शिक्षामा मधेशका दलित अरू अघिअघि, मुसहर पछिपछि

तराई मधेशका दलित समुदायका अधिकांश अभिभावकले सामुदायिक विद्यालयमा आफ्नो भविष्य र सपना देख्न थालेका छन्। उनीहरूमा शिक्षाप्रतिको चेतना बढ्दै गएको पाइन्छ। सरकारी जागिरमा सुरक्षित समावेशी कोटाले उनीहरूलाई विद्यालयतर्फ तानिरहेको छ। मधेशी दलितहरूमा दुसाध (पासवान), चमार (राम, महरा, मोची) दास (तत्मा) र मण्डल (खत्वे) समुदायले आफ्ना बालबालिकालाई नियमित विद्यालय र कलेज पठाउन थालेका छन्। तर, सदाय (मुसहर) समुदायका बालबालिकाहरू भने अझै पनि विद्यालय शिक्षातिर राम्ररी आकर्षित हुन सकिरहेका छैनन्। तल्लो कक्षामा दिवा खाजा र छात्रवृत्तिका लागि विद्यालय गए पनि यो समुदायका ८० प्रतिशतभन्दा बढी बालबालिकाले कक्षा-८ पछि पढाइलाई निरन्तरता दिएको पाइँदैन।

पत्रकार तथा लेखक राजेश राम (विद्रोही) भन्छन्, “मधेशमा पासवान, राम, मण्डल र दास समुदायहरू आफ्ना बालबालिकालाई सामुदायिक र संस्थागत विद्यालयमा भर्ना मात्रै गरिरहेका छैनन्, तिनले साँझ्–बिहान पढे/नपढेको निगरानी समेत राखिरहेका छन्। तर, मुसहर सुमुदाय भने अझैसम्म शिक्षाको मूलधारमा आउन सकेको छ्रैन।” जबसम्म तिनले आफ्नो सपनालाई शिक्षासँग जोड्न सक्दैनन्, तबसम्म मुसहर समुदायले शिक्षाप्रति लगाव नराख्ने उनको बुझाइ छ। शहरी क्षेत्रका मुसहर समुदायका बालबालिकाहरू विद्यालयमा भन्दा पनि कबाडी संकलन, ठेला चलाउने जस्ता काममा भेटिने गर्दछन्। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार मधेशमा तीन लाख बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको र त्यसमा मुसहर समुदायका बालबालिकाको संख्या अत्यधिक रहेको छ।

दुसाध (पासवान) समुदायका बालबालिकामा शिक्षाको आकर्षण निकै बढेको पाइन्छ । लोकतान्त्रिक व्यवस्था आएपछि पासवान समुदाय सामाजिक, राजनीतिक, आर्थिक रूपमा अन्य दलित समुदायहरूको तुलनामा अघि हुनुको कारण भविष्यको सपना शिक्षाको माध्यमबाट पूरा हुनेमा त्यो समुदायका अगुवाहरूले ध्यान दिनु रहेको पाइएको छ। शिक्षक भर्ना, वन रक्षक, विद्यालयको परिचर, राजनीतिमा हिस्सेदारी लगायतका समावेशी सहभागिताको लागि पासवान समुदाय सचेत रहेको समुदायका अगुवा मोहन पासवानको बुझइ छ।

पासवान बस्तीका अगुवाहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउने, गाउँमा ट्यूसन कक्षा चलाउने, एसईईपछि लोकसेवा आयोगको कक्षामा समेत पठाउने गरेको मोहन पासवान बताउँछन्। उनका अनुसार पासवानहरू शिक्षाको माध्यमबाट सन्तानको भविष्य उज्ज्वल बनाउन सक्ने तथ्यका उदाहरण बनेका छन्। पसवान, राम र मण्डलहरू दलित कोटामा सरकारी जागिर खान सफलमध्ये पर्छन्। 
सिरहाको नवराजपुर गाउँपालिका-५ स्थित ज्योति आविका प्रअ रामसुफल सदायका अनुसार त्यहाँका मुसहरहरू शिक्षामा अन्य दलितको तुलनामा निकै पछाडि छन्। उनी भन्छन्, “हामी दुवै दाजुभाइ शिक्षक छौं । मुसहर समुदायका बालबालिकाहरू विद्यालय जानुपर्छ, पढ्नुपर्छ भन्ने चेतना जागेको भए पनि व्यवहारमा कुनै असर परेको छैन। लहान नगरपालिका क्षेत्रका मुसहरहरू आफूसँगै बालबच्चालाई पनि निर्माण मजदुर, उद्योगधन्दा र जोखिमपूर्ण काममा लगाउन छाडेका छैनन्। जन्मदर्ता नगर्ने र नागरिकता नबनाउने उनीहरूको अर्को समस्या हो। रोजगारीका लागि विद्यालय उमेरमै भारतको दिल्ली, पञ्जाब तिर जाने र बालिकाको हकमा कक्षा-८ पढ्दै गर्दा विवाह समेत हुने गरेको छ।

९९ प्रतिशत सुकुम्बासी रहेका मुसहर समुदायको अवस्था सुधार गर्न तीनै तहका सरकारले शिक्षाको विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको लहान–१ का दलित अभियानकर्मी सोनिया सदायको भनाइ छ । उनी भन्छिन्, “गाउँमै रहेको जनता आवि, मटियर्वाका मुसहर समुदायका विद्यार्थीहरू कक्षा पाँचपछि कामको खोजीमा पढाइ छाडिरहेका छन् । शहरी क्षेत्रसँग जोडिएर रहेको लहान नगरपालिका वडा–१ र २ मा दुईसय भन्दा बढी घरपरिवार रहेको मुसहर बस्तीमा कक्षा-८ भन्दा बढी पढेका ५० जना व्यक्ति पनि छैनन् । उच्च शिक्षा पढ्नेहरूको संख्या पाँच जना पनि पुग्दैन। जबकि लहानमा सदाय समुदायको बस्ती वरिपरि विद्यालय र क्याम्पसको संख्या दर्जनौं छन् ।”

सखुवानन्कारकट्टी गाउँपालिका-४ की सरिता सदाय भन्छिन्, “१५ वर्ष लागेपछि विवाह गरेर कमै उमेरमा सन्तान जन्माउने, सन्तानलाई शिक्षा दिनुभन्दा हरवा–चरवाको रूपमा काम गर्न लगाउने र भारतको दिल्ली, पञ्जाब पठाउने गरेको कारण शिक्षामा मुसहर समुदाय पछाडि छ।”

तत्मा दास समुदायको अवस्था मुसहर समुदायभन्दा केही प्रगतिउन्मुख रहे पनि पूरै सन्तोषजनक नरहेको मधेश प्रदेशका सभासद् ललती दास तत्माको बुझइ छ। उनी भन्छन्, “शहरी क्षेत्रका तत्मा दासहरू शिक्षामा पछि परेकै कारण राजनीति, सामाजिक क्षेत्रमा अघि बढ्न सकेका छैनन् । ग्रामीण भेगमा यो समुदायको अवस्था झ्न् कमजोर छ। तत्मा समुदायका अगुवाहरूमा पासवान र रामहरूको शिक्षामा अघि बढ्नुपर्छ भन्ने चेतना बढ्दै गएको छ।” ललिता दासले भनिन्, “मैले आफ्नै उदाहरण दिएर पनि आफ्नो समुदायमा शिक्षामा लगानी लगाए सुनौलो बिहानी हुने शिक्षा र जागरणको अभियान शुरू गरेकी छु।” आफ्नी छोरीलाई एमबीबीएससम्म पढाएपछि अरूले पनि देखासिकी गरिरहेको लहान–१ का राम गणेश दासले भने, “मुसहर समुदायभन्दा थोरै अघि रहेको दास तत्मा समुदायको बस्तीमा जनजागरणमा हामी लागेका छौं ।” 

मुसहर समुदायका बालबालिकालाई विद्यालय भर्ना भएपछि टिकाउन विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको सिरहाका प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीको तर्क छ। उनी भन्छन्, “कक्षा १० सम्म विद्यालयमा आवासीय राखेर खाना; पोशाक र चाहिने शैक्षिक सामग्रीहरू समेतको व्यवस्था गरेर उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउनु आवश्यक छ।” 

commercial commercial commercial commercial