गुरुका गुण

केटाकेटी छँदा शिक्षक हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ। हुनत, ६०/६५ वर्ष अगाडि केटाकेटीले आफ्नो जीवनकै उद्देश्य के बनाउन सक्थे र ? माताहरू निरक्षर जस्तै हुन्थे भने पिताजी, काकाहरू पनि चार पासे, एघार पासे रूपमा शिक्षित हुन्थे, जसको मूल लक्ष्य नै राणाहरूको चाकरी गरी अड्डा अदालतमा घुस्नु मात्र हुन्थ्यो। हाम्रा वरिपरि धेरै पढेलेखेका मानिस हुँदैनथे। बाहुनले अङ्ग्रेजी पढेर जात फाल्नु हुन्न भन्ने सोचाइ व्याप्त थियो। त्यसैअनुरुप मैले पनि घरैमा अक्षरारम्भ गरी अमरकोश, चण्डी आदि पढ्नुपरेको थियो। पछि पिताजीले शायद अङ्ग्रेजी पढाउनै पर्दोरहेछ भन्ने अनुभव गरेर मलाई पद्मोदय हाईस्कूलमा २००५ सालमा कक्षा १ मा भर्ना गराउनु भयो।

त्यसताका बालकको ल्याकत भनौं कि पढाइ जाँचेर मात्र स्कूलमा भर्ना लिइन्थ्यो। कसैलाई मौखिक सोधिन्थ्यो भने कसै कसैलाई लेख्न र हिसाब गर्न पनि लगाइन्थ्यो। म कक्षा एक (अहिलेको जस्तो नर्सरी, केजी कहाँ थिए र !) मा सात वर्षको उमेरमा भर्ना हुन जाँदा घाम तापेर बस्नुभएका माड्सापले “के पढेको छस्, कति पढेको छस् ?” भनेर सोधेका थिए। जवाफमा मैले “मसिनोखाले फस्ट बुक पढेको र दुनोट घोकेको छु” भन्नसम्म सकेको सम्झना छ। एक दुईओटा अङ्ग्रेजीको माने सोधेपछि उनले एकमा भर्ना गर्न मिल्ने आदेश दिए र म भर्ना गरिएँ। विद्यार्थीको लुगा भनेको कमिज, सुरुवाल, टोपी, जुत्ता (कसै कसैले कोट पनि ल गाउँथे) नै थियो। सर्वसाधारणमा मोजाको चलन नै आइसकेको थिएन। धेरैको अङ्ग्रेजी भाषाको शिक्षण (The first book of English) बाट नै शुरु हुन्थ्यो । यसका लेखक, मेरो सम्झनामा प्रफुल्ल चन्द्र राय थिए । मैक्मिलन एण्ड कम्पनीले छापेको त्यो किताब तिनताक अति नै प्रचलित थियो। छोटाछोटा अङ्ग्रेजी वाक्यबाट शुरु गरेर साना निबन्धसम्म घोकाएर पढाउने चलन थियो। कसैले भेडाको या घोडाको पातोसम्म पुगेर पढ्न छोड्थे भने धेरै चाहिँ मयुर भएको पातो (पृष्ठ)सम्म घरमै पढेर स्कूल भर्ना हुन्थे।

हाम्रो घरबेटीको छोरो मभन्दा एक कक्षा माथि थियो। स्कूल जाँदा सँगै जान्थ्यौं। बाटोमा चुरोटको बट्टा टिप्न तँछाडमछाड गर्दा (तिनताक केटाकेटी चुरोटको बट्टालाई पाँचको, दशको नोट बनाएर खेल्ने गर्दथे) साथीको धक्काले म ढुङ्गामा लड्न पुगेँ र निधार रगताम्य भयो । बाटामा हिँड्नेले औषधि पसलमा लगेर मलमपट्टी गरिदिए। कक्षामा शिक्षकले मेरो घाउ देखेर प्रश्न गरे । मैले अर्को कक्षामा पढ्ने साथीले लडाइदिँदा चोट लाग्यो भनेर भन्दा उनले त्यो लडकालाई कक्षामा बोलाउन लगाए । विचरो रुँदै आएको देखेर मलाई माया लागेछ र म ‘माड्साब म आफैं लडेको हुँ’ भन्न पुगेछु। अनि त शिक्षक (जो सधैं अलिकता पिएर कक्षामा आउने गर्थे) ले ‘अरूलाई दोष लगाउने बद्मास’ भनेर मलाई नै दुई–चार बेत हिर्काए। अहिले पनि लाग्दछ, मैले आफैँ लडेको कुरा नसकारेको भए त्यो लडकाले धेरै पिटाइखान्थ्यो। शिक्षक कडा थिए। तर, उता मैले आफैं लडेको भनेर झूठो बोल्नु पनि ठीक भएको थिएन । शिक्षकले पनि धेरै विचार गरेनन् । मेरो स्वीकारोक्तिपछि ती शिक्षकले अलिक निष्पक्ष ढङ्गले सोचेका भए मैले पिटाइ पाउनुपर्ने थिएन । मैले ती गुरुबाट सिकेको कुरा होः विद्यार्थीबीचको झ्गडामा दोषी–निर्दोषी छुट्याएर मात्र दण्ड दिनुपर्दछ र कहिल्यै पनि नशा (जाँडरक्सी) सेवन गरेर कक्षामा जानुहुन्न ।

कक्षा आठको एउटा घटना । अघिल्लो बेञ्चमा चार जना केटाहरू थियौं। मसँगैका दुईजनाबीचमागलफत्ती परेर हल्ला भयो तर गुरुले मलाई ‘किन हल्ला गरेको’ भनेर सोधे। म तिनताका अलिअलि भकभके थिएँ। भकभकाएर ‘मैले होइन’ भन्न खोज्दा खोज्दै मास्टरलेगालामा दुई थप्पड पड्काइसकेका थिए। भकभके बानी छुट्छ भन्ने नियतले पिटेका भए अर्कै कुरा; अन्यथा आफू निरपराध हुँदाहुँदै पनि कुटाइ खानु परेकोमा मेरो सारै नै चित्त दुखाइरह्यो। ती अन्यायी गुरुलाई म अहिले पनि सम्झ्रिहन्छु। त्यो अविस्मरणीय घटनाले गर्दा सजाय दिँदा निरपराध पो पर्दछन् कि भन्ने डर मलाई आफ्नो शिक्षणकालभरि नै लागिरह्यो।

१५-२० जनाको सानो कक्षामा शिक्षकले छात्रहरूलाई राम्ररी चिन्ने मौका र व्यक्तिगत रूपमा प्रोत्साहन दिन सक्छन् भन्ने कुरा मैले इतिहासका गुरुबाट सिकेँ। कक्षा नौ र दशमा इतिहास विषय लिने विद्यार्थी थोरै र इतिहासका शिक्षक पनि योग्य थिए। उनले भनेका कुरा विद्यार्थी राम्ररी बुझदथे। त्यस माथि; मलाई व्यक्तिगत रूपमा स्नेह गरी नबुझेका कुरा फेरि बुझइदिन्थे। त्यसले गर्दा मलाई इतिहास विषयमा अत्यन्तै रुचि बढ्यो। दुवै कक्षामा इतिहासमा मेरो अब्बल नम्बर पनि आयो। ती शिक्षकसँग पछि पछि भेट हुँदा पनि मेरो शिर श्रद्धाले निहुरिन्थ्यो।

विषयमा विद्यार्थीको रुचि जगाउन शिक्षकको ठूलो हात हुन्छ भन्ने थप अनुभव मैले गणितका शिक्षकबाट प्राप्त गरें । ती शिक्षकसँग मैले गणितको ट्युसन पढेको हुँ। तर उनको सिकाउने कलाले गर्दा गणित मेरो अत्यन्त प्रिय विषय भएर आयो। एसएलसीको परीक्षामा गणितमा प्राप्त उच्च अङ्कले मेरो जीवनको धार नै बदलिदियो। अन्ततः मैले गणित विषयमै आईए, बीए, एमए र विद्यावारिधिसम्मको अध्ययन गरें । धेरैलाई निरस र कठिन लाग्ने यो विषय नै मलाई सर्वाधिक रसिलो र सजिलो लागिरह्यो।


संस्कृत र नेपाली पढाउने गुरु विद्यार्थीबाट सधैं हेपिन्थे, उनको सजायलाई पनि टेर्दैनथे। तर उनी यस्ता कुरा को पर्वाह न गरी पढाई नै रहन्थे। यसबाट , कक्षामा आफ्ना तर्फबाट कुनै कमजोरी प्रदर्शन भयो भने विद्यार्थीको हेपाइमा परिँदोरहेछ भन्ने हेक्का मलाई पछि सम्म भइरह्यो।

कक्षा तीन/चारमा हुँदा म गणितमा कमजोर थिएँ। पिताजीले दुई महिनाको लागि घरमै एकजना इष्टमित्रलाई ‘ट्युसन’ पढाइदिन लगाउनुभयो। हिसाबमा मैले गर्ने गल्तीलाई ती शिक्षकले कहिल्यै पनि कडा दण्डको विषय बनाएनन्। सधैँ स्नेहपूर्वक ‘यसरी गर्नु पर्दछ, लौगर’ मात्र भनेर सम्झाइबुझाइ गर्दथे। तिनले मलाई कहिल्यै पनि थप्पड लगाएनन्। त्यसैले उनी घरमा पढाउन आउँदा म सधैँ उनको बाटो हेरेर बस्दथेँ । केटाकेटीलाई प्रेमपूर्वक नै शिक्षा, उपदेश दिनुपर्दछ भन्ने कुरा ती शिक्षकबाट सिकेको हुँ। बेतले हिर्काउने शिक्षकभन्दा मीठोसँग उत्साह दिने शिक्षक विद्यार्थीका प्यारा हुँदारहेछन् । स्कूलको विद्यार्थी हुँदा पाएको यही शिक्षाबाट प्रेरित भएर मैले विश्वविद्यालयको शिक्षक हुँदा सदैव विद्यार्थीलाई प्रेमपूर्वक नै पढाउने प्रयत्न गरें।

आज स्कूलमा संस्कृत पढाउने ती बूढा गुरुलाई पनि म सम्झन्छिु, जो संस्कृतका नाम र धातुका रुप विद्यार्थीलाई घोक्न लगाएर आफू मेचमा उँघ्न थाल्थे अनि विद्यार्थीको हल्लाखल्लालाई बेतले टेबुल ठटाएर शान्त पार्थे। आफ्नो अध्यापन कार्यलाई सधैं नियमितता दिए पनि वृद्धत्वले गर्दा बेलाबखत उनी थकाइ मार्न खोज्थे। मैले उनीबाट वृद्ध गुरु र युवा गुरुको फरक बुझन पाएँ।

एकजना संस्कृत र नेपाली पढाउने गुरु पनि मेरो स्मृतिमा छन्; जो मधुरो स्वर र दुब्लो पातलो भएका कारण विद्यार्थीबाट सधैँ हेपिन्थे। उनले जति मेहनत गरेर पढाए पनि विद्यार्थीहरू ध्यान दिँदैनथे। उनको सजायलाई पनि विद्यार्थी टेर्दैनथे । तर उनी यस्ता कुरा को पर्वाह न गरी पढाई नै रहन्थे। कक्षामा आफ्ना तर्फबाट कुनै कमजोरी प्रदर्शन भयो भने विद्यार्थीको हनेपाइमा परिँदोरहेछ भन्ने हेक्का मलाई पछि सम्म भइरह्यो।

नौ/दश कक्षामा विज्ञान पढाउने शिक्षक भने बिल्कुल फरक थिए। भोलिपल्ट पढाउने पाठ पहिले नै भनिदिने र आफू पनि पूर्ण तयारी साथ आएर मुखाग्र नोट लेखाइदिने ती फुर्तिला गुरु विद्यार्थीबीच निकै सम्मानित थिए। उनीसँग विद्यार्थी डराउँथे पनि। मलाई त्यतिबेलै लाग्दथ्यो, शिक्षक भएँ भने म पनि यस्तै शिक्षक हुने कोशिश गर्ने छु।


नारायणबहादुर मान न्धर आफ्नै सुरमा एकोहोरो पढाएर जान्थे । विद्यार्थीले बुझे/बुझेनन् भन्ने मतलबै राख्दैनथे । मैले उनीबाट सिकेको कुरा हो- आफ्नै धुनमा बेखबर भएर पढाउनु पनि शिक्षकको एउटा कमजोरी नै हुँदोरहेछ । विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन, योग्य शिक्षक हुन सही शिक्षण सीप पनि हुनुपर्दोरहेछ।

अब कलेजका केही शिक्षकको स्मरण गर्छु। २०१३ सालको शुरु तिर आई.एस्सी. पढ्ने विचार लिएर त्रि-चन्द्र कलेजमा निवेदन दिएँ। स्कूलमा अतिरिक्त गणित नपढेकाले शुरु मा मलाई छानिएन। तर पछि अनिवार्य गणितमा रराम्रो अङ्क ल्याएको आधारमा प्रिन्सिपल आशुतोषगांगुलीले गणित मूल विषय लिएर भौतिक समूहमा पढ्ने गरी भर्ना गरिदिए । यसरी म विज्ञानको छात्र हुनपुगेँ।

गणितका शिक्षक नारायणबहादुर मान न्धर (जो गणितमा एम.ए. गर्ने प्रथम नेपाली थिए) ले आई.एस्सीमा पढाएको गणित कक्षाको सम्झना अहिले पनि ताजै छ। उनी यति ठूलो स्वरले बोल्थे कि त्रि-चन्द्र कलेजका हल जस्ता कक्षाकोठा पूरैगुञ्जिन पुग्दथे। उनको मुखबाट निस्कने थुकका छिटाले नजिकैका बेञ्चमा बस्ने विद्यार्थीलाई हैरान पाथ्र्यो तर उनलाई त्यसको कुनै पर्वाह हुँदैनथ्यो। उनको ठूलो आवाजले गर्दा विद्यार्थीले पढाइका कुरा राम्ररी मनन् गर्न पाउँदैनथे। उनी आफ्नै सुरमा एकोहोरो पढाएर जान्थे। विद्यार्थीले बुझे/बुझेनन् भन्ने मतलबै राख्दैनथे। मैले उनीबाट सिकेको कुरा हो- आफ्नै धुनमा बेखबर भएर पढाउनु पनि शिक्षकको एउटा कमजोरी नै हुँदोरहेछ। विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन, योग्य शिक्षक हुन सही शिक्षण सीप पनि हुनुपर्दोरहेछ।

गणितकै प्राध्यापकहरूमध्ये आशुतोषगांगुली चाहिँ न चर्को न त मसिनो स्वरमा पढाउँथे । उनले बोल्ने अङ्ग्रेजी पनि एकदम स्पष्ट, मीठो र बुझिने हुन्थ्यो। उनी आफ्नो कार्यव्यस्तताले गर्दा नियमितरूपले कक्षा (त्यसबखत उनी प्रिन्सिपल थिए) लिन पाउँदैनथे तर पढाउन आएपछि एकघण्टाका ठाउँमा दुई घण्टा पढाउँथे । कक्षाको कोर्ष पूरा गरेरै छाड्थे। उनको पढाउने शैलीमा सबै विद्यार्थी मुग्ध हुन्थे। उनले मलाई एमएसम्म गणित पढाए ।गांगुली सरको पढाउने शैलीले मेरो शिक्षण यात्रालाई पछि सम्म प्रभावित पारिरह्यो तर मैले जति कोशिश गरे पनि उनी जस्तो सफल गणित प्राध्यापक हुन सकिनँ।

मैले सम्झ्निे कलेजका प्राध्यापकहरूमा प्रा. यदुनाथ खनाल पनि थिए । उनी अङ्ग्रेजी पढाउँथे। उनको अङ्ग्रेजी मीठो र स्पष्ट हुन्थ्यो, ध्यान दिएर पढ्ने विद्यार्थीले उनले बोलेका प्रत्येक शब्द हृदयङ्गम गर्न सक्थ्यो। उनको कक्षा शान्त र व्यवस्थित हुन्थ्यो । पढाउने शिक्षकको विद्वत्ता र पढाउने शैलीले कक्षालाई नियन्त्रणमा लिँदोरहेछ भन्ने मैले त्यतिबेला नै राम्ररी बुझेँ । खनाल सरले कक्षामा कुनै विद्यार्थीप्रति कडा वचन गरेको मैले कहिल्यै थाहा पाइनँ। उनी सधैं एकनासको मध्यम स्वरमा बोल्थे । मानिस धीर हुनुपर्छ र मधुरो बोल्नुपर्छ भन्ने कुरा का निम्ति मैले प्रा. खनाललाई जीवनभरि आदर्श मानिरहेँ।

रसायनशास्त्र पढाउने गुरुहरू डा. ध्रुवमान अमात्य र अमृतप्रसाद प्रधान पनि विद्यार्थीमाझ् अति लोकप्रिय थिए। भर्खर बेलायतबाट डक्टरेट गरेर आएका ध्रुवमान मुखाग्र पढाउन सक्थे भने अमृतप्रसाद प्रधानको स्पष्ट उच्चारणले गर्दा उनले भनेका सबै कुरा बुझन सकिन्थ्यो। हामी सबै विद्यार्थी ध्रुवमान जस्तै आफ्नो विषयमा धुरन्धर हुन चाहन्थ्यौं । विद्यार्थीमा रराम्रो छाप पार्न सक्नु एक असल शिक्षकको प्रभावकारीगुण रहेछ भन्ने शिक्षा मैले यिनै गुरुहरूबाट लिनसकेँ।

मेरो औपचारिक विद्यार्थी जीवनयात्राको समापन विद्यावारिधि गर्दाका मार्गनिर्देशक भारतीय प्राध्यापकमा पुगेर भयो। उनी कोलम्बो प्लानअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरमा गणित पढाउन भारत सरकारबाट छानिएर आएका थिए। उनी ठूला विद्वान् त थिए नै; अत्यन्त सरल र सौम्य व्यवहारका धनी पनि थिए। उनी विद्यार्थीलाई आफ्नो मित्र ठान्थे र मित्रवत् ढङ्गबाट प्रश्नहरूको जवाफ दिन्थे। तिनै डा. कृष्णमुरारि सर पछि म हिन्दुस्थानमा विद्यावारिधि गर्न जाँदा मेरा शोधनिर्देशक भए। गणित विषयमा मैले उनीसँग रहेर तीन वर्षसम्म गरेको शोधकार्य मेरो जीवनकै अविस्मरणीय घटना हो। उनी कुनै पनि समस्यालाई सजिलो ढङ्गबाट लिन्थे। शोधका प्रत्येक समस्या हल गर्ने तरिका उनी स्पष्टसँग बताइदिन्थे। उनी मलाई अति माया र विश्वासगर्थे। उनीबाट मैले शैक्षिक , सामाजिक र अनेक व्यावहारिक निर्देशनहरू पनि पाएँ । आफूभन्दा कनिष्ठलाई कसरी आत्मीयतापूर्वक व्यवहार र स्नेह दर्शाउनुपर्दछ- मैले उनीबाट सिकेको मूलभूत शिक्षा थियो । शैक्षिक विषयका समस्यालाई कसरी हल गर्ने बाटो लिनुपर्दछ, मैले उनीबाट सिकेको अर्को ठूलो शिक्षा थियो । मेरो जीवनमा प्रा.डा. कृष्णमुरारि गुरुको जति अरू कसैको पनि प्रभाव परेको छैन।

मेरा पुराना कथाहरू आजका शिक्षक साथीहरूलाई कतै उपयोगी होलान् कि भन्ने आशाले यो संस्मरण लेखेको हुँ। अन्त्यमा, डा. कृष्णमुरारिसहित सबै दिवङ्गत गुरुहरूप्रति आदर र श्रद्धासुमन अर्पण गर्द छु।   

शिक्षक  मासिक, २०६७ साउन अंकमा प्रकाशित। 

commercial commercial commercial commercial