नेपाली सङ्गीत महात्म्य

शास्त्रीय सङ्गीतका प्रस्तोता सीधै सङ्गीतको आरोह-अवरोहमा पस्दैनन्। धिमा अर्थात् विलम्बित लयबाट उनीहरू विस्तारै द्रुत लय पक्रिन्छन्। मन्द वा विनम्र आरम्भबाट उत्कर्षतिर पुग्दै श्रोतालाई झ्ञ्कृत एवं आल्हादित बनाउँछन्। जस्तो सङ्गीत उस्तै स्रष्टा। हिप-हप र्‍याप गाउनेलाई कोसौं टाढाबाट चिन्न सकिएला। तर, शास्त्रीय सङ्गीतका उस्ताद-पण्डितलाई चिन्न महफिलसम्म पुग्नैपर्ने हुन्छ। शास्त्रीय सङ्गीतको विशेषता नै हो, विलम्बित त्यसपछि द्रुत अर्थात् पहिले धिमा अनि मात्र रफ्तार।

सितारवादक प्राध्यापक ध्रुवेशचन्द्र रेग्मीको जीवनाधार शास्त्रीय सङ्गीत जस्तै देखिन्छ। स्वभाव र संस्कारले विनम्र रेग्मी धिमा लयमा बात गर्दछन्। तर, तिनै रेग्मी जब सितार सहित मञ्चासीन हुन्छन् विलम्बित लयबाट शुरू उनको सितारवादन शनैःशनैः द्रुत मार्ग पक्रिन थाल्दछ । सितार यस्तरी झ्ञ्कृत हुन थाल्छ, मानौं एकसाथ सयौं तारहरू गुञ्जायमान छन् । सितारका तारहरूमा चल्मलाउने औंला विद्युतीय पंखा झैं अदृश्य हुन थाल्दछन्। सुनिन्छ त केवल सितारको साज।

प्राध्यापक रेग्मीले विलम्ब गरेको अर्को काम हो, पुस्तक लेखन; जसले शास्त्रीय सङ्गीतकै भाँती विलम्बित लय पक्रियो। पुस्तकले दीर्घ प्रसव व्यहोरेको दसी पुस्तकका ‘बधाई दाता’ सङ्गीतविद् रामशरण दर्नाल हुन्। किनकि, स्नेहवश रेग्मीलाई ज्ञापन गरेका बधाईका शब्दहरू मुद्रित हुने बेलासम्म दर्नाल स्वयंले भने यो धरती छाडिसकेका थिए। सयौं कम्पोजिसन र हजारौं प्रस्तुति दिएका रेग्मीलाई एक थान पुस्तक लेख्न भने दशकौं लागेको कुरा उनको पुस्तक पढ्दा नै प्रष्ट हुन्छ।

शायद विलम्बितको बात वा रनाहकै कारण हुनुपर्दछ रेग्मीले एकसाथ दुई पुस्तक सार्वजनिक गरे, नेपालीमा ‘नेपाली सङ्गीत दरबार’ र अंग्रेजीमा ‘म्युजिक, मिथ एण्ड मेलोडी’। 
नेपाली संस्करणको ‘नेपाली सङ्गीत दरबार’ को व्याख्यात्मक शीर्षक ‘आदिकालदेखि आधुनिक कालसम्म’ राखेर रेग्मीले नेपालमा सङ्गीतको उद्भव एवं यसका परम्पराउपर घनीभूत बहस गरेका छन्। खासगरी, उनी स्वयंले समातेको शास्त्रीय सङ्गीतलाई विश्वभर ‘भारतीय शास्त्रीय’ (इण्डियन क्लासिकल) वा भारतीय सङ्गीत भनेको कुरामा रेग्मी घोर आपत्ति जनाउँछन्। त्यस कथनलाई निराधार सावित गर्न अनेक प्रमाण र दलिलहरू प्रस्तुत गर्दछन्। तेस्रो-चौथो शताब्दीतिर मानिएको भरतमुनि रचित ‘भरतनाट्यशास्त्र’ मा नेपालको नाम उल्लेख भएबाट नेपालको सङ्गीत परम्परा मौलिक र विशिष्ट रहेको उनको तर्क छ। आधुनिक राज्यहरूको सीमा कोरिनुपूर्व नै हिमवत्खण्ड र भारतवर्षमा शास्त्रीय सङ्गीतको जग बसिसकेबाट ‘भारतीय शास्त्रीय’ भनिनु गलत हुने उनको दावी छ। ‘भरतनाट्यशास्त्र’ मा देशी सङ्गीत समान रूपमा प्रचलनमा रहेका राष्ट्रहरूका नाममा नेपाल लगायत अङ्ग, बङ्ग, कलिङ्ग, मगध, बत्स, अवध, पौण्डू आदि रहेकाले नेपालको सङ्गीत परम्परा अन्य राज्यहरू झ्ैं पुरानो रहेको स्वतः प्रमाणित छन्। अझ्, ‘भरतनाट्यशास्त्र’ अतिरिक्त ‘सङ्गीत रत्नाकर’, ‘सङ्गीत पारिजात’, ‘राग तत्व विबोध’, ‘अभिनव राग मंजरी’ जस्ता सङ्गीत विषयक प्राचीन ग्रन्थले नेपाली सङ्गीतको मौलिकता पुनर्पुष्टि गरेको लेखक रेग्मीको दावी छ । सङ्गीतलाई देश विशेषको प्राधिकारमा राखिनु भन्दा पनि एउटा साझ सम्पदा र परम्पराका रूपमा लिइनु युक्तिसंगत हुने कुरा पुस्तकबाट बुझन सकिन्छ । किनभने, वेद परम्परा अनुसार सङ्गीतको उत्पत्ति ‘सामवेद’बाट भएका कारण पनि हिन्दुस्तानी होस् वा नेपाली, शास्त्रीय सङ्गीत वेद निःसृत हो। यसको अर्थ, शास्त्रीय सङ्गीत भारतीय नभएर सम्पूर्ण दक्षिणएशियाको साझ सम्पदा हो।

प्राध्यापक रेग्मीले सङ्गीतलाई दरबारसँग जोड्नुको खास उद्देश्य देखिन्छ। आदिकाल होस् वा आधुनिककाल, सङ्गीत शासकहरूसँग जोडिंदै आएको छ। नेपाली संस्कृतिमा सङ्गीत जन्मदेखि मृत्युसम्म अभिन्न रहेकै कारण सङ्गीतप्रति शासकहरूको विशेष रुचि रहेको हो। मनोरञ्जन मात्र नभएर पूजा-अनुष्ठानमा सङ्गीत अनिवार्य रहेकाले शासकहरूले सङ्गीतको प्रवद्र्धनमा विशेष रुचि देखाए। अझ्, सङ्गीत अनुरागी शासकहरूले यसको संरक्षणको अभिभारा (प्याट्रोनाइज) लिए। लेखक रेग्मीले लिच्छविकालदेखि शाहकालसम्मका शासकहरूले सङ्गीतको प्रवद्र्धन र संरक्षणमा निर्वाह गरेको भूमिका पुस्तकमा वर्णन गरेका छन्, जुन शासक विशेषको रुचि र परख मुताविक एकसमान देखिंदैन। उदाहरणका लागि सङ्गीतको अतिशय अनुरागका कारण लिच्छवि राजा मानदेवलाई ‘कलासुनिपुण’ भनिन्थ्यो । मानदेव झैं अंशुवर्माले सङ्गीतको प्रवद्र्धन र सङ्गीतकर्मीको संरक्षकणमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

लिच्छविकालबाट चलेर आएका सङ्गीत परम्परालाई मल्ल राजाहरू, विशेषगरी जयस्थिति मल्ल, यक्ष मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल आदिले झ्न् व्यापक र विस्तृत तुल्याए । मल्लकालको पतन र नेपाल राष्ट्रको एकीकरण पश्चात् सङ्गीत संरक्षणको अभिभारा शाहवंशमा आइपुग्यो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अधिकतर समय युद्ध कार्यमै व्यतीत भए तापनि उनले नेपाली सङ्गीतको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रेग्मीको दावी छ। कतिपयले पृथ्वीनारायणको रुचि युद्धमा मात्र रहेकाले कला र सङ्गीतप्रति उनी निरप्रेक्ष्य रहेको भन्ने जस्ता आरोप प्रति रेग्मी असहमत देखिन्छन्। पृथ्वीनारायण सङ्गीतको नाममा कतै नेपालको मौलिक संस्कृति लोप हुने त होइन भन्ने कुरामा सचेत देखिन्छन्। उनले ‘दिव्योपदेश’ मा ‘हिन्दुस्तानका नाचगानका पेशा गरी हिंड्ने छोकडा र पक्रियाहरूलाई नेपाल राज्यभित्र पस्न नदिनू, तिनीहरू पसे भने जनतालाई नाचगानमा लग्गू पार्छन् र पैसा पनि सोहोरेर आफ्नो देश लग्दछन्’ भनेबाट उनी आफ्नो मौलिक परम्पराप्रति सचेत देखिन्छन्। कालान्तरमा उनकै सन्ततिहरू छोरा प्रतापसिंह र नाति रणबहादुर शाह उनको नीति विपरीत गएर विदेशी नटुवा–गवैयाहरूलाई नेपाल भिœयाउन पुग्दछन् । 

शाहकालको प्रारम्भतिर भारतीय सङ्गीतकारलाई भिœयाउने परम्परा राणाकालको अभ्युदयसँगै उत्कर्षतिर लाग्दछ । राणा शासकहरू भारतीयहरूलाई निम्त्याउने मात्र नभएर राजकीय नियुक्ति नै दिनेतर्फ लाग्दछन्। बेलायती उपनिवेशसँगै भारतमा नवाबहरूको पतनका कारण आश्रयविहीन भएका उस्ताद–सङ्गीतकारहरूलाई राणा शासकले स–इज्जत दरबारमा नियुक्ति दिन थालेपछि उस्ताद, गवैया, नर्तकहरूको नेपालमा ओइरो नै लाग्न थाल्दछ। 

राणा दरबारकालीन शास्त्रीय सङ्गीतलाई विद्यावारिधिको शोध बनाएका रेग्मी राणाकाल र त्यसमाथि पनि वीर शमशेरको शासनकाल नेपाली शास्त्रीय सङ्गीतको स्वर्णकाल रहेको मत राख्दछन्। नेपाल दरबारमा हिन्दुस्तानी सङ्गीतज्ञहरूलाई राजकीय नियुक्ति र उच्च पारितोषिक दिने, सङ्गीतका महफिल जमाइरहने कारण वीरशमशेर मुगल वादशाह अकवर समानका शासक र साङ्गीतिक गतिविधिका सन्दर्भमा लखनऊका नवाब वाजिद अली शाहभन्दा पनि माथिका रहेका भनी स्वयं भारतीय विद्वान्हरूको कथनलाई रेग्मीले प्रमाण सहित पुस्तकमा उल्लेख गरेका छन् । वि.सं. १९५६ को हिउँदमा वीरगञ्ज आसपासको वगेडी भन्ने स्थानमा नेपाली र हिन्दुस्तानी सङ्गीतज्ञ सम्मिलित महफिल नेपालको इतिहासमा अद्वितीय रहेको त्यस वेलाका प्रत्यक्षदर्शीले ‘अमृत बजार पत्रिका’ का सम्पादकलाई लेखेको पत्रबाट देखिन्छ, जसका तस्वीरहरू रेग्मीले पुस्तकको मूलपाठ र चिठी परिशिष्टमा समावेश गरेका छन्।

त्यसैगरी नेपाली संस्कृति, स्थान, जातविशेषका वाद्यपरम्परा र वाद्ययन्त्रबारे परिचयात्मक खण्ड राखेर रेग्मीले नेपालको मौलिक संस्कृतिबारे पुस्तक मार्फत चर्चा पनि गरेका छन् । नेपालका ख्यातिप्राप्त सङ्गीतज्ञ एवं चर्चित घरानाहरूबारे उल्लेख गरेर उनले ती यशस्वी सङ्गीत स्रष्टाप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।

संक्षेपमा भन्नुपर्दा ‘नेपाली सङ्गीत दरबार’ मार्फत रेग्मीले नेपाली शास्त्रीय एवं लोक सङ्गीतको आयतन, उचाइ तथा गहिराइ नाप्ने प्रयास गरेका छन् । एउटै पुस्तकमा आदिकालदेखि आधुनिक कालसम्मका सङ्गीत परम्परा, संस्कृति र सङ्गीतकर्मीबारे दिग्दर्शन गराएका छन् । त्यसैले छोटो भइकन पनि ‘नेपाली सङ्गीत दरबार’ लाई नेपाली सङ्गीत महात्म्य भनिएमा शायद अत्युक्ति नहोला । 

commercial commercial commercial commercial