राम्रा शिक्षकले समाजलाई राम्रो बनाउँछन् !
बागवानीविद् शिवबहादुर नेपालीले ८८ वर्षको उमेरसम्म आइपुग्दा बुझेको कुरा हो: शिक्षा राम्रो भयो भने समाज राम्रो हुन्छ ।
शिवबहादुर नेपालीका बुवा मालअड्डामा जागिरे थिए। जागिरे परिवारमा पढाइको महत्व हुनै नै भयो। सामान्य लेखपढका आधारमा बुवाले सरकारी जागिर पाएका थिए। उनका जेठो दाजु र माहिलो दाजुले राणाकालीन पद्धति अनुसारको चार पास र आठ पास गरेका थिए। त्यो बेला त्यति पढाइले सरकारी जागिर पाइन्थ्यो। उनका साइँला दाजु लवबहादुर न्हुच्छे प्रधानले भने अंग्रेजीमा एमए गरेका थिए। परिवारमा उनको प्रभाव अधिक थियो। २००६ सालमा दरबार हाईस्कूलबाट एसएलसी गर्दा लवबहादुर उत्कृष्ट दशमा पाँचौं स्थानमा आएका थिए।

दाजु लवबहादुरले शिवबहादुरलाई पनि दरबार हाईस्कूलमा भर्ना गर्न लगे। त्यो बेला दरबार हाईस्कूलका इन्चार्ज थिए, नेत्रबहादुर बस्नेत। “उहाँले मलाई सात डिजिटको गुणन गर्न दिनुभयो। मलाई हिसाब आउँदैनथ्यो। गुणन, भाग जानेको थिइनँ।
उहाँले त्यो हिसाब मेरै अगाडि गरिदिनुभयो र मेरो दाजुलाई अंग्रेजीमा भन्नुभयो– "हि इज अनफिट”, शिवबहादुर सम्झन्छन्। उनलाई त्यो बेला ‘अनफिट’ को अर्थ थाहा थिएन। सरले के भनेका थिए, पत्तो पाएनन्। “आजको भाषामा प्रवेश परीक्षा भन्छन्, त्यसमा असफल भए पनि मैले दरबार हाईस्कूलमा आठ कक्षामा भर्ना पाएँ”, उनी सुनाउँछन्। त्यो बेला कक्षाको श्रेणी विभाजन पनि अर्कै थियो । फस्र्ट क्लास भनेको दश कक्षा, सेकेण्ड क्लास भनेको नौ कक्षा। तर अन्तिम परीक्षाअघि नै उनी शान्ति निकुञ्ज स्कूलमा भर्ना हुन पुगे।
त्यो बेला शान्ति निकुञ्जमा विद्यार्थीलाई ६/६ महीनामा कक्षा चढाउने चलन थियो। शिवबहादुर दुई वर्षमा तीन वटा कक्षा चढे। “दाजु लवबहादुर म्याथम्याटिक्स पढाउनुहुन्थ्यो। तर मैले भने छिट्टै म्याथ बुझन सकिनँ। पढाउन्जेल आउँथ्यो, पछि आफैं गर्न खोज्दा नआउने। मेरो ताल देखेर दाजु पनि दिक्क हुनुभयो। ‘तँलाई जति सिकाउँदा पनि आउँदैन’ भनेर गाली गर्नुभयो। उहाँको गालीले म दुःखी भएँ। अनि मैले ईख लिएँ र घर आएर एउटै हिसाबलाई चार-पाँच पटक गर्न थालें। गर्दै जाँदा हिसाब सिक्दै गएँ अनि त एउटै समस्या पनि तीन किसिमले हल गर्न सक्ने भएँ। गर्यो भने हुन्छ भन्ने जीवन मन्त्र मैले त्यही उदाहरणबाट सिकेको हुँ”, उनले सुनाए।

एसएलसीको तयारीका बेला शिवबहादुर कीर्तिरत्न बज्राचार्यसँग अंग्रेजीको ट्युसन पढ्न थाले। बज्राचार्य जेपी हाईस्कूलका मास्टर थिए। “उहाँले मलाई ठूलो दाजुले जस्तै माया गर्नुहुन्थ्यो। पढाइमा मिहिनेत गर्नुपर्छ भनेर सम्झउनुहुन्थ्यो” उनी भन्छन्, “मिहिनेत त गरें तर एसएलसीमा फस्र्ट डिभिजन आउनबाट म १२ नम्बरले चुकें।” उनको मनमा बसेका त्यतिवेलाका अर्का गुरु हुन्- भूगोल शिक्षक विश्वरामभक्त माथेमा। उनी शहीद धर्मभक्त माथेमाको परिवारका सदस्य थिए। “एक पटक उहाँले मैले लेखेको भूगोलको उत्तरकापी कक्षामा ल्याएर सबैलाई देखाउँदै ‘ल हेर, उत्तर भनेको यस्तो हुनुपर्छ। शिवबहादुरले लेखेको जस्तो’ भन्नुभयो। उहाँले त्यसो गर्दा मलाई ठूलो प्रेरणा मिल्यो” शिवबहादुर आफ्नो स्मृतिलाई ताजा बनाउँदै भन्छन्, “मैले त्यो बेलादेखि उत्तर कापी लेख्दा सकेसम्म राम्रो बनाउने प्रयास गर्न थालें। माथेमा सरको त्यो हौसलाले मैले जब केही लेख्नुपर्दा सकेसम्म नमूनायोग्य बनाउनुपर्ने रहेछ भन्ने पाठ सिकें।”
शायद त्यसैले पनि होला, पछि उनले राजा वीरेन्द्रबाट नेपालको पहिलो कृषि योजना बनाउने अवसर पाए। उनलाई लाग्छ त्यसो हुनुमा उनको लेखन सीपले काम गर्यो। कसरी भने पहिलो शिक्षा योजना टिप्पणीका लागि उनीसमक्ष आउँदा उनले शिक्षा मात्र भएर हुँदैन विद्यार्थीलाई सीप पनि चाहिन्छ भन्ने कुरामा जोड दिंदै आफ्नो टिप्पणी दरबारमा पेश गरेका थिए। उनको त्यही टिप्पणीका कारण उनले कृषि योजना बनाउने अवसर पाए। त्यही भएर पनि शिवबहादुरले माथेमा सरलाई सम्झिरहेका छन्।
शिवबहादुर सरलाई मनपर्ने अर्का शिक्षक हुन्- गौरीलाल श्रेष्ठ। शहीद गंगालालका भाइ गौरीलाल उनीहरूलाई नागरिक शिक्षा पढाउँथे। त्यो बेला ‘सिभिक्स’ भन्थे त्यस विषयलाई। “उहाँले हामीलाई ‘विद्यार्थी र राजनीति’ शीर्षकमा अंग्रेजीमा निबन्ध लेखाउनुभएको थियो”, उनी त्यो बेलाको कुरा सम्झन्छन्। एक दिन तत्कालीन ‘इन्स्पेक्टर जनरल अफ एडुकेसन’ नेत्रबहादुर बस्नेत स्कूलमा आए। गौरीलालले ‘नागरिकको कर्तव्य र अधिकार’ शीर्षकको पाठ पढाइरहेका थिए। “बस्नेतले ‘ओहो सरले कस्तो राम्रो पढाएको ! के लेख्यौ बाबु हो, हेरौं त’ भनेर हामी सबैको नोटबुक लिएर गए। लगिएका नोटबुक फिर्ता भएनन्। राणाशाही विरुद्ध केही लेखिएको छ कि भनेर बस्नेतले हाम्रो नोटकापी लैजानुभएको हुनुपर्छ” उनको अनुमान छ। आफूले पढाएको विषयमा पोख्त हुनुपर्छ भन्ने पाठ आफूले गौरीलालसँग सिक्न पाएको गर्व उनलाई छ।
शिवबहादुरलाई मनपर्ने अर्का शिक्षक थिए, जानकीप्रसाद प्रधान। उनी शान्ति निकुञ्जमा खेलकुदका शिक्षक थिए। त्यो बेला काठमाडौंका स्कूलहरूमध्ये खेलको कक्षा शान्ति निकुञ्जमा मात्रै हुन्थ्यो। स्कूल समयपछि विद्यार्थीले एक डेढ घण्टा स्कूलमा खेल्न पाउँथे। “जानकीप्रसाद प्रधानले हामीलाई फुटबल, भलिबल, रिङहरू खेलाउनुहुन्थ्यो। म खेलकुदमा अलि पछाडि थिएँ। उहाँले मलाई ‘तँ लाछी, तैंले केही गर्न सक्दैनस्’ भनेर गाली गर्नुभएको अझ्ै सम्झ्न्छु”, उनले मनमा गढेको कुरा सुनाए।
शिवबहादुरले कोलम्बो प्लानअन्तर्गत भारतमा कृषिमा स्नातक गरे। सरकारी जागिरमा उनको पहिलो पोष्टिङ २०१५ सालमा कृषि कार्यालयमा भयो । त्यतिबेला उनै खेलकुद शिक्षक जानकीप्रसाद प्रधान ‘कृषि डाइरेक्टर’ थिए। उनीबाट पहिले खाएको गाली उनको मनमा गढेर बसको थियो । कृषिमै नियुक्ति लिएर काम शुरू गरे पनि शिवबहादुर डाइरेक्टर जानकीप्रसादलाई भेट्न गएनन्। “नियुक्ति लिएका सबैले मलाई भेट्न आए तर शिवबहादुर आएन भन्ने गुनासो सुनेपछि मात्र म उहाँलाई भेट्न गएँ”, शिवबहादुर सम्झ्न्छिन्। भेट्न गएको बेला उनले प्रधानलाई ‘तपाईंले मलाई मनै पराउनुहुन्न । त्यही भएर नआएको’ पनि भन्न भ्याए। तर पछि कामका सिलसिलामा राम्रै सहकार्य भयो। पछि जानकीप्रसाद प्रधान अमेरिका गए, उतै बसे। “समग्रमा चाहिं उहाँ नेपालप्रति माया भएको राम्रो मान्छे हुनुहुन्थ्यो” शिवबहादुरको ठहर छ, “शायद त्यही भएर पनि, मन परेका शिक्षकको प्रसंग आउँदा मैले उहाँको नाम कहिल्यै बिर्सन्नँ।”
शिवबहादुरको मनमा बसेका अर्का शिक्षक हुन्- रेणुलाल सिं। उनले अंग्रेजी पढाउँथे। पछि उनी राजाका प्रेस सचिव पनि भए। शान्ति निकुञ्जमा शिक्षकलाई ‘सर-मिस’ नभनी ‘दाइ-दिदी’ भन्ने चलन थियो। रेणुलाल सिंलाई पनि उनले दाइ नै सम्बोधन गर्थे । रेणुलालले शिवपुरी बाबाको शिक्षाका बारेमा लेखेको पुस्तक, ‘राइट लाइफ’ उपहार दिंदा ‘माई डियर फ्रेन्ड शिवबहादुर’ भनेर लेखे। “उहाँ गुरु म शिष्य, तर उहाँले मलाई ‘माई फ्रेन्ड’ भनेर उहाँको समकक्षमा पुर्याउँदा म भावुक भएको थिएँ”, शिवबहादुर भन्छन्।
शान्ति निकुञ्जका इतिहास विषयका शिक्षक, अष्टमंगल बज्राचार्यलाई चाहिं शिवबहादुर पढाएको आधारमा नभई आफूसँग सल्लाह–सुझव मागेर त्यस अनुरूपको व्यवहार गरेका कारण सम्झ्ने गर्छन्। अष्टमानले आफ्ना दुवै छोरालाई शिवबहादुरले दिएको सल्लाह बमोजिमका विषय पढाएका थिए ।
शिवबहादुरले नेपाल सरकारको छात्रवृत्तिमा भारतमा पढ्ने अवसर पाए। सरकारी सेवामा रहे । बेलायतको बागवानी अध्यापनको लागि प्रख्यात रेडिङ युनिभर्सिटीमा पनि शोध गर्ने मौका पाए। ८८ वर्षको उमेरमा पछाडि फर्केर उनको मनमा गढेर बसेका शिक्षक को-को रहेछन् भनी केलाउँदा कीर्तिरत्न बज्राचार्य, विश्वरामभक्त माथेमा, गौरीलाल श्रेष्ठ, जानकीप्रसाद प्रधान, रेणुलाल सिं, अष्टमंगल बज्राचार्यका नाम आए।
“मैले राम्रा भनी सम्झ्एिका यी गुरुहरूले आफ्नो कार्यकालमा राम्रो कार्य गर्नुभएकोले नै उहाँहरू बितेर गएको यतिका वर्षपछि पनि आज उहाँहरूलाई सम्झ्न पुगें”, उनको निचोड छ। “कीर्तिरत्न सरले मलाई आफ्नै भाइलाई जस्तै माया गर्नुभएकोले उहाँ आदरणीय हुनुभयो । माथेमा सरले मेरो सीपलाई हौस्याउनुभएकोले उहाँ सम्मानित व्यक्तित्व लागिरह्यो। गौरीलालको व्यक्तित्व नै प्रभावशाली थियो, त्यही भएर उहाँ नमेटिने गरी मनमा बस्नुभयो। रेणुलाल सिंले मलाई साथीको दर्जा दिनुभयो र उहाँ प्रिय लाग्नुभयो । जानकीप्रसाद प्रधानले मलाई सुधार्न गर्नुभएको प्रयासले उहाँलाई बिर्सन सकिनँ। अष्टमंगल सरले मसँग सल्लाह मागेर मेरो विश्वास गर्नुभएको हुँदा उहाँ मेरो मनमा सम्मानित भएर रहनुभयो।”
मान्छे आफू मरेर गएपछि पनि आफ्नो सुकीर्ति फैलिएको हेर्न चाहन्छ। सुकीर्ति कमाउन सुकर्म गर्नुपर्छ। आज गरेको सुकर्मले भोलि सुकीर्ति फैलिने हो। आज राम्रो गर्न सकियो भने भोलि राम्रो नै हुन्छ। शिक्षण पेशा अन्धकारमा भट्किरहेकाहरूलाई उज्जालो देखाउने उपकारी पेशा हो। त्यसैले सबै शिक्षकले राम्रो गर्ने; राम्रो हुने सत्प्रयास गर्नुपर्छ। ‘हामी राम्रो हुन हाम्रा राम्रा गुरुहरूको पनि ठूलो योगदान हुँदोरहेछ’ भन्ने ज्ञान ८८ वर्षमा हिंडिरहेका शिवबहादुरको जीवन-वृत्तबाट पाइन्छ।
शिक्षक मासिक, २०८२ असार अंकमा प्रकाशित ।



