थवाङमा शिक्षाको आशा जगाउँदै

राज्यसँग पटक–पटक विद्रोह गर्ने थवाङ चर्चित रहँदा रोल्पा भने गुमनाम थियो। किनकि पहिले चर्चाको कारण जनमानसमा थवाङभित्र रोल्पा पर्ने बुझइ थियो। २०३६ सालको पञ्चायती निर्वाचन बहिष्कार गरेको थवाङीको विद्रोह दबाउन २०३८ सालमा राज्यले सैनिक अपरेशन गरेको थियो। राजनीतिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनेको थवाङ शिक्षामा भने लामो समय गुमनाम थियो।

थवाङको मुख्य बस्तीदेखि अलिपरको गाउँ हो- झकेवाङ। हो त्यही गाउँमा ६७ वर्षअघि स्कूल खुलेको थियो। रोल्पा नयाँ जिल्लाको रूपमा अस्तित्वमा नभएको बेला थवाङ प्यूठान जिल्लामा पर्दथ्यो। विभिन्न थुम (थुम्का) मा विभाजित भौगोलिक संरचना अनुसार तत्कालीन प्यूठान जिल्लाको कालाशेष थुममा पर्ने थवाङमा त्यतिबेला स्कूल खुल्ने कुरा चानचुने थिएन।

नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पहिलो आमनिर्वाचन भएकै वर्ष २०१५ सालमा रोल्पाको दुर्गम गाउँ थवाङमा खुलेको वीर बलभद्र प्राइमरी स्कूल नाम दिइएको उक्त स्कूल १२ वर्ष पछि २०२७ सालमा निमावि भयो। २०३५ सालदेखि माध्यमिक तहको पठनपाठन शुरु गरेको यो  विद्यालय २०६५ सालमा कक्षा ११–१२ र २०७३ सालमा प्राविधिक धारमा पठनपाठन गरिरहेको छ। स्थापनाको ६७ वर्षयता थुप्रै प्रधानाध्यापकले नेतृत्व गरिसकेका छन्। पछिल्लो पटक यो विद्यालयको नेतृत्व कुलबहादुर वलीले सम्हालेका छन्।

२०७३ साल वैशाख १४ गतेदेखि प्रअमा कार्यरत वली माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन्। वलीले विद्यालयको प्रशासनिक नेतृत्व सम्हालेपछि विद्यालय धेरैको नजरमा पर्न थालेको छ।

वली विद्यालयको प्रअ भएर आउँदा ५२३ विद्यार्थीले अध्ययन गर्दथे। अहिले ८१६ जना विद्यार्थी छन् । स्वीकृत दरबन्दीमा १५ जनाका साथै राहत १, प्राविधिक धार तर्फ ८, विज्ञान विषय सञ्चालनार्थ पालिका अनुदान २ र निजी स्रोतमा १२ सहित ४३ शिक्षक कार्यरत छन्। हाल सो विद्यालयमा लेखापाल १, विद्यालय नर्स १, कार्यालय सहयोगी १, ल्याबम्यान १ गरी ४ जना अनुदानमा कार्यरत र कार्यालय सहयोगी ३ र आया १ गरी थप ४ जना निजी स्रोत गरी ८ जना विद्यालय कर्मचारी कार्यरत छन्।

विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ। कक्षा-९ देखि १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने व्यवस्था गरिएको छ। कक्षा-११ र १२ मा शिक्षाशास्त्र र विज्ञान संकायको पढाइ हुन्छ । विद्यालयमा कक्षा ९–१२ प्राविधिक धारतर्फ बाली विज्ञान विषयको पठनपाठन हुने गर्दछ। विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम समेत सञ्चालन भएको छ।

भौतिक पूर्वाधारको रूपमा विद्यालय भवनको अतिरिक्त ८०० र ३०० जनाको क्षमता रहेको दुई वटा सभाहल छन्। विद्यालयमा प्रयोगशाला कक्ष ३, कम्प्युटर ल्याब कक्ष , प्राविधिक ल्याब कक्ष ३ वटा रहेका छन्। विद्यालयको ७.५ किलोवाटको आफ्नै लघु जलविद्युत् रहेको छ। यसका साथै ३ किलोवाट क्षमताको सोलार समेत जडान गरिएको छ। विद्यालयलाई आईसीटीमैत्री बनाइएको छ। जसमा ११ वटा एभीआर स्मार्ट बोर्ड र प्रोजेक्टरहरू कक्षाकोठामा जडान गरिएको छ।

विद्यालयले अभिभावकसँग निरन्तर छलफल र अन्तरक्रिया गर्दै आएको छ। विद्यालयको आन्तरिक स्रोतको पहिचान, खोजी तथा परिचालनबाट थप जनशक्ति व्यवस्थापन गरिंदै आएको छ। भौतिक पूर्वाधारको स्तरीकरणलाई विशेष प्राथमिकता दिई विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग नियमित सहयोगका लागि समन्वय तथा सहकार्य भइरहेको छ। 

