विद्यार्थीको व्यवहारमा ‘आदर्श पात्र’को प्रभाव

आज समाजमा धेरै सुनिने गुनासोमध्ये एउटा हो– ‘बालबालिकामा नैतिकताको खडेरी’ । विद्यालयमा विद्यार्थीको व्यवहार असाध्यै रूखो, अटेरी, पढाइप्रति ध्यान नदिने, कुलत र साथी समूहमा मिलेर अनेक फन्डाहरू गर्ने, विद्यालय जान नरुचाउने आदि गुनासो धेरैको मुखबाट सुनिंदै आएको छ । आजका बालबालिकाले खाने, लगाउने, बोल्ने, हिंड्ने र उनीहरूले गर्ने व्यवहार समेत समाजमा ‘अपाच्य’ हँुदै गइरहेको छ । उनीहरूको व्यवहारले घरपरिवार, समाज र विद्यालयले ठूलो कठिनाइ व्यहोर्दै आइरहेको भान हुन्छ । यसनिम्ति घरपरिवारले विद्यालय र शिक्षकलाई आरोप लगाउँदै आएको पाइन्छ । अभिभावकहरूले भन्ने गरेको पाइन्छ– ‘हिजोआज विद्यालयमा शिक्षकहरूले के पढाउँछन्, के सिकाउँछन् ? बालबालिका घरमा न काम गर्छन् न पढ्छन्, बोली–व्यवहार केही पनि राम्रो छैन, सम्मान र अनुशासनको कुरै छैन । घरमा कसैलाई टेर्दैनन्, मोबाइलमा मात्रै झ्ुन्डिएर बस्छन्, केही भन्यो भने झ्गडा गर्छन् । शिक्षकले अलि राम्रो बनाइदिनुप¥यो, राम्रो सिकाइदिनुप¥योे, टेर्ने बनाइदिनुप¥यो ।’ यसरी धेरै दोष शिक्षकमाथि लाग्दै आएको छ ।
उता शिक्षकको भनाइ छ– ‘यो कस्तो खालको बच्चा हो, न विद्यालय नियमित आउँछ, न गृहकार्य गर्छ, न शिक्षकलाई टेर्छ, न भनेको मान्छ, न पढ्न जाँगर गर्छ । विद्यालयमा चुल्ठा–मुन्द्रा लगाएर आउँछ । कस्ता छन् हो यसका बाबुआमा ? कस्तो घरमा हुर्केको हो, घरमा केही सिकाउँदैनन् कि के हो ?’ अर्थात् शिक्षकले पनि अभिभावकहरूमाथि त्यसै गरी दोष लगाउँछन् । विद्यार्थीका पनि यस्तै यस्तै गुनासा होलान् । केहीले अभिव्यक्त गरेका होलान्, केहीले गर्न नसकेका होलान् । 
वास्तवमा बालबालिकालाई जस्तो ज्ञान दिइयो, त्यस्तै बन्ने हुन् । समाज, विद्यालय, परिवारले राम्रो र सही ज्ञान दिन सक्यो, उनीहरू त्यस्तै बन्दछन् । समाजमा जस्तो संस्कार, संस्कृति, शिक्षादीक्षा, रीतिरिवाज चलेको छ त्यही बमोजिमको उनीहरूको व्यवहार निर्माण हुने हो । समाज भन्दा अब्बल, अनुशासित, नैतिकवान् र राम्रो बालबालिका खोज्नु हाम्रो मूर्खता बाहेक केही हुन सक्दैन ।

आधुनिक प्रविधिले नियमन गरेको आजको समाज अत्यन्तै जटिल छ । संसारमा प्रतिसेकेन्ड ज्ञानको विस्फोट भइरहेको छ । आजका सिकारु हिजोका जस्ता छैनन्, आजको ज्ञान हिजो जस्तो छैन, आजको सिक्ने तरिका पनि हिजो जस्तो छैन । हरेक विषयवस्तु, सोचाइ, गराइ, बुझइको तरिकामा व्यापक फेरबदल आएको छ । हिजो ज्ञानको स्रोत भनेका नै शिक्षक÷गुरु थिए । शिक्षकले भनेका कुराहरू सत्य मान्नुपर्दथ्यो । सिकाइको लागि पूर्ण रूपमा शिक्षकमा नै भर पर्नुपर्दथ्यो । तर आज ज्ञानका स्रोत अनेक छन् र आर्जन गर्ने तरीका पनि थुप्रै विकास भएका छन् । बच्चाहरूमा सिक्ने तरिका र क्षमताको पनि अथाह विकास भएको छ । उसले अब विषयवस्तुको र किताबको ज्ञान भन्दा भव्य र विश्वसनीय ज्ञान अन्य माध्यमबाट प्राप्त गर्न थालिसक्यो । हामीले सिकाउने तौर–तरिका भन्दा उसले सिक्ने तरिका भिन्न छ । ऊ भिन्नै तरिकाले सिक्दैछ, सिक्न चाहन्छ । तर; समाज, परिवार र विद्यालयको तरिका उही पुरानै ढर्राको छ । तालमेल नमिलेको कुरा यही हो ।

भनेर वा घोकाएर सिकाएको भन्दा बालबालिकाहरू अरूले गरेको देखेर र आफूले गरेर सिक्न चाहन्छन् । त्यस्तो सिकाइले नै उनीहरूको व्यवहार निर्माण गरेको हुन्छ । किताब पढ्ने र घोकाउने भनेको त परीक्षामा पास हुनको लागि मात्र हो भन्ने सोच्दछन् । यो कुराको पुष्टि २०औं शताब्दीको मध्यतिर मनोवैज्ञानिक अल्बर्ट बान्डुराले सामाजिक सिकाइ सिद्धान्त मार्फत गरिसकेका थिए । उनले आफ्नो प्रयोगमा प्राथमिक तहका केही बालबालिकालाई छनोट गरी एउटा ‘नमूना’को व्यवहार प्रदर्शन गर्न लगाए र अन्य बालबालिकालाई त्यो अवलोकन गराए । यसबाट उनले के पत्ता लगाए भने बच्चाले नमूनाको व्यवहार, नमूनाले गर्ने क्रियाकलाप, देखाउने व्यवहार र कामको अवलोकन तथा नक्कल गरेर धेरै सिक्ने रहेछन् । ‘नमूना’को बढी प्रशंसित वा पुरस्कृत–व्यवहारलाई बालबालिकाले बढी नक्कल गरेको पनि भेट्टाए ।

बच्चाको पहिलो विद्यालय घर हो । उसको पहिलो शिक्षक आमा हो । उसको सिकाइका प्रथम ‘नमूना’ अथवा आदर्श उसका आमाबुबा नै हुन् । उसले घरपरिवारका सदस्यले गर्ने व्यवहार, उनीहरूले बोलेका कुरा, देखाउने व्यवहारको अवलोकन गर्दै जान्छ । उनीहरूले जस्तो व्यवहार घरमा प्रदर्शन गर्दछन्, त्यही व्यवहार बच्चाले पनि सिक्ने हो । त्योभन्दा भिन्दै उसले सिक्दैन । जब बच्चा विद्यालयमा जान्छ, उसको व्यवहार निर्माणको स्रोतमा उसका साथीसंगी र शिक्षकहरू थपिन्छन् । उसको सिक्ने दायरा फराकिलो हुँदै जान्छ । अब उसले मन पर्ने शिक्षक, साथी, अग्रज विद्यार्थीहरूलाई ‘नमूना’को रूपमा लिन्छ र उनीहरूले देखाउने व्यवहार र कार्यको अनुकरण गर्न थाल्दछ । त्यसपछि बच्चाले समाजका अगुवा मानिस, छिमेकी, फिल्म, भिडियो, पठन सामग्रीहरूको अध्ययन गर्दै जाँदा उसले सिक्ने या नक्कल गर्ने नमूनाहरू पनि थपिंदै र परिवर्तन हुँदै जान्छन् । उसले देखेका, अवलोकन गरेका राम्रा÷नराम्रा जति पनि विषयवस्तुहरू छन्, तिनलाई उसले आफ्नो व्यवहारमा उतार्न खोज्दछ । उसमा के सही र के गलत भनी राम्रोसँग छुट्याउन सक्ने बौद्धिकताको विकास भइसकेको हुँदैन । त्यही समयमा उसलाई उचित सल्लाह र परामर्शको जरूरी पर्दछ । तर, उसले अपेक्षा गरेका नमूना या आदर्श पात्रहरूबाट उसले त्यो प्राप्त गर्न नसकेमा उसको व्यवहार थप अराजकतातर्फ जाने गर्दछ ।

धेरै अध्ययन–अनुसन्धानबाट के स्थापित भएको छ भने, बालबालिकालाई पुस्तक पढाएर वा घोकाएर नैतिकवान् या चरित्रवान् बनाउन सकिंदैन । उसलाई नैतिकवान् र चरित्रवान् बनाउन घरपरिवार, विद्यालय र समाज नै नैतिकवान् हुनुपर्छ । बालबालिकाका नमूना अथवा आदर्श भनेका उसका बुुबाआमा, परिवारका सदस्य, शिक्षक, समाजका अगुवा, राजनीतिकर्मी आदि र सबै–सबै बालबालिकासामु नैतिकवान् भएर प्रस्तुत हुनुपर्छ । तर यो सवालमा आजको समाज र यसका सदस्यहरू खरो उत्रिन सक्ने अवस्थामा छैनन् । सबैतिर नैतिकताको खडेरी छ । भ्रष्टाचार, ठगी, चोरी, ढाँट, छलकपट, कुलत, गालीगलौज जस्ता अनेक तिकडमहरू नभएको समाज भेट्नै गाह्रो भइसक्यो । अनि बच्चाले असल चरित्र कताबाट सिकून् । जब; बच्चालाई पढपढ भनी अभिभावकहरू उसकै सामुन्ने घन्टौंसम्म मोबाइल, टीभीमा झ्ुन्डिन्छन् भने तिनका बच्चाले कसरी पढ्ने जाँगर चलाउनु ?

हाम्रो विद्यालय तहको पाठ्यक्रममा नैतिक आचरणका कुराहरू थुप्रै समेटिएका छन् । ती कुराहरू विद्यार्थीले हुबहु भनिदिन या परीक्षामा लेखिदिन पनि सक्छन् । शिक्षकले कक्षाकोठामा धूम्रपान, मद्यपान, लागूपदार्थ सेवन गर्नुहुन्न, ढाँट्नु हुन्न, चोर्नुहुन्न लगायत कुराहरू दिमाग भरिने गरी विद्यार्थीलाई कण्ठस्थ पार्दिन सक्छन् तर त्यही शिक्षक चार बज्ने बित्तिकै साहिंलीको भट्टीमा एक हातमा गिलास र अर्काे हातमा एक बित्ताको चुरोट तान्दै वरिपरि ‘भिजिलान्ते’हरू राखेर आदर्श र दर्शनका कुराहरू छाँट्छ । विद्यार्थीले आफ्नो ‘आदर्श’ शिक्षकलाई जुवाको खालमा बसेको भेट्छन्, बाटोमा पल्टिएको देख्छन् । भोलिपल्ट कक्षामा प्रश्न सोध्छन्– ‘सर हजुरले धूम्रपान, मद्यपान गर्नुहुन्न, जुवातास खेल्नुहुन्न, चोरी–ठगी गर्नुहुन्न भनेर सिकाउनुहुन्थ्यो, हिजो हजुरले के गर्नुभएको थियो ?’ शिक्षकले कि प्रश्न सोध्ने बालकलाई हप्काउँछ कि यसो भन्छ– ‘सरले सिकाएको गर्ने हो, सरले गरेको गर्नुहँुदैन । मैले तिमीहरूलाई कहिल्यै मैले गरेका सबै काम गर्नु भनेर सिकाएँ र ?’ यस्तो जवाफ पाएका बालक कसरी आफैं नैतिकवान् र चरित्रवान् बन्नु ?

बालबालिकालाई नैतिकता सिकाउनमा समाजसेवी, राजनीतिकर्मी आदिको पनि महŒवपूर्ण भूमिका रहन्छ । बालबालिकाका लागि उनीहरू पनि नमूना अर्थात् अनुकरणीय व्यक्ति नै हुन् । तर त्यस्ता व्यक्तिहरू नै रक्सीका भट्टीहरूमा डुबुल्की मार्ने, कमिसन र भ्रष्टाचारमा तल्लीन हुने, बरालिने गर्दछन् । रात–दिन मोबाइलमा घोटिएको छ, नानाथरी कुराहरू सामाजिक सञ्जालमा पोष्ट गरेको छ, विभिन्न अश्लील भिडियोहरू पोष्ट गरेको छ, कमेन्ट गर्दै बसेको छ । साना बालबालिकालाई सामाजिक सञ्जालमा भाइरल भेटिने यस्ता सुटबुट लगाएका, गफ चुटेर खाने, डुलेर खाने व्यक्ति साँच्चिकै समाजसेवी हुन् कि, ठूलो र असल मान्छे हुन् कि भन्ने भान पर्छ र तिनकै नक्कल गर्ने गर्दछन् । बालबालिकाहरू जतिखेर पनि मोबाइलमा व्यस्त हुने, विभिन्न्न अपाच्य कुराहरू ‘शेयर’ गर्ने, भाइरल हुने नाममा अनावश्यक भिडियोहरू पोष्ट गर्ने, सामाजिक सञ्जालमै लडाइँ–झ्गडा गर्ने, साइबर अपराध गर्ने जस्ता कुराहरू तिनले घरपरिवार र समाजबाटै सिकेका हुन् । सानै उमेरमा यस्ता कुराहरू सिकेका बालबालिकाहरू कसरी चरित्रवान् र नैतिकवान् बन्न सक्छन् ?

वास्तवमा बालबालिकाले व्यवहार चरित्र सिक्ने उपाय भनेको आफूभन्दा अग्रजहरूको व्यवहारको नक्कल गर्नु नै हो । घरमा उसको बुबाआमा, दाइदिदीले गरेको व्यवहार, विद्यालयमा शिक्षक तथा अग्रज विद्यार्थीहरूले गरेको व्यवहार, समाजका समाजसेवी, गन्यमान्य व्यक्तिहरूले प्रदर्शन गरिरहेका व्यवहार नै उसले व्यवहारमा उतार्ने हो । सानो बच्चालाई हामी सोधौं न– ‘तिमी भविष्यमा के बन्छौ ?’ उसको जवाफ हुन्छ– ‘म फलानो जस्तै सर, डाक्टर, इन्जिनियर, व्यापारी, पाइलट, नेता आदि बन्ने हो’ भन्छ । ऊ जसबाट प्रभावित भएको छ त्यही बन्ने उसको लक्ष्य हुन्छ । त्यसकारण, बालबालिकाले आदर्श मान्ने समाजका हरेक व्यक्तिहरू उसका मार्गदर्शक, नमूना हुन् र उनैका आनीबानी उसका सिकाइका पुस्तक हुन् ।

मुख्यतः बालबालिकालाई कलिलै उमेरदेखि आमाबुबा, शिक्षक, समाजका गन्यमान्य व्यक्तिहरूले राम्रा र चरित्रवान् व्यवहारहरू सिकाउँदै जानुपर्छ । उनीहरूलाई नैतिकता सिकाउनका लागि सर्वप्रथम घरका व्यक्तिहरू आदर्श र नमूना बन्न सक्नुपर्दछ । बच्चाको दिमागमा राम्रा कुराहरू भरिदिनुपर्दछ । घरमा सधैं मिठो बोल्ने, घरका सदस्यहरूले एकले अर्काेलाई सम्मान र आदर गर्ने, बालबालिकालाई पर्याप्त समय दिने, खेल्ने, उनीहरूसँग जहिले पनि साँचो बोल्ने, उनीहरूले देख्ने र सुन्ने गरी झ्ै–झ्गडा नगर्ने, धूम्रपान, मद्यपान सधैं वर्जित गर्ने जस्ता सकारात्मक कार्यहरू गर्नुपर्दछ । बालबालिकाले अनुभूति गर्ने गरेर अभिभावकहरू लामो समय मोबाइल, टीभी लगायत साधनहरूमा व्यस्त हुनुहुँदैन । बरू सानातिना कार्यमा सहभागी भइरहने, उनीहरूलाई पनि काममा सहभागी बनाउने, सिकाउने गर्नुपर्दछ । गृहकार्य गर्न सघाउने, सँगसँगै बसेर ज्ञान–गुनका कुराहरू सिकाउने, नैतिकताका कथाहरू सुनाउने गर्नुपर्छ । सामाजिक सञ्जालका गलत कुराहरूबाट टाढा राख्नुपर्दछ । एक्लै छुट्टै कोठामा राखेर घन्टौंसम्म मोबाइल, टीभी लगायत साधन प्रयोग गर्न दिनुहुँदैन । अभिभावकसँगै बसाउने ज्ञानमूलक कुराहरू खोज्न, हेर्न, टिप्न लगाउने जस्ता कार्यमा सहभागी बनाउनुपर्दछ ।

बालबालिकालाई नैतिकवान् बनाउने अर्काे महŒवपूर्ण पक्ष विद्यालय हो । विद्यालयका शिक्षक, अग्रज दाइदिदीहरू उनीहरूका सिकाइ सामग्री हुन् । उनीहरू बालबालिकाका निम्ति नमूना बन्न सक्नुपर्दछ । एक असल शिक्षक विद्यार्थीको साथी पनि हो । उसले बच्चाका हरेक आवश्यकता, चाहना, रुचि एवं अन्तरमन बुझ्ेर व्यवहार गर्नुपर्दछ । शिक्षकले विद्यालयमा राम्रा कुराहरू नै सिकाउँछन् । अनुशासन र नैतिकताका पाठहरू पढाउँछन् नै । तर त्यतिले मात्रै त्यो शिक्षक बच्चाको निम्ति नमूना बन्न सक्दैन । शिक्षकले आफूले भनेका–सिकाएका कुरा आफ्नो जीवन र व्यवहारमा पनि उतारेको हुनुपर्दछ; अनि मात्र ऊ एक अनुकरणीय शिक्षक बन्न पुग्छ । ऊ विद्यालय, घर, समाज र जहाँसुकै असल, इमानदार बन्नुपर्दछ । उसले बोल्ने कुराहरू, सामाजिक सञ्जालमा पोष्ट गर्ने विचारहरू, गर्ने व्यवहारहरू सबै र सधैं सकारात्मक हुनुपर्दछ । अन्यथा कक्षामा सिकाउने एउटा समाजमा, घरमा व्यवहार अर्काे भयो भने ऊ न समाजको मार्गदर्शक बन्न सक्छ न बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउन सक्छ ।

भनिन्छ, आजका विद्यार्थी भोलिका कर्णधार हुन् । भोलिको मुलुकको भविष्य उनीहरूकै हातमा हुन्छ । भविष्यको एक असल खम्बा बन्नका लागि आजैदेखि उसमा नैतिकताको विकास हुन जरूरी हुन्छ । आजका बालबालिका इमानदार र नैतिकवान् भए मात्रै भोलिको समाज सही बाटोमा हिंड्न सक्छ । समाज सभ्य र सु–संस्कृत निर्माण गर्नु छ भने आजका बालबालिकालाई इमानदार, सभ्य, चरित्रवान् र नैतिकवान् बनाउन समाजका सबै पक्षहरू जिम्मेवार भएर लाग्नु जरूरी हुन्छ । उनीलाई नैतिकवान्, चरित्रवान् एवं एक असल नागरिक बनाउन कुनै एक पक्षको प्रयासले मात्रै सम्भव छैन । ७

(शिक्षक, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिम्ता ८, साहुखोला, सुर्खेत)

commercial commercial commercial commercial