गणित-ओलम्पियाड अनुभवः ज्ञान होइन, सोचको परीक्षा
अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (International Mathematical Olympiad -IMO) माध्यमिक तहका विद्यार्थीका लागि विश्वमै सबैभन्दा प्रतिष्ठित गणित प्रतिस्पर्धा हो। दुई दिनसम्म हुने यो ओलम्पियाडमा सहभागीले गणितका ६ वटा समस्या हल गर्नुपर्ने हुन्छ। समस्या वा प्रश्न सामान्य पाठ्यपुस्तकमा भेटिने खालका हुँदैनन्। ती ज्ञानको परीक्षा कम, सोचको परीक्षा बढी गर्ने खालका हुन्छन्। कहिलेकाहीं एउटा हिसाबको उत्तर केही घण्टामै आउँछ, कहिले त्यही समस्या हल गर्दैमा दिन बित्छ। यो प्रतियोगिता धैर्य, तर्क र निरन्तर अभ्यासको परीक्षा हो।
आईएमओमा नेपालको प्रतिनिधित्व गर्ने शुरुमा मेरो कुनै सपना थिएन। पछि थाहा पाएँ नेपालका विद्यार्थी पनि सन् २०१७ देखि अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी भइराखेका रहेछन्। यसबारे बुझदै जाँदा मेरो चासो आकांक्षामा परिवर्तन भयो।
नेपालमा छनोटका लागि म्याथम्याटिकल एशोसिएसन नेपाल (एमएएन) ले हरेक वर्ष जिल्ला, प्रदेश र राष्ट्रिय चरणका प्रतियोगिता मार्फत ३० जना छनोट गरेर तालिम प्रदान गर्छ। राष्ट्रिय तहमा उत्कृष्ट भएर छानिएका विद्यार्थी ‘टिम सेलेक्शन टेस्ट’मा पुग्छन् र अन्तिममा ६ जना अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि छनोट हुन्छन्। मैले कक्षा-१० मा छँदा पहिलो पटक जिल्ला तहमा भाग लिएँ। त्यही वर्ष नै राष्ट्रिय चरणको अन्तिम १०० जना भित्र परें। नेपालमा गणित विषय मन पराउने म मात्रै होइन रहेछु भन्ने त्यही बेला थाहा पाएँ। कक्षा ११ मा पढ्दै गर्दा राष्ट्रिय तहको अन्तिम १५ मा परें तर तर आईएमओ टिममा परिनँ। तर हरेस खाइनँ। म अझ् दृढ भएर पढ्न थालें।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीका लागि नेपालमा संस्थागत तालिम खासै उपलब्ध छैन। धेरैजसो समय म आईएमओका पुराना समस्याहरू लिएर एक्लै अभ्यास गर्थें। एउटै हिसाब हल गर्न कहिले घण्टौं लाग्थ्यो, कहिले प्रश्न नै बुझन गाह्रो हुन्थ्यो। तर विस्तारै थाहा पाउँदै गएँ- अभ्यास गर्नुको कुनै विकल्प हुँदोरहेनछ। अन्ततः सन् २०२५ मा मेरो नाम अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आईएमओ प्रतिनिधिमा समावेश भयो।
हालै (जुलाई, २०२५) मा अष्ट्रेलियाको ब्रिसवेनस्थित सनशाइन कोस्टमा सम्पन्न अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालबाट सहभागी ६ जना विद्यार्थीमध्ये म पनि एक थिएँ। नेपालका लागि यो वर्ष ऐतिहासिक बन्यो। श्रेयश शर्मा बाँस्तोलाले नेपालकै पहिलो कांस्य (‘ब्रन्ज’) पदक जिते। प्रतियोगितामा मैले एउटा समस्याको पूर्ण समाधान गरेर सात अंक प्राप्त गरें र सम्मानजनक सहभागिताको प्रमाणपत्र (Honourable Mention -HM) हासिल गरें। थप उत्साहजनक कुरा के थियो भने, हाम्रो टोलीले नेपालको लागि हालसम्मकै सबैभन्दा उच्च सामूहिक स्कोर ल्यायो। परिणामतः नेपाल विश्व श्रेणी ९चबलपष्लन० मा ९० बाट ८१ मा उक्लेको छ। यसले गणित विषयमा नेपालले पनि विश्वस्तरमा उपस्थिति दर्शाउन थालेको संकेत गरेको छ।
