अबको शिक्षण-सिकाइ

कक्षाकोठा उज्यालो छ, छानामा आकाशको नीलो रङ, सेता बादल र केही चराहरूको चित्र देखिन्छ। चारवटा सेता गोला टेबल वरिपरि रंगीन कुर्सीहरू छन्, जसमा ६ देखि १२ वर्षका बालबालिका बसेका छन्। लाग्छ, उनीहरू खुला आकाशमुनि खेलिरहेका छन्। 

पर्खालमा रंगीविरंगी रोबोटिक पात्रका चित्र छन्, बालबालिकाका आँखामा पनि ती चित्र जस्तै अनगिन्ती आविष्कारहरू नाचिरहेका छन्। अर्को पर्खालमा ठूला अक्षरमा अंग्रेजीमा लेखिएको छ- ‘भोलिको उज्यालो भविष्यका लागि आधार तयार गरौं/ठूला सपना देखौं !’ (Build for a brighter tomorrow/ Dream Big) अक्षरले भने जस्तै हरेक बालबालिका आफ्ना कल्पनाका पंख फैलाएर विज्ञानको यो रमाइलो यात्रामा निस्किएका छन्। 

दश वर्षीया आरोषी आफ्नो ट्याब्लेटमा झुकेर नीलो रंगको रोबोटिक पात्रलाई हिंडाउन खोज्दैछिन्। “यो त मोडिनै मान्दैन”, उनले विस्तारै भनिन्। छेउमै बसेकी रिहानाले हाँस्दै देखाइन्, “पहिला कोड त मिलाउ !” केही मिनेटपछि, उनीहरूको रोबोट बाँचे जस्तो भयो, भूलभुलैयाको बाटो पार गर्दै अघि बढ्यो। कक्षा हर्ष र हाँसोले भरियो।

उता, सात वर्षीय युभान प्रशिक्षकको सल्लाहमा रोबोटको सेन्सर नजिक औंला लैजाँदै थिए। औंला नजिक आउनासाथ रोबोट हल्लिन थाल्यो। युभान उफ्रिए, “मेरो रोबोटको हात घुम्यो !” 

रोबोथिंक नेपालको कक्षाकोठा

सानी सुरभी पनि कालासेता तार मिलाउन मस्त छिन्। उनका आँखा चम्किरहेका छन्- किनभने उनी आफ्नो पहिलो रोबोट कारलाई रिमोटले दौडाउन खोज्दै छन्। “चल्यो !” उनी चिच्याइन्। छेउमै उभिएका प्रशिक्षकले मुस्कुराउँदै सोधे, “अब यसलाई के गराउने ?” सुरभीले केही बेर सोचिन् र भनिन्, “यसले मलाई देख्नेबित्तिकै नाचोस्।” प्रशिक्षकले हाँस्दै भने, “वाह् ! त्यसपछि त हाम्रो कक्षामा रोबोटिक डान्स पार्टी हुने भो।” ...

यी कुनै विज्ञान-कल्पनाका कथा होइनन्। यी हुन् रोबोथिंक नेपाल का जीवन्त दृश्यहरू- जहाँ बालबालिकाहरू प्रविधिबारे सिकिरहेका मात्र छैनन्, आफूले खेल्ने कुरा आफैं बनाइरहेका पनि छन्।

पछिल्ला केही महीनादेखि यहाँ प्रायः यस्तै दृश्य देखिन्छन्। ६/७ वर्षका बालबालिकाहरू साना गाडीहरू प्रोग्राम गर्छन्, त्यसले अवरोधहरू पार गर्न सिक्छन्। उनीहरू हाँस्छन्, जब उनीहरूको रोबोट पर्खालमा ठोक्किन्छ। चिच्याउँछन्, जब यसले सही मोड लिन्छ। तर उनीहरूलाई थाहा छैन, यो खेलैखेलमा उनीहरूले गहिरो सोच, समस्या समाधान र सहकार्य सिकिरहेका छन्- जुन कुनै पाठ्यपुस्तकले कहिल्यै सिकाउन सक्दैन।

कक्षाकोठामा केटाकेटीसँगै रमाइरहेका रोबोथिंक नेपाल का सह-संस्थापक वर्णन लामिछाने भन्छन्, “हाम्रो देशका भावी आविष्कारकहरू अहिले नै हाम्रा बीचमा छन्। उनीहरूलाई चाहिने भनेको सही उपकरण र अवसरहरू मात्रै हो।”

रोबोथिंकको सुरुआत अमेरिकाबाट एउटा सरल तर शक्तिशाली विचारबाट भएको थियो- बालबालिकाहरूका लागि एसटीईएम शिक्षा सुलभ, रमाइलो र व्यावहारिक बनाउनका लागि। अहिले अमेरिकादेखि अष्ट्रेलिया, युरोप र अफ्रिकासम्म रोबोथिंकले बाल मस्तिष्कहरूलाई रोबोट डिजाइन गर्न, सफ्टवेयर कोड गर्न र तिनै सीपबाट वास्तविक जीवनका समस्याहरू समाधान गर्न सशक्त बनाइरहेको छ। लामिछाने भन्छन्, “जब हामीले यो विश्वव्यापी व्यवसाय नेपालमा ल्यायौं, यो केवल व्यापारिक पहल मात्र होइन, एउटा शैक्षिक अभियान पनि हो भन्ने थाहा थियो।”

नेपालको शिक्षा प्रणाली सिद्धान्तमा बलियो छ, तर प्रायः व्यावहारिक र सिर्जनात्मक सिकाइको अभाव छ। हाम्रा बालबालिका तथ्य कण्ठ गर्छन्, तर तिनलाई जाँच्न, बनाउन वा प्रयोग गर्न पाइरहेका हुँदैनन्। बाहिरी संसार एआई, रोबोटिक्स र अटोमेशन सहित तीव्र गतिमा अघि बढिरहेको छ । के हाम्रा बालबालिकाले पनि बाँकी विश्वसँगै हिंड्न पाउनुपर्दैन र ?

लामिछाने विश्वस्त भएर भन्छन्, “अवश्य पाउनुपर्छ र त्यो सम्भव पनि छ। अहिलेबाटै शुरु गर्‍यौं भने, पक्कै सक्छौं।”
फेरि कक्षातिरै लागौं, कुनामा केही बालबालिका भुइँमा झुम्मिएका छन्, आफूले बनाएका कारलाई अवरोधले भरिएको ट्रयाकमा दौडाइरहेका छन्। सात वर्षीय जेन्विस चिन्तित हुँदै आफ्नो गुड्न नसकेको रोबोट कार हेरिरहेका छन्। “पांग्रा टाइट भयो जस्तै छ”, उनका साथीले भने। उनीहरूले मिलेर ‘स्क्रु’ खुकुलो पारे, गियरहरू मिलाए र फेरि प्रयास गरे। यसपटक रोबोट अगाडि बढ्यो, बाटाका अवरोध पार गर्‍यो र मास्किङ टेपले चिह्न लगाएर ‘फिनिश’ लेखिएको घेरा नाघ्यो। “हुर्रे ! ५४ सेकेन्ड !” जेन्विस खुशीले चिच्याए। दुवै हात हावामा उचाल्दै प्रशिक्षकसँग हाइफाइभ गरे। 

रोबोथिंक  नेपालमा पाँच वर्षदेखिका बालबालिकाहरूले समेत खेल्दै इन्जिनियरिङका सिद्धान्तहरू सिकिरहेका छन्। उनीहरू आफैं ब्याट्री र मदरबोर्ड जडान गरेर रोबोट कार बनाउँछन्- कुनैलाई रिमोटले चलाउँछन्, कुनै कम्प्युटरमा कोड लेखेर चलाउँछन्। जब रोबोटले काम गर्दैन, उनीहरू निराश भएर प्रयत्न गर्न छोड्दैनन्- बरु फेरि तार मिलाउँछन्, फेरि कोड लेख्छन्, अनि फेरि प्रयास गर्छन्। यी प्रक्रिया केवल रोबोटिक्ससँग मात्र सीमित छैनन्- यी सीपले उनीहरूलाई भविष्यमा जुनसुकै पेशा रोजे पनि, हरेक चुनौतीको समाधान आफ्नै हातले खोज्ने आत्मविश्वास दिइरहेको हुन्छ, जीवनका अप्ठ्यारा मोडहरूमा पनि हार नमान्ने बनाउँदछ। 

र; अभिभावकहरूका लागि पनि यो केवल कोडिङ या रोबोटिक्स कक्षा मात्र होइन- यो आत्मविश्वास, धैर्य र सहकार्य सिकाउने प्रक्रिया हो । पाँच हप्ताको कक्षा सकिएपछि अन्तिम कक्षामा छोरीसँगै कार्यशालामा बसेकी एक आमा भन्छिन्, “मेरो छोरी स्कूलमा सधैं शान्त र लजालु हुन्थिन्, तर आज उनले आफैं टिमको नेतृत्व गर्दै सबैको अगाडि आफ्नो रोबोट डिजाइन प्रस्तुत गरिन्। आज उनले यस्तो आत्मविश्वासका साथ मलाई नै सिकाउँदा म छक्क परें- यति निडर मैले उनलाई पहिले कहिल्यै देखेकै थिइनँ।” 

