सृष्टिको आधार सिमसार !
अन्तर्राष्ट्रिय दिन र दिवसका टीका (थोप्लो) ले ३६५ दिनको भित्तेपात्रोमा कुनै ठाउँ खाली भेटिंदैन। त्यही सिलसिलामा, यस वर्षको फेब्रुअरी महीनाको दोस्रो दिन अर्थात् माघको १९ गते विश्व सिमसार दिवस अंकित थियो। यो वर्ष माघको हिउँदे झरी एवं हिमपातको आशा गर्दै नेपालले लामो खडेरीको सामना गर्नुपर्यो। वर्षा एवं मौसमका नियमित प्रक्षेपणहरू भरपर्दा हुन छोड्यो। विश्व जलवायु परिवर्तनको प्रभाव हो कि भन्ने आकलन पनि सुनिन थाल्यो। यदि हो नै भने आकाशे पानीको भर भन्दा आफ्नै वरपरका जलस्रोत- सिमसारहरूको भरमा बस्नुपर्ने बाध्यता सिर्जना हुनसक्छ। त्यही परिप्रेक्ष्यमा सिमसार दिवसको चर्चा गर्नुपर्ने हुन्छ। यस वर्षको विश्व नारा ‘सिमसार मानव हितको आधार !’ भन्ने थियो। हाम्रा बालबालिकालाई सिमसार जस्तो जीवनका प्राकृतिक आधारहरूको विषय बुझने, अनुभव गर्ने र अनुभूति सँगाल्ने अवस्था सिर्जना गर्नु हाम्रो जिम्मेवारी हुन आउँछ।
पृथ्वीको ७० प्रतिशतभन्दा बढी भाग पानीले ढाकेको छ। १ अर्ब ४० करोड घनकिलोमीटर बराबरको समुद्रको पानीमा कतिवटा सिंगो हिमालय नै डुब्ने हुन्, त्यो त थाहा भएन; तर निश्चय नै यो पानीको ९७ प्रतिशत अंश पिउन योग्य भने छैन। यो पानी कृषियोग्य र उद्योगयोग्य पनि छैन । अर्थात् पृथ्वीको ३ प्रतिशत पानी मात्र स्वच्छ छ। त्यसमध्ये २ प्रतिशत हिमनदी र जमेको हिउँका रूपमा छ भने १ प्रतिशत मात्र ताल, नदी, भूमिगत जलको रूपमा अर्थात् तरल अवस्थामा पाइन्छ । तसर्थ स्वच्छ पानी स्वभावले नै दुर्लभ वस्तु हो । विश्वको यो दुर्लभ वस्तु हाम्रो देशमा हिमालयको रूपमा सुरक्षित छ। त्यसलाई जल मिनार ९ध्बतभच त्यधभचक० भनिन्छ । प्रति वर्ष मनसुनी वर्षाले त्यसलाई नयाँ जीवन दिन्छ।
हिमालयबाट बग्ने थुप्रै नदीनाला र हजारौं हिमताल, अन्य दह र कुण्डहरूले आफ्नो सेरोफेरोमा विभिन्न थरीका सिमसारहरू सिर्जेका छन्। सिमसार त्यस्तो परिवेश हो जहाँ जल, थल, आकाश, वायु र तेज यी पाँचै तत्वको मिलन हुन्छ। त्यसैले सिमसारको अध्ययन वा अनुभव गर्दा, मनमा लाग्छ; कि ब्रह्माजीले सिमसारमै पलेंटी कसेर सृष्टिको थालनी गरेका थिए कि ! नत्रभने सृष्टिका सबै विविधता जलचर, थलचर र नभचरका जीवनचरियामा एक–अर्काप्रतिको निर्भरता र अन्तर–सम्बन्धहरूको जञ्जालको परिकल्पना नै कसरी भयो भन्ने प्रश्न पनि उठ्न सक्दछ। जेहोस्, सिमसारको महत्व ब्रह्माले मात्र हैन, हामी नेपालीले पनि बुझेका छौ। मत्स्य, कूर्म, वराहलाई नारायणकै अवतार मान्छौं। हात्तीले कमल टिप्छ, लक्ष्मीलाई चढाउँदछ। भगीरथले गंगा ल्याउँछन्, त्यसमा सोंस ९म्यउिष्ल० लाई छोड्छन् र उसलाई दूतको कार्य सुम्पिन्छन् । हाम्रो सांस्कृतिक निधिमा यस्ता थुप्रै कुराहरू छन्, जहाँ सिमसारको महत्वव बोध टड्कारो छ। यस्तै सिमसार बारे मानव दृष्टि केन्द्रित गर्न विश्व सिमसार दिवस मनाइन्छ।
सिमसार भनेपछि हामी सामन्यतः सिम परेको जमिन भनेर बुझदछौं। तर यसलाई वर्तमान परिभाषाभित्र ल्याउँदा यो सबै प्रकारका जलाशयसँग सम्बन्धित हुँदै जान्छ । सिमसारको विशेषता जैविक विविधतासँग गाँसिएको हुन्छ। विशेष गरेर चराचुरुङ्गीको बसाइँसराइको लामो यात्राका क्रममा सुरक्षित बिसौनीका रूपमा स्थापित सिमसार क्षेत्रलाई अन्तर्राष्ट्रिय महŒवको सिमसार भनेर रामसार सूचीमा समावेश गर्ने परिपाटी चलिआएको हो। इरानको रामसार नाम गरेको नगरमा सन् १९७१ को फेब्रुअरी २ मा सम्पन्न विश्व सन्धिको प्रावधानमा नेपाल सन् १९८७ देखि पक्षधर भएर संरक्षणका कदमहरू चाल्दै आएको हो। त्यसवेला कोशी टप्पू वन्यजन्तु आरक्षलाई रामसारमा समावेश गरियो।

हुनत विश्वमा दुर्लभ हुँदै गरेको अर्नालाई संरक्षण दिने विशेष क्षेत्र भनिए तापनि पक्षी प्रजातिको बाहुल्य र तिनका बहुल संख्याको दृष्टिले कोशी टप्पु सिमसार नेपालको अद्वितीय संरक्षण क्षेत्र ठहरिन गएको छ। त्यहाँ ४९० भन्दा बढी प्रजातिका पक्षीहरूमध्ये साइबेरियादेखि श्रीलंकाभन्दा पनि परपरसम्म विचरणमा यात्रा गर्ने पक्षीहरू मौजुद छन्। तिनमा चखेवा–चखेवी, खोया हाँस लगायत २० विभिन्न प्रजातिका हाँसहरू छन्। चरा सर्भेक्षणमा अगुवा विशेषज्ञ रोवर्ट फ्लेमिङले सन् १९७१ को भ्रमणमा एक हप्ताभित्र १९ विभिन्न प्रजातिका हाँसका ३२ हजार संख्या गणना गरेको उल्लेख छ । सिलसिले हाँसका बथानबाट छिनछिनमा आकाशतिर उड्ने र पानीमा बस्ने ५ हजार हाँसका झ्ुण्डको रमणीय दृश्य पनि विभिन्न पक्षीप्रेमीका वर्णनमा देख्दछौं। यसै गरेर ५ विभिन्न प्रजातिका माटिकोरे र विभिन्न जलकौवा तथा बकुल्लाहरूको माछा मार्ने कलाले सबैलाई मोहित गर्दछ । सारस प्रजातिभित्र पर्ने क¥याङकुरुङको बसाइँसराइको रोमाञ्चकारी यात्राको बिसौनी मात्र हैन आफ्नो थातथलो नछोड्ने लुम्बिनी– सारसको पूर्ण जीवनचक्र पनि कोशी टप्पुमा साकार हुन्छ।
रामसार सूचीमा समावेश भएका हाम्रा मधेश–तराईका सिमसारमध्ये चितवनको बीस हजारी ताल, कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर जलाशयको महत्वको चर्चा गर्दा जैविक विविधताको संरक्षण र स्थानीय जनजातिका जीविकोपार्जन तथा पर्या–पर्यटनको महत्वलाई मध्यनजरमा राखिन्थ्यो। मानव हितको आधारलाई लिएर चर्चा शुरू गर्नुपरेको थिएन। वर्तमानमा आएर दुर्लभ पशुपक्षीको कुरा पन्छाएर पानीकै दुर्लभतातिर ध्यान दिनुपर्ने अवस्था सिर्जना हुँदैछ।
नेपालको पहाडी क्षेत्रमा पशुपक्षीको संरक्षणलाई नै मध्यनजरमा राखेर रामसार सूचीमा समावेश भएको सिमसारमा इलामको माइपोखरी उल्लेखनीय छ। यस पोखरीलाई सिमसारमा सूचीकृत गर्दा सानो माउसुली जस्तो देखिने दुर्लभ प्राणी ‘थक थके’ भनिने पानी गोहोरो र त्यस तालमा तैरिएर गलैंचा जस्तै फैलिने गलैंचे झयाउ (वनस्पति) तथा रूखमा चढेर रतिक्रीडामा रमाउने दुर्लभ रूख भ्यागुतालाई ध्यानमा राखिएको थियो। माइपोखरीको आफ्नै धार्मिक एवं सांस्कृतिक महŒवलाई पनि नजरअन्दाज गर्न नहुने अवस्था छ।
अन्य पहाडी सिमसारहरूमा पोखरा उपत्यकाका तालहरू प्रमुख छन्। यी ताल वि.सं. २०७२ (सन् २०१६) मा मात्र रामसारमा सूचीकृत भए। यस समूहमा नौ वटा सुन्दर ताल– फेवा, वेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्यूरिनी र गुदी ताल पर्न आउँछन् । पोखरा भन्ने बित्तिकै माछा, माझी जाल र ताल अनि माछापुच्छ«े हिमालको सम्झ्ना हुन्छ। अहिले नेपालको सबभन्दा चर्चित पर्यटन स्थलको रूपमा स्थापित भएपछि यहाँ ताल संरक्षणले व्यापक महŒव पाउने गरेको छ।
मुगु जिल्लाको रारा ताल २०६५ साल (सन् २००७) मा रामसार सूचीभित्र पर्न सफल भयो। समुद्र सतहबाट २,९०० मीटरको उचाइमा अवस्थित यो नेपालको सबैभन्दा ठूलो ताल हो । यस तालले पनि अन्तर्राष्ट्रिय उडान भर्ने पक्षीहरूलाई बसाइँसराइमा सहयोग पु¥याउँछ। यहाँ पनि चखेवा–चखेवी, खोया हाँस, नीलटाउके हाँस आदि पक्षीले बास बस्ने गरेका छन् । यस तालको प्रमुख विशेषता भनेको यसको भौगोलिक स्वरूप र विशाल आकार तथा गहिराइ नै हो । यो ताल १६७ मीटर गहिरो छ। पुरानो धरहरा (५९.२८ मीटर) ३ वटा डुबायौं भने १० मीटर गजुर मात्र ताल बाहिर देखिन्छ । जैविक विविधताको दृष्टिले यहाँ अन्यत्र कहीं नपाइने असला माछा र केही भ्यागुता र थुप्रै वनस्पति पनि भेटिन्छन्।
रामसारमा सूचीकृत अन्य हिमाली तालमध्ये सबैभन्दा सुन्दर रंगमा रंगिने पानी भएको जलाशय डोल्पा जिल्लाको फोक्सुण्डो ताल हो। यहाँ कुनै जलचर प्राणी छैनन् । यसको वरपर दुर्लभ हिमचितुवा, नाउर, कस्तूरी लगायत केही पक्षी पनि विचरण गर्दछन्। फूल बिरुवाका लागि भने यो क्षेत्र अतिविशिष्टको स्थान हो जहाँ भूमध्यसागरीय वनस्पति लगायत बहुमूल्य यार्सागुम्बा जडीबुटीका साथै यही स्थानमा मात्र पाइने विभिन्न वनस्पति पनि छन्।
हिमाली जलकुण्ड र जलाशयको प्रतिनिधित्व गर्दै विश्वसम्पदा सूचीमा परेका अरू तालहरूमा लाङटाङ राष्ट्रिय निकुञ्जको गोसाइँकुण्ड ताल क्षेत्र तथा सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको गोक्यो तालहरू पनि पर्न आउँदछन् । यस प्रकार, रामसार सूचीमा समाहित नेपालका नौवटा सिमसार क्षेत्रको संरक्षण हाम्रो राष्ट्रिय दायित्वभित्र पर्न आउँछ।
इरानको रामसार नामक शहरमा आजभन्दा ५३ वर्ष पहिले सन् १९७१ मा सम्पन्न विश्व सिमसार सन्धिका सोच र चुनौतीहरू समय र परिस्थितिको कसीमा घोटिंदै दुर्लभ पशुपक्षीका हितमा मात्र हैन कि मानिसकै हितको आधार पनि सिमसार हुन थालेको अवस्थातिर विश्वको ध्यान आकर्षित गर्ने लक्ष्य लिएको बुझ्न्छि। रामसार सूचीभित्र नपरेका बाहिरका अन्य सिमसारप्रति पनि ध्यान पु¥याउन चुक्नुहुँदैन भन्ने सन्देश समयसापेक्ष बन्दैछ। सिमसारहरू अक्सर सार्वजनिक स्वामित्वमा रहने गर्दछन्। शायद त्यसैकारण तिनको व्यवस्थापनमा पनि अन्य सार्वजनिक–सम्पत्तिको दुरवस्था ९त्चबनभमथ या ऋयmmयलक० नै दोहोरिने गरेको पाइन्छ । बलिया–बाङ्गाले सार्वजनिक सिमसार हडप्ने प्रवृत्ति काठमाडौं उपत्यकाको वर्तमान नियति हुँदैछ।
बढ्दो शहरीकरण, जग्गा जमिनको आकाशिएको बजार भाउले गर्दा अतिक्रमणको चपेटामा दह, ताल, पोखरी र अन्य सिमसार क्षेत्र पर्न गएका छन्। नदीनाला, ताल, तलैया, झ्लि, दह र कुण्डहरू मानिसबाट प्रदूषण हुन थालेका छन्। फलस्वरूप दुर्लभ जैविक सम्पदाका सुरक्षाकवच मानिने सिमसार क्षेत्रहरू स्वयं संकटमा पर्दै गएका छन्। र, पानीको संकट भोग्न स्थानीय बासिन्दाहरू बाध्य छन्। यसको ज्वलन्त उदाहरणमा काठमाडौं उपत्यकालाई प्रस्तुत गर्न सकिन्छ । यस उपत्यकाका परम्परागत थुप्रै ताल, पोखरी, इनार, कुवा, ढुंगेधाराहरू पुरिन गएका छन् । कमलपोखरीहरूमा व्यापारी केन्द्र खडा भए। पशुपति क्षेत्रका ६ वटा पोखरी बेपत्ता भएको समाचार भर्खरै पढ्न थालेका छौं । स्कूल–पाठशालाका नाममा जमिन अधिग्रहण गरेर इखापोखरी जस्तो सिमसार पूरै नष्ट भइसक्यो। गाउँबस्तीका स–साना पोखरीहरू पनि धेरैजसो पुरिइसकिए । तिनको लेखाजोखासम्म हुनसकेको छैन । संरक्षित केही पोखरीहरू पनि मानिसका मनोरञ्जन स्थलमा परिणत छन्। नागदह, टौदह, सप्तपाताल, प्राकृतिक जलचर, स्थलचर र नभचर प्राणीका क्रीडास्थल रहेनन्। मानव मनोरञ्जन स्थल बनेर मोमो, चाउचाउ, कफी, बियर, बार र रेस्टुराँ एवं नौका विहार आदिले भरिने क्रम जारी छ । वस्तुतः सिमसार अब सिमसार रहेनन् । तसर्थ, त्यसप्रतिको चिन्ता र चासो जगाउन सिमसार दिवस कत्तिको सार्थक रह्यो भन्नेतिर हाम्रो ध्यान जानुपर्छ।
यस वर्षको नाराले सिमसार मानव कल्याणको आधार भन्ने अवधारणालाई अँगालेको छ। वास्तवमा सिमसार छैन त पानी छैन। हामीले पिउने पानीका स्रोतहरू अक्सर सिमसारमा आधारित हुन्छन्। पानीको स्रोत सुक्यो भने गाउँबस्ती नै बसाइँसराइ गर्न बाध्य हुने अवस्था आउँछ। तसर्थ, आफ्नो पालिका एवं प्रदेशहरूमा रहेका सिमसारहरूको विधिवत् लगत राख्ने र संरक्षण कार्यमा संलग्न हुन विद्यार्थी र शिक्षार्थीहरूलाई समेत प्रेरणा मिलोस् भन्ने शुभकामना !



