सत्य सर र बीएस्सी सरको शैली

धेशको मौलिक लवज नै अनौठो लाग्ने त्यसबखतको पहाडी गाउँमा पहाडिया बोली र जीवनशैलीको हालीमुहाली भएको बखत दुई मधेशी आवाजले बलियो गरी खाँबो गाडेका थिए, खासगरी विद्यार्थीको मनमस्तिष्कमा। शिक्षक भनेको कडाइ र डराइको दोभान जस्तो रहेको समयमा गौखुरी मावि, मोराहाङ (तेह्रथुम) मा कमलनारायण झा (बीएस्सी सर) र सत्यनारायण साहु- हामी हजारौं विद्यार्थीलाई कक्षाको ‘घाट’ तारिदिने ‘माझी’ बनेर रहनुभयो। उहाँहरूको सिकाइ, सामीप्य र मार्गदर्शनले हामी हजारौं विद्यार्थीको जीवनमा कहीं न कहीं, कतै न कतै अमिट छाप छोडेको छ। एउटा दुर्गम गाउँमा शिक्षक बनेर पुग्ने तथा त्यहाँका विद्यार्थीभित्र शिक्षाको उज्यालो फैलाउने उहाँहरूको अठोट र कर्म सधैं स्तुत्य रहनेछ। उहाँहरूले भरिदिएको ज्ञानको आलोकको मूलः सहयोगमा हामी आ-आफ्नो जीवनमा प्रज्ज्वलित हुन पाएका छौं।

मेरो जीवनमा शिशु कक्षादेखि स्नातकोत्तरसम्म अनि मानविकीदेखि शिक्षा र कानूनसम्मका संकायहरूमा सयौं शिक्षकको सान्निध्य रह्यो। शिक्षकले कक्षाकोठामा पढाउँदाको शैली र शब्दको प्रभाव जीवनपर्यन्त रहँदो रहेछ। त्यो प्रभाव कुनै न कुनै मेसोमा प्रस्फुटित पनि हुने रहेछ। अझ लेखन-पठनकै कर्ममा लाग्ने हो भने त ती पल झन् ‘झल्झली आँखैमा’ हुने रहेछन्। कतिपय शैली थाहै नपाई आफूले अपनाइने पनि रहेछ। 

अध्यापनमा लागौंला भन्ने चिताएकै थिइनँ। तर, जिन्दगीमा नचिताएका कुराले बिताउँछन् नि त ! यसै भएर होला, कालोपाटी विस्तारै पुछेर सुग्घर बनाउने बीएस्सी सर, किताबै नहेरी जति सुने पनि नअघाइने गरी भूगोल र इतिहासका पाठ बुझाउने सत्य सरको शैली आजपर्यन्त अर्थपूर्ण लाग्छ। काठको टुक्रामा थोत्रो कपडालाई काँटी वा थमपिन ठोकेर बनाइएको डस्टरले कालोपाटी चिटिक्क पारेर पुछ्नु अनि अलिपर लगेर ट्वाक ट्वाक पार्दै चकको सेतो धुलो टक्टक्याउनु बीएस्सी सरको ‘सिग्नेचर शैली’ थियो। यस्ता डस्टर चाहिं पूर्व-व्यावसायिक र शिक्षा विषयका प्रयोगात्मक कक्षामा बनाएर ल्याउन लगाइन्थ्यो। छापा जस्ता बान्की मिलेका चिटिक्कका अक्षर लेख्नु, कक्षामा छिसिक्क हल्ला हुन नदिनु बीएस्सी सरको अर्को मौलिकता थियो। राम्रा अक्षर लेख्ने र हल्ला हुन नदिनेमा विश्वराज सर पनि हुनुहुन्थ्यो। तर उहाँको हातमा बाँसको छडी शायदै छुट्थ्यो। 

पाँच कक्षासम्म घर नजिकैको सिंहदेवी प्राथमिक विद्यालय पढियो। कक्षामा पहिलो हुनैपर्छ भन्ने दबाब कसैले नदिने, दोस्रो, तेस्रो वा बढीमा चौथोसम्म भइहालिने भएकाले परीक्षा पास गर्न खासै गाह्रो थिएन। दिउँसोको छुट्टी (जसलाई हामी ‘ठूलो बाह्र बजी’ र त्यसअघिको १५ मिनेटको छुट्टीलाई चाहिं ‘सानो बाह्र बजी’ भन्थ्यौं) मा घर गएर खाजा खाएर आउन पाइने भएकाले पढाइ बिन्दास नै थियो। काठका खाँबा गाडेर ठोकिएका काठकै फल्याक माथि घोटेको धुलौटोमा डिकोले लेख्दै छिचोलिएको थियो बैखरी (बाह्रखरी)। जुन सम्झना आइबस्छ घरी-घरी। रातोमाटोको डल्लोलाई पोलेपछि अझ रातो र हल्का बैजनी रङ निस्कन्थ्यो। गोजीमा यस्तै माटोका डल्ला र बाँसका भाटा खिपेर बनाइएका डिका वा ब्याट्री भित्रको कालो कार्बन रड बोकेरै बित्थ्यो हाम्रो शिशु कक्षा। ती कक्षामा विद्यालयका सहयोगी शिक्षक भीमप्रसाद दाहालले बैखरीका तर्कुले र बाईमात्रा अनि अंक चिनाउनुभएको थियो।

खासमा पढाइमा दुःखका दिन कक्षा-६ देखि शुरू भएका हुन्। साढे नौ वर्षको उमेरमा पाँच कक्षा पास गर्नासाथ विद्यालय फेर्नुपर्ने भयो। जनप्रिय मावि, पौंठाक र गौखुरी मावि, मोराहाङ दुई विकल्प थिए। कहाँ पढ्ने भन्ने निकै माथापच्चीपछि रोजेको थिएँ गौखुरी मावि। हाम्रो घर र गौखुरी स्कूल हेर्दा आमनेसामने थिए। तर अंग्रेजी अक्षरको ‘u’ लाई दायाँतिर घुमाउँदा बन्ने आकृति जस्तै गरी घुमेर जानुपर्ने। कक्षा-६ मा हामी ९९ जना विद्यार्थी भर्ना भयौं। कक्षा त उकुसमुकुस। सिंहदेवीमा १०-१२ जना सानो कोठामा पढ्ने बानी भएकाले सलहको ताँती जस्तै कक्षा र विद्यार्थी देख्दै सातो जान्थ्यो । जिल्लाकै नामीमध्येको एक भएकाले पौंठाक, श्रीजुङ, ओयाक्जुङ र आङ्बुङ गाविसबाट समेत विद्यार्थी आउँथे गौखुरी मावि, मोराहाङमा। सरहरू पनि बग्रेल्ती। 
नौ कक्षामा पुगेपछि बल्ल नयाँ किताबको सेट किनेको सम्झना छ। नयाँ पुस्तकको बास्नाले त्यसै त्यसै हरर्र बनाएर उडुँ कि गुडुँ भएको क्षण कसरी भुल्न सक्नु र ? २०१० सालमा स्थापित र २०३६ सालबाट मावि तह सञ्चालनको अनुमति पाएको गौखुरी स्कूलमा गणित र विज्ञान पढाउने शिक्षकका रूपमा बीएस्सी सर अनि इतिहास र भूगोल अध्यापनका लागि सत्य सर आइपुग्नुभएको थियो।

‘बीएस्सी सर’ यति लोकप्रिय नाम थियो कि उहाँकोे वास्तविक नाम कमलनारायण झ हो भनेर फाट्टफुट्टलाई मात्रै थाहा थियो। सरहरूको उपनाम राख्ने विद्यार्थीकालको एक स्वादिलो पाटो हो शायद। जसलाई पछ्याउँदै धेरै विद्यार्थीले उहाँको नाम राखेका थिए– जुङ्गे सर। यो नाममा रिसको मात्रा बढी पाइन्थ्यो। कारण थियो उहाँले पढाउने विज्ञान र गणित विषय गाह्रो हुनु। जति पढ्दा पनि गाह्रै हुने वा फेल होइने भएकाले उहाँको नाम बिगारेर रिस पोख्न हामी विद्यार्थीहरू पोख्त थियौं। कडा मिजासको हुनु र राम्रो पढ भनेर गाली गर्नु उहाँको अर्को ‘दोष’ थियो शायद विद्यार्थीका लागि। 

बोल्दा ‘अया मतलब’ थेगो प्रयोग गर्ने बीएस्सी सर कडा मिजासको हुनुहुन्थ्यो। छोइए काट्ला झैं देखिने धारिलो प्यान्ट लगाउने उहाँको ठूलो र कठोर बोलीले हामीलाई थुर्थुरी कपाउँथ्यो। तर दाइ-दिदीहरू हातको बुढी औंला त्यही हातको चोर औंलाको टुप्पोमा राख्दै भन्थे, ‘तिमीहरू भोगेको अर्थात् अहिलेको बीएस्सी सर त इत्ति पनि होइन।’ गणितका सूत्र र विज्ञानका प्रश्न नजाने बापत हातमा सुम्ला उठ्ने गरी भेटिने छडीको दनकले धेरै दिनसम्म हातले भात मुछ्न नसकेको कुरा उहाँहरू सुनाउनुहुन्थ्यो। सुन्दै आङ सिरिङ्ग गरे पनि त्यो पिटाइले विज्ञान र गणित ध्यानपूर्वक पढ्न र पास गर्न अचूक अस्त्रको काम गरेकोमा उहाँहरू खुशी देखिनुहुन्थ्यो। तत्काललाई दुखाए पनि त्यो छडी जाँच पास गर्ने कडी थियो भन्ने उहाँहरूले बुझिसक्नुभएको थियो।
कसैसँग नदब्ने उहाँको पारा सर्वत्र चर्चित थियो। परीक्षामा चिट चोर्नेहरूलाई पनि ठेगान लगाएको बीएस्सी सरको ‘बहादुरी’को चर्चा नसुन्ने को थियो होला र गौखुरी स्कूलमा ? एक पटक कुनै विद्यार्थीले बेन्चमा खुकुरी नै राखेर चिट चोर्न थालेछन्। विद्यार्थी र अरू सरहरू डरले काँप्न थाले पनि बीएस्सी सर भने सीधै ‘ल मलाई काट्’ भन्दै गर्धन थाप्दै जानुभएको र चिट खोसेको कुरा दाइ-दिदीका मुखारवृन्दबाट सुन्दा मुटु ढक्क फुल्थ्यो। यस्तै कारणले पनि सरको शान झन् झन् बढ्दो थियो। कहिल्यै किताब नहेर्नु तर, सबै हिसाब फटाफट गर्नु, विज्ञान र गणितका सबै सूत्र कण्ठस्थ हुनु उहाँका विशेषता थिए । ठूलो आवाजमा ठूला कक्षालाई समेत ‘कन्ट्रोल’ गर्ने क्षमता अद्भुत थियो। अग्रज दाइ-दिदीहरू भन्थे ‘बीएस्सी सरले प्रश्नबाट उत्तर होइन उत्तरबाट उल्टो गरी हिसाब गर्दै अन्तिममा प्रश्न बनाइदिन सक्नुहुन्छ।’ हामीमा त्यसको फ्याक्ट चेक गर्ने हुती थिएन, त्यसैले चुपचाप पत्याउनुको विकल्प पनि भएन।


अग्रज दाइ-दिदीहरू भन्थे, ‘बीएस्सी सरले प्रश्नबाट उत्तार होइन उत्तारबाट उल्टो गरी हिसाब गर्दै अन्तिममा प्रश्न बनाइदिन सक्नुहुन्छ।’ तर हामीमा त्यसको फ्याक्ट चेक गर्ने हुती थिएन।

बीएस्सी सरले ट्युसन पढाउन थालेको केही दिनदेखि नै पैसा माग्ने गरेको बारे पनि विद्यार्थीको गनगन हुन्थ्यो। तर ट्युसन पढ्न आउने अनि महिना मर्न लागेपछि लुसुक्क लापत्ता हुनेहरूले वाक्कदिक्क पारेपछि यो तरिका अपनाउनुपरेको उहाँले सुनाउनुभएको थियो। उहाँका अक्षर यति राम्रा थिए कि उहाँले कालोपाटीमा लेखेको कुरा कसैले नमेटोस् जस्तो लाग्थ्यो। उहाँका ‘छापा’ जस्ता अक्षरले कुँदिएको ‘सेन्टअप टेष्ट’ परीक्षाको मार्कशिट हेर्दा अहिले पनि उहाँका अक्षरको सम्झना आउँछ।

सत्यनारायण साहु गौखुरी स्कूलमा त्यस्तै जबरजस्त छाप छोड्न सफल अर्का शिक्षकको नाम हो। सबैले ‘सत्ये सर’ भनेर बोलाउँथे । इतिहास र भूगोलका हरेक विषयको पितृ बुझाउने उहाँ मिजासमा बीएस्सी सरको ठिक उल्टो, कहिल्यै ठूलो स्वरमा नबोल्ने हुनुहुन्थ्यो। ‘आँखामा राखे पनि नबिझउने’ भन्ने उक्ति उहाँ जस्ताकै लागि बने जस्तो ! यति राम्रो पढाउने कि कुरा नगरौं। पढाउँदा अधिकांश सरहरूले हातमा किताब लिने भए पनि उहाँ र बीएस्सी सरको हातमा किताब भएको दृश्य देख्नु दुरुह थियो। चकले कालोपाटीमा पाठको नाम लेखेपछि त्यसबारेको सबै कुरा आद्योपान्त बताउने, त्यो पनि छर्लङ्ग बुझिने  गरी। उहाँका कुनै पनि कक्षा छोड्न मन नलाग्ने। सत्य सरसँगको सत्संगले हामीलाई भूगोल र इतिहास विषय सजिलो लाग्थ्यो। कडिकडाउ नगरेर पनि उहाँले पढ्न हौसला दिइरहनुहुन्थ्यो। सधैं हाँसिरहने मिजासिलो अनि थोरै मात्र बोल्ने उहाँको स्वभावले हामीलाई ठूलो स्वरमा बोल्न असहज लगाउँथ्यो। उहाँ सपरिवार विश्वराज खापुङ (बीआर) सरको घरमा डेरामा बस्नुहुन्थ्यो। उहाँको छोरा पनि गौखुरी स्कूलमै पढ्नुहुन्थ्यो। बीआर सरलाई बीएस्सी र सत्य सर दुवै जनाले पढाउनुभएको, जो पछि लामो समय गौखुरी स्कूलको प्रधानाध्यापक हुनुभयो। सत्य सर र बीएस्सी सरको कक्षामा सफल प्रस्तुतिको रहस्य-उहाँहरूको पूर्वतयारी हुनुपर्छ। पढाउने पाठबारे उहाँहरू राम्रो तयारी गरेर मात्र कक्षामा प्रवेश गर्नुहुन्थ्यो।

सत्य सर जस्तै ‘कुल’ पाराको सर हुनुहुन्थ्यो टीपी गौतम। रमाइला र साथी जस्तै सर। ‘ए मोरा यता आइज’ भनेर अँगालो हालेर मोराहाङ डाँडातिर डोर्‍याउने। उहाँसँगको एउटा घटना सम्झ्ना आइरहन्छ- टीपी सरले एक दिन कक्षामा मलाई उठाउनुभयो र सबैलाई मेरो लागि ताली बजाउन लगाउनुभयो। म अलमल्ल परें। सरले भन्नुभयो, ‘यल्ले हाम्रो स्कूलको नाम उँचो पारेको छ।’ कसरी ? मैले मेलोमेसो पाएकै थिइनँ। उहाँले नै थप्नुभयो– ‘रेडियो नेपालको विज्ञान प्रविधि कार्यक्रममा केटोले गर्दा गौखुरी माविको नाम आयो।’ म झल्यास  भएँ। म रेडियो औधी सुन्ने भएकाले विभिन्न कार्यक्रममा चिठी पठाइराख्थें। एक महिना जति अघि विज्ञान प्रविधि कार्यक्रमको एउटा प्रतियोगितामा भाग लिएको थिएँ। म विजेता भएँ। मैले स्कूलकै ठेगाना राखेर पत्र पठाएकोले सर थप खुशी हुनुभएको थियो। सरले कक्षामा सबैसामु प्रशंसा गरिदिंदा मलाई ‘लेख्नु राम्रो कुरा रहेछ’ भन्ने लाग्यो। पछि असल शासन लगायत धेरै रेडियो कार्यक्रममा मैले कैयौं पटक गौखुरी (उच्च)मावि मोराहाङको नाम सुनाएँ।

एसएलसीपछि हामी आ-आफ्नो दरदिशा लाग्यौं। कोही पढ्न शहर पसे त कोही विदेश गए, कोही लाहुरे भए। कोही स्थानीय उद्यमशीलतामा रमाए। हामी केहीले चाहिं ११ र १२ त्यहीं पढ्यौं। एसएलसी दिंदाका बखतको एउटा तस्वीर अहिले पनि छ। जसले त्यो समय सम्झाउँछ, सम्झनामा  मन खुशीले मुस्कुराउँछ।

सबै साथीलाई समेटौं भनेर मैले फेसबुकमा एउटा गु्रप बनाएँ- ‘गौखुरी ग्याङ’। यो ग्रुपमा मैले साथीहरूलाई बीएस्सी सर र सत्य सरबारे आ-आफ्ना अनुभव लेख न भनें, हाम्रो कक्षाको फस्र्ट ब्वाई भोजराज भट्टराई (जो अहिले शिक्षक छ) ले लेख्यो– ‘त्यो समयमा हाम्रो ठाउँका लागि अत्यन्तै उपयोगी विद्वान् सरहरू।’  

शिक्षक मासिक, २०८२ असार अंकमा प्रकाशित । 

commercial commercial commercial commercial