दिगो आर्थिक स्रोतको विकासका लागि ‘अक्षय कोष’ स्थापना अभियान सञ्चालन गरेको छ। कक्षाकोठामा डिजिटल प्रविधिको विकासमा प्राथमिकता दिएको छ। विद्यालयमा अधिकार प्रत्यायोजन सहितको टिमवर्क निर्माण गरिएको छ। छात्रवासको सुविधा तथा छात्रवासमा थप अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था गरिएको छ। हरेक शैक्षिक सत्रको शुरुको १ देखि २ महिना कमजोर सिकाइ स्तर भएका बालबालिकाका लागि अनिवार्य उपचारात्मक कक्षा सञ्चालन गरिंदै आएको छ। विद्यालयमा नियमित अभिभावक भेटघाट, निर्माणात्मक मूल्यांकन र त्यसको नियमित विश्लेषणको परिपाटी विकास गरिएको छ। शिक्षक क्षमता विकास तालिमको नियमित प्रबन्ध गरिंदै आउनुका साथै शिक्षक विद्यार्थीमा टार्गेट प्रणालीको व्यवस्था गरिएको छ।

आईसीटीमैत्री कक्षा व्यवस्थापनलाई विशेष जोड दिएको सो विद्यालयले बालविकास कक्षालाई मन्टेसरी पद्धतिको मोडेलमा विकास गरेको छ। न्यून आयस्रोत भएको परिवारका इच्छुक बालबालिकाका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ। विद्यार्थी तथा शिक्षकलाई बिहान ९:४५ बजे अनिवार्य विद्यालय प्रवेश गरिसक्नुपर्ने नियमलाई सर्वसम्मत गराइएको छ।  

थवाङको गाथा पढेका वा सुनेकाहरू विद्यालयको शैक्षिक विकासमा समेत चासो दिंदै यो विद्यालयको सिकाइ हेर्नका लागि पुग्ने गरेका छन्। प्रधानाध्यापक वलीले सफलता मात्रै हैन समस्या तथा चुनौती समेत भोग्दै आएका छन्। कक्षागत उत्तीर्ण दर वृद्धि गर्न चुनौती वहन गरिरहेको सो विद्यालयले शैक्षिक गुणस्तर कायम राख्ने विषय समेत चुनौतीपूर्ण बनेको प्रअ वलीको भनाइ छ।  जनशक्तिको नियमित पदपूर्ति गर्ने र दक्ष जनशक्ति टिकाइराख्ने विषय सो विद्यालयले बहन गर्दै आएको अर्को चुनौती हो, उनले भने। सामाजिक सांस्कृतिक विसंगतिको प्रभावलाई रोक्ने विषय पनि चुनौतीको रूपमा खडा भएको प्रधानाध्यापक वलीको बुझइ छ। अपेक्षाकृत अभिभावकको चेतना वृद्धि गर्ने विषय मात्र हैन भाषाको समस्या समेत यहाँको अर्को चुनौतीको विषय रहेको छ, उनले भने।

विद्यालय सुधारको जस आफू मात्रै लिन चाहन्नन् कुलबहादुर। स्वयंसेवी भएर अहोरात्र खटिने विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष अजय घर्तीमगर र वर्तमान अध्यक्ष जयप्रकाश रोका लगायत अन्य शिक्षक, शिक्षक अभिभावक संघ र अभिभावकहरूको खटनपटनको परिणाम आजको विद्यालय भएको उनको भनाइ छ।

जनवादी विद्यालय गाभिएको विद्यालय

दश वर्ष लामो सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादीले सञ्चालन गरेको जनवादी विद्यालय समेत यो विद्यालयमा समायोजन गरिएको छ। सशस्त्र द्वन्द्वको समयमा रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालीकोट लगायत केही जिल्लालाई माओवादीहरू केन्द्रीय आधार इलाका भन्थे। सो समयमा केन्द्रीय आधार इलाकामा मात्रै तीन वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय सञ्चालन गरिएका थिए। जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म पढाइ हुन्थ्यो।

स्थानीय जनसत्तामार्फत सञ्चालन गरिएका ती जनवादी विद्यालयमध्ये एक हो थवाङस्थित शहीद स्मृति जनवादी नमूना विद्यालय। माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको सम्झ्नामा सो जनवादी विद्यालय २०६१ साल फागुन १ गते स्थापना भएको थियो। सरकार र माओवादी बीच भएको बृहत् शान्ति सम्झैतासँगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सबै संरचना विघटन गर्ने सहमति अनुसार सो विद्यालय समेत छिमेकी विद्यालय वीर बलभद्र मावि थवाङमा समायोजन भएको थियो।

समायोजन पूर्व कक्षा-४ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्रसहित ८७ जना विद्यार्थीले अध्ययन गर्दथे। आवासीय रूपमा ५० जना, अजम्मरी जनकम्युनबाट २४ जना र जनस्तरबाट १३ जनाले पढ्ने गरी कोटा निर्धारण गरिएको थियो। अध्यापनका लागि ५ जना शिक्षकको व्यवस्था गरिएको थियो। विद्यालयमा शहीद परिवारका ३४, जनमुक्ति सेनाका १७, कार्यकर्ताका ३२ र घाइते परिवारका ४ विद्यार्थी थिए। उक्त विद्यालयको इतिहास यसै बलभद्र माविमा विलीन भएको छ।  

शिक्षक मासिक, २०८३ वैशाख अंकमा प्रकाशित।  

commercial commercial commercial commercial