सामुदायिक विद्यालयका पक्षमा केही तर्क

हिजोआज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनेको, त्यहाँका शिक्षकले नपढाई जागिर खाएको जस्ता तर्कहरू खुब सुन्न पाइन्छन्। यस्तो परिस्थितिमा; देशका सबै विद्यार्थी सामुदायिक विद्यालयमै भर्ना गरेर पढाउन थालियो भने के होला ? के एकाएक जादूको छडी जस्तो रूपान्तरण होला ? सुधार आउला ?

यस्ता सवालको उत्तर सजिलो छ- सम्पन्न, शिक्षित, अनुभवी, फुर्सदिला, समाजसेवी स्वभावका मानिसहरूले पनि आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पठाएपछि, ती विद्यालयको व्यवस्थापन समिति अब्बल बन्छ, आर्थिक स्रोत जुटाउन सजिलो हुन्छ। विद्यालयमा अभिभावकहरूको निगरानी बढ्छ र राम्रा सुझव पनि आउँछन्। फलतः ती विद्यालयको शिक्षाको गुणस्तरमा पनि सुधार हुन जान्छ। 


सामुदायिक विद्यालयमा बालबालिका पढेपछि छोरा-बुहारी, सासू, ससुरासँगै नातिनातिना पनि साथमा रहन्छन्। यसरी सँगै बस्दा आपसी माया, ममता, सद्भाव र सामाजिक दायित्वबोध बढ्छ र डिभोर्स’का मुद्दा पनि कम हुन थाल्छन्।

तर पनि, गुमेको विश्वास फर्काएर सबै अभिभावकलाई सामुदायिक विद्यालय नै रोज्न कसरी आश्वस्त पार्ने ? निःशुल्क पानी पिउने कि मूल्य तिरेर बोतलको पानी पिउने भनेर छनोट गर्ने अधिकार समुदायसँग छ। तीन खम्बे अर्थनीति भएको देशमा निजी विद्यालय समूल हटाउने बहस गर्नै पाइँदैन । त्यसैले संस्थागत विद्यालयलाई निषेध नगरी सामुदायिक विद्यालय सुधार्नका लागि सर्वप्रथम विद्यालय र समुदाय बीचको सम्बन्ध सुधार गरिनुपर्छ । त्यसनिम्ति विद्यालयलाई राजनीतिक दलको प्रभावबाट मुक्त पारिनुपर्छ। त्यसपछि पालो आउँछ- समाजको माथिल्लो तप्काबाट शुरू हुने सामुदायिक विद्यालयमा बच्चा भर्ना गर्ने अभियान !

सामुदायिक नै किन ?
सामुदायिक विद्यालय नै किन भन्ने सवाल धेरै पक्षबाट चर्कोसँग उठाइन सक्छ । त्यसनिम्ति, सामुदायिक विद्यालयका पक्षमा निम्न तर्क र कारण पेश गर्न सकिन्छ:

१. सहज पहुँच, सर्वसुलभता र निःशुल्क: अधिकांश सामुदायिक विद्यालयहरू घरछेउमै हुन्छन्। ढिंडोरोटी खाएर, आमाबाबुसँग बसेर, घरको काम भ्याएर पढ्ने सुविधा हुन्छ। पाठ्यपुस्तक निःशुल्क पाइन्छ। गाउँमा समेत योग्यतम शिक्षकहरू हुन्छन्। छात्रवृत्ति लगायत सुविधा सामुदायिक विद्यालयका विद्यार्थीलाई नै उपलब्ध हुन्छन्।

२. प्रतिस्पर्धामा छानिएका योग्य शिक्षकको व्यवस्था: शैक्षिक, शैक्षणिक र विषयगत पाठ्यक्रम तथा प्रतिस्पर्धाको आधारमा योग्यतम शिक्षक छानेर पठाउने प्रावधान सामुदायिक विद्यालयमा मात्र लागू छ।

३. राज्यबाट नै भौतिक व्यवस्थापन: सामुदायिक विद्यालयको भौतिक संरचनामा तीनै तहका सरकारको लगानी हुन्छ। सुरक्षित विद्यालयमा पढ्न पाउने बाल-अधिकार सुरक्षित गर्न राज्य लागेको अवस्था छ।

४. तालिमप्राप्त शिक्षक: निजी विद्यालयका शिक्षकलाई सामान्यतः तालिमको अवसर हुँदैन, भए पनि कम हुन्छ। सामुदायिक विद्यालयमा पढाउने शिक्षक शिक्षाशास्त्र पढेका, लाइसेन्स परीक्षा र शिक्षक सेवा आयोग पास गरेका मात्रै हुँदैनन्, तिनले सेवा प्रवेश, प्रमाणीकरण, मेन्टरिङ, बुटक्याम्प, मागमा आधारित पुनर्ताजगी लगायत दर्जन प्रकृतिका तालिम पनि पाएका हुन्छन्।

५. भ्रष्टाचार र कालोबजार नियन्त्रण गर्न: सन्तानलाई महँगो निजी शिक्षा दिन सामान्य र नियमित आम्दानीले नपुग्ने भएपछि अतिरिक्त आम्दानी गर्न विशेषतः सरकारी कर्मचारी र सार्वजनिक पदमा बस्नेहरू भ्रष्टाचार गर्नतिर लाग्छन्। यदि तिनका सन्तान सामुदायिक विद्यालयमा पढ्ने भए उनीहरू भ्रष्टाचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुन सक्छन्। 

६. उँच र नीचको मनोविज्ञान अन्त्य गर्न: ‘फलानाका छोराछोरी बोर्डिङ पढ्छन्, मेरा त सरकारीमा’ भनेर खिन्न बन्ने सामाजिक मनोविज्ञानलाई हटाएर शिक्षाले खडा गर्ने वर्गविभेद अन्त्य गरी समाजमा सद्भाव र सहअस्तित्व कायम गर्न पनि सामुदायिक विद्यालयको आम शिक्षाले सघाउँछ।

७. स्वार्थ मिल्दा सुधार हुन्छ: उच्च तहका कर्मचारी र नीति–निर्माताका बालबालिकाहरू निजी विद्यालयमा पढ्छन् भने तिनले सामुदायिक विद्यालयलाई योगदान पुग्ने नीति–नियम नबनाउन र बनेका नीति-नियमको पनि सही कार्यान्वयन नगर्न सक्छन्। तर तिनले आफ्ना सन्तान पनि सामुदायिकमा नै पढाएका छन् भने चाहिं सामुदायिक विद्यालय अनुकूल नीति-नियम बनाउन र कार्यान्वयन गर्न तिनीहरू पनि उत्साहित हुन्छन्।

८. शिक्षकको मर्यादा र आत्मसम्मान: लब्ध-प्रतिष्ठित र उच्च पदस्थहरूले पनि सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाएपछि सामुदायिक विद्यालयका शिक्षकप्रति समाजमा स्वतः सम्मानको भाव पैदा हुन्छ। ‘हामी वा म मन्त्री, सचिव, जनप्रतिनिधि र कर्मचारी, ठेकेदार तथा समाजका लब्ध–प्रतिष्ठित मानिसका सन्तानलाई पढाउँछु’ भन्ने आत्मगौरव शिक्षकलाई प्राप्त हुन्छ।

९. अनुगमन र सुपरीवेक्षण प्रक्रिया सुदृढ गर्न: शिक्षाको महत्व बुझेका व्यक्तित्वहरू आफ्ना बालबालिकाको पठनपाठनको स्थिति बुझन बारम्बार विद्यालयमा आउँछन्। घरमा पनि गृहकार्य गरे/नगरेको चेकजाँच गर्छन्। तर शिक्षा अधिकारी, वडाध्यक्ष, मेयर, जिल्ला अधिकारी, प्रअले नै आफ्ना छोराछोरी निजीमा पढाएका छन् भने तिनलाई सामुदायिक विद्यालय जाने आवश्यकता नै पर्दैन। सामुदायिक विद्यालयमा बच्चा पढाउने निम्न वैतनिक कर्मचारी, साधारण किसान र मजदुरहरू इमानदार भए पनि बारम्बार विद्यालय जाने, शिक्षाका कुरा उठाउन, सवाल गर्न उनीहरूको क्षमता, समय र हैसियतले साथ दिंदैन। 

१०. समाजवाद उन्मुख समृद्ध समाज निर्माण गर्न: औसत आम्दानी हुने परिवारले निःशुल्क पढाएपछि बालबालिकाको शिक्षामा हुने तिनको खर्च बचत भई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न, थप बचत गर्न सक्ने स्थिति तयार हुन्छ। यसरी खर्च कटौतीबाट परिवार समृद्ध बन्नुको साथै तिनै बच्चाको उच्च शिक्षाको लागि समेत व्यय क्षमता बढ्छ। 

११. विदेश पलायनको बाध्यता कम हुन्छ: बालबालिकाको अध्ययन सामुदायिक विद्यालयमा गरेपछि ठूलो खर्चबाट बच्न सकिन्छ, परिवारको आम्दानी बचत हुन्छ, शेयर तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सम्भावना बढ्छ। यहींको आम्दानीले व्यवहार धान्न सकियो भने विदेश हान्निनुपर्दैन।

१२. गाउँलाई हराभरा बनाउन: पति वा पत्नी विदेश जाने, बच्चाकी आमा शहरमा डेरा गरेर छोराछोरी बोर्डिङ पढाउने गर्दा अधिकांश परिवारका एक जना सदस्य र बालबालिका शहरमा बस्ने अवस्था छ। यदि सामुदायिक विद्यालयमै पढाउने हो भने त्यस्ता विद्यालय गाउँमै छन्। आमा र बच्चाले गाउँ छाड्नुपर्दैन । गाउँको खेतीपाती पनि रहिरहने सम्भावना बढ्छ।

१३. स्थानीय भाषा, कला र संस्कृतिको पुस्तान्तरणका लागि: बाल्यकालदेखि नै शहर पसेपछि बालबालिकाहरू आफ्नो मातृ भाषा, परम्परागत कला, संस्कृति, सामाजिक मूल्य, मान्यता, भेषभूषा, स्थानीय प्रविधि, प्राकृतिक सम्पदा आदि जम्मै कुराबाट टाढिन्छन्। होस्टलमा राखेर पढाएको बच्चाले पछि आमाबुवालाई वृद्धाश्रम लग्यो भने अचम्म मान्नुपर्दैन । सामुदायिक विद्यालयमा पढ्दा गाउँमै पहुँच भएकोले यस्तो स्थितिमा पुग्नबाट समाजलाई जोगाउन सकिन्छ।

१४. परिवारमा सँगै बस्न पाइन्छ, समाजबाट सिकिन्छ: सामुदायिक विद्यालयमा बालबालिका पढेपछि छोरा-बुहारी, सासू, ससुरासँगै नातिनातिना पनि साथमा रहन्छन्। बालबालिका परिवार र छरछिमेकसँग हुर्कन्छन्। परिवारमा सँगै बस्दा बालबालिकाको सिकाइ प्रभावकारी हुन गई माया, ममता, सद्भाव र सामाजिक दायित्वबोध हुन्छ। ‘डिभोर्स’का मुद्दा पनि कम हुन थाल्छन्।

१५. शारीरिक विकासमा स्वस्फूर्त अवसर: शहरकेन्द्रित बसाइ र निजी विद्यालयका सवारी साधनमा आवागमन गर्ने बानीले शारीरिक विकासको लागि जिमखाना, योग र अन्य नियोजित खेलकुदलाई समय छुट्याउनुपर्ने हुन्छ। सामुदायिक विद्यालयमा घर र विद्यालयको दूरी तय गर्दा र घरको काम सघाउँदा स्वस्फूर्त शारीरिक विकासको अवसर हुन्छ । यस्तो निःशुल्क तालिमको अवसर उपयोग गरेकाहरू प्रहरी, सेना जस्ता सेवामा सजिलै छनोट हुन सक्छन्।

१६. राष्ट्रसेवक बन्न: नेपालको लोकसेवा, शिक्षक सेवा, प्रहरी सेवा, सैनिक सेवा लगायत आयोगको प्रतियोगिताको माध्यम नेपाली भाषा हुने गर्छ। अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थीले खरिदार, प्रहरी, सेना, शिक्षक सेवा आयोगका परीक्षामा भाषाका कारण कठिनाइ महसुस गरेको पाइन्छ। आज पनि यस्ता परीक्षामा सामुदायिक विद्यालयका उत्पादन बढी सफल हुने गरेको पाइन्छ।

१७. जङ्कफूड, लागूऔषधको प्रयोगबाट बचाउन: शहरमा एक्लै पढ्न बसेका अभिभावकविहीन कैयौं बच्चा नियन्त्रण बाहिर गई दुव्र्यसनको शिकार बन्ने गरेका छन्। चाउचाउ, डिउ, अजिनामोटो लगायत फास्टफुडका नाममा अनेक प्रकारका हानिकारक जङ्कफुड प्रयोग गर्न पनि पुग्दछन्। त्यसको असरस्वरुप तिनलाई छिटै अनेक रोगहरू लाग्ने गरेको पाइन्छ। पढाइमा भन्दा मोबाइलमा लागेर आँखा कमजोर हुने, साइबरक्राइमतर्फ फस्ने, यान्त्रिक र उपभोक्तावादी संस्कृतिले गाँज्ने खतरा पनि बढी हुन्छ।

अन्त्यमा;
सबैका नानी बाबुहरू सामुदायिक विद्यालयमा पढ्ने हो भने त्यस्ता विद्यालयले गतिला अभिभावक पाउँछन्। गतिला अभिभावक मध्येबाट व्यवस्थापन समितिले पनि तुलनात्मक रूपमा गतिलो नेतृत्व पाउँछ । सक्षम व्यवस्थापन समितिबाट प्रभावकारी व्यवस्थापन हुन्छ। समृद्ध अभिभावकका सन्तान पढे स्रोत जुटाउन पनि मुश्किल पर्दैन। सक्षम अभिभावक भएपछि सामुदायिक विद्यालयको अनुगमन, सुपरीवेक्षण, मूल्याङ्कन र सिकाइ-उपलब्धि त सुधार हुन्छ नै। 

हिमालय मावि, खाँदबारी, संखुवासभा ।

शिक्षक  मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।  


commercial commercial commercial commercial