गृहकार्यमा डट्स विधिकाे प्रयाेग !

माध्यमिक तहका विद्यार्थीमा लेखन सीप विकास गर्ने कार्यमा एआई (कृत्रिम बौद्धिकता)ले चुनौती थपिदिएको कुरा भाषाका शिक्षकहरूबाट अक्सर सुन्ने गरिन्छ। भाषाका चार सीपमध्ये लेखन सीपमा जोड दिनुपर्ने हाम्रा आफ्नै कारण छन्। नेपालमा परीक्षा मूलतः लेखनको माध्यमबाट हुने र लेखन सीप आफैंमा उत्पादनमूलक सीप पनि भएकोले जीवनको हरेक क्षणमा उपयोगी सावित हुन्छ। यो सीप विना हाम्रा दैनिक क्रियाकलाप पूर्ण वा सफल हुँदैनन्। जस्तैः हामीलाई विभिन्न प्रसंगमा चिठीपत्र, अनुच्छेद, निबन्ध जस्ता लेखन कार्यहरू गरिरहनुपर्दछ र त्यस निम्ति हामीमा लेखन सिर्जनशीलता हुनु जरूरी छ।

हाल एआईले विद्यार्थीलाई विभिन्न पक्षमा सहयोग गरे पनि लेखनको सिर्जनशीलतामा केही हदसम्म नकारात्मक असर पारेको छ। केही शिक्षकहरूले एआईबाट भाषाको सीप विकासमा सहयोग पुग्ने दाबी पनि गरेको पाइन्छ। तैपनि यसले सिर्जनात्मक लेखन सीपमा नकारात्मक असर पारेको कुरालाई कसैले नकार्न सक्दैन। यसै सन्दर्भमा, मैले माध्यमिक तहको एउटा कक्षामा विद्यार्थीलाई लेखन गृहकार्य दिंदा उनीहरूले च्याट जीपीटी, जेमिनाई जस्ता एआई प्रयोग गरेको र त्यसबाट लेख्न निकै सजिलो भएको भन्ने तिनका कुराले मलाई सोच्न बाध्य बनाएको छ। 

कक्षा-१० मा एआई बारे चर्चा गर्दा करीब ६० प्रतिशत विद्यार्थीले त्यो प्रविधि प्रयोग गरिरहेको र त्यसले गृहकार्य गर्न सहयोग गरेको बताए। यसरी एआईले छिटो र सजिलोसँग गृहकार्य सिध्याउन मद्दत गरेको कुरा झ्ट्ट सुन्दा राम्रो जस्तो लागे पनि यसले दीर्घकालीन रूपमा उनीहरूको लेखन कलामा असर पर्ने देखिन्छ।

यसै सन्दर्भमा, एआई प्रविधिका कारण विद्यार्थीको सिर्जनात्मक क्षमता र सीप भुत्ते हुन नपाओस् भनी ‘डट्स’ विधि (क्षयरोगीहरूलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्ने उपचार विधि)लाई समस्या समाधानको उपायका रूपमा लिई यो कार्यमूलक अनुसन्धान गरिएको छ । यसले समान खालका चुनौती भोगिरहनुभएका अन्य शिक्षकहरूलाई पनि सहयोग गर्ने अपेक्षा राखेको छु।

कार्यमूलक अनुसन्धान
समस्याको पहिचान: कक्षा-१० को कुनै एक सेक्सनमा धेरैजसो विद्यार्थीले निरन्तर एआईको सहायताबाट गृहकार्य गर्ने र लेखनमा सिर्जनात्मकतालाई ओझेलमा पार्ने गरेका छन्। यसबाट भविष्यमा उनीहरूको सिर्जनात्मकतामा थप ह्रास आउने निश्चितप्रायः छ। एआईबाट गृहकार्य गर्न सजिलो भएतापनि उनीहरूको परीक्षाका उत्तरपुस्तिका परीक्षण गर्दा गृहकार्यमा जस्तो राम्रो लेखन गरेको पाइँदैन। तसर्थ; यस समस्यालाई समयमै निराकरण गर्नु नितान्त आवश्यक मानेर यो अनुसन्धान अगाडि बढाइयो।

समस्याका कारण: विद्यार्थीको लेखनकार्यमा सिर्जनशीलता ह्रास हुनुमा निम्न कारणहरू रहेको पाइयो: 
- अधिकांश विद्यार्थीले सजिलोको लागि च्याट जीपीटी तथा जेमिनाई जस्ता एआई टुल्स प्रयोग गर्नु।
- विद्यार्थीहरूको लागि लेखनकार्य रुचिकर नहुनु तथा उनीहरू लेखन सीपप्रति उत्प्रेरित नहुनु। 

समस्या समाधानका सम्भाव्य उपाय: कक्षा-१० का विद्यार्थीको सिर्जनात्मक लेखन सीप निरन्तर विकास गर्ने कार्यमा एआईले दिएको चुनौतीलाई सही रूपमा पहिचान गरी त्यसका नकारात्मक असरहरू न्यूनीकरण गर्नु अत्यन्त जरूरी भएको छ । वर्तमान समयमा गृहकार्य गर्न सजिलोको लागि प्रयोग गरिएका त्यस्ता प्रविधिले भविष्यमा उनीहरूको सिर्जनात्मक लेखनमा दीर्घकालीन असर नपरोस् भन्नका लागि तथा समयको माग अनुसार उपलब्ध प्रविधिलाई सही रूपमा प्रयोग गर्न उत्प्रेरित गर्नको लागि यस सम्बन्धी विभिन्न लेख तथा अनुसन्धानका निचोडको अध्ययन तथा विशेषज्ञहरूसँग सरसल्लाह समेत गरी समस्या समाधान गर्नको लागि निम्न सम्भावित उपायहरू जुटाइयो: 

- एआईको सही प्रयोग गर्न लगाउने तथा अभिभावकलाई सचेतीकरण गर्ने।
- विद्यार्थीलाई एआई भन्दा पनि सिर्जनात्मकतामा ध्यान दिन सल्लाह दिने।
- विद्यार्थीलाई लेखन गृहकार्य नदिने, लेखन सीपको विकासका लागि शिक्षकले प्रत्यक्ष निगरानी गरी कक्षाकोठामा नै लेखन कार्य गर्न लगाउने ।
- सिर्जनात्मक लेखन सीपको विकास गर्न विभिन्न विधामा समूह लेखन कार्य गराउने।

पहिलो चरणको कार्ययोजना
समस्या समाधानको लागि पहिलो चरणमा निम्नानुसारको योजना बनाई कार्य गरिएको थियो:

उल्लिखित कार्ययोजनामा आधारित रहेर २०८२ भदौ १ देखि १३ गतेसम्म विद्यार्थीलाई डिजिटल बोर्डको सहायताबाट शिक्षकले सिर्जनात्मक लेखनका नमूना प्रदर्शन गर्ने, लेखन विधि सिकाउने तथा विद्यार्थीले पनि सोही अनुसार सिकाइ गरी लेखन अभ्यास गर्ने।

कार्ययोजनाको कार्यान्वयनः उपर्युक्त योजना अनुसार डिजिटल बोर्डको सहायताबाट करीब ७ दिनसम्म विद्यार्थीलाई सिर्जनात्मक लेखन कार्यको नमूना प्रस्तुत गरी उनीहरूलाई कक्षामै बसी अनुच्छेद, चिठीपत्र, निबन्ध, कथा, समाचार कथन आदि लेख्ने अभ्यास गराइयो। यस्तो अभ्यासले भविष्यमा उनीहरूकै लेखन सीप राम्रो हुने भन्दै उत्प्रेरित पनि गरियो । शिक्षकको प्रत्यक्ष अवलोकन रहेकोले विद्यार्थी चनाखो भई नजानेको अवस्थामा विभिन्न प्रश्नहरू गर्दै सिकाइ कार्य गरे। निरन्तरको प्रत्यक्ष निगरानीले गर्दा विद्यार्थीको सिर्जनात्मक लेखनमा एआईले कुनै पनि स्थान पाएन।

यसरी लेखन अभ्यास गराएपछि विद्यार्थीलाई फरक-फरक खालका लेखन समूहमा विभाजित गरेर सामूहिक लेखन कार्यको पनि अभ्यास गराइयो। यसरी सामूहिक रूपमा लेखन कार्य गराउँदा उनीहरूमा लेखनप्रति रुचि बढेको पाइयो। 

अवलोकन: विद्यार्थीलाई शुरु-शुरुमा सिर्जनात्मक लेखन कार्य गर्न केही असजिलो महसूस भए पनि विस्तारै शिक्षकको नमूना अध्ययन तथा सामूहिक सहयोगको कारणबाट उनीहरूमा रुचि बढेको र लेखन कार्यमा अग्रसर भएको पाइयो । लेखन सीपमा कमजोर भएका केही विद्यार्थी जान्ने सहपाठीहरूको सहयोगमा विस्तारै लेखन कार्यमा उत्प्रेरित भएको पाइयो। शिक्षकबाट प्रस्तुत नमूना लेखन तथा लेखन विधिले धेरैजसो विद्यार्थीलाई सिर्जनात्मक लेखनमा सहज गराएको पाइयो । शिक्षकबाट प्रस्तुत गरिएका नमूना लेखनले विद्यार्थीलाई मार्गनिर्देशित गरेकोले उनीहरूमा लेखन सीप प्रतिको उदासीनता विस्तारै कमि हुँदै गएको पाइयो।

प्रतिबिम्बन: शिक्षकको प्रत्यक्ष निगरानीमा कक्षाकोठाभित्र नै गरिएको सिर्जनात्मक लेखन अभ्यास तथा उनीहरूलाई समूहमा राखेर लेखन कार्य गराउँदा नेतृत्व क्षमताको विकास, सामूहिक पारस्परिकता तथा सहयोगको भावनाका साथसाथै सिर्जनात्मक लेखनमा जान्ने विद्यार्थीले नजान्ने विद्यार्थीलाई सिकाइ सहज गराई लेखनमा उत्प्रेरित गरेको पाइयो। योजना अनुसार गरिएका कार्यहरूले विद्यार्थीलाई सिर्जनात्मक लेखनमा रुचि बढाएको तथा लेखन पद्धतिमा दक्षता बढाएको उनीहरूले लेखेका लेखनका नमूनामा झ्ल्किएको पाइयो।

निष्कर्ष
कक्षा-१० का विद्यार्थीमा गरिएको यो कार्यमूलक अनुसन्धानले पहिला विद्यार्थीले लेखन सम्बन्धी कृत्रिम बौद्धिकताको सहायताबाट सजिलै तथा छिटोछरितो रूपमा गरेको, तर यसबाट विद्यार्थीको वास्तविक लेखन सीपको विकास नभएको र भविष्यमा आउन सक्ने सिर्जनात्मकताको ह्रासलाई रोक्न गरिएको उपायहरूमध्ये शिक्षकको प्रत्यक्ष निगरानीमा गरिने लेखन अभ्यास तथा विद्यार्थीलाई समूहमा विभाजित गरी सिर्जनात्मक लेखन जस्ता कार्यले विद्यार्थीको सिर्जनात्मक लेखन क्षमतामा वृद्धिका साथसाथै उनीहरूमा सामूहिक सहयोग र व्यवहार कुशल सीपको पनि विकास गरेको पाइन्छ । यो कार्यमूलक अनुसन्धानबाट यस्तै खालका समस्या भएका अन्य कक्षाका शिक्षकहरूलाई पनि सहयोग गर्ने आशा लिएको छु।

प्रबोधीकरण: यो कार्यमूलक अनुसन्धान प्रतिवेदनलाई विद्यालयमा बुझइनेछ । अन्य शिक्षकहरूसँग शेयर गर्ने तथा सम्बन्धित निकायहरूमा पठाउने कार्य गरिनेछ । यस कार्यमूलक अनुसन्धानलाई सार्वजनिक रूपमा प्रकाशन गरी प्रबोधीकरण गरिनेछ। 

(कालिका मानव ज्ञान मावि, बुटवल)

commercial commercial commercial commercial