स्मार्ट-छोरीलाई-आमाको-चिठी

प्रिय ‘डिजिटल’ जस्ती छोरी,
​शुभाशीर्वाद !

​अहिले यो चिठी पढिरहँदा तिम्रो गर्धन कति डिग्रीको कोणमा निहुरिएको छ ? म यहींबाट अन्दाज लगाइरहेकी छु। शायद तिम्रो देब्रे हातको बूढीऔंला मोबाइलको स्क्रिनमा ‘स्क्रोल’ गर्न अभ्यस्त भइसकेको होला। तिमीलाई लाग्दो हो- आमा कति पुरातनपन्थी ! अहिलेको जमानामा पनि कागज र कलम ? तर छोरी, मलाई डर लाग्न थालेको छ, तिम्रो यो ‘स्मार्ट’ फोन जति चम्किलो हुँदैछ, तिम्रो मस्तिष्कको प्राकृतिक चमक उति नै धमिलिंदै गएको त छैन ?

​हिजो साँझको त्यो एउटा दृश्यले मेरो मनमा तीखो काँडा जस्तै बिझाइरह्यो। तिमी भान्सामा थियौ, मैले सोधेकी थिएँ- ‘छोरी, ५३ मा १४ जोड्दा कति हुन्छ ?’ तिमीले एकछिन मलाई यस्तो हेर्‍यौ, मानौं मैले तिमीलाई रकेट विज्ञानको कुनै जटिल सूत्र सोधेकी हुँ। अनि तुरुन्तै खल्तीबाट त्यो कालो ऐना (जसलाई तिमी मोबाइल भन्छ्यौ) निकाल्यौ र क्याल्कुलेटर थिच्यौ। ५३+१४= ६७ ! 

ओहो ! कत्रो ठूलो आविष्कार !
​छोरी, तिम्रो पुस्ताले ‘गुगल’ लाई भगवान र ‘वाईफाई’ लाई प्राणवायु मान्न थालेको छ। तर विचार गर त, ५३ मा १४ जोड्न पनि प्रविधिको बैसाखी टेक्नुपर्ने तिम्रो कस्तो खालको ‘बौद्धिकता’ 
हो ? यो त आफ्नो गिदीलाई शीतभण्डारमा राखेर अर्काको सफ्टवेयरको उधारो बुद्धिमा बाँच्नु जस्तै भएन र ?

​प्रविधि भनेको सुविधा कि सभ्यताको ‘सर्प’ ? ​आज मान्छे ‘स्मार्ट’ भएको छ, तर उसको जीवनशैली ‘स्टुपिड’ हुँदैछ। तिम्रो हातमा भएको त्यो सानो यन्त्रले सारा संसार तिम्रो मुठ्ठीमा छ भन्छ्यौ, तर वास्तविकतामा तिमी त्यो यन्त्रको मुठ्ठीमा छ्यौ । तिमीलाई लाग्छ, तिमीले इन्टरनेट चलाइरहेकी छ्यौ, तर सत्य यो हो कि इन्टरनेटले तिमीलाई चलाइरहेको छ। ​अहिलेको आधुनिकता भनेको यस्तो भएको छ–
क) सम्बन्ध– फेसबुकमा ५००० साथी, तर मनको बह पोख्न एउटा पनि असली मान्छे छैन।
ख) खाना-इन्स्टाग्राममा फोटो नखिची खानाको स्वाद नै नआउने।

ग) ​स्मरणशक्ति– सबै कुरा क्लाउडमा छ, तर आफ्नै मौलिक विचार भने कुहिरोमा हराएको छ।

​तिमीलाई थाहा छ ? तिम्रो यो मोबाइलले तिमीबाट के खोस्दैछ ? यसले तिम्रो ‘धैर्य’ खोस्दैछ। दुई मिनेट युट्यूबमा भिडियो लोड भएन भने तिमीलाई संसारै सकिए झैं छटपटी हुन्छ। हिसाबको त्यो सामान्य प्रक्रियामा तिम्रो मस्तिष्कले जुन व्यायाम गर्नुपथ्र्यो, त्यो व्यायाम अहिले सिलिकन चिप्सले गरिरहेको छ। तिम्रो मस्तिष्क त केवल ‘यस’ र ‘नो’ थिच्ने एउटा औंलाको नोकर मात्र भएको छ।

तिमी जस्ता व्यक्तिको ​बौद्धिकताको विज्ञापन र रित्तोपन देख्दा म तीनछक्क परेकी छु। ​तिमी आफूलाई पढेलेखेकी, आधुनिक र बौद्धिक भन्छ्यौ। म मान्छु, तिमीसँग धेरै थरीका डिग्री होलान्। तर ती डिग्रीको के अर्थ, जब तिम्रो सामान्य चेतना पनि एउटा सफ्टवेयरको गुलाम हुन्छ ? हिजोका पुस्ताले पन्ध्रको अङ्कगणित मुखैले गर्थे, आजका पुस्तालाई ‘डिलिट’ र ‘ब्याकस्पेस’ विना एक हरफ सही लेख्न पनि हम्मेहम्मे पर्छ।

​हामीले ढुङ्गाको युगबाट डिजिटल युगसम्मको यात्रा त ग¥यौं, तर मान्छेको संवेदनशीलता भने ढुङ्गाकै जस्तो भयो । सडकमा कोही लडिरहेको हुन्छ, मान्छे उसलाई उठाउनुको साटो भिडियो खिचेर ‘भाइरल’ बनाउन तम्सिन्छ। के यही हो तिम्रो आधुनिकता ? के यही हो तिम्रो शिक्षा ?

​छोरी, तिमीले आफ्नो बौद्धिकता प्रविधिलाई यति सस्तोमा बेच्यौ कि अब तिमीलाई आफ्नै निर्णय लिन पनि ‘एआई’ को सल्लाह चाहिन्छ। आज के खाने ? एआईलाई सोध। कुन लुगा लगाउने ? एआईलाई सोध । मानौं, तिम्रो आफ्नै रुचि र विवेक त मरिसक्यो।

​एआई भनेको कृत्रिम बुद्धि कि प्राकृतिक विनाश ? यतिबेला म यसमै घोत्लिरहेकी छु।
​हिजोआज तिमी ‘च्याट–जीपीटी’ र ‘एआई’ का कुरा गछ्र्यौ। भन्छ्यौ, ‘ममी, यसले त कविता पनि लेख्छ, निबन्ध पनि लेख्छ।’ तर छोरी, त्यसले शब्द त जोड्छ, तर के त्यसले ‘अनुभूति’ जोड्न सक्छ ? के त्यसले तिमी र म बीचको त्यो आमा-छोरीको सुस्केरा बुझन सक्छ ? गणितको सबै स्थानमा क्याल्कुलेटर चाहिने मान्छेले भोलि गएर ‘माया’ नाप्न पनि कुनै एप डाउनलोड गर्ला भन्ने डर लाग्छ मलाई।

​प्रविधि आफैंमा नराम्रो होइन। तर जब प्रविधिले मान्छेको मौलिकतालाई विस्थापित गर्छ, तब त्यो अभिशाप बन्छ । तिमीलाई सामान्य जोडफल निकाल्न मोबाइल चाहिनुको अर्थ हो- तिमीले आफ्नो मस्तिष्कलाई ‘रिटायर्ड’ घोषणा गरिदियौ । अब तिम्रो गिदीमा खिया लाग्न शुरु भयो।

​अब ब्युँझ्निे बेला भयो ​छोरी, म चाहन्छु तिमी यो आधुनिक दासताको साङ्लो तोडेर बाहिर निस्क। म तिमीलाई ढुङ्गे युगमा फर्क भन्दिनँ । तर तिम्रा बाबाले सानो भाइलाई भने झैं म भन्न चाहन्छु- ​कहिलेकाहीं मोबाइल घरमै छोडेर प्रकृतिसँग कुरा गर। ​गुगल म्याप विना नै गल्लीहरूमा हराएर हेर, नयाँ बाटो फेला पर्नेछ।​ गणितका साना-साना हिसाबहरू आफ्नै गिदीको प्रयोग गरेर हल गर, त्यसले दिने आनन्द कुनै एपले दिन सक्दैन।

​साँच्चिकै पुस्तकका पानाहरू पल्टाऊ, जसको सुगन्धले तिम्रो चेतनालाई ताजा बनाओस्। ​तिमीले जोड, घटाउ, गुणा, भाग गर्दा जे आउँछ नि, त्यो केवल एउटा सत्य मात्र होइन। त्यो तिम्रो मस्तिष्कको सक्रियताको प्रमाण हो। जब तिमी आफैं हिसाब गछ्र्यौ, तिम्रा न्युरोनहरूले नृत्य गर्छन्। तर जब मोबाइलले गरिदिन्छ, तिम्रो दिमाग सुत्छ। मलाई सुतेकी छोरी होइन, ब्युँझ्एिकी र जीवन्त छोरी चाहिएको छ।

​छोरी, कल्पना गर त– एउटा यस्तो संसार जहाँ प्रविधि हाम्रो नोकर होस्, मालिक होइन। जहाँ मान्छेले मान्छेको आँखामा हेरेर कुरा गरोस्, न कि स्क्रिनमा हेरेर। जहाँ बालबालिकाले माटोमा खेल्न सिकुन्, न कि मोबाइलको गेममा।
​मलाई विश्वास छ, तिमीभित्र अझै त्यो प्राकृतिक मान्छे जीवित छ। त्यो मान्छे, जसले क्याल्कुलेटर होइन, आफ्नै बुद्धिको सहारा लिन सक्छ। त्यो मान्छे, जसले मेसिनको भाषा मात्र होइन, मनको भाषा पनि बुझछ। ​यो पत्र तिमीलाई गाली गर्न लेखिएको होइन, बरु तिम्रो हराउँदै गएको ‘स्वत्व’ खोज्न प्रेरित गर्न लेखिएको हो। प्रविधिको उज्यालोमा तिम्रो आफ्नै भित्री उज्यालो नहराओस्। तिम्रो ‘स्मार्टफोन’ भन्दा तिम्रो ‘मुटु’ र ‘मस्तिष्क’ बढी स्मार्ट बनोस्।
​फेरि पनि भन्छु– प्रविधिले गरेको सत्य हो । तर यो सत्यलाई तिम्रो आफ्नै बुद्धिले प्रमाणित गर। प्रविधिको बैसाखी फाल र आफ्नै खुट्टामा उभिन सिक।​ सधैं सुखी र सचेत रहनु। 

​तिमीलाई असाध्यै माया गर्ने,
तिम्री आमा ।
 उदयपुर


शिक्षक मासिक, २०८३ वैशाख अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial