सच्चा गुरु !
सत्यको खोजका लागि भनेर घरबाट निस्किएका युवाले केही पर पुग्नासाथ एक फकिर (साधु) लाई देखे। रूखको छहारी सहितको चौतारोमा बसेका साधुको छेउमा पुगेर युवाले भने- “बाबा, म सत्यको खोजमा हिंडेको छु। यसनिम्ति मलाई एक जना गुरु जरूरी हुन्छ । मलाई त्यस्ता गुरु पहिल्याउने बाटो देखाइदिनुस्!”
फकिरले सम्भाव्य गुरुको हुलिया बताउँदै भने, “तिमीले जहाँ कपुरको वृक्ष मुनि मृगासनमा बसेर पूर्व दिशातर्फ इशारा गरी बोलिरहेको व्यक्ति देख्छौ, उनी नै तिम्रा गुरु।”
फकिरको सल्लाह बमोजिमका गुरुको खोजीमा युवा त्यहाँबाट हिंडे । यात्रा क्रममा फकिरले वर्णन गरे जस्ता कैयौं चौतारा, वृक्ष, व्यक्ति, साधुहरू उनले भेटे। तर, कहीं वृक्ष अर्कै जातको हुन्छ, कहीं साधुको इशारा विपरीत दिशामा हुन्छ... ।
यस्तै गर्दागर्दै ३० वर्ष बिते । खोजे जस्ता गुरु कहीं भेटिएनन् । युवा थकित भएर घर फर्कंदै थिए । घरभन्दा केही टाढाको त्यही चौतारोमा उही बुढो फकिरलाई देखे। फकिर पहिले जस्तै आसनमा बसेर पूर्वतिरै इशारा गरिरहेका थिए र वृक्ष पनि कपुर नै थियो।
जुन हुलियाका गुरु खोज्न युवा ३० वर्ष भौंतारिए, त्यो त यहीं पो रहेछ ! युवा भक्कानिंदै ती फकिर-साधुको पाउमा घोप्टिन पुगे । अनि उनले गुनासो गरे, “आखिर मेरो वास्तविक गुरु तपाईं नै हुनुहुँदोरहेछ; तर मलाई त्यतिबेलै किन भन्दिनुभएन ? म यतिका वर्ष भड्किनु पर्यो !”
युवालाई शान्त तुल्याउँदै फकिरले भने, “म त तिमीलाई त्यतिबेला नै भनिरहेको थिएँ, तर तिमी मेरा कुरा राम्ररी सुन्न तयार नै थिएनौ त, म के गरौं ! तिमी यति हतारमा थियौ कि आफ्नैसामु रहेको यथार्थलाई नजरअन्दाज ग¥यौं । त्यसै भएर तिमीले ३० वर्ष भड्किनु प¥यो । तर यस्तो प्रायः हुन्छ। हामी आफू नजिकको कुरा देख्न सक्दैनौं, टाढाकोले हामीलाई यसैगरी लोभ्याइरहन्छ !”
–सूफी कथा



