कहाँ चुक्यो नागरिक-शिक्षा ?

सार्वजनिक स्थलमा आम नेपालीले प्रदर्शन गर्ने सामाजिक व्यवहार एवं प्रवृत्तिका आधारमा हाम्रो नागरिक चेतना अनि सभ्यताको स्तर कमजोर छ भन्न सकिन्छ। अस्पताल या विमानस्थलमा पंक्तिबद्ध हुने, धैर्य गर्ने विषयमा मात्र होइन विमानभित्र परिचालिकाहरूले गरेका आग्रहलाई समेत बेवास्ता गरिरहेका हुन्छौं। मोबाइल फोनको प्रयोग गर्नेदेखि, जहाजको ढोका नखोल्दै सिटबाट उठेर भीड लगाउने अनि ठूल्ठूलो स्वरमा चिच्याउँदै निजी कुरा गर्ने प्रवृत्ति हामीलाई सामान्य लाग्छ। विदेशमा छँदा अनुशासित र ज्ञानी देखिने, सुस्त बोल्ने र जथाभावी फोहोर नफाल्ने नेपाली नै नेपाल अवतरण गर्नासाथ देशका कुरा काट्न, गुनासा गर्न, फोहोर फाल्न र जथाभावी थुक्न समेत थाल्छौं।

सडकमा जेब्राक्रसबाट बाटो काट्ने जस्तो सामान्य नागरिक चेतना (civic sense) र संस्कार पनि हामीमा विकास हुन बाँकी छ। अनि सडकमा पर्याप्त जेब्राक्रस पनि छैनन्। यातायातका साधनले पनि जेब्राक्रसमा पैदल यात्रुलाई प्राथमिकता दिंदैनन्। आकाशे पुल भएको ठाउँमा पनि तलबाट बाटो काटिरहेको दृश्य काठमाडौंमा हरेक दिन देख्न पाइन्छ। ठूलै बार लगाइएको ठाउँमा पनि बारमाथि चढेको देखिन्छ। ट्राफिक बत्ती जडान भएको ठाउँमा लाइटको सङ्केत पालना नगर्ने दृश्य सबै ठाउँमा देखिन्छ। गाडी हाँक्नेहरूलाई ‘लेन अनुशासन’ कस्तो हुन्छ भन्ने थाहा नै नभएको जस्तो महसूस हुन्छ। निजी तथा सार्वजनिक सवारी साधनको जथाभावी पार्किङको अवस्था उस्तै हुन्छ। यात्रु चढाउने र ओराल्नका लागि कुनै निश्चित ठाउँ नै छैनन् र भएकाको पनि सदुपयोग हुँदैन। पर्याप्त सडकपेटी छैन अनि आम नागरिकमा पनि भएका सडकपेटीको प्रयोग गर्ने संस्कार विकास हुनसकेको छैन। अनि भएका सडकपेटी पैदलयात्रुमैत्री पनि छैनन्।

हाम्रा सडक, सार्वजनिक स्थल, पार्क, खेलमैदान, मन्दिर, मस्जिद बगैंचा, चर्च, नदीनाला जहाँतहीं पनि जथाभावी फोहोर फालिएको हुन्छ। त्यहाँ ‘जथाभावी फोहोर नफाल्नुहोला’ भनेर लेखिएका बोर्डहरू नै लज्जित भइरहेको महसूस हुन्छ। घरको फोहोर लगेर सडक तथा खोलाहरूमा जानीजानी फालिन्छ। सार्वजनिक स्थलहरूमा पालो कुर्ने, विनम्रतापूर्वक साना बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने भन्ने विषय हामीबाट अझै धेरै टाढा रहेको भान हुन्छ। बैंकमा टोकन लिइसकेपछि पनि पालो कुर्न हतार भइरहेका दृश्य प्रशस्तै भेटिन्छन्।

सरकारी कार्यालय, संस्था, क्याम्पस, विश्वविद्यालय आदि सार्वजनिक निकायमा कम्प्युटर, बत्ती, पंखा, हीटर बन्द गर्ने संस्कार हामीले सिक्नै बाँकी छ। कुनै दुर्घटना भयो भने सहयोग र उद्धारभन्दा फोटो र भिडियो खिच्ने र तमासे बन्न तँछाडमछाड गरिरहेको देखिन्छ। सामाजिक सञ्जालमा घृणायुक्त भाषाको प्रयोगबाट साइबर अपराधहरूको मात्रा बढिरहेको छ। भाडामा बस्नेहरूलाई कतिपय घरधनीले गर्ने व्यवहारहरू निम्नकोटिका हुन्छन्। विद्यालयमा शिक्षकहरूबाटै विद्यार्थीमा यौन हिंसा भएका घटना सञ्चारमाध्यममा आउने गर्छन्।

हामीकहाँ कालोबजारी, ठगी, कमसल गुणस्तरका सामान बिक्री गर्ने, विल नदिने, खाद्यान्नमा मिसावट गर्ने आम प्रचलन छ। होटल, रेस्टुराँका खानेकुराको सरसफाइमा समेत विश्वस्त हुन सकिन्न। जुनसुकै क्षेत्रमा पनि बिचौलियाको बिगबिगी भेटिन्छ। एप्सको प्रयोगबाट मिटरमा चल्ने ट्याक्सीहरूको ठगी नियन्त्रण भयो कि भनिरहँदा यी एप्सले पनि चाडपर्व अथवा अप्ठ्यारो पर्दा संगठित रूपमै ठगी गरिरहेको पाइन्छ। सरकारी कार्यालयका काममा हुने ढिलासुस्ती, अपारदर्शिता र गैरजिम्मेवारीका विषयको कुरा गरेर साध्य नै हुँदैन। ती सरकारी निकायका फोन उठ्दैनन्। सेवाग्राहीसँग असल व्यवहार गरिंदैन। विभिन्न तहका परीक्षाहरूमा चिटिङको प्रवृत्ति बढ्दो छ।


२४ भदौ २०८२ मा देशभर भएको तोडफोड, आगजनी, लुटपाट र हिंसाले हाम्रो नागरिक चेतनामा गम्भीर प्रश्न उब्जाएको छ। के हामी नेपाली बहादुर बनेका सधैं तोडफोड र हिंसाका लागि मात्र हो?

तस्वीरमिनाक्षी रोक्का क्षेत्री

के सबै नेपालीले यसै गर्छन् त ? होइन, सबैले गर्दैनन् तर धेरैले गर्छन्, केहीले गरेको देखेपछि नगर्ने पनि यसो गर्दा केही नहुने रहेछ भनेर त्यतै लाग्छन्। ट्राफिक नियम पालना गर्ने विषय हाम्रा लागि निकै कठिन छ। चोकहरूमा सधैं-सधैंजसो चालक र ट्राफिकको गलफत्ती भइरहेको हुन्छ। राज्यका नियामक निकायहरू पनि अपवाद छैनन्। सबैमा शासक हुने रहर मात्र देखिन्छ। आफू बाहेक अरू सबै नागरिकका व्यवहार शिष्ट, सभ्य र संस्कारयुक्त होस् भन्ने आम अपेक्षा पाइन्छ। कुशासनको यस्तै दुश्चक्र चलिरहेकै छ।

यी सबै नागरिक र शिक्षा चेतनाका विषय हुन्। नागरिकहरूमा असल आचरणको विकास गराउन नसक्दा देखिएका व्यवहारहरू हुन्। नागरिक चेतना विकास र सभ्य नागरिक समाजको निर्माणमा ध्यान नदिंदा विकसित भएका प्रवृत्तिहरू हुन्। आशा गरौं, माथि उल्लेख गरिएका विभिन्न प्रवृत्ति विस्तारै सुधार हुँदै पनि जालान्। तर २०८२ भदौ २४ गते देशभर भएको तोडफोड, आगजनी, लुटपाट र हिंसाले नेपालको समग्र अर्थतन्त्र, नागरिक जीवन र विकासको यात्रामा थुप्रै अवरोध सिर्जना गरेको छ। हजारौंले रोजगारी गुमाएका छन्। व्यक्तिगत सम्पत्ति, विद्यालय, कलेज, सञ्चारमाध्यम, होटल, व्यापारिक केन्द्रहरू मात्र नभई राज्यका महत्वपूर्ण निकाय संसद् र अदालत तथा प्रशासनिक केन्द्र सिंहदरबारमा समेत भएको आगजनीले खर्बाैंको भौतिक संरचना लगायत सम्पत्ति नोक्सान भएको छ। यसले हाम्रो नागरिक चेतनामा गम्भीर प्रश्न उब्जाएको छ। के हामी नेपाली बहादुर बनेको सधैं तोडफोड र हिंसाका लागि मात्र हो ? भन्ने प्रश्न उब्जिएको छ। कुनै देशले आफ्ना नागरिकलाई ‘अब नेपाल असुरक्षित छ, नजानू’ भन्छ भने त्योभन्दा लज्जास्पद अरू के हुन सक्छ? सामाजिक सञ्जालको विदेशी मालिकले ‘तिम्रो देशमा कुशासन छ, म दर्ता हुन्न’ भन्छ भने त्योभन्दा ठूलो बेइज्जत अरू के हुन्छ ?

हामीलाई नागरिक सभ्यता, नागरिक कर्तव्य र जिम्मेवारीबोध सिकाइरहेको शिक्षाको भूमिका के हो ? हाम्रो नागरिक चेतनाको स्तर किन यति धेरै कमजोर हुनगयो ? यस्ता क्रियाकलापमा शिक्षाले कस्तो सकारात्मक वा नकारात्मक भूमिका निर्वाह गरेको होला ? यो जटिल र अनुत्तरित प्रश्न हो, तर पनि हाम्रो शिक्षाले यस्ता पक्षमा के काम गरिरहेको छ भन्ने समीक्षा जरूरी छ। हाम्रो शिक्षाका राष्ट्रिय उद्देश्य के कति मात्रामा हासिल भए वा नागरिकहरूमा त्यसले के कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रश्न स्वाभाविक भएको छ। आम प्रवृत्ति र घटनाक्रमहरूले चाहिं नागरिक चेतना जागृत गराउने सवालमा हाम्रो शिक्षाको योगदान शून्य जस्तै देखिएको छ।

संविधानको धारा ४८ मा तोकिएका नागरिकका कर्तव्यहरूको चौथो बुँदामा ‘सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नू’ भन्ने उल्लेख छ। संविधानमा लेखिएकै आधारमा नागरिकका कर्तव्यहरूको कार्यान्वयन हुनेभए यतिबेला खर्बाैं रुपैयाँको सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट र आगजनी अवश्य हुने थिएन। विरोधका शैली फरक हुनेथिए। गलत सूचनालाई आधार बनाई असम्बन्धित व्यक्ति र संस्थाको सम्पत्तिमा क्षति पुर्‍याइन्नथ्यो।

नागरिक चेतना विकास गर्न, असल र चरित्रवान् नागरिक तयार गर्न, नागरिकका कर्तव्य सम्बन्धी व्यवस्थाको कार्यान्वयनका सन्दर्भमा नागरिक सचेतीकरणका लागि नागरिक शिक्षालाई कति प्रवर्धन गर्न र नागरिक कर्तव्य बुझाउन के-के प्रयास गरियो भन्ने महत्वपूर्ण प्रश्न हुन्। यी प्रश्नहरूको प्रति प्रश्न के नागरिक कर्तव्य नबुझेर मात्रै यो विध्वंस भएको हो त भन्ने पनि हो। नागरिक चेतनाको जिम्मेवारी कसको हो र शिक्षाको कति भन्ने पनि स्वाभाविक प्रश्न हुन सक्छ।

समाज र राष्ट्रप्रति नागरिकको दायित्व हुन्छ। कसैमाथि विभेद नगर्ने, सम्मानजनक व्यवहार गर्ने, पेशागत नैतिकता र आचरणको पालना गर्ने लगायत विषयहरू असल नागरिकका गुण हुन्। नेपालको विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यमा ‘राष्ट्र र राष्ट्रियताप्रति बफादार, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान् एवम् जिम्मेवार नागरिक तयार गर्ने’ उल्लेख गरिएको छ। असल स्वभाव र चालचलनलाई चरित्रवान् मानिन्छ। कसैलाई अपमानजनक व्यवहार नगर्ने, ठगी नगर्ने, सार्वजनिक स्थलमा फोहोर नगर्ने मात्र होइन राज्यका संविधान, ऐन, कानून, नियमको पालना गर्नु पनि नागरिक कर्तव्य भित्रै पर्ने कुरा हुन्।

जिम्मेवार नागरिक र शिक्षा
नागरिक चेतना विकास गर्ने काम नागरिक शिक्षा (civic education) को मात्र पक्कै पनि होइन। तर विद्यालय समाजको एउटा सानो प्रतिरूप समेत हुने भएकोले बालबालिकाको व्यवहार र चरित्र निर्माणमा त्यसको भूमिका महत्वपूर्ण हुन्छ। पंक्तिमा हिंड्ने, आफ्नो पालो कुर्ने, एकअर्कामा विभेद नगर्ने जस्ता विषयहरू विद्यालयबाटै प्रवर्धन गर्न सकिन्छ। यसका लागि कुनै अलग पाठ वा विषय मात्र पढाएर हुने होइन। विद्यालयको हरेक दिनका क्रियाकलापमा यी विषयहरूलाई जोड्न सकिन्छ। पाठ्यक्रममा राखिएको वा पाठ्यपुस्तकमा पाठहरू लेखिएकै आधारमा विद्यार्थीले ती विषयहरू सिक्छन् भन्न सकिन्न। यसमा शिक्षण सिकाइ प्रक्रियाको ठूलो भूमिका हुन्छ।

हालको विद्यालय शिक्षाको कक्षा-४ देखि १० सम्मको सामाजिक अध्ययन विषयमा ‘नागरिक चेतना’ भन्ने एकाइ राखिएको छ। कक्षा-४ देखि १० सम्मका ‘नागरिक चेतना’ एकाइमा ५२ वटा पाठ रहेका छन्। तिनका शीर्षक आकर्षक छन्, अभ्यासका लागि दिइएका क्रियाकलापहरू यथेष्ट छन् तर; पाठको विषयवस्तु सतही छ, अपर्याप्त र सिकाउन खोजेको के भन्ने स्पष्ट छैन। कक्षा-१० मा संविधानमा भएका नागरिक कर्तव्यका सूची मात्र दिइएको छ।


सार्वजनिक स्थलहरूमा पालो कुर्ने, साना बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने भन्ने विषय हामीबाट अझै धेरै टाढा रहेको भान हुन्छ।

मौलिक हकलाई सूचीबद्ध गरिएको छ। पाठ्यपुस्तकमा विषयवस्तुको सैद्धान्तिक ज्ञान पर्याप्त छ तर त्यसको व्यावहारिक र कार्यान्वयन पक्षबारे कुनै उल्लेख छैन। कुनै पनि घटना, सन्दर्भ र उदाहरण दिइएको छैन। सैद्धान्तिक ज्ञानको मात्रा पनि बोझ्लिो छ। मतदानका बेला असल उम्मेदवार कसरी पहिचान गर्ने भन्ने सन्दर्भ छैन, संसद् गठन कसरी हुन्छ भन्नेमा जोड दिइएको छ। संविधानमा लेखिएको नागरिक कर्तव्यको सूचीमा भएको सार्वजनिक सम्पत्तिको परिचय र संरक्षणको विषय समावेश नगरी कसरी यसलाई अनुभूत गराउन सम्भव हुन्छ ? देशप्रेमको भावना सिकाउन राष्ट्र र राष्ट्रियताको परिचय र महत्व उल्लेख भएको पाठ कति पर्याप्त हुन सक्ला ? सम्पदा संरक्षणका विषयहरू कसरी बुझाउने ? स्वतन्त्रता र समानताको मौलिक हक किन चाहिन्छ भन्ने सन्दर्भ नै छैन। मौलिक हकको परिभाषामा सीमित छ। मानवअधिकारका विषय पनि सतही र सैद्धान्तिक छन्।

कक्षामा पाठ पढाउनका लागि मात्र राखिएका यी विषयवस्तुसँगै सोचाइ र व्यवहार परिवर्तनका लागि पर्याप्त छैनन्। नागरिक चेतना जागृत गराउने यसको शिक्षणको सम्बन्धमा राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान र बहस जरूरी छ। नागरिक चेतना र नैतिक शिक्षाका विषयलाई अलग पाठ र विषयको रूपमा शिक्षण गर्नेभन्दा पनि हरेक विद्यालय र शिक्षकले यसका विषयवस्तुलाई प्रत्येक विषय तथा दैनिक शिक्षणमा जोड्नु आवश्यक हुन्छ। नैतिक आचरण सिकाउने कुरालाई कुनै विषयको ज्ञानमा सीमित गरिनुहुँदैन। अतिरिक्त क्रियाकलापको माध्यमबाट यस्ता विषय अझ प्रभावकारी तरिकाले सिकाउन सकिन्छ। गणितका नाफा-नोक्सानका हिसाबबाट मात्र होइन विज्ञानमा गतिका हिसाबबाट पनि सडक सुरक्षा, ट्राफिक नियम सिकाउन सकिन्छ । नेपाली, अंग्रेजी विषयका पाठबाट यथेष्ट मात्रामा यस्ता विषयहरू शिक्षण सिकाइ गराउन सकिन्छ। तर यसनिम्ति पाठ्यक्रमको व्यापक पुनर्संरचनासँगै शिक्षण सिकाइको विधिमा पनि परिमार्जन आवश्यक छ।

घर, परिवार, समुदाय, नागरिक समाज र मिडियाको पनि जिम्मेवारी हुन्छ नागरिक चेतना विकास गर्नका लागि । राजनीतिक दलको पक्षबाट हेर्दा यतिबेला ‘जस्तो बीउ रोप्यो उस्तै फल फल्छ’ भने जस्तै भएको छ। अब हाम्रा राजनीतिक दलहरूले पनि यस्ता विषयमा गम्भीर बन्नु आवश्यक छ। विभिन्न बालसाहित्य र बाल सन्दर्भ सामग्रीको विकासमा पनि यी पक्षहरूलाई समावेश गरिनुपर्छ। नागरिक चेतना विकास र सभ्य नागरिक निर्माणका लागि सबैले जिम्मेवारीबोध गर्नु आवश्यक छ र विद्यालय तथा समुदायमा सकारात्मक वातावरणको निर्माण मार्फत मान्छेमा सकारात्मक सोच, दया, माया, करुणा र आत्मविश्वास विकास गराउनु आवश्यक छ।  

शिक्षक  मासिक, २०८२ कात्तिक अंकमा प्रकाशित। 

commercial commercial commercial commercial