सिकाइ सहज बनाउन छापामय कक्षा

छापामय वातावरण के हो ?
कक्षाकोठाभित्र बालबालिकाले पढेका र पढ्नुपर्ने अक्षर, शब्द, चित्र, दृश्य आदि सामग्री मिलाएर सजाएको अवस्थालाई छापामय वातावरण (Print Rich Environment) भनिन्छ। यस्ता सामग्री अर्थपूर्ण, बालबालिकाको स्तर सुहाउँदा र उनीहरूलाई संलग्न गराउने खालका हुनुपर्दछ। यस्ता सामग्रीले सजिएको कक्षामा आफ्नो वरिपरि त्यस्ता सामग्री देख्दा, सुन्दा, स्पर्श गर्दा, अन्तरक्रिया गर्दा बालबालिकामा पढाइ, लेखाइ जस्ता भाषिक सीपका साथै सञ्चार र अभिव्यक्ति कलाको पनि विकास गर्न सजिलो हुन्छ। यसले कक्षाकोठा छापामय र दृश्यमय बनाउनुका साथै बालबालिकाको पहुँचमा साक्षरता या पाठ्यसामग्री उपलब्ध हुन्छन्। यसका लागि पोस्टर, चार्ट, शब्द, अक्षर, चित्र, बालबालिकाका सिर्जना, सूचना, निर्देशन, नियम सूची आदिको प्रयोग गर्न सकिन्छ। 

छापामय वातावरण किन ?
छापामय वातावरणले पढाइप्रति बालबालिकाको इच्छा र रुचि जगाउँछ। नयाँ अक्षर, शब्द वा पाठ सिक्न सहयोग पुर्‍याउँछ। अक्षर, शब्द र वाक्यसँग खेल्ने र चिनारी गर्ने अवसर सिर्जना हुन्छ। यसमा बालबालिकाले बनाएका चित्र तथा लेखेका अक्षर, शब्द पनि प्रयोग गर्न सकिने भएकाले उनीहरूको प्रतिभा र क्षमता प्रस्फुटन गर्न पनि यस्तो वातावरण सहयोगी हुन्छ। कुनै चित्र वा ठोस वस्तुको सम्बन्धलाई लेखनसँग जोड्न पनि छापामय वातावरणले सहज बनाउँछ। 

छापा सामग्रीले भरिएको कक्षाकोठाले बालबालिकामा भाषिक र साक्षरता सीप विकास गराउँछ। शिक्षकले सिकाउँदा नबुझेका अक्षर, शब्द पनि सधैं देखिरहँदा बालबालिकालाई ती शब्द, अक्षर परिचित र सहज लाग्न थाल्छन्। नयाँ-नयाँ शब्द र अर्थ सिक्नका लागि पनि यो तरिका अत्यन्त उपयोगी हुन्छ। भित्तामा लेखिएका शब्द, वाक्यले विस्तारै बालबालिकालाई आफैं रुचि लिएर पढ्ने स्वतन्त्र पाठकमा विकास गर्न प्रेरित गर्छन्। छपाइ सामग्रीमा आकर्षित भई पढाइ, लेखाइ र सिकाइमा उनीहरूको संलग्नता बढ्छ। 

छापामय सामग्रीका रूपमा प्रयोग भएका चार्ट, पोस्टर तथा डिजिटल सामग्रीले बालबालिकाको श्रव्य, दृश्य, श्रव्यदृश्य लगायतको सिकाइलाई पनि सघाउँछन्। साथै, ती सामग्री प्रयोगका लागि नजिक आउने-जाने क्रममा उनीहरूको शारीरिक विकासमा पनि बल पुगिरहेको हुन्छ। 

छापामय वातावरण कसरी ?
कक्षाकोठालाई छापामय बनाउनका लागि त्यसका चार भित्तामा चार किसिमका सामग्री सजाउन सकिन्छ। चारमध्ये कुनै एक भित्तालाई अक्षरभित्ता बनाउन सकिन्छ। यसमा पढाइ सकिएका अक्षर र बालबालिकाले कठिन मानेका अक्षर सजाउन सकिन्छ। अक्षर चार्ट बनाएर राख्न पनि सकिन्छ। यसैगरी अर्को भित्तालाई पढाइ सकिएका शब्द टाँसेर शब्दभित्ता बनाउन सकिन्छ। यसमा वास्तविक वस्तुका नाम लेखेर, शब्द बेलुन, शब्द पाङ्ग्रा, शब्द रूख आदि बनाएर शब्दहरू पस्कन र सजाउन सकिन्छ। 

अर्को भित्तामा बालबालिकाले बनाएका र अन्यत्रबाट संकलित चित्र टाँसेर चित्रभित्ता बनाउन सकिन्छ। यसमा चित्रसँगै त्यसको नाम, त्यसबारे छोटो विवरण र चित्र बनाउनेको नाम पनि दिन सकिन्छ। चित्रसँगै विद्यार्थीले लेखेका कविता र स-साना कथा पनि राख्न सकिन्छ। 


आफू समेत संलग्न भएर बनाइएका सामग्रीहरूसँग साक्षात्कार गर्दै बालबालिकाले सिक्छन्। कक्षाकोठाको छापामय वातावरणले बालबालिकालाई मात्र होइन, शिक्षक स्वयंलाई पनि शिक्षण सिकाइ सहज र रोचक बनेको महसुस हुन्छ। 

अर्को भित्ता सूचनाभित्ता हुन सक्छ। सूचनाभित्तामा कक्षाका बालबालिकाको तस्वीर, नाम, उनीहरूको पढाइको तह अनुरूपको किताबको रङ, हाजिरी विवरण जस्ता कुरा पनि यसमा राख्न सकिन्छ। साथै मिति, मौसमको अवस्था लेख्ने ठाउँ, कक्षाका नियम, निर्देशन, बिहानी सन्देश वा त्यस दिन गरिने क्रियाकलाप जस्ता विवरण पनि यसमा अटाउन सक्छन्।   

यसका अतिरिक्त विभिन्न विषयगत भित्ता पनि निर्धारण गरी सम्बन्धित विषयका सामग्रीहरू फरक-फरक भित्तामा सजाउन सकिन्छ। जस्तै: विज्ञान-भित्ता मा विज्ञानका विभिन्न उपकरणका चित्र, वैज्ञानिकका तस्वीर, विज्ञान शब्दावली आदि राख्न सकिन्छ। गणित-भित्ता मा गणितीय आकृतिहरू, अंक, गणितीय चिह्न आदि सजाउन सकिन्छ। कक्षाकोठामा ‘बूक कर्नर’ पुस्तक, अक्षरपत्ती, शब्दपत्ती, कोठेपद, पजल, चुम्बकीय अक्षर लगायत पोस्टर, कथाकार्ड र अन्य दृश्य सामग्रीहरू पनि कक्षालाई छापामय तुल्याउन प्रयोग गर्न सकिन्छ।   

छापामय सामग्री कसरी संकलन गर्ने ?
कक्षामा शिक्षण सिकाइमा प्रयोग गरिएका सामग्रीलाई पाठ पढाइसकेपछि सम्बन्धित भित्तामा टाँस्न सकिन्छ। चित्र कोर्न सिपालु सम्बन्धित कक्षाका तथा माथिल्लो कक्षाका विद्यार्थीको पनि सहयोग लिन सकिन्छ। पुस्तक-कुनो र पुस्तकालयका किताब पढेर, ती किताबका चित्र हेरेर बनाएका चित्र वा ती पुस्तकका शब्द, महत्वपूर्ण वाक्य पनि छापामय वातावरणका लागि सामग्री हुन सक्छन्। चित्र, लेखन वा सामग्री संकलनका लागि सम्भव भएमा अरू शिक्षक साथीहरूको सहयोग लिंदा पनि राम्रो हुन्छ। 

कक्षाकोठा व्यवस्थित राख्न पनि त्यत्तिकै ध्यान दिनु जरूरी छ; किनभने छापामय सामग्रीका नाममा धेरै र भद्रगोल सामग्री सजाइयो भने यसले कक्षाकोठाको सौन्दर्य घट्न सक्छ। सजाइएका छापामय सामग्री, स्पष्ट, पढ्न सकिने र बालबालिकाको पढाइको तह अनुकूल छन् भन्ने पनि सुनिश्चित हुनु जरूरी छ। 

पाठसँग सम्बन्धित हुने गरी समयसापेक्ष ढंगबाट मिलाएर छापामय सामग्री अपडेट गर्नुपर्छ। पुराना सामग्री निकालेर त्यसलाई बाइन्डिङ गरी किताब जस्तो बनाएर राख्न पनि सकिन्छ। नयाँ सामग्री सिर्जनाका साथै च्यातिएका सामग्री मर्मत तथा पुराना सामग्री व्यवस्थित गर्न; नियमित रूपमा सामग्री अद्यावधिक गर्नका लागि विद्यार्थीलाई पनि परिचालित गर्न सकिन्छ। सामग्रीहरू सन्तुलित र समावेशी होउन् भन्नेतर्फ पनि ध्यान दिनु जरूरी छ। 

निष्कर्ष
भनिन्छ असल शिक्षाले कसैलाई परिवर्तन गर्न सक्छ तर असल शिक्षकले सबैलाई परिवर्तन गर्न सक्छन्। त्यसैले एक शिक्षकको छापामय कक्षाकोठा बनाउने पहलले कक्षाका सबै विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउँछ। यद्यपि छापामय कक्षाकोठा बनाउनु भनेको विभिन्न सामग्री टाँसेर कोठा झ्किझ्काउ बनाउनु मात्र होइन, यसले कक्षामा एउटा बालमैत्री साक्षरता संस्कृतिको विकासमा सघाउ पनि पुर्‍याउनुपर्छ। आफू समेत संलग्न भएर बनाइएका सामग्रीहरूसँग साक्षात्कार गर्दै बालबालिकाले सिक्छन्। उनीहरू बोलिने भाषा र लेखिने भाषा दुवैसँग एकसाथ परिचित पनि हुँदै जान्छन्। उनीहरूलाई आफ्नो क्षमता, प्रतिभा देखाउने अवसर पनि प्राप्त हुन्छ। बालबालिकालाई मात्र होइन, कक्षाकोठाको छापामय वातावरणले शिक्षक स्वयंलाई पनि शिक्षण सिकाइ सहज र रोचक बनेको महसुस हुन्छ। त्यसैले, हामी पनि हाम्रा कक्षाकोठा छापामय बनाउन लागौं ! 

शिक्षक  मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।  

commercial commercial commercial commercial