पुस्तक पढ्ने बानी कसरी बसाउने ?

अमेरिकाका कतिपय प्रारम्भिक (एलिमेन्ट्री) स्कूलमा उपन्यास, कथा जस्ता लामा पाठ्यसामग्रीको पठनपाठन विधि र प्रवृत्तिमा केही परिवर्तन आएको छनक मिल्छ। शिक्षण-सिकाइको अभिन्न अंग मानिने पठन व्यवहारमा आएको परिवर्तनका पछाडि विद्यालय तहका पाठ्यक्रम नै दोषी हुन् वा यसका अन्य बृहद् कारण पनि छन् ? बहस जारी छ। तथापि प्रायः अनुसन्धाताहरू भन्छन्ः कथा, निबन्ध, उपन्यास र अन्य लामा पाठ्य सामग्रीहरूको पढाइ माथिल्लो एलिमेन्ट्री र उच्च कक्षाका विद्यार्थीका लागि अत्यावश्यक हो। क्यालिफोर्निया विश्वविद्यालयस्थित स्नायुप्रणाली गडबडीका कारण पढाइ-लेखाइमा असहजता भएका बालबालिका, फरक क्षमताका विद्यार्थी र सामाजिक न्याय सम्बन्धी केन्द्र (डिस्लेक्सिया, डाइभर्स लर्नर र सोसल जस्टिस सेन्टर) की निर्देशक मेरिन वफ भन्छिन्, “हरेक विद्यार्थीको मस्तिष्कको कसरत हुनैपर्छ। र, मस्तिष्कको कसरत गराउने एउटा महत्वपूर्ण विधि लामो र सघन पढाइ (रिडिङ) हो। यस्तो पढाइ अविच्छिन्न हुनुपर्दछ।”
  
के आजका विद्यार्थीले कम पुस्तक पढिरहेका छन् ?
अमेरिकाका मिडिल स्कूल र हाईस्कूलका विद्यार्थीले पहिलेको तुलनामा अथवा अपेक्षाकृत थोरै पुस्तक पढिरहेका हुनसक्छन् भन्ने केही संकेत नभएका होइनन्। तर यस सम्बन्धी उपलब्ध प्रमाणहरू- थोरै नमूना र व्यक्तिगत अनुभवमा मात्र आधारित छन्। सन् २०२३ मा एड्विक (eduweek.com) मा प्रकाशित समाचार अनुसार कक्षा ३-८ सम्म पढाउने शिक्षकहरूमध्ये २५ प्रतिशतले कुनै पुस्तकको छोटो अंशलाई नै विद्यार्थीको पठन सामग्रीका रूपमा प्रयोग गर्ने गरेको बताएका थिए। यो तथ्यांक एड्विक अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणमा आधारित थियो। सो सर्वेक्षणमा समेटिएका शिक्षा अधिकारी, स्कूल प्रशासक र शिक्षकहरूमध्ये झण्डै आधाले आफूहरूले मिश्रित वा थुप्रै सन्दर्भ सामग्री र पूरै पुस्तक समेत प्रयोग गर्ने गरेको बताएका थिए।

शैक्षिक सुधार सम्बन्धी राष्ट्रिय मूल्यांकनले तयार गरेको एक तथ्यांक अनुसार स्कूल बाहिर दैनिक वा साप्ताहिक रूपमा रहर गरेर पुस्तक पढ्ने ९-१३ वर्षका बालबालिकाको प्रतिशत अमेरिकामा सन् १९८० देखि नै घट्दो क्रममा छ। वयस्क मानिस पनि पहिले भन्दा कम कथा उपन्यास पढिरहेका छन्। यसले सबै उमेर समूहमा पठन अभ्यासमा ह्रास भइरहेको देखाउँछ । तर पुस्तक पढ्ने संस्कृतिमा आएको यस्तो ह्रासलाई सम्बोधन गर्ने स्पष्ट खाका भने कसैसँग पनि छैन। शिक्षक र अनुसन्धाताहरू विद्यार्थीले पाठ्यक्रममा समाविष्ट सबै पुस्तक पढ्नुपर्छ त भन्छन्, तर त्यस्तो पढाइ कसरी सम्पन्न गराउने भन्नेमा उनीहरूका मत पनि फरक-फरक छन्। 