सधैं जस्तै यस वर्षको प्रतियोगितामा गणित विषयबारे विचारविमर्श पनि भयो। प्रसिद्ध गणितज्ञ प्रो. टेरेन्स टाओले ‘एआई र गणित’ बारे विचार राखे। उनको प्रमुख प्रश्न थियोः के एआईले कहिल्यै मानव गणितज्ञको स्थान लिन सक्ला ? “गणित केवल गणना होइन; सोच, सन्देह र अन्ततः मानवीय अन्तज्र्ञानको अभ्यास हो”, प्रो. टाओको कथन थियो। उनले भने, “हिसाब गर्नका लागि एआईको सहयोग उपयोगी हुन सक्छ, तर हाम्रा लागि सोचिदिने तहको विकल्प यो होइन।” त्यो सम्बोधनले मलाई गणितका सवालमा प्रतियोगिता भन्दा बाहिर पनि संसार छ भन्ने सोच्न सिकायो। गणितको महŒव प्रश्न हल गर्नु मात्रैमा हैन; सोच्ने बानी बनाउनुमा रहेको छ।

गणित ओलम्पियाड-२०२५ मा सहभागी नेपाली विद्यार्थी– बायाँबाट क्रमशः आयाम आचार्य, द्रोण चौधरी, आशिष मिश्र, आयुष ठगुन्ना, श्रेयस शर्मा बास्तोला र नमन माहेश्वरी ।
आईएमओ-२०२५ का दुई दिन र परीक्षाका ९ घण्टा- मेरो जीवनका गम्भीर घडीहरू थिए। म जस्तै ११० देशका ६३० प्रतियोगीहरू आ-आफ्ना समस्यामा डुबिरहेका, कोही लेख्दै, कोही सोच्दै, कोही निराश हुँदै गरेको देखें। मैले सबै, ६ वटै समस्याको पूर्ण समाधान गर्न सकिनँ, तर एउटा समस्याको समाधानले मलाई ‘एचएम’ सम्मान दिलायो।
यो ओलम्पियाडमा सहभागी भएपछि मैले गणित सिक्न धैर्य चाहिने रहेछ भन्ने राम्ररी बुझें। यसले नबुझेककाे हिसाबसँग कसरी सामना गर्ने, हल गर्न नसकेपछि आउने निराशालाई चिरेर कसरी अघि बढ्ने भन्ने पनि सिकायो। यो सबै सिक्ने प्रक्रिया रहेछ र अझ महत्वपूर्ण कुरा हिसाब एक्लै पनि सिक्न सकिन्छ भन्ने आत्मबल पाएँ। यसले आफूले नबुझेका कुरा स्वीकार गर्न सिकायो। पुनः प्रयास गर्न उत्साहित बनायो। फर्केर आएपछि मलाई के लाग्यो भने नेपालमा धेरै विद्यार्थीले गणितमा चासो त देखाउँछन्, तर त्यो चासो सधैं फलदायी यात्रामा रूपान्तरण हुनसक्दैन। त्यसैले गणितका प्रतियोगिताहरू देशका कुना–कुनामा पुग्नु र हिसाबमा चासो जगाउनु जरूरी छ।
हाम्रो शिक्षाले गणितलाई अझै पनि ‘रट्टामार’को विषय बनाइरहेको छ। डर, दबाब र परीक्षाकेन्द्रित शिक्षा प्रणालीले हामीलाई सोच्न बाध्य पार्दैन र सिर्जनशील बनाउँदैन। मलाई अब ‘रट्टामार’को सोच बदल्ने समय आए जस्तो लाग्छ। हरेक विद्यार्थी आईएमओ जानुपर्छ भन्ने होइन; तर हरेक विद्यार्थीले गणितको आनन्द लिन पाउनुपर्छ। शिक्षकहरूलाई सिर्जनात्मक अभ्यास गर्न प्रेरित गर्नुपर्छ। विद्यालयहरूमा गणित क्लब, छलफल र पाठ्यपुस्तक भन्दा बाहिरका अभ्यास पनि आवश्यक छन्।
गणित केवल उत्तर खोज्ने अभ्यास होइन, प्रश्न उठाउने साहस पनि हो। यदि हाम्रो शिक्षा प्रणालीले यस्ता प्रश्नलाई स्थान र महत्व दिन सक्यो भने, त्यस्तो साहस हामी सबैमा पलाउन सक्छ। यो नै मेरो गहिरो बुझाइ हो।
शिक्षक मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।