हो‍... यो नै हो व्यावहारिक सिकाइको जादू । यो केवल शिक्षा होइन- यो रूपान्तरण हो।
साइबर सुरक्षामा इन्जिनियरिङ सकेर अमेरिकामा काम गरेका लामिछानेलाई मैले सोधें, “तपाईंले किन विदेशको सजिलो करिअर छोडेर यति अनिश्चित कुरामा हात हाल्नुभयो ?” उनी भन्छन्, “जब मैले डेमो क्लासमा पहिलो पटक हाम्रा केटाकेटीलाई रोबोटको वरिपरि भेला भएको देखें, उनीहरूका आँखा जिज्ञासाले चम्किरहेका थिए, औंलाहरू तार र गियरसँग चल्न आतुर थिए- मैले एउटा अनौठो भावना महसुस गरें। मलाई थाहा छैन, त्यो गर्व थियो, आशा वा कुनै गहन बोध ! यो नै नेपालको शिक्षा प्रणालीले कुरिरहेको उज्यालोको झिल्काे पनि हुन सक्छ ! जब म एक ७ वर्षीया नेपाली छोरीले आफ्नो कोड मार्फत रोबोटलाई नचाउँदा खुशीले चिच्याउँदै गरेको देख्छु, म फरक नेपालको सुरुआत देख्छु- जहाँ जिज्ञासालाई स्वागत गरिन्छ, सिकाइ सक्रिय र रमाइलो हुन्छ, र भावी पुस्ता आफ्नै तरिकाले समस्या समाधान गर्न अघि सर्छ। जब रोबोट बोल्न थाल्छ र बाँचे जस्तो हुन्छ, म बालबालिकाको अनुहारको उज्यालो महसुस गर्न सक्छु। मलाई लाग्छ- नेपालको अबको भविष्यले यिनै साना हातहरूमा आकार लिइरहेको छ।”

अहिलेका बालबालिकाका सामु अपार सम्भावना छन्। उनीहरू संसारलाई फरक ढंगले हेर्न सक्छन्, नयाँ कुरा सिर्जना गर्ने आँट राख्छन्। तर ती सम्भावनाहरू अहिले मोबाइल र ट्याब्लेटको स्क्रिनमा अल्झिदै गएका छन्। स्क्रिनको लत यति गहिरो छ कि बालबालिकालाई खान समेत ‘स्क्रिन’ चाहिन्छ। केहीले ज्ञानवर्धक कुरा हेर्लान्, तर धेरैजसो समय दिमाग नै नचलाई खेलिने खेल वा व्यवहारसम्म सिकाउन नसक्ने कार्टुनमा बित्छन्, जसले सोच्ने दायरा झन् साँघुरो बनाउँदै लगेको छ। यसको असर उनीहरू ध्यान दिनै नसक्ने, जिद्दी, एकोहोरो र नयाँ कुरा सिक्नै नचाहने बन्दै गएका छन्।
म एकपटक फेरि कक्षामा फर्किएँ, जहाँ आरोषी आफ्नो रोबोटले नाचेको देखेर खुशीले चिच्याउँदैछिन्- त्यहाँ केवल कक्षाको गतिविधि मात्र छैन, त्यहाँ एउटा सिंगो पुस्ता छ, एक पुस्ता; जुन नवप्रवर्तनको हिम्मत बोकेर नेपाललाई नयाँ भविष्यतर्फ डोर्‍याउन तयार छ। एक पुस्ता, जुन केवल प्रविधिको उपभोक्ता होइन, सर्जक बन्न चाहन्छ।

र, रोबोथिंक  नेपाल जस्ता प्रयासहरू त्यस्ता आरोषीहरू अझ धेरै उत्पादन गर्ने यात्रामा छन्। जहाँ बालबालिकाले सपना देख्न, निर्माण गर्न र आविष्कार गर्न हिम्मत गर्न सकून्। यसका लागि उनीहरू नेपाली प्रशिक्षक तयार पार्ने, विद्यालयहरूसँग सहकार्य गर्ने र मोबाइल क्लब मार्फत ग्रामीण समुदायमा पुग्ने काममा जुटिरहेका छन्। यो अभियानलाई अघि बढाउन उनीहरू सरकारसँग पनि सहकार्यका उपाय खोजिरहेका छन्, किनकि अब यस्ता सम्भावनामा लगानी गर्नु नेपालको शिक्षामा क्रान्तिको थालनी हुन सक्छ।

यो यात्रा सजिलो पक्कै छैन। नेपालको शिक्षा संस्कार आजको भोलि नै बदलिंदैन किनभने हाम्रा विद्यालयमा यस्ता कार्यक्रमहरू अझ्ै पनि ‘अतिरिक्त’ नै ठानिन्छन्, आवश्यक होइन। र, यसका लागि पहुँच पनि अर्को चुनौती हो। यस्ता अवसरहरू केवल शहरका र हुनेखाने परिवारमा मात्र सीमित नहोउन्। प्रत्येक बालबालिकामा सम्भावनाको एउटा नदी बगिरहेको छ, जुन सही अवसर र सही दिशाले विशाल समुद्र बन्न सक्छ। चाहे त्यो काठमाडौंको स्मार्ट कक्षामा बसेर पढ्ने विद्यार्थी होस् वा खोटाङको पहाडको गोठमा पढ्ने बालक- सबैले समान रूपले सिर्जना, आविष्कार र भविष्य नेतृत्व गर्ने अवसर पाउनै पर्छ।  

शिक्षक  मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial