टीएमजेको संरक्षण सपना गुराँस फक्रिन पाइरहोस् ! 

मानवीय क्रियाकलापलाई प्रकृतिसम्मत वा संरक्षणसम्मत राख्न सकेनौं भने गुराँसेडाँडाको अस्तित्व नाममा मात्र अड्के जस्तै गुराँसको राजधानी (टीएमजे) को अवशेष पनि गुराँस स्तम्भमा मात्र सीमित हुन जाला भन्ने भय मनमा पलाउँदो छ।

नेपालीको मन र मस्तिष्कमा राष्ट्रियताको नयाँ रङ थप्न सफल लालीगुराँसको फूलले संवैधानिक मान्यता पाएको पनि ५७ वर्ष बितिसकेछ । २०१९ सालको नेपालको संविधानमा लालीगुराँसलाई राष्ट्रिय फूलको श्रीपेच पहिराइदिने कामको श्रेय दिनुपर्दा केशरशमशेर जबरा, समरबहादुर मल्ल तथा प्रयागराज पाण्डेलाई सम्झ्न पुग्छु । केशर पुस्तकालय र केशरशमशेरको विद्वत्तामा वनस्पति विज्ञ समरबहादुरको जाँगर तथा वनस्पति विभागका ‘हाकिम बाजे’ प्रयागराजको प्रयासलाई प्राज्ञ बालकृष्ण समको समर्थनमा लालीगुराँसलाई नेपाली राष्ट्रियताको पगरीमा गुँथ्ने काम भयो । त्यसपछिका दिनमा वनस्पति सर्वेक्षणको सिलसिलामा मलाई नेपाल चहार्ने अवसरहरू प्राप्त हुन थाले । र, लालीगुराँसको गाथा बुन्ने र त्यसको वैज्ञानिक परिचय स्थापित गर्ने काममा मेरो मन बस्न थाल्यो । पत्रपत्रिकामा यस सम्बन्धी लेख छपाउन थालें ।

२०२६ सालमा ब्रिटिश म्यूजियमका जोन विलियम्स (John Williams) सँग मिल्के जलजलेदेखि पूर्वमा सिंघालिला पर्वतीय क्षेत्रमा भ्रमण गर्दा गुराँस प्रजातिका विभिन्न २०/२२ थरीका वनस्पति भेट्न भ्याएँ । त्यसबखत मिल्के–जलजले क्षेत्रमा लालीगुराँसका घना वन थिए, बस्ती धेरै थिएन । तर त्यसवेला लालीगुराँसको फूल फुल्ने समय ढल्किसकेको थियो । त्यसैले हरिया वनका पाखा–पखेराहरूमा लालीगुराँसको लालिमा कल्पनामा मात्र सीमित हुनपुग्यो । ढकमक्क फुलेको लालीगुराँसको वन हेर्ने र देख्ने सौभाग्य वि.सं. २०४१ मा मात्र जु¥यो । बीबीसी टीभी र न्यूयोर्कको डब्ल्यूनेट (WNET) को निम्ति एक घण्टाको श्रव्य–दृश्य चित्र छायाङ्कन गर्ने सिलसिलामा बेलायतको लोडस्टार प्रडक्सन (Loadstar Production Ltd) बाट मलाई एउटा निम्तो आइपुग्यो । द प्लान्ट हन्टर्स  (The Plant Hunters) नामक लगभग एक घन्टाको डकुमेन्ट्री तयार भयो । त्यसको लागि लगभग सात दिनसम्म मिल्के, जलजले र तिनजुरेमा ढकमक्क फुलेका ५–६ प्रजातिका लालीगुराँस, लटरम्म फक्रिएका घोगे चाँप, चाँदी जस्तो फूल भएका बाकलपाते (Viburnum spp), चुत्रोका सुनौला फूल आदिको छायाङ्कन भयो । उक्त डकुमेन्ट्री बेलायत र अमेरिकामा प्रसारण भयो । तर नेपाल टेलिभिजनले अंग्रेजी भाषामा प्रसारण नगर्ने भनेपछि मेरो प्रयास सेलायो । हजारौं फिट लामो त्यो सेलुल्वाइड टेपमा छायाङ्कन भएको नेपालको चित्र नेपालीमाझ् पस्कन नमिल्ने भएपछि मेरो उत्साह खिन्नता र उदासीमा परिणत भयो । 

सन् १९९० को दशकमा प्रकृति संरक्षणको केही कार्यभार बोकेर विश्व संरक्षण संघ (IUCN) नेपालमा संलग्न हुने सौभाग्य प्राप्त भयो । त्यहीवेला, एक फ्रेन्च पर्यटन विज्ञ रेने द मिलभिल (Rene de Milleville) आफ्नो पुष्प प्रेमलाई उत्कृष्ट तस्वीरमा उतारेर नेपालको तिनजुरे मिल्के क्षेत्रलाई संरक्षण क्षेत्र नबनाइहुन्न भन्ने जिकर बोकेर मन्त्रालय चहार्दा रहेछन् । उनी ढकमक्क फुलेका गुराँसका वन, स्थानीय बासिन्दाका घर–घरमा गुराँसका दाउराका चाङ तथा उजाडिंदै गएका पाखामा गुराँसका ठुटा लगायत भष्मे फाड्ने कार्यबाट भष्म हुँदै गएका नाङ्गो पाखाका तस्वीरहरू नेपालका प्रधानमन्त्रीसम्म पनि पु¥याएको प्रसङ्गहरू जोडेर मेरोमा सम्म आइपुगे ।  

विभिन्न प्रयत्नहरूको परिणामस्वरुप तिनजुरे मिल्के जलजले क्षेत्रको संरक्षण कार्यलाई विश्व संरक्षण संघ नेपालले अघि बढाउने निधो ग¥यो । स्थलगत भ्रमण भयो, जनसमुदायसँग छलफल, पर्यटन विकासका सपनाहरू बाँड्ने काम भयो, वन नजोगाइहुन्न भन्ने निक्र्योलमा पुग्न धेरै समय लागेन । वनलाई काँडावाल तारले बेर्ने र घेर्ने कुरा पनि उठे । तेह्रथुमको म्याङ्लुङ बजार छेवैमा भेला भएका जनसमूहमा म र मेरा सहयोगी शैलेन्द्र पोखरेलले एउटा प्रश्न तेस्र्यायौं— ‘तारबार वनमा लगाउने हो वा हाम्रो मनमा लगाउने हो ?’ केहीबेरको गाइँगुइँपछि जनताको तर्फबाट आवाज आयो— ‘हामी तारबार आफ्नो मनमा लगाउँछौं ।’ मनमा काँडावाल तारबार लगाउने भएपछि संरक्षण कार्यमा जनसमुदाय सक्रिय हुनुप¥यो भनेर समितिहरू गठन भए । राष्ट्रिय गुराँस संरक्षण तथा व्यवस्थापन समिति गठन भयो । स्थानीय युवा लक्ष्मण तिवारीले त्यस समितिको अगुवाइ गर्ने जिम्मा पाए । लालीगुराँस संरक्षणमा निरन्तर लाग्ने क्रममा कमाएको लोकप्रियताले उहाँलाई वर्तमानमा माननीय सांसद्को स्थानमा पु¥याएको अवस्था छ । 
तिनजुरे मिल्के जलजलेलाई अंग्रेजी वर्णमालाका तीन अक्षर— टी.एम.जे. द्वारा प्रचार–प्रसार गर्ने काम भयो । समुदायद्वारा संरक्षित संरक्षण क्षेत्रको रूपमा लालीगुराँसको यस अनुपम क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने कुरालाई लिएर तत्कालीन वातावरणमन्त्रीसमक्ष प्रस्तावना पेश गर्ने काम भयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी त्यसवेला वातावरण मन्त्रीका रूपमा आसीन हुनुहुन्थ्यो । उहाँलाई टीएमजे बारे जानकारी दिने क्रममा मदन भण्डारीको जन्मथलो ढुङ्गेसाँघु पनि यसको क्षेत्राधार भित्र पर्न आउने तथ्य स्मरण गरायौं । केही समयपछि, २०५४ सालमा सरकारले टीएमजे  लाई गुराँस संरक्षण क्षेत्र घोषणा ग¥यो, तर व्यवस्थापनको उपयुक्त कानूनी संरचना विना नै हालसम्म पनि टीएमजे  ले आफ्नो कानूनी हैसियत स्थापना गर्न सकेको पाइँदैन । यही माघ महीना २०७६ को चौथो साता टीएमजे  को काखमा गुडेर पुग्दा धुलाम्मे शरीर लिएर फर्कनु प¥यो । 

मेरो २०२६ सालको यात्रालाई सम्झँदा  हिले र वसन्तपुरको बीचमा पनि एउटा गुराँसे नामको डाँडा थियो । तर त्यहाँ कतै गुराँस थिएन । त्यस्तै, २०४१ सालमा पनि त्यो डाँडा नाङ्गो नै थियो । यसपालि भने त्यहाँ चियाबगान देख्न पाइयो । साथसाथै थुप्रै जापानी सल्ला (Cryptomeria Japonica) हरू फस्टाएका रहेछन् । प्रकृतिको यस्तो नियतिलाई नियाल्दा गुराँसे डाँडामा अब कहिल्यै गुराँसको वन फर्केला भन्ने आश नगर्नु नै वेश हुन्छ । त्यस्तै, तिनजुरे–मिल्के–जलजलेका बाँकी गुराँसे डाँडाका वन संरक्षणका पक्षमा तत्काल कडा कदम चाल्न सकिएन भने गुराँसे डाँडाकै नियति भोग्न बाध्य हुनेछ टीएमजे  पनि । 

टीएमजे  को विगत २५ वर्षलाई नियालौं भने यसको पर्यटकीय पक्षको अधिक प्रचार–प्रसार भएको छ । २०४१ सालमा हामीले पाल टाँगेर क्याम्प जमाएको ठाउँमा अहिले आर.आर गार्डेन स्थापना भएको छ । रोडोडेन्ड्रन एण्ड रक अर्थात् गुराँस र शिला (पत्थर) को प्राकृतिक बगैंचा वास्तवमा निकै आकर्षक छटामा सजिएको क्षेत्र हो त्यो । हाल त्यहाँ एउटा पोखरी र सिमेन्टको टाइल छापिएको पदमार्ग निर्माण भएको रहेछ । वनभोजमा आउनेहरूले ठाउँ–ठाउँमा चूलो बालेर छोडेका दाउरा र अँगारका अवशेषले अव्यवस्थाको स्पष्ट झ्लक दिन्छ । प्राकृतिक रूपमा ठाउँ–ठाउँमा छरिएका सुन्दर ढुङ्गामा कृत्रिम रङ पोतेर तथा तोडमोड गरेर विभिन्न आकृति दिने प्रयास पनि भएको देखियो । केही स्थानीय व्यक्तिले त्यहाँ शिवको विशाल मूर्ति स्थापनाको कल्पना पनि गरिसकेका रहेछन् । तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा यस्ता अप्राकृतिक कुरा थप्नु स्वयंमा असभ्य र प्रत्युत्पादक कार्य हुन्छ । चारैतिर गुराँसको वन र बीच–बीचमा प्रकट भएका शिलाहरूमा आ–आफ्नो आस्था अनुरूपका देवीदेवता देख्न सक्ने अन्तरदृष्टि धारण गरेर त्यहाँ पुग्नु नै सच्चिदानन्द प्राप्तिको अवसर हुन्छ । आफ्नो ईश्वरको मूर्ति आफ्नै हृदयमा कुँदेर  त्यसको प्रतिबिम्व गुराँसे वन वा त्यहाँका पत्थर वा चट्टान, शिला वा ढुङ्गामा समेत देख्न सकिने सौम्य सन्नाटाको वातावरण यो ढुङ्गा र गुराँसको बाटिकाले प्रदान गर्न सकोस् भन्ने कामना गर्न चाहन्छु । 

नेपालको पूर्वाञ्चलका दुई विशाल नदी— अरुण र तमोरको जलाधारलाई छुट्याउँदै दक्षिणमा धनकुटाको मूलघाटदेखि उत्तरमा नेपाल–चीनको साँधसम्म अविच्छिन्न फैलिएको मिल्के पर्वत शृङ्खलाको मध्यभाग ओगटेर बसेको टीएमजे  हाम्रो राष्ट्रिय फूलको मूलघर हो । यसको प्रवेशद्वारको रूपमा तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको व्यस्त बजारमा लालीगुराँसकै स्तम्भ स्थापित छ ।  

चैत, वैशाख र जेठ लालीगुराँस फुल्ने मुख्य महीना हुन् । वैज्ञानिक नामकरण अनुसार लालीगुराँसलाई ल्याटिन भाषामा रोडोडेन्ड्रन आर्वोरियम (Rhododendron arboreum) भनिन्छ । जातीय शब्द रोडोडेन्ड्रनले रातो वृक्ष भन्ने जनाउँछ भने प्रजातीय शब्द आर्वोरियमले वृक्षकद भन्ने बुझउँछ । यो प्रजातिको वृक्ष १५०० देखि ३३०० मिटरको उँचाइसम्म पाइन्छन् । होचो उँचाइको भूस्वरूपमा फूलको रङ गाढा रातो, सिम्रिक, लाली वा गुलाबी हुन्छ भने उच्च क्षेत्रमा फुल्ने फूल सेतो पनि हुनसक्छ । लालीगुराँस नामले भने रातो फुल्ने फूललाई नै निर्दिष्ट गर्दछ । वातावरणीय वा आनुवंशिक विभेदले सेतो फुल्ने गुराँसलाई हाम्रो राष्ट्रिय फूल भन्न मिल्दैन । टीएमजे क्षेत्रमा आर्वोरियम प्रजाति भित्रै रातो, गुलाबी, सुन्तले र सेतो रङमा रूखै ढाकिने गरी फूलहरू फुल्दछन् । त्यसको अतिरिक्त अरू वृक्ष प्रायः शून्य हुने गरी गुराँसको वृक्षले मात्र ढाकेको वन नेपालमा अन्यत्र विरलै भेटिन्छ । नेपालभरि भेटिएका ३०/३१ विभिन्न प्रजाति एवं उप–प्रजातिमध्ये लगभग २५ प्रजातिका गुराँस टीएमजे क्षेत्रभित्र भेटिने प्रक्षेपण गरिएको छ । हुन पनि २०४१ सालको एकै बिहान हामीले ६ वटा विभिन्न प्रजाति एकै ठाउँमा भेटेका थियौं । 

गुराँसका फूलले होली खेल्ने समय चैत, वैशाख र जेठको वेला पर्यटन प्रवद्र्धनमा तिनजुरे, मिल्के र जलजले क्षेत्र सधैं जुटेकै हुन्छ तर विकास र निर्माणका नाममा हुने मानवीय क्रियाकलापलाई प्रकृतिसम्मत वा संरक्षणसम्मत राख्न सकेनौं भने गुराँसेडाँडाको अस्तित्व नाममा मात्र अड्के जस्तै गुराँसको राजधानीको अवशेष पनि गुराँस स्तम्भमा मात्र सीमित हुन जाला भन्ने भय मनमा पलाउँदो छ । 

माथि उल्लेख गरियो— यसपालि म गुराँसको राजधानी टीएमजे  क्षेत्रमा गुडेर पुगें । सडक, बाटो र मोटरगाडी नभएको भए म पुग्न पनि सक्दिनथें होला । त्यहाँको धुलाम्मे बाटोमा धूलो उडाउँदै ठूल्ठूला ट्रक र बस पनि गुड्दा रहेछन् । नजिकका वन र वृक्षहरू सबै धूलोले ढाकिएका थिए । अरुण तेस्रो जलविद्युत्को प्रसारण लाइन ल्याउन वन फाडेर खनिएका जगका खाल्डाहरूमा पोल निर्माणको काम हुँदैथियो । सडक बनेपछि त्यसले बस्तीहरू निम्ताउँदछ । बस्ती बढेपछि वन विनाश हुनु प्राकृतिक नियति जस्तै भइसक्यो हाम्रो देशमा । तसर्थ, टीएमजे  संरक्षणमा लागेका संघ–संस्था वा जनसमुदायको सामु निकै चर्का चुनौती खडा भएका छन् । टीएमजे को कानूनी हैसियत स्पष्ट नहुँदा संरक्षणको ठोस काम भन्दा कागजी नीति, रणनीति र योजना बन्ने र बनाउने काम मात्र अगाडि बढ्छन् । आफ्नै मनमा काँडे तारबार लगाएर वन संरक्षण गर्छौं भन्ने जनसमुदायको त्यसवेलाको हातेमालो, पार्टीगत राजनीतिका कारण चुँडिने गरेको आभास हुन्छ । प्रदेश–१ को सरकारले टीएमजे संरक्षणमा यथाशीघ्र कदम चाल्न सक्यो भने, एउटा राम्रो कामको जस उसको खातामा दर्ता हुन पाउला । 

नेपालमा मेचीदेखि महाकालीसम्म पहाडी एवं पर्वतीय क्षेत्रमा फस्टाएका विभिन्न प्रकारका वनभित्र लालीगुराँस मिश्रित रूपमा मात्र पाइन्छ । अरू वृक्षहरू नमिसिएको विशुद्ध लालीगुराँसको वन फस्टाएको क्षेत्र संसारभरिमा तिनजुरे मिल्के जलजले मात्र हो । नेपालका गुराँसहरू (‘रेडोडेन्ड्रन्स् अफ नेपाल  सन् २००२’) का लेखक रेने द मिलभिलका अनुसार यो विश्वकै सबैभन्दा ठूलो गुराँसे वन क्षेत्र हो । यसलाई संरक्षण गर्न ढिलाइ भयो भने सडक विस्तारका जथाभावी क्रियाकलापले यसलाई सखाप पार्न अब धेरै वर्ष लाग्दैन । प्रदेश या संघीय सरकारहरूले तुरून्तै चासो लिएर ठोस कार्यक्रम सञ्चालन गरेर यसको भविष्य सुनिश्चित गर्न सकुन् ! यस वर्षको लालीगुराँसमा यही शुभकामना फक्रन सकोस् ! 

२०७६ चैत अंकमा प्रकाशित । 

commercial commercial commercial commercial