको पाइन्छ; कतै झडी मात्रै हुन्छ । खुल्ला ठाउँ नै खुम्चिरहेको शहरमा बालबालिका कहाँ खेल्ने ?
शहरमा खेल्ने, उफ्रिने, टहलिने ठाउँ हुनुपर्ने हो । तर, हाम्रा छिमेकमा एकछिन उभिने ठाउँसम्म छैन । यति भनिसकेपछि बालबालिका कसरी बसेका छन् बताइरहनुपर्दैन । बालबालिकालाई आज जे गर्न दिइन्छ त्यसले उनीहरूको भविष्य पनि बताउँछ । उनीहरूको आजको रुचिले जीवनभरिलाई प्रभाव पार्दछ । कलिलो उमेरमा निस्सासिएर शहरमा बसेका बालबालिकाले स्वतन्त्र भएर जीवन जिउन सक्लान् भन्ने मलाई लाग्दैन । उनीहरूको मनोदशामा गहिरो कुण्ठा भरिएको हुन्छ । यस्तो अप्ठ्यारोमा छोराछोरीलाई कसरी सहयोग गर्ने त ? मेरा केही विचारः
हामीले पढे छोराछोरीले पनि पढ्छन्
बालबालिकाले धेरै कुरा अरूलाई देखेर सिक्छन् । अभिभावकले नै पढ्ने बानी गरेमा मात्र उनीहरूले पढ्ने कुराको महत्व बुझन सक्छन् । बच्चासँगै बसेर आफू पनि पढ्ने गर्नाले उनीहरूको ध्यान किताबमा केन्द्रित हुनसक्छ । ध्यान दिएर पढेको पढाइ आधा घण्टा मात्रै पढे पनि गहन हुन्छ ।
अभिभावकले समय निकालेर बच्चाको स्तर र उमेर सुहाउँदा किताब, बालकथा, कविताहरू पढिदिने पनि गर्नुपर्छ । यसो गर्दा पढाइमा उनीहरूको रस बस्न थाल्छ । अर्थात् हामीले पढे छोराछोरीले पनि पढ्छन्, हामीले मोबाइल चलाएर बसे उनीहरू पनि मोबाइलै चलाउन खोज्छन् ।
कस्ता किताब किन्ने ?
बजारमा थरीथरी पुस्तक हुन्छन् । त्यहाँ पाइने सबै पुस्तक गुणस्तरीय नहुन सक्छन् । यसको छनोट हामी आफैंले गर्न सिक्नुपर्छ । किताब छनोटका पनि केही मापदण्ड हुन सक्छन्, जस्तोः
क) उमेरगत विशेषतालाई आधार मानेर लेखिएका किताब छान्नुुपर्छ ।
ख) किताबको चित्रले कथाले भन्न खोजेको कुरा बुझएको छ/छैन भन्ने हेर्नुपर्छ ।
ग) शब्दका आकार/प्रकार (साना कक्षाका बालबालिकालाई शब्दको आकार ठूलोे हुनुपर्छ) ।
घ) रङ्गीन चित्र भएका किताबलाई प्राथमिकता दिनुपर्छ ।
ङ) सरल र बाल बोलीको भाषामा लेखिएको हुनुपर्छ ।
च) आफ्नो गाउँ–ठाउँमा घटेका वा दोहोरिने घटना बारेका विषयवस्तु हुनुपर्छ ।
छ) ठूला कक्षाका लागि विधागत (कथा, निबन्ध, कविता, नाटक) रूपमा लेखिएका किताबहरू छान्न सकिन्छ ।
ज) लेखनमा लैङ्गिक विभेद नभएका किताब मात्र छान्नुपर्छ ।
पढ्न कसरी सिकाउने ?
हामीमध्ये अधिकांशका छोराछोरीहरूको बुझाइमा किताब पढ्नु भनेको कोर्सका पाठ पढ्नु हुने गर्छ । यसैले बालबालिकालाई सबैभन्दा पहिले कोर्स बाहेकका किताब पढ्दा हुने फाइदाका बारेमा बुझउनुपर्छ । आफ्नै अनुभव सुनाएर पनि यसो गर्न सकिन्छ । कोर्स बाहिरका किताब पढ्ने बानीले शब्दभण्डारको विकास हुन्छ, कल्पना शक्ति तथा तार्किक क्षमता बढ्छ भन्ने कुरा व्यावहारिक रूपमै बुझाउन सकिन्छ ।
तीन/चार वर्षका छोराछोरीलाई अभिभावकले सँगै बसेर पढिदिएर उनीहरूलाई सुन्न लगाउने गर्नुपर्छ । चित्र देखाउँदै चित्र र पढेका कुरालाई सम्झउँदै सिकाउनुपर्छ । योभन्दा माथिको उमेर समूहका छोराछोरीलाई चाहिं सँगै बसेर उनीहरूलाई नै पढ्न प्रोत्साहन गर्नुपर्छ । उनीहरूले पढेका कथा र चित्र बारे बीच–बीचमा छलफल गरेर पनि मद्दत गर्न सकिन्छ ।
खाना खुवाए जस्तै गरी पढाऊ
हामीले साना नानीलाई खाना खुवाए जस्तै हो पढ्न सिकाउने काम पनि । हामीले उनीहरूलाई सानोमा खाना दिएर ‘ल खान खाऊँ है’ भनेर त छोड्दैनौं नि ! ‘कोखाई कोखाई हाम्म’ भनेर खानेकुरा खुवाए जस्तै व्यवहार पढाइमा पनि देखाउनुपर्छ । वाक्यका शब्द–शब्द देखाएर आफैं पढिदिनुपर्छ । उनीहरूले बुझेनन् भने बुझने शब्दबाट बुझाउने प्रयास गर्नुपर्छ ।
बालबालिकाको जन्मदिनको उपहारमा हेलिकप्टर लगायतका खेलौना मात्र नभई उमेर सुहाउँदा किताब किनेर दिने गरौं । छोराछोरीको शरीरलाई चाहिने खुराक के गरी हुन्छ खोजी–खोजी खुवाए जस्तै उनीहरूको बौद्धिक खुराकको निम्ति हरेक महीना एक/दुई वटा किताब पनि दिएर त हेरौं !
गफ पनि गर्ने गरौं
हामी अभिभावकहरूलाई आफ्नो कामबाट घर फर्केपछि अथवा घरमै रहँदा पनि बालबालिकाहरूसँग कत्तिको समय बिताउने गरेका छौं ? हामीले उनीहरूलाई पर्याप्त समय दिने गरेका छैनौं भने, समस्याको एउटा जड त्यही छ । त्यसैले तत्कालै समय निकाल्न थालौं । उनीहरूले पढेका वा गरेका कामहरू बारे सोध्ने बानी गरौं । यसरी छलफल गर्ने गर्नाले उनीहरूको अन्तरक्रिया गर्ने बानीको विकास हुन्छ । यसले उनीहरूको आत्मबल बढेर जान्छ ।
एक दिन पढेका किताबबारे कुराकानी गर्न लगाउने अनि अर्को दिन उनीहरूले बुझेका कुरालाई चित्र बनाएर देखाउन लगाउनुपर्छ । चित्र बनाउन जाने पनि नजाने पनि साना नानीहरू एकदम खुशी भएको देखेकी छु । कथाका पात्र अनुसारका नक्कल गर्न लगाउनाले पढेका कुरा सजिलै बुझन मद्दत गर्दछ । यसो गरेमा सजिलै किताब पढ्ने बानी बस्न सक्छ ।
बालबालिकालाई शुरूमा पुस्तक पढ्न सिकाउँदा जुन भाषाको किताब सजिलो लाग्छ, त्यही दिनुपर्छ । पहिलो काम उनीहरूलाई पढ्ने बानीको विकास गराउनु हो । नेपाली भाषामा कमजोर छोराछोरीलाई यसो गर्न सके उनीहरूले कनीकुथी सिकेको अंग्रेजी भन्दा आमाको भाषामा उनीहरू छिटो दक्ष हुनसक्छन् ।
अक्षरा स्कूल, काँडाघारी, काठमाडौं
२०७६ चैत अंकमा प्रकाशित ।