कक्षाकोठा यसरी बन्छ रोचक

कहिलेकाहीं बिहान बाटोमा हिंडिरहँदा विद्यार्थीका गुनासा र समस्या सुन्न पाइन्छ। बिहानी कक्षाका विद्यार्थीहरू विद्यालय जाँदै गर्दा कक्षा, विद्यालय र शिक्षकका बारेमा अनेक कुरा गरिरहन्छन्। उनीहरूको भोगाइ करिब-करिब एकै खालको हुन्छः ‘अंग्रेजी सरले पढाउँदा ध्यानै जाँदैन’; ‘सामाजिक सरले मार्कर बाहेक केही पनि सामग्रीहरू ल्याउनुहुन्न’; ‘नेपाली पढाउने सरले सीधै तँ भनेर बोलाउनुहुन्छ, कस्तो नराम्रो लाग्छ’; हिजो बिरामी भएर स्कूल नगएको; ‘विज्ञान पढाउने म्यामले को केटासँग घुम्न गएको भनेर कक्षामा बेइज्जत गरिदिनुभयो !’ 

यस्ता अनेकानेक गुनासाका पोका उनीहरूसँग हुन्छन्। विद्यार्थी उमेर नै यस्तै हो, जहाँ घरपरिवारमा भन्न नसकिने कुरा अक्सर साथीहरूसँग बाँड्ने गरिन्छ। शिक्षकका अध्यापन शैलीदेखि बानी व्यवहारसम्मले विद्यार्थीमा प्रभाव जमाएको हुन्छ। स्कूले विद्यार्थीले आफूलाई मन नपरेको कुरा निर्धक्कसँग शिक्षकका माझ्मा अभिव्यक्त गर्न सक्दैनन्। शिक्षकलाई पनि विद्यार्थीको पृष्ठपोषण प्राप्त नहुँदा आफूले गरेको कर्म उच्चस्तरकै रहेको भान हुन्छ । यो सामान्य पनि हो। सबै तहबाट परिश्रम हुँदा पनि सोचे जस्तो शैक्षिक उपलब्धि हासिल गर्न नसक्नुको खास कारण कतै यस्तै कुराहरूमा अल्मलिएको त छैन ? यस लेखमा यसको साङ्गोपाङ्गो अध्ययन गर्ने प्रयास गरिएको छ। 

हाम्रा कक्षाकोठाहरूमा विद्यार्थीलाई बसिराखुँ, पढिराखुँ अनि शिक्षकका कुरा सुनिराखुँ भन्ने खालको बनाउनका लागि हामीले अहिले गरिरहेको कामलाई केही फरक ढंगले गर्न सकियो भने मात्रै पनि कक्षाकोठाको सिकाइ प्रभावकारी बन्दै जान्छ। विद्यार्थी रमाउँदै जान्छन् अनि सोचेको शैक्षिक उपलब्धि भेटिंदै जान्छ। कसरी बनाउन सकिन्छ त हाम्रा कक्षाकोठालाई रोचक ? यसका केही सूत्र छन्: 

सहजकर्ता शिक्षकः शिक्षाशास्त्री मार्क डोरेन भन्छन्– ‘सिकाउने भनेको खोज्न सहयोग गर्ने कला हो ।’ यस भनाइले, शिक्षकलाई एकोहोरो धाराप्रवाह प्रवचन कर्ता भन्दा पनि विद्यार्थीलाई उत्प्रेरित गर्ने सहजकर्ताको रूपमा व्याख्या गरेको छ। तर विडम्बना यस खालको पद्धतिलाई हामीले अवलम्बन गर्न सकेका छैनौं। हाम्रा कक्षाकोठाहरू अहिले पनि प्रवचन र गोष्ठी जस्ता छन्ः शिक्षकले वक्ताका रूपमा एकोहोरो विषय फलाकिरहने अनि विद्यार्थीले एकोहोरो रूपमा सुनिरहने। यो टिकटकको जमानामा, हामीसँगै त्यस्तो क्षमता छैन भने विद्यार्थीले ४५ मिनेटसम्म हामीलाई ‘पिनड्रप साइलेन्ट’मा कसरी सुनून् ? यसको परिणति, ४५ मिनेटको कक्षामा करीब १० मिनेटजति त शिक्षकलाई ‘चुप लाग, किन बोलेको, केको खासखुस हो’ भनेर नै व्यतीत भइरहेको हुन्छ। 

खासमा शिक्षक प्रवचनकर्ता भन्दा पनि सहजकर्ता जस्तो रूपमा कक्षामा प्रस्तुत हुनुपर्दछ। विद्यार्थीलाई सिकाउनुपर्ने विषयका बारेमा अन्तरक्रियात्मक ढंगले प्रस्तुत हुनुपर्दछ। आजका विद्यार्थीले सूचनाप्रविधिको प्रयोग मार्फत विभिन्न कुराहरूको अध्ययन गरिरहेका हुन्छन्। यसर्थ सिकाउनुपर्ने विषयलाई कक्षामा प्रवेश गराएर विद्यार्थीबाटै त्यसको निराकरण गर्ने गरी कक्षाका शिक्षक प्रस्तुत हुनुपर्दछ। यसले विद्यार्थीलाई आलोचनात्मक, रचनात्मक र सृजनात्मक बनाउनका लागि आधार समेत निर्माण गर्दछ। यस्तो कक्षामा विद्यार्थीहरू रमाउने र सक्रिय रूपमा सहभागी हुने गर्दछन्। मूलतः यस खालको शिक्षण सिकाइ–प्रक्रियाले विद्यार्थीको सिकाइ अपेक्षाकृत ढंगले बढिरहेको हुन्छ। 

व्यावसायिक मर्यादाः विद्यार्थीको प्यारो हुने या कक्षालाई रोचक बनाउने बहानामा कतिपय सन्दर्भमा शिक्षकहरूले व्यावसायिक मर्यादा भुलिरहेको पनि पाइन्छ। विद्यार्थीका व्यक्तिगत कुरा कोट्याउने, उनीहरूलाई हेयको भावले सम्बोधन गर्ने र उनीहरूको मनलाग्दी नामहरू राख्ने जस्ता विविध कुराले विद्यार्थीलाई कक्षाकोठामा सक्रिय हुन असहज भइरहेको हुन्छ। विद्यार्थीको परिवारको पृष्ठभूमि झ्किेर अनावश्यक चर्चा गर्ने, उसका कमी–कमजोरीलाई कक्षा रमाइलो बनाउने विषयवस्तु बनाउने जस्ता कुराका कारण कक्षाकोठा विद्यार्थीका लागि दिक्दारीपूर्ण बनिरहेका हुन्छन्। शिक्षकले व्यावसायिक मर्यादा सधैं पालना गर्नुपर्छ। कक्षाकोठालाई बालमैत्री बनाउने बहानामा हामी धेरै व्यक्तिगत कुरामा केन्द्रित हुन थाल्यौं भने पनि त्यसले गलत परिणाम ल्याउने गर्दछ। विद्यार्थी र शिक्षकका बीचमा मैत्रीभाव हुनु अवश्य पनि आवश्यक छ तर त्यसमा पदीय दायित्व पनि कायम हुनुपर्दछ । विद्यार्थीले आफूले बोलेका कुरा र गरेका व्यवहार कस्तो मानिरहेका छन् भन्ने बारेमा शिक्षकले आत्मसमीक्षा पनि गर्नुपर्दछ । शिक्षक हुने बित्तिकै ‘सबैथोक जान्ने’ र विद्यार्थी हुने बित्तिकै ‘केही पनि नजान्ने’ भन्ने हुँदैन । आफूले शिक्षक हुनुको धर्म निर्वाह गरेको छु या छैन भन्ने विषयमा हरदम सचेत रहनुपर्छ।

विद्यार्थीको पूर्ण सहभागिताः सिकाइका सन्दर्भमा बेन्जामिन फ्रैंकलिनको एउटा भनाइ निकै प्रचलित छः ‘मलाई भन्नुहोस्, म बिर्सन्छु, मलाई सिकाउनुहोस् म सम्झ्न सक्छु तर मलाई समावेश गर्नुहोस् म सिक्छु।’ कक्षाकोठालाई रोचक बनाउने मात्रै होइन सिकाइ उपलब्धिलाई फलदायी बनाउने कुरामा पनि यो भनाइको पालना गर्नु उपयुक्त हुन्छ। विद्यार्थीलाई सँगसँगै डोर्‍याउन सकियो भने उसले शिक्षकले सिकाएको कुरा सहजै ग्रहण गर्न सक्दछ । विद्यार्थीलाई हामीले पठनपाठन प्रक्रियामा समावेश गर्नुपर्दछ। शिक्षकले सिकाउने विषयको जब एक हिस्साका रूपमा विद्यार्थी रहेको हुन्छ तब उसले सिकाइप्रति अभिरुचि जागृत गराउन सक्दछ। शिक्षक मात्रै एकोहोरो वर्णनात्मक ढंगले प्रस्तुत हुन थालेपछि माथिको भनाइ जस्तै विद्यार्थीलाई सम्झ्न हम्मेहम्मे पर्दछ। सिकाइको एक अंगका रूपमा हामीले जब विद्यार्थीलाई पनि जोडिरहेका हुन्छौं, विद्यार्थी नजानिंदो तरिकाले विषयप्रति गम्भीर बन्दै गइरहेको हुन्छ। विद्यार्थी स्वयं सिकाइको महत्वपूर्ण अंश भएकाले पनि हामीले उसलाई सिकाइ–प्रक्रियामा सहभागी बनाउनु आवश्यक छ।

आशाको सञ्चारः मानिसले कुनै पनि काममा त्यतिबेला मात्रै मन लगाउँछ, जतिबेला ऊ त्यसबाट केही उपलब्धि हासिल हुन्छ भन्ने कुरामा विश्वस्त हुन्छ। हामी शिक्षकले पनि देश र समाजका अनेक समस्याका बीचमा विद्यार्थीमा आशाको सञ्चार गर्न सक्यौं भने मात्रै उनीहरू शिक्षकले सिकाएको कुराप्रति इमानदार भएर सहभागिता जनाउने गर्दछन्। उनीहरूले पढिरहेको कुरा, हिंडिरहेको समाज, सामना गरिरहेको परिस्थितिका बारेमा हामीले सकारात्मक ढंगले बोध गराउनुपर्दछ। ‘हामीले गर्न सक्छौं, हाम्रै पालामा सम्भव छ’ भन्ने जस्ता सकारात्मक सन्देश प्रवाह हुने कुराहरू विद्यार्थीमा सञ्चार गर्नुपर्दछ। एकाध विद्यार्थीको गुनासो सुनिन्छ– कक्षाकोठामा सरले अन्य कुनै विकल्प नभएपछि आफू शिक्षक भएको उदाहरण दिने भएकाले पनि विद्यार्थीमा ऊर्जा पैदा हुन सकिरहेको छैन। विद्यार्थीलाई रुझेको पात होइन सलाइको काँटी जस्तो ज्वलनशील बनाउनुपर्दछ । विद्यार्थीलाई ज्वलनशील बनाउने गतिलो माध्यम भनेको सकारात्मक सन्देश नै हो। 

शिक्षकसँगै परामर्शकर्ताः विद्यार्थीले शिक्षकलाई आफ्नो आदर्श मानिरहेको हुन्छ। शिक्षकले भनेका कुराहरू सत्य हुन्छन् भन्ने विद्यार्थीको मान्यता हुन्छ। कक्षामा अध्यापनका अलावा शिक्षकले विद्यार्थीले सामना गर्नुपरेका विभिन्न समस्याका बारेमा पनि उचित परामर्श दिनुपर्दछ। त्यस्ता परामर्शको पालना गर्ने सन्दर्भमा विद्यार्थी निकै सकारात्मक रहेका हुन्छन्। यसरी परामर्श दिंदा शिक्षकले विद्यार्थीको मनोविज्ञान अध्ययन गर्नुपर्दछ। विद्यार्थीले कुन आशयले परामर्श चाहेको भन्ने कुरालाई बुझेर शिक्षकले सोही अनुसार त्यसलाई सम्बोधन गर्‍यो भने विद्यार्थीहरू शिक्षकप्रति आकर्षित भई कक्षाकोठा रोचक हुन जान्छ। विद्यार्थीको शैक्षिक, व्यक्तिगतका साथै ‘करिअर’ सम्बन्धी र संवेदनात्मक कुराहरूमा शिक्षकले परामर्शदाताको भूमिका बहन गर्न सक्दछ। 
कक्षामा विद्यार्थीले रुचि देखाउनुको अर्थ शिक्षण–सिकाइ क्रियाकलाप प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ भन्ने कुराको संकेत हो। कक्षालाई रोचक बनाउनमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकको हुन्छ। त्यसकारण शिक्षकले पाठयोजना मात्रै नभई कक्षालाई कसरी रोचक बनाउन सकिन्छ भन्ने योजना पनि बनाउनु आवश्यक देखिन्छ।  

(प्रमुख, तुलसीपुर बहुप्राविधिक शिक्षालय ।)

commercial commercial commercial commercial