टेक्ससको सेगइनस्थित एक विद्यालयकी शिक्षक लाउरा पत्रानेला कतिपय कार्यशाला र अनलाइन कार्यक्रमहरूमा एलिमेन्ट्री तहको पाठ्यक्रममा अझ् बढी कथा- उपन्यासहरू समावेश गर्नुपर्ने माग आउन थालेको बताउँछिन् । यस्ता कार्यक्रमहरूमा भेट हुने शिक्षकहरूले पाठ्यक्रममा अझ् धेरै ‘उपन्यास समावेश हुनुपर्ने’ माग गर्ने गरेको उनको अनुभव छ। उनी स्वयं पनि कक्षाकोठामा पूरै पुस्तक पठनलाई प्राथमिकता दिन्छिन्। उनी भन्छिन्, “एलिमेन्ट्री स्कूलका विद्यार्थीले हरेक वर्ष कम्तीमा एउटा पूरै उपन्यास पढ्नु राम्रो हुन्छ, जसले गर्दा उनीहरूले यस्ता पुस्तकको गहिराइसम्म जान र पुस्तकबारे एकआपसमा छलफल गरी सामूहिक रूपमा अनुभव साट्न सक्षम हुन्छन्।” 

सन् २०२५ मा पत्रानेलाले कक्षा-५ का विद्यार्थीलाई युवा लेखक स्यारोन क्रिचको लभ द्याट डग नामको उपन्यास पढ्न लगाइन्। कविताको ढाँचामा लेखिएको त्यस उपन्यासको मुख्य पात्र छ- ज्याक नामको एउटा केटो। ज्याकलाई शिक्षकले कविता लेख्न लगाउँदा पहिले मन पर्दैनथ्र्यो, तर अन्त्यमा कविता नै उसको भावना व्यक्त गर्ने सहज माध्यम बन्यो। शिक्षकले कक्षाकार्य र गृहकार्यका लागि दिने कविता लेखनमा उसले आफ्नो आवाज मुखरित गर्ने मौका पायो । त्यसैले कार्यशालामा भेटिने शिक्षकहरूको मागप्रति पत्रानेलाको धारणा छ- “पठनका लागि एक शैक्षिक सत्रमा एउटा पनि उपन्यास समावेश नगर्नु राम्रो होइन। अझ राम्रो त विविध पुस्तकको मिश्रण नै हो।” 

पूरा पुस्तकको सट्टा विभिन्न पुस्तकबाट बढी उपयोगी लागेका राम्रा पाठ या परिच्छेदहरू साभार गरी पढाउने विधि धेरै पहिलेदेखि नै प्रचलनमा छ। यस्तो विधिबारे क्यालिफोर्नियास्थित क्लेयरमेन्ट म्याककेना कलेजका भिजिटिङ प्रोफेसर सेथ लेरर भन्छन्, “साभार गरेका सामग्री या पाठ पढाउनुको उद्देश्य विद्यार्थीलाई नैतिकता सिकाउनु र सांस्कृतिक मूल्यको जानकारी दिनु हो।” चिल्ड्रेन्स लिटेरेचरः अ रिडर्स हिस्ट्री फ्रम इसप टु ह्यारी पोटर पुस्तकका लेखक समेत रहेका प्रा. लेरर त्यस्तो शिक्षण विधिलाई ‘साहित्यका पुस्तक लिने, पढाउन योग्य र शिक्षाप्रद चिज पत्ता लगाउने र साभार गर्ने’ तरिकाका रूपमा व्याख्या गर्छन्। खासमा यस्तो विधि एलिमेन्ट्री स्कूलमा निकै दशकसम्म प्रचलनमा रह्यो। सन् १९५० र १९६० तिर विद्यार्थीको छनोटका आधारमा यो विधिमा केही उपन्यास पनि थपिए। यो विधि ‘दिगो मौन पठन’ मा समर्पित युगको विशेषता नै थियो।

सन् २००० मा आइपुग्दा भने धेरै स्कूलले विद्यार्थीको पठन सीप बढाउन कार्यशाला ‘(वर्कशप) ढाँचा’ अपनाए। वर्कशप ढाँचामा विद्यार्थीलाई स-साना समूहमा विभाजन गरी पढ्न, छलफल र आफैं समस्याको समाधान गर्न प्रोत्साहन गरिन्छ। परम्परागत शिक्षण सिकाइमा विद्यार्थीमाथि शिक्षक हावी हुन्छन् भने यसमा चाहिं सबै विद्यार्थीको क्षमता बराबरी अभ्यासमा आउँछ।

वर्तमान ‘पठन विज्ञान’ अभियानको उद्देश्य यही ‘वर्कशप ढाँचा’ सँग मिल्दोजुल्दो छ। यो ढाँचाअन्तर्गत पनि विद्यार्थीलाई पद्धतिगत हिसाबले प्राथमिक तहमा उच्चारणको आधारभूत सीप सिकाइँदैन । पठन सम्बन्धी अनुसन्धाताहरूले भने ‘वर्कशप’ ढाँचाको पनि आलोचना गरेका छन्। उनीहरूको तर्क छ- तुलनात्मक रूपमा सजिला पुस्तकमा स्वतन्त्र अभ्यास गराउँदा कडा मिहिनेत गरी सफल हुन चाहने विद्यार्थीलाई आवश्यक पर्ने सहयोग र उत्प्रेरणा यो ढाँचामा कम पाइन्छ । प्रभावकारी पढाइ शिक्षण विषयका अनुसन्धाता हार्वर्ड विश्वविद्यालयका सहायक प्राध्यापक फिल क्यापिनको भनाइमा “वर्कशप ढाँचा विद्यार्थीको बोध क्षमता विकासमा सहयोगी हुँदैन।”  

   
२८ वर्षदेखि शिक्षण पेशामा रहेका अंग्रेजी विषयका शिक्षक एन्ड्रयू रोडब्रो अहिले पनि विद्यार्थीलाई गृहकार्य दिंदा पठन अभ्यास समावेश गर्छन्। उनले विगत दशकमा कक्षामा विद्यार्थीलाई सँगसँगै पढ्ने अभ्यासको थालनी गरे र यसमै धेरै समय खर्चिए । जसले गर्दा विद्यार्थीले कम्तीमा पनि एउटा अनुच्छेद त पढ्ने नै भए, त्यसबाट उनीहरूमा केही ज्ञानसँगै पढ्न रुचि पनि पैदा हुन थाल्छ।

यो विधिका पनि आफ्नै कमजोरी भने छन्ः कक्षामा धेरै समय पठनमा खर्चिदा, विद्यार्थीलाई मुख्य विषयवस्तुमा छलफल र प्रश्नोत्तर गर्न समय कम हुन्छ । अन्ततः कक्षा कम गुणस्तरका प्रश्नमा सीमित हुन्छ। 

यसमा पनि अनुसन्धाताको तर्क छ- विद्यार्थीलाई कथा उपन्यासका पेचिला विषय बुझउन र सो विषयको समय सन्दर्भ खिच्नका लागि सुझ्बुझ्पूर्ण प्रशिक्षण फलदायी हुन्छ । त्यस्ता केही विधिहरू लामो समयदेखि अभ्यासमा पनि छन्, जस्तै- अपरिचित वातावरण वा पुरानो समयमा लेखिएका पुस्तकको सन्दर्भ केही महŒवपूर्ण शब्दको अर्थ र कथाको पृष्ठभूमिबारे विद्यार्थीलाई जानकारी दिने प्रक्रिया। सिकागोस्थित इलिनोयिस विश्वविद्यालयका पूर्व प्राध्यापक टिम सानाहन भन्छन्, “हामीले कुनै पाठ पढाउन शुरु गर्दा स्कूले विद्यार्थी के कुरामा अलमलिन्छन् भन्ने कुरा विशेष ख्याल गर्नुपर्छ। हाईस्कूलका शिक्षकले पनि पाठको सारांश अभ्यास गर्ने र विद्यार्थीलाई सम्झ्न लगाउने गर्नुपर्छ। फलस्वरुप विद्यार्थीमा कथा स्मरण गर्ने मानसिक ढाँचा पैदा हुन्छ र पठनमा ध्यान र संलग्नता बढ्छ।’ 


(साभारः एजुकेसन विक, अक्टोबर २०२५) 
अनुवादः नारायण घिमिरे 

शिक्षक मासिक, २०८३ